back

रास्कोट मात्र होइन, राष्ट्र निर्माणको अभियान हो-नगर प्रमुख,काशीचन्द्र बराल

वि.सं.२०७५ फागुन २३ बिहीवार

183 

shares
NTC AD
Global IME AD

२०७२ बैशाखको महाभूकम्पले देश थिलो थिलो भयो । त्यसले देशभर ३ लाख बढी घर तथा सरकारी कार्यालयको पूर्ण क्षति गर्यो । देश अहिले पुनः निर्माणकै क्रममा रहेको छ । देशका विभिन्न क्षेत्रमा भइरहेको पुर्ननिर्माणका लागि कामदार नपाएको गुनासो धेरै क्षेत्रबाट आइरहेका छन् । तर, विडम्वना देशमा कामदारको अभाव देखिइरहेको अवस्थामा पनि दैनिक २ हजारकै हाराहारीमा युवाहरु देशमा रोजगारी छैन भन्दै रोजगारीकै लागि विदेश गइरहेका छन् । यतिबेला भारत लगायतका देशका नागरिकहरु नेपालमा कामगर्न आइरहेको अवस्था पनि उत्तिकै छ ।
यस्तो अवस्थामा युवालाई देशमै रोजगारीमा आकर्षित गर्नका लागि कालिकोटको रास्कोट नगरपालिकामा देशकै पहिलो श्रम रोजगार बैंक खुलेको छ ।
त्यसका सुरुवात कर्ता हुन् रास्कोट नगरपालिका प्रमुख काशीचन्द्र बराल । लामो समय क्रान्तिकारी राजनीतिमा संलग्न बरालले विद्यार्थी राजनीति गर्दा होस् वा पत्रकारिता, गाविस अध्यक्ष सम्हाल्दा होस् वा सहकारी अभियानको अगुवाइ गर्दा उनीसँगको सिर्जनशीलता र मौलिकताको अब्बल पहिचान दिन्थे । जनयुद्धको प्रत्यक्ष मोर्चामा समेत डटेका बराल अहिले समाजवादको आधार बनाउन आफ्ना तहमा प्रयासरत छन् । राष्ट्रिय सहकारीको संचालक सदस्य भएका उनी ७ हजार महिला आवद्ध रहेको हिमचुली कृषि सहकारीको पूर्वअध्यक्ष र हाल संरक्षक रहेका छन् । रास्कोट नगरपालिका मात्र नभएर देशै निर्माणको अभियान सुरुवात गर्न थालेको दावी उनको छ । उनै नगरप्रमुख बरालसँग संसारन्युजका लागि चन्दा थापाले गरेको कुराकानी

 श्रम रोजगार बैंकको सोच कसरी आयो ?
कालिकोटका युवाहरु धेरै लामो समयदेखि भारतका काला पहाड मात्र नभएर पछिल्लो समय मलेसिया लगायतका देशमा रोजगारीका लागि जान थालेका छन् । १८ देखि ४० वर्षका उर्जाशील युवा श्रम शक्ति बाहिरीएको अवस्था छ । त्यसले युवाको जीवन मात्र नभएर युवासँग जोडिएको परिवारमा पनि धेरै प्रकारका क्षति भएको छ । अर्कोकुरा यहिपनि कतिपय युवाहरु कुलतमा परेका छन् । उनीहरुलाई योग्य जनशक्ति बनाएर रास्कोट मात्र नभएर राष्ट निर्माणमा जोड्नका लागि हामीले रोजगार बैंकको स्थापना गरेका हौं । साथै श्रमको सम्मान गर्न सिकाउँदै उनीहरुमा कामप्रतिको सम्मान बढाउँदै व्यक्ति, परिवार अनि समाज सुदृढ बनाउँदै राष्ट्र निर्माणको अभियानमा सहभागी बनाउने सोच हाम्रो हो ।

