Sansar News

कथा : माइलो

चन्दा थापा (चन्द्रिका)
१ महिना पहिले

रात आधाउधि घर्केको छ । घण्टाघरले ट्याङ–ट्याङ १२ बजेको संकेत दिइरहेको छ । तर आज माइलालाई निन्द्रा लागेको छैन । जीवन जीउन र नितान्त नीजि सुखकै लागि माइलाले के मात्र गरेन र !

अमेरिकाबाट फ्लाइ दुवईको फ्लाइटमा घर फर्किएको माइलो रातिको १० बजे काठमाण्डौंको अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएको थियो । जाने बेलामा सग्लो गएको थियो माइलो, हट्टा कठ्टा ४० वर्षे जवान थियो । तर, अमेरिकाको १६ वर्षको बसाईसंगै माइलो ह्वील चेयरमा बसेर देश फर्कन बाध्य भएको थियो ।

अमेरिकाबाट सँगै आएका गुल्मीका सुर्य बहादुरले उनलाई अमेरिकाबाट नेपालसम्मको साथ दिएका थिए । ‘दुःखमा त हो नि नेपालीले नेपालीलाई साथ दिने ।’ बाटोभरी सुर्यप्रसादले यहि भन्दै साथ दिएका थिए । उनी भन्थे ‘धन्दै नमान्नुस् पर्यो भने म तपाईलाई घरसम्मै साथ दिनेछु ।’ जहाजभित्र, पानी, खाना, ट्वाइलेट लगायतमा उनले खुब साथ दिएका थिए माइलालाई । २१ घण्टे यात्रामा पटक–पटक भक्कानिँदै खुब रोएको थियो माइलो । अमेरिकाको यथार्थता अनि आमा बाबुको माया सम्झेर ।

पण्डित्याइ गर्थे शारदानाथ । दयालु र मायालु थिए । उनी अरुजस्ता पण्डित थिएनन्, जो टुप्पी पालेर पूजा गरेर धर्मको आडम्बरमा दुनियालाई छलेर, हेपेर अनि अन्याय गरेरै जिवीकोपार्जन गर्नुपर्छ भन्ने उनको मनमा थिएन । गंगाको निश्चल पानीजस्तो थियो उनको मन । गाउँमा अन्यायमा परेकालाई सहयोग गर्थे, गरिवीको अभावमा अस्पताल जान नसेकेकालाई सकेको आर्थिक सहयोग गर्थे । गाउँका जमिन्दारले खोसेको गरिवको जमिन उसैलाई फर्काइदेउ भनेर कतिपटक जमिन्दारसँग लड्न पनि जान्थे । गाउँका धारा पधेराँमा हुने छुवाछुतको उनी खुलेरै विरोध गर्दथे । मात्र मानबसँगको मानब सम्बन्धमा मानवियता देखाउँ भन्थे, सबैलाई पण्डित शारदानाथ ।

पण्डित शारदाका तीन भाइ छोरा थिए । पण्डित्याइ गरेर जीवन गुजारा गर्नु परेपनि दुनियाका छोरा छोरीलाई पढाउनुपर्छ भनेर सचेतना जगाउँदै हिड्ने शारदानाथले आफ्ना छोराहरुलाई पनि उच्च शिक्षा पढाउने रहर खुब थियो । त्यसैले त पण्डित्याइ मात्र नभएर गाई, भैसी, बाख्रा गोठालो समेत गर्न भ्याउँथे पण्डित शारदानाथ ।

छोराहरुमध्ये जेठो र कान्छो भन्दा पनि माइलोलाई खुब माया गर्थे । जेठो र कान्छालाई अन्य काममा हिँडाए पनि माइलोलाई घरमा बसेर पढ्न लगाउँथे । पढ्नकै लागि बातावरण मिलोस् भनेर उनले माइलाको लागि यस्तो युक्ति निकालेका थिए ।

सानैदेखि पढाईमा तीक्ष्ण थियो माइलो । माध्यमीक तहको पढाई गाउँमै सक्यो उसले । उ सँगै उसका दाइ र भाइ पनि दुःख सुख पढ्दै गए । जेठो गाउमै बसेर मास्टरी थाल्यो भने माइलो काठमाण्डौं पढ्न जाने रहर देखाएपछि पण्डित शारदानाथले उनलाई काठमाण्डौं पढ्न पठाउने निर्णय गरे । तर, साथमा पण्डित्याइ गरेको २–४ रुपैयाँ भन्दा बढी पैसा थिएन । जति आउथ्यो, पण्डितनीको उपचार खर्च, छोराहरुको पढाइ अनि खानपिनमै सकिन्थ्यो । तै पनि शारदानाथले हिम्मत हारेनन् । माइलो छोरालाई काठमाण्डौं राखेर उच्च शिक्षा पढाउनका लागि घरमुनिको धानखेत बेच्ने निर्णय गरे । त्यसका लागि जेठा र कान्छासँग पनि राय मागे । उनीहरुले पनि माइलोको उच्च शिक्षाको सपना पूरा होस् भन्ने कामना गर्दै बाउको कