Sansar News- Nepal's Fast Khabar Online news portal

रेशम खेतीका अगुवा बने धादिङका महेश अधिकारी

संसार न्यूज़
३ महिना पहिले
रेशम खेतीका अगुवा बने धादिङका महेश अधिकारी

नारायणी रजौरे दाङ, १८ असार असारको प्रचण्ड गर्मी । दाङको गढवा यसै पनि गर्मी हुने ठाउँ । वरपर गाउँका खेतबारी पनि खाली र उजाड नै छन् तर, केही पर पुगेपछि भने हरियाली भेटिन्छ रेशम खेतीको ।

गढवा गाउँपालिका वडा नं ४ हडैया गाउँ अहिले रेशम खेतीका कारण चिनिन थालेको छ । गाउँको करीव ६० विघा जमीनमा फैलिएको छ यो खेती । यसले हरियाली त छरेकै छ, गाउँको शोभा पनि बढाइदिएको छ ।

केही वर्ष अघिदेखि हडैया गाउँमा व्यक्तिगत तथा सामूहिक रुपमा रेशम खेती गर्ने अभियान नै थालिएको छ । यस अभियानका अगुवा मानिन्छन् धादिङका किसान महेशदत्त अधिकारी । उनी धादिङको गल्छी गाउँपालिका वडा नं ४ भल्टारका बासिन्दा हुन् । उनले नै यहाँ रेशम खेती शुरु गरेका हुन् । उनकै प्रयासमा हडैया गाउँ अहिले रेशम खेतीबाट हरियाली भएपछि अरु किसानलाई पनि प्रेरणा मिलेको हो ।
शुरुमा खाली रहेको १० विघा जमीन भाडामा लिएर रेशम खेती थाल्नुभएका अधिकारी अहिले पनि यसैमा रमाइरहेका छन् । राम्रो आम्दानी गर्न सकिने देखेर ३३ वर्षीय अधिकारीले ३ वर्ष अघि रेशम खेती थालेका हुन् । बुबाले धादिङमा ३६ वर्षदेखि यही खेती गरिरहेको र बुबाकै प्रेरणाबाट यस खेतीमा लागेको उनी बताउछन् । आगामी दिन रेशम खेतीलाई अझै विस्तार गर्ने योजना उनको छ ।
अधिकारी भन्छन् – “दाङमा यसको सम्भावना राम्रो देख्छु । जमीन पनि पर्याप्त भएकाले यहाँ आएर खेती गरेको हुँ ।”
यहाँ आएर रेशम खेती गर्नुप¥यो भन्दा गाउँलेहरुले शुरुमा विश्वास नै नगरेको उनी स्मरण गर्छन् । “जब मैले बाँझो खेतबारीमा रेशमका बिरुवा रोपेर ढकमक्क पारें, सबैमा विश्वास पलायो,” उनले भने ।
डेढ वर्षमा बाँझो बारी हरियो भयो । त्यसपछि रेशम कीराका लार्भा ल्याएर उनले पाल्न शुरु गरेका थिए । अधिकारी भन्छन् – “सबै गाउँले छक्क परे । किम्बुका पात टिप्दै रेशम कीराका लार्भाहरुलाई खुवाउँदै, हुर्काउँदै कोकुन उत्पादन गर्न थालें । यो प्रक्रियाले उनीहरुमा चाख पनि बढायो ।”

कोकुन उत्पादन भएर त्यसबाट गाउँमै धागो उत्पादन हुन थालेपछि किसानहरु यस खेतीप्रति आकर्षित भएको अधिकारीले बताउनुभयो । अधिकारीले अहिले कोकुनबाट धागो निकाल्ने काममा गाउँका १५ जनालाई रोजगारी पनि दिनुभएको छ । उहाँले गरेको खेती देखेर हडैया गाउँ र त्यस आसपास अन्य गाउँका किसानहरु पनि यस खेतीतर्फ आकर्षित भएका छन् ।

