Sansar News

‘रोग आफै आएको होइन, हामीले नै निमन्त्रणा दिएका हौं’

संसार न्यूज़
२ महिना पहिले
‘रोग आफै आएको होइन, हामीले नै निमन्त्रणा दिएका हौं’

किर्तनकृष्ण भट्टराई । उमेरले नौ दशक नाघिसके तर, उनमा उमेरको प्रभाव कत्तिपनि परेको देखिन्न । सरकारले नेपालीको औसत आयु ६८ वर्ष तोकेको बेला ९१ वर्षीय किर्तनकृष्ण भट्टराईले सरकारको उक्त भनाईलाई थप चुनौति दिएजस्तो देखिन्छ ।

९१ वर्षको उमेरमा पनि आफै खेती गर्ने, अग्र्यानिक उत्पादन गर्ने, गाइलाइ आफैले घाँस काट्ने, भरसकसम्म आफूले उत्पादन गरेको बाहेक बाहिरको खाद्यपदार्थ नखाने बानीनै किर्तनकृष्ण भट्टराईको लामो उमेरको राज हो । प्रकृतिसँगै हिड्नु र प्रकृतिलाई पूजा गर्नु नै मानबिय कर्तव्य रहेको नयाँ पुस्तालाई सन्देश दिन्छन् र्कितनकृष्ण भट्टराई ।

काठमाण्डौंको गैह्रीधारामा रहेको हालको गोमा पेट्रोल पम्प नजिकै ९१ वर्ष अघि जन्मिएका थिए किर्तनकृष्ण भट्टराई । उनले जान्दा उपत्यकाको जनसंख्या ६ लाख मात्र रहेकोमा अहिले जनसंख्या बढेर ५०–६० लाख नाघिसकेको छ ।

त्यतिबेला जताततै हरियाली थियो । खेतीपाती लहलह झुलेका हुन्थे आलु रोप्थे, पाखामा मकै रोप्थे । तर, अहिले खेती त परै जावोस् उपत्यकामा रहने मानिसलाई प्रयाप्तमात्रामा अक्सिजन समेत छैन । नर्मल पनि २२ प्रतिशत अक्सिजनको आवस्यकता रहेको उपत्यकामा त्यहि मात्रामा अक्सिजन पाउन मुस्किल रहेको बताउँछन् भट्टराई । ‘भन्नुस् त उपत्यकाको मान्छे कसरी बाँचेको छ होला, कुन सकसमा बाँचेको छ होला, यहाँको बास्तविकता तपाईलाई थाहा छ ? मान्छे यहाँ औषधिले मात्र बाँचिरहेको छ ।’ भट्टराई भन्छन् ।

भट्टराईको लामो जीवनको राज जान्नका लागि हामीले एकघण्टा उनकै निवास बालुवाटारमा कुरा गरेका थियौं । लामो आयु बाँच्नका लागि उनले अपनाउने जीवनशैली र सुझाव यस्तो छ ।

बिहान ४ बजे उठ्छन्
किर्तनकृष्ण भट्टराईको विहानको दैनिकी बिहान ४ बजेबाट सुरु हुन्छ । उनी उठ्नासाथ २ पटक गरेर १ लिटर मनतातो पानी पिउँछन् । त्यसपछि नित्यकर्म सकेर एक घण्टा योगा गर्छन् । योगामा प्राणायाम, कपालभाती, अलोलम विलोम, लगायतका हात खुट्टा सक्रिय बनाउने थुप्रै व्यायाम गर्छन् । उनका अनुसार अलोलम विलोम गर्नाले फोक्सोमा हुने करोडौ छिद्रमा अक्सिजन पूरा भरिनुपर्छ । त्यो भरिएन भने त्यहाँ रोगले बास गर्छ । ‘बिहानको घाम नउदाउँदै लामो समस फेर्ने, सास बाहिर फाल्ने गर्नुपर्छ ।’ भट्टराई भन्छन् ‘त्यो अक्सिजन रगत मार्फत् हाम्रो शरीरको सबै अंगमा पुग्ने सफा गर्ने काम गर्छ ।’ त्यसपछि उनले १५ मिनेट कपालभाती गर्छन् । कपालभातीले शरीर भित्र रहेका इन्जिनको एक्सरसाइज गराउँछ । इन्जिनहरु सक्रिय हुने र बलियो हुन्छन् ।