कुन–कुन क्षेत्रमा रोजगार निर्माण गर्नु हुन्छ त ?
पहिलो त कृषि उत्पादन र दोश्रो पूर्वाधार निर्माणमै हाम्रो जनशक्ति परिचालन गर्नु हो । हामीले यसका लागि पाँचवटा क्षेत्रमा रोजगारीको व्यवस्था गर्ने ‘श्रम रोजगार कार्यविधि २०७५’ नामक योजना बनाएका छौं । ५ वटा क्षेत्रमा पहिलो कृषि उत्पादन, दोश्रो पूर्वाधार, तेश्रो सामाजिक विसंगति विरुद्ध युवा अभियान, चौथो विपद् व्यवस्थापनमा युवा परिचालन, र पाँचौमा सामाजिक सुरक्षा रहेको छ ।
हामीले कृषि र उत्पादनका क्षेत्रमा आवस्यक कामदारको माग अनुसार युवा परिचालन गर्नेछौं । त्यसका लागि रोजगार बैंकसँग सरकारी वा निजी कुनै पनि कम्पनीले सम्झौता गरेर कामदारको माग गर्न सक्नेछन् । रोजगार बैंकले पहिलो त रास्कोट नगरपालिकामै युवालाई रोजगारी सिर्जना गर्नेछ । त्यसपछि देशका ७७ वटै जिल्लामा हाम्रा कामदारहरु काम गर्न जान सक्नेछन् । हामीले उनीहरुको दक्षता र प्रविधि अनुसार काम दिन्छौं ।
त्यस्तै पूर्वाधारमा पनि त्यहि अनुसार युवा परिचालन गर्ने योजना हो । देशभरीका सरकारी वा निजी कार्यालयले यो जिल्लामा यो ठाउँमा यति कामदारको आवस्यकता छ भनेर माग गर्नासाथ कम्पनीहरुको अवस्था हेरेर सम्झौता गरेरै कामदार पठाउछौं । यी पाँचवटै क्षेत्रमा कामगर्ने कामदारका लागि हामीले १० लाखको बीमा पनि गरिदिन्छौं ।
तेश्रो सामाजिक विसंगति हटाउन नगरपालिकाले नै विसंगति र विकृतिमा लागेका युवाहरुलाई सहि बाटोमा ल्याउन, मदिरा नियन्त्रण लगायतमा घरदैलो कार्यक्रमका लागि स्वयमसेवक वा पैसा दिएर आवस्यकता अनुसारको जनशक्ति खटाउने छौं । त्यसको बजेट व्यवस्था नगरपालिकाले नै गर्नेछ ।
चौथो विपद् व्यवस्थापन–विपद व्यवस्थापनमा नगरपालिका वा अन्य माग अनुसार ७७ जिल्लामै खटाउन सकिनेछ । त्यसमा एउटा नगरपालिकाको दायित्व अनुसार हुनेछ र अर्को पैसा लिएर पनि जनशक्ति परिचालन गरिनेछ ।
पाँचौं,सामाजिक सुरक्षा–सामाजिक सुरक्षा अन्तर्गत विभिन्न कार्यक्रम, पर्यटक अभियान, मेलापर्व, सांस्कृतिक पर्व लगायतमा पनि सेक्युरेटी तथा अन्य काममा युवा परिचालन गरिनेछ ।हामीले त्यसका लागि अहिले एकवर्षको ५ करोड बजेट छुट्याएका छौं ।


श्रम रोजगार बैंकको संरचना कस्तो हुन्छ ?
अहिले रोजगार बैंकको मुख्य कार्यालय रास्कोट नगरपालिकामै रहनेछ । र मुख्य कार्यालयबाटै युवा परिचालन गरिनेछ । बैंकमा अध्यक्ष, व्यवस्थापक हुनुका साथै गु्रप पनि बनाइनेछ । ग्रुपमा एक–एक जना व्यवस्थापक र प्राबिधिक हुनेछन् । उनीहरुले स्वायत्त हिसावले चेन अफ कमाण्डमा काम गर्नेछन् ।

सम्भावना र आसा धेरै देखाउनु भएको छ चुनौति पनि होलान् नि ?
त्यस्तो धेरै चुनौति त हामी देख्दैनौं । तर, युवाहरुमा श्रमको सम्मान गर्ने संस्कृति कम भएकोले काम नगरी पैसा लिने समस्या (काम चोर) आउँछ कि भन्ने एउटा चुनौती र अर्को उनीहरुलाई रोजगारी व्यवस्थाको निरन्तरता दिन सकिन्छ कि सकिन्न भन्ने लगायतका केही चुनौती छन् । तर आयोजनाको सिस्टम अनुसार रहेर मूल्यांकन प्रणालीको आधारमा आएको अंकलाई जोडेर कामदारलाई भुक्तानी गरिनेछ । अर्को कुरा कामको निरन्तरताका लागि ठूला–प्रोजेक्टहरु निरन्तर खोज्ने योजना छन् । पाँच महिनाको आन्तरिक तयारी पछि बल्ल बाहिर घोषणा गरेका हौं । आज नै ३–४ वटा कम्पनीले कामदार चाहियो भनेर माग गरेको खबर सुनेको छु । यो राम्रो संकेत भएको मैले ठानेको छु ।