अहिले यहाँ विभिन्न छ वटा समूह र केही किसानले व्यक्तिगत रुपमा ५० विघा जमीनमा रेशम खेती गरिरहेका छन् ।
दाङमा तयार भएको कोकुनबाट धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बनाउने काम भने उनले धादिङबाट गर्दै आएका छन् । उनका उद्योगहरु धादिङ र काठमाडाँैमा रहेका छन् । अब केही समयपछि दाङबाटै प्रशोधन गर्ने र कपडा बनाउन थाल्ने उनको योजना छ ।
सबै खर्च कटाएर वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म बचत गर्ने बताउने अधिकारी आफ्नो कमाइप्रति सन्तुष्ट छन् । एक वर्षमा चारदेखि पाँच पटकसम्म कोकुन उत्पादन गर्ने सकिने हुँदा आम्दानी पनि राम्रैसँग लिन सकिने उनको अनुभव छ ।
आफूले गरेको खेती देखेर अहिले गाउँका धेरै किसान उत्साहित भएर यसको खेतीमा लागेका र त्यसबाट आफूलाई सन्तुष्टि मिलेको उनको भनाइ छ । यहाँका किसानहरुले उत्पादन गरेको कोकुन उनी आफैंले किन्ने र त्यही धागो प्रशोधन गरेर बेच्ने गर्छन् । उनका अनुसार रेशम कीराले उत्पादन गर्ने कोकुन प्रतिकेजी रु ५०० पर्छ । रेशमलाई सेतो सुनका रुपमा पनि लिने गरिन्छ । यसको खेती पनि अन्य खेतीको तुलनामा महङ्गो छ ।
“मेहनतका साथ यसमा लागे छिट्टै राम्रो आम्दानी लिन सकिने भए पनि केही समस्या छन्,” उनी भन्छन् – “यहाँ सिँचाइको अभाव छ । त्यस्तै, कीरा पाल्ने घर पर्याप्त छैनन् ।”

यहाँ उत्पादन हुने कोकुनलाई यहीँ प्रशोधन गर्ने योजनामा रहनुभएका उनी कपडा बुन्ने तान भइदिए यहीँ कपडा नै तयार गर्न सकिने बताउछन् । रेशम खेती हेर्ने विज्ञ उपलब्ध नहुँदा पनि समस्या पर्ने गरेको छ । प्रविधिको अभावमा यहाँ उत्पादन गरेको कोकुनबाट धागो निकालेर धादिङमा लगी उनले कपडा बुन्ने गरेका छन् । उत्पादित धागोमध्ये २० प्रतिशतबाट कपडा बनाएर बेच्ने गरेको र अरु सबै धागो अमेरिका, जापान, लगायतका देशहरुमा नेपालका व्यापारीमार्फत बिक्री गर्ने गरेको उनी बताउँछन् ।
गत वर्ष उनले दाङमा उत्पादित धागोबाट बनाइएका साडी काठमाडौँको भृकुटीमण्डपमा लागेको प्रर्दशनीमा लगेर पनि बिक्री गरेका थिए ।
अहिले गढवा गाउँपालिका वडा नं ४ हडैया गाउँमा मात्र ५० बिघा, गोबरडिहामा १० बिघा गरी जम्मा ६० बिघा जमीनमा सामूहिक र व्यक्तिगत रुपमा रेशम खेती गरिएको छ ।

सोही ठाउँका २९ वर्षीय रामलक्ष्मण शाहले पनि यसपटक आफ्नो दुई बिघा जमीनमा यसको खेती थालेका छन् । अधिकारीबाट प्रेरणा पाएरै यसको खेती थालेको उनले बताए ।
त्यसैगरी, गढवा–४ गोबरडिहाका ३२ वर्षीय अन्जित चौधरीले पनि दश बिघा जमीन भाडामा लिएर रेशम खेती गरिरहेका छन् । धान, मकै, गहँु जस्ता परम्परागत खेती भन्दा रेशम खेतीबाट यथेष्ट आम्दानी लिन सकिने भएकाले आफूहरु यस खेतीतर्फ आकर्षित भएको यहाँका किसानले बताएका छन् ।
रेशम खेती गरेका किसानहरुलाई प्रोत्साहन दिन गत वर्ष प्रदेश ५ को सरकारले कीरा घर निर्माणका लागि साढे ११ लाख रुपैयाँ अनुदान दिएको थियो । सो रकमबाट दुईवटा कीरा घर निर्माण भैरहेको चौधरीले बताए ।
यस्तै, गढवा गाउँपालिकाले पनि यसपटक रेशम खेती गर्ने किसानहरुलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ भने प्रदेश सरकारले रेशम खेतीका लागि रु ५० लाख रकम विनियोजन गरेको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ १ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…