९१ वर्षमा के खान्छन् त भट्टराई ?
विहानको योगा सकेर ७ बजे आफ्नै घरमा पालेको गाईको एक गिलास दूध खान्छन् । घरमा नभएपनि बाहिरबाट भएपनि दूध किनेर खाने गरेको भट्टराई बताउँछन् । एक गीलास दूध खाएर भट्टराई घरबाट ४ सय मिटर पर रहेको आफ्नै बगैचामा पुगेर श्रम गर्छन् । पसिना बगाउँछन् । अनि आफूलाई खानका लागि अग्र्यानिक तरकारी आफै उत्पादन गर्छन् । बगैचामा ३ घण्टा काम गरेर भट्टराई १० बजे घर फर्कन्छन् । ११ बजे खाना खान्छन् । खानामा हरियो सागसब्जी उमालेर खान्छन् । त्यो पनि मिलेसम्म आफैले उब्जाएको । फर्सीको मन्टा, लौकाको मन्टा, बन्दागोवि, ब्रोकाउली जुन सिजनेवल हुन्छ ती खानेकुरा खान्छन् । बेलुका पनि घाम नडुब्दै (७ बजे) सिजनेवल फलफूल खान्छन् ।
जस्तै, लिची, आप, खरभुजा, आरु बोखडा, आलचा, यो मौसममा खान सकिने सुझाव दिन्छन् भट्टराई । उनी सुत्नेबेलामा पनि १ गिलास गाईको दूध खाएर सुत्छन् ।

बुढौलीले छोएको छैन
९१ वर्षको उमेरमा पनि उनको बोली लट्पटिन्न । आँखामा चश्मा लगाउनु पर्दैैन । हिड्दा पनि लठ्ठि टेक्न पर्थेन । तर, घुँडा दुखेर अप्रेसन गरेपछि भने लठ्ठिी टेकेर हिड्नु परेको बताउँछन् भट्टराई । ‘मलाई बुढ्यौलीले छोएको छैन हेर्नुस् त, कान पनि ठिक छ दाँत पनि ठिक छ ।’ त्यसैले आहार–बिहार सन्तुलित गरेर खान जान्यो भने, हत्तपत्त रोग नलाग्ने भट्टराईको सुझाव छ । उनका अनुसार हामीले गरेको प्रकृति विरुद्धको व्यवहार र खानपानले नै यस्तो समस्या आएको हो । रोगलाई हामीले नै निमन्त्रणा दिएको भट्टराईको भनाई छ ।

भात खाँदैनन् भट्टराई
भट्टराई भात खाँदैनन् । १० वर्ष भयो उनले भात खान छोडेको । केही समयअघि बिहानमा एउटा रोटि खान्थे तर रोटि पनि छोडका छन् । कतै जाँदा उनले भनेको जस्तो खाना सम्भव नहुँदा बाध्यताको रुपमा रोटिको प्रयोग गर्छन् । ‘हप्ताको एकपटक वा महिनामा १–२ पटक मात्र खान्छु रोटि त्यो पनि एउटा मात्र ।’ स्वास्थ्यप्रति अति सचेत भट्टराईले बताए । उनले व्वाइल गरेको सागसब्जी ११ बजे खान्छन् । त्यसपछि एक घण्टा आराम गर्छन् । सामाजिक कार्यक्रममा भाग लिन्छन् । अनि स्वास्थ्य सम्बन्धी किताब बढी पढ्छन् । कसरी हामी बाचुन्जेल स्वस्थ्य रहने भन्नेमा नै उनको ध्यान हुन्छ । उनी कस्तो किसमको आहार बिहार गर्ने र स्वास्थ्यलाई फाइदा र बेफाइदा गर्छ भन्ने पढ्न सुझाव दिन्छन् भट्टराई ।

