बालबालिकाका अगाडि राम्रै भएपनि धेरै कुराहरु नबोल्नु, नदेखाउनु, नभन्नु भन्छन् । बालबालिकाको कलिलो मष्तिष्क हुने हुनाले उनीहरुले जे देख्यो त्यहि प्रयोग गर्न उत्सुक हुने भएकाले अभिभावकले त्यस्ता कुरामा ध्यान पु¥याउन जरुरी हुन्छ ।
काठमाडौंमै अभिभावकसँग रहेका एक ४ वर्षे बालकले आफ्ना हजुरबाले चुरोट खाएको देखेछन् । चुरोट सबैले खानहुन्छ भन्ने मष्तिस्कमा राखेका ती बालकले घरमा आएका पाहुनालाई ‘तपाई चुरोट खानुहुन्न ?’ भनेर सोधेर हैरानै पारेछन् ।
त्यस्तै अर्को कुरा , प्यारेन्स डे का दिन आफ्नो बाबुलाई स्कुल लैजान खोजेकी बालिकाले बाबुलाई स्कुल सँगै जाउ भनेर अनुरोध गरिछन् । अर्कै कुरामा रिसाएका बाबुले ‘जान्न त्यो मु….स्कुलमा’ भनेर जवाफ फर्काएछन् । आमा पनि सँगै रहिछन् । बाबु नगएपछि आमाले स्कुल लिएर गइछन् । स्कुलमा ‘बाबालाई ल्याइनौं ?’ भनेर क्लास टिचरले भनिछन् । उनले जवाफमा ‘मेरो बाबाले त मु… स्कुलमा जान्न’ भन्नुभएको थियो भनेर कुरा लगाइछन् । त्यो सुनिरहेकी आमाले मिससँग भनिछन् ‘खोइ मैले त त्यस्तो सुनिन।’
त्यस्तै सामाजिक बौद्धिक अभियन्ता बाबुलाल भण्डारीले पनि बालबालिकाका अगाडी धेरै कुरा गर्न नहुने बताउँछन् । उनले सामाजिक संजाल फेसबुकमा अभिभावकलाई साबधान रहन भन्दै समाजमा बालबालिकाले आफ्ना अभिभावकले गरेको कामहरु देखेर आफूमा पनि प्रयोग गरेको केही दुःख लाग्दा उदाहरण दिएका छन् ।
उनले लेखेका उदाहरण
१–म्याग्दी बेनीको धेरै वर्ष अघिको सत्य घटना हो । सम्बन्धित व्यक्ति अझै जीवितै रहेकोले परिचय खुलाइएन । केटाकेटीहरुले बाख्राको पाठोलाई खसी बनाएको देखेछन् । बर्खाको बेला बाबुआमा र सबै ठूला मान्छे खेतको काममा ब्यस्त हुँदाहुन् र स्कुल जाने उमेर नभइसकेका केटाकेटी जम्मा भएर भाँडाकुटी खेल्दै थिए । देखासिकी गर्ने बाल स्वभावै हो । उनीहरु पनि खसी पार्ने खेल खेल्न थालेछन् । तिनीहरु मध्येको एक जना खसी बन्न तयार भएछ र अरु सबै मिलेर उसका अण्डकोष ढुङ्गामाथि राखेर माथिबाट ढुङ्गाले हिर्काएछन् । पहिलो प्रहारमै बच्चा बेहोश भयो । तर अरुले उसले सञ्चो मान्दैछ भन्ने अड्कल गरे । बारबार प्रहार गरेर उनीहरुले उसका दुबै अण्डकोष फुटाइदिए । ती व्यक्तिको पछि विवाह त भयो तर अहिलेसम्म सन्तान भएका छैनन् । कारण सायद त्यही होला ।
२–दोश्रो घटना बाग्लुङ्ग कालिकाको नजिक कुनै गाउँको हो । बच्चाहरुले दशैंमा कोटमा राँगोको मार हानेको देखेछन् । पछि कुनै दिन साना साना बच्चाहरु त्यही खेल खेल्न तयार भएछन् । एक जना राँगो बनेछ । अरुले उसलाई समाएछन् । घर भित्रबाट ठूलो खुर्पा ल्याइएछ र ती मध्ये एकजना मारहान्न तयार भएर खुर्पा उजाएछ । संयोगले कसैले ऐजन मौकामा यो डरलाग्दो खेल देखेछ र रौं प्रमाणले यो भवितव्य हुन रोकिएछ । कल्पना मात्रले पनि जीउ सिरिङ्ग हुन्छ ।
३– एउटा आपबिती पनि राखिहालौँ
मासु अक्सर किनेरै ल्याइन्छ । दशैंको मार पनि मिलेसम्म बाहिरै हान्ने व्यवस्था मिलाइन्छ । एकपटक धेरै वर्ष अघि काठमाण्डौको किरायाको घरमा घडीचरो काटियो । ४ वर्षे सानी छोरीले हरिरहेकी थिइन् । रगत भल्भली आएको र घडी चरो तड्पिएर मरेको उनले देखिन् । ‘यसलाई कति दुखेको होला है !’ भनेर उनले दुखमनाउ गरेको अहिले पनि सम्झिन्छु म ! तर बाल मस्तिष्कमा यस घटनाले यस्तो गम्भीर असर गर्यो कि नानीले त्यहाँदेखि मासु खान छोडिदिइन् । कहिलेकाहीँ बडा नकाम गरिएछ भनेर थक्कथक्क लागिरहन्छ ।
वि.सं.२०७५ फागुन ८ बुधवार १५:२० मा प्रकाशित