अहिले त जनप्रतिनिधिहरु नै भ्रष्टाचारमा संलग्न रहेको अवस्थामा तपाइहरुको योजनालाई युवाहरुले नगरपालिकाको पैसा सक्ने काम त भन्दैनन् ?
त्यस्तो हुँदैन, हाम्रो युवाहरुमा त्यस्तो सोच पनि छैन र हामीले पनि नगरपालिकाको बजेट सक्न र टाइमपास गर्नका लागि यो योजना अघि सारेका होइनौं । २० हजार कमाउनका लागि खाडी जानुपर्ने बाध्यताको अन्त्य गर्नका लागिको प्रयास हो । तपाइले देखिरहनु भएको छ र दिनहुँ समाचारमा सुन्नुपनि भएको छ होला नेपाली युवा खाडीमा विदेशी युवा नेपालमा आएर रोजगारी गरिरहेको अवस्था छ । यसका लागि हामीले युवामा जनचेतनाको कार्यकम पनि ल्याएका छौं । खाडीको ५० डिग्रीको तातो घाममा काम गर्न जानुभन्दा आफ्नो परिवारसँग बसेर मासिक २१ हजार तलब खान उत्साहित बन्नुहुन्छ भन्ने आसा छ । यसलाई आफ्नो गाउँ र देश बनाउने मौकाका रुपमा पनि लिनुहुन्छ भन्ने आसा छ । हाम्रो नारा नै ‘युवाको सान, श्रमको सम्मान नगर निर्माणको अभियान’ रहेको छ ।

कति युवायुवती तयार छन् त अहिले रास्कोट नगरपालिकामा रोजगार बैंकका लागि ?
रास्कोटमा झण्डै ३ हजार युवायुवती काम गर्नका लागि तयार हुनुहन्छ । यो परीक्षण काल हो । माग र आपूर्ति अनुसार पछि थपिदैं जान्छन् ।

युवालाई रोजगारीका लागि दक्ष कसरी बनाउनुहुन्छ त ?
यसको पनि व्यवस्था गरेका छौं । यसका लागि ७ दिने तालिम हुन्छ । हामीसँग सबै क्षेत्रका प्राविधिकहरु हुनुहुन्छ उहाँले युवासँग कस्तो सीप छ वा छैन भन्ने हेरेर त्यहि अनुसार तालिम दिन्छौं । त्यसमा प्रशासनिक, सुरक्षा निकाय, सामाजिक अभियन्ता सबै खालका साथीहरु हुनुहुन्छ । हामीले त्यसको लागि कोर्षनै बनाएका छौं । त्यहि अनुसार तालिम दिन्छौं । यसमा २० देखि ४० वर्षका युवायुवती सहभागी हुन सक्नुहुन्छ ।

रास्कोट नगरपालिकाको नयाँ अनुहारको छनक कति समयमा देखिएला ?
कम्तिमा ५ महिना कुर्नुहोस्, हामी यसको नयाँ स्वरुप तपाइहरुलाई देखाउने छौं ।

वि.सं.२०७५ फागुन २३ बिहीवार १५:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मुलुक र जनता अप्ठेरोमा परेका बेला राजनीतिक दल एकढिक्का हुन्छन् भन्ने पुष्टि भइसकेको छ– विमला सुवेदी

मुलुक र जनता अप्ठेरोमा परेका बेला राजनीतिक दल एकढिक्का हुन्छन् भन्ने पुष्टि भइसकेको छ– विमला सुवेदी

काठमाडौँ । पछिल्लो समय देशमा राजनीतिक उतारचढावसँगै सरकार परिवर्तन पनि...

नातिपुस्तासँगै रिपोटिङमा दौडिन्छन् असीवर्षे पत्रकार गोविन्दचन्द छेत्री

नातिपुस्तासँगै रिपोटिङमा दौडिन्छन् असीवर्षे पत्रकार गोविन्दचन्द छेत्री

चन्द्रकला भण्डारी, झापा । काम गर्ने जोस र इच्छाशक्ति हुनेलाई...

११ महिना कृषिमन्त्री हुँदा एउटा नियमावली पारित गर्न सकिनँ–सांसद डा. भुसाल

११ महिना कृषिमन्त्री हुँदा एउटा नियमावली पारित गर्न सकिनँ–सांसद डा. भुसाल

काठमाडौँ । मुलुकका लागि अत्यावश्यक पर्ने विधि, ऐन, कानुन निर्माण...