यी खानेकुरा नखानुनै उत्तम मान्छन् भट्टराई
भट्टराईका अनुसार धेरै पिरो, चिल्लो, अमिलो र बढी नुनिलो, गुलियो खाना कम गर्ने वा प्रयोग गर्दै नगर्न उनको सुझाव छ । उनका अनुसार हामीले दिनहुँ भान्सामा प्रयोग गर्ने मसालेदार खानाले स्वास्थ्यमा धेरै हानि गर्छ ।

बजारको खाँदा यस्तोमा ध्यान दिनुहोस्
बजारमा आएका हरेक खाद्यवस्तुमा केमिकल र विषादी प्रयोग भएको भट्टराई बताउँछन् । ती खाद्य पदार्थमा रहेको मन्द विषयले क्यान्सर, मुटुरोग, मिर्गौला फेल हुने समस्या त सामान्य रुघाखोकी जस्तो उनको अनुभव छ । आफैले उत्पादन गर्न नसक्ने र बजारको भर पर्नुपर्ने अवस्थामा बेसिजन खानेकुरा खाँदै नखाने । फलफूल या तरकारी । त्यस्ता तरकारी केमिकलले बचाएर राखेको हुन्छ । ‘प्रकृति माताले ऋतु अनुसार दिएको हामीले खायौं भने स्वास्थ्यलाई हानी गर्दैन् । जस्तै यतिबेला, कर्कलो, निगुरो, फर्सीको मन्टामा विषादी प्रयोग हुँदैन्,’ भट्टराई सुझाव दिन्छन्, ‘चिल्लो, काक्रो, फर्सीको कैडा भरसक खाँदै नखाउँ । बरु बाँगो टिंगो, अलि अलि किरा लागेको र खस्रो खालको खोजेर खान सुझाव दिन्छन् भट्टराई । ‘कति राम्रो आहा भन्नेमा नजाउँ । त्यो केमिकलको बलमा राम्रो देखिएको हो ।’ भट्टराई भन्छन् ।

गेडागुडीमा जोड
भरसक सम्म मासु नखानु, खाएमा पनि कम खानु र मासुको विकल्पका रुपमा गेडागुडी रोज्न सुझाव दिन्छन् भट्टराई । गेडागुडीमा पनि नबिग्रीयोस् भन्नका लागि केमिकल हालिन्छ नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘हो, गेडागुडी ल्याएपछि नुनपानी, या तातोपानीमा भिजाउने र भिजेपछि तीन–चारपटक पखाल्ने । अझ सकिन्छ भने टुँसाका रुपमा उमारेर खानु राम्रो हुन्छ । गेडागुडीमा भएको प्रोटिन पचाउन गाह्रो हुने भएकोले टुँसा उमारेर खाँदा प्रोटिनबाट परिणत भएर सबै भिटामिन्स हुन्छ । पाचन प्रक्रियामा पनि सहज हुन्छ । टुँसा काँचै खानपनि उनको सुझाव छ ।
उनका अनुसार मुगको दाना, चना, केराउ, भटमास पनि उमारेर खान सकिन्छ । भटमासमा माछा मासुमा भन्दाबढी प्रोटिन र फ्याट हुन्छ । यसलाई रातिभरी भिजाएर पकाएर खाँदा राम्रो हुन्छ । उमारेर खाँदा युरिकएसिडको पनि समस्या हुँदैन् ।

कति उमेरसम्म मासु खाने ?
मानिसको बढ्ने उमेर सम्म र श्रम धेरै गर्दासम्म कार्बोहाइड्रेड र प्रोटिन अतिनै आवस्यक हुन्छ । बढ्ने उमेर २५ देखि ३० वर्ष सम्म हुन्छ । ५० वर्षसम्म श्रम पनि गर्न सकिन्छ ।

त्यतिबेलासम्म रोगले पनि गाल्न सक्तैन् । श्रम गर्नका लागि उर्जा चाहिने र उर्जाका लागि काब्रोहाइड्रेड र प्रोटिनको आवस्यकता रहने भट्टराई बताउँछन् । त्यस्तो अवस्थामा मासु खानु उपयुक्त हुन्छ । ‘भिटामिन्सले रोग प्रतिरोधक क्षमता बढाएर शरीरलाई निरोगी बनाउँछ ।’ भट्टराई भन्छन् ।  हरिया सागपातहरु भिटामिन्सका राम्रो स्रोत हुन् ।

काम नहुनेले यसो गर्ने
काम नहुनेले सकेसम्म विहान १ घण्टा मर्निङवाकमा जाने । मर्निङवाममा विस्तारै हिड्ने नभएर फटाफट हिड्ने दौडने र लामो लामो सास फेर्नेगरी हिड्ने । सबैभन्दा राम्रो एक्सरसाइज लम्केर हिड्नु हो । विहान ५ बजे हिड्दा अति उत्तम हुन्छ । छोटो दिनमा ६ बजे । मर्निङवाकमा जान नसक्नेले घरमै बसेर हात खुट्टा तन्काउने, उठ्ने बस्ने तथा शरीरलाई सक्रिय बनाउन योगा गर्दा राम्रो हुन्छ ।

सामाजिक काममा सक्रिय रहने गरेका भट्टराईको नाममा बनेको किर्तन चोक

भात नखानुस्
सागसब्जी र फलफूलको पहुँच नहुनेले भात भन्दा पिठो खान सुझाव दिन्छन् भट्टराई । आजभोली ढिकीमा कुटेको चामल खान नपाइने हुनाले बजारमा आएको टलक्क टल्किएको चिल्लो चामल फाइदाजनक हुँदैन् । त्यसमा कुनैपनि भिटामिन्स हुँदैन, केवल पेट भराउनु सिवाय । पिठोमा गहुँको आँटा, कोदोको पिठो, फापरको पिठो, जहुँको पिठो खान उपयुक्त हुन्छ । उनका अनुसार कोदो, फापरमा प्रसस्त आइरन हुने हुनाले कोदोमा सबैभन्दा बढी शक्ति हुन्छ । पिठोले चामल भन्दा १० गुणा बढी शक्ति दिन्छ ।

प्रसस्त्र मात्रामा पानी पिउनुहोस् पानी खान मनलाग्दा मात्र खाने होइन, यो त सम्झि सम्झि खानुपर्छ । हामीले बाहिरी शरीर नुहाउँदा पानीका कारण शरीर सफा हुन्छ हो त्यसरीनै पिएको पानीले पनि भित्र सफा राख्छ । त्यसैले गर्मी महिनामा धेरै पसिना आउने हुनाले श्रम गर्दा तीन लिटर बढी खाने र श्रम नगर्दा २ लिटर पानी पिउने ।

जस्तो खाना खायो त्यस्तै बुद्धि हुन्छ
ताजा खाने खाने । सन्तुलित आहार गर्ने । शरीरलाई जे खाँदा फाईदा हुन्छ त्यहि खाने । शास्त्र विज्ञानमा खानालाई तिन प्रकारले व्याख्या गरिएको छ । ती हुन् सात्विक, राजषी र तामसी ।

शात्विकरसिलो, ताजा, मन प्रशन्न हुने खालको । धेरै मसला नहालेको । (जस्तै–दूध, दही, फलफूल र ताजा तरकारी सागपात लगायत)

राजषी-धेरै पिरो अमिलो हालेको, चिल्लो, ट्वाक्क परेको ।

तामसी -सडेगलेको, बासी, पच्न गाह्रो हुने । शरीरलाई उत्तेजित बनाउने खालको ।
जस्तो खायो त्यस्तै व्यवहार हुने हुनाले शात्विक खाने, शात्विक व्यवहार गर्ने ।

उत्साहित हुनुहोस्
जीवनमा सधै उत्साहित हुन सुझाव दिन्छन् भट्टराई । कुनै बखत पनि नरिसाउने र उत्साहित हुने । उत्साहित हुँदा हाम्रो शरीरभित्र भएको हार्मोन सक्रिय भएर काम गर्छन् । ‘अब म केही गर्न सक्तिन्, रोगी भए, औषधि खाइ हालौं’ भन्ने बानी नगर्नुहोस् । साधारण ज्वरो, रुघाखोकी, झाडा पखाला लाग्दा औषधि प्रयोग नगर्ने । किन कि, त्यस्तो हुने भनेको प्रकृतिले भित्रको फोहोर फालिदिएको हो । त्यसैले नआत्तिकन झोल पदार्थ खाएर आराम गर्नुहोस् । बाफ लिने, तातो पानी, दालचिनी पानी र अदुवा पानी खाने । ‘रुघाखोकीको म्याद तीन देखि ७ दिनसम्म हुन्छ । ज्वरोको पनि ७ दिनसम्म हुन्छ । यस्तो अवस्थामा सकेसम्म डाक्टरी औषधि नखाने ।

पेन किलर खाँदै नखानुस्
सानो दुखाईमा पनि पेन किलर खाने बानी परिसकेको छ हामी नेपालीमा । त्यसले त किड्नीलाई खत्तमै पार्छ । दुखेकोमा निकोहुने औषधि खाँदै नखानुस् । कहिलेकाँही एउटा दुइटा खाँदा फरक पर्दैन् । भट्टराई सुझाव दिन्छन् ।

अल्छि भएरै रोग लागेको हो
पहिला–पहिला हामी धेरै हिड्थ्यो । अहिले आधा किलो र एक किलोमिटर हिड्न पनि गाडी चाहिन्छ । सकेसम्म हिड्ने । हिड्नुजस्तो राम्रो एक्सरसाइज अरु हुँदैन् । हामीले खाएको श्रम गर्नुपर्छ । श्रम नगर्ने मान्छेलाई राति राम्रोसँग निन्द्रा लाग्दैन् । ६ देखि ७ घण्टा सुत्नुहोस् ।
कम्प्युटरमा बस्नेले एकोहोरो नबस्ने । १–२ घण्टा बस्ने उठ्ने हिड्ने गर्नुहोस् । कम्प्युटर र विकिरणले पनि शरीरलाई समस्या गराउँछ । मोबाइल बोकेर हिड्दा ढाडदेखि मुनिको भागमा मात्र राख्न सुझाव दिन्छन् भट्टराई ।

छोरा हिमाञ्चल भट्टराईसँग 

रोग दुई किसीमका हुन्छन् । एउटा मानसिक एउटा शारीरिक । त्यसमा मानसिक रोग सबैभन्दा खतरा हुन्छ । जसमा चिन्ता, भय, बेर्फुसदी, टेन्सन लगायतका हुन् । जसमा शारीरिक रोग औषधि गरेर पनि निको हुन्छ । तर, मानसिक रोग निको पार्न गाह्रो हुन्छ । त्यसैले ख्याल गर्नुहोस् । चिन्ताले चितामा पुर्याउछ । संसारमा मान्छे भएर जन्म लिएपछि व्यवहारमा चल्नुपर्छ । त्यसैले यस्ता समस्यामा सम्हालिनुहोस् । त्यसैले मानिसले यो सुर्कम र यो कुर्कम भनेर जान्नुपर्छ । त्यसैले काम, क्रोध, लोभ, मोहलगायतको बसमा पर्नुहुन्न । नभए यीनिहरुले खत्तम पार्छन । त्यसलाई विवेकले नियन्त्रण गर्नुपर्छ । आफू पनि हाँसिरहनुहोस् र अरुलाई पनि हसाउँनुहोस् । संसारमा आएपछि संघर्ष गर्नुपर्छ भन्ने बुझ्नुहोस् । फुर्तिसाथ संघर्ष गर्नुहोस् ।

