खोकीले मधुमेहले अपचले यो देह हल्लाउँदा
हाडे रेबिज भ्यागुते र खटिरा म्यादे–ज्वरो आउँदा ।
जे मिल्थ्यो विष–औषधी मुसुमुसू हाँसेर खान्थेँ बरु ।
आमा ! आज त चस्स चस्स मुटुमा
‘सुस्ता’ दुख्यो के गरूँ ??
मेरै वक्ष–बगान सिञ्चित गरी मेची र काली जल
लाखौँ लाख सुसेल्दथे हृदयका संवाद ती कल्कल ।
रोयो व्याकुल भो सुक्यो दिल–घडा पानी कहाँको भरूँ ?
आमा ! आज त चस्स चस्स मुटुमा ‘कोशी’ दुख्यो के गरूँ ??
खेल्थे रासलिला प्रदर्शन गरी सैपाल–सेती जब ।
नाच्थ्यो आँगन हाँस्दथ्यो हिमगिरी बन्थ्यो महा–उत्सव ।।
रोयो आँगन खुम्चियो दशगजा बस्ती कहाँ पो सरूँ ?
आमा ! आज त चस्स चस्स मुटुमा ‘नाका’ दुख्यो के गरूँ ?
मेरै आगनमा बिहानपखमा डाँफे उडी आउँथ्यो
प्यारो कोकिलले मुनालहरुको सङ्गीत बर्साउँथ्यो ।
भैगो डग्मग स्वाभिमान दिलको डुङ्गा कहाँ गै तरूँ
आमा ! आज त चस्स चस्स लिपुको ‘डाँफे’ दुख्यो के गरूँ ?
हारेको इतिहास भेटिनँ कतै खोजेँ सबै आँकडा
बग्छन् भेट्न नसाभरी रगतका टिस्टा तथा काँगडा ।
माटो माग्दछ वीरता र गरिमा बेर्ना कहाँको छरूँ
आमा ! आज त चस्स चस्स मुटुमा ‘टिस्टा’ दुख्यो के गरूँ ?
हे गन्धर्व ! बजाइदे हृदयको वीराङ्गना बाँसुरी
साधेको खुकुरी–हिमाल चुचुरी– नेपाल मेरो धुरी ।
अग्नि–स्थापित यज्ञमा हृदय नै सुम्पी बनू झैँ चरु
आमा ! आज त चस्स चस्स मुटुमा ‘आमा’ दुख्यौ के गरूँ ?
छन्द–शार्दूलविक्रीडित
जन्मस्थल-पन्चेश्वर ६, बैतडी
हाल–बुटवल,रुपन्देही
सम्पर्क [email protected]
वि.सं.२०७५ जेठ २४ बिहीवार ११:०६ मा प्रकाशित