व्यस्त रहनुहोस्
कतिपयको काम हुन्छ । त्यसमै व्यस्त रहन्छन् । तर, कतिपयको काम हुँदैन उनीहरु घरमा झोक्राएर बस्छन् । तर, त्यस्तो गर्नु शरीरलाई फाइदा नहुने बताउँछन् भट्टराई । त्यसैले, राजनीतिक, सामाजिक काममा व्यस्त रहँदा व्यक्तिगत सोँच कम आउने हुनाले शरीर निरोगी बन्ने सुझाव दिन्छन् भट्टराई । व्यस्त हुँदा मनमा नचाहिने कुरा आउँदैन ।
रुख रोप्नुहोस्-
विरुवा र मानिसको सम्बन्ध नङ र मासु हो । रुखले हामीलाई स्वस्थ्य वायु दिन्छ । त्यो अक्सिजन हाम्रो प्राण हो । त्यो विना हामी बाँच्न सक्तैनौं । घरको बगैचामा रुख रोप्नुहोस् । कोठामा गमलामै भएपनि हरियो राख्नुहोस् । यसले तपाईलाई सधै ताजापन बनाउन मदत गर्दछ । हरियालीले आँखालाई पनि फाइदा गर्दछ ।

प्रस्तुति : चन्दा थापा (चन्द्रिका)

सर्बाधिक पढिएको

यी हुन् ब्रत बस्दाका फाईदा र बेफाईदा

यी हुन् ब्रत बस्दाका फाईदा र बेफाईदा २ हप्ता पहिले | संसार न्यूज़

हिन्दु धर्म संस्कार अनुसार प्रत्येक बार (प्रत्येक दिन) आफ्नै महत्व…

आउनुहोस् जानौ तपाईले देखेको सपनाको फल विपनामा के हुन्छ त ?

आउनुहोस् जानौ तपाईले देखेको सपनाको फल विपनामा के हुन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

ज्योतिष टिका पौडेलका अनुसार राति निदाउँदा देखिने सपनाका फलहरु निम्न…

एकपटक अवस्य पढ्नुहोस्, क्यान्सर लाग्नबाट बचाउँछन् यी खानेकुरा

एकपटक अवस्य पढ्नुहोस्, क्यान्सर लाग्नबाट बचाउँछन् यी खानेकुरा ४ हप्ता पहिले | संसार न्यूज़

विश्वभरी नै जटिल रोग बन्दै गइरहेको छ क्यान्सर । विश्व…

पढ्नुहोस् यी १६ उपयोगी टिप्स, जसले जीवन अगाडि बढाउन सहयोग गर्छ

पढ्नुहोस् यी १६ उपयोगी टिप्स, जसले जीवन अगाडि बढाउन सहयोग गर्छ २ दिन पहिले | संसार न्यूज़

भनिन्छ मरिने आज होकी भोली, तर बाँच्नु कति हो कति…

डा. ओममुर्ति अनिल भन्छन्–यी ५ उपायबाट घटाउन सकिन्छ मधुमेह

डा. ओममुर्ति अनिल भन्छन्–यी ५ उपायबाट घटाउन सकिन्छ मधुमेह ३ हप्ता पहिले | संसार न्यूज़

वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर ओममुर्ति अनिलले विभिन्न उपाय अपनाएर मधुमेहको…

दुबी भयो भनेर आत्तिनु भएको छ त्यसो भए यो पढ्नुहोस्

दुबी भयो भनेर आत्तिनु भएको छ त्यसो भए यो पढ्नुहोस् १ महिना पहिले | संसार न्यूज़

छालामा देखिएको सेतो दुबीले हैरान हुनुभएको छ, मनमा पिर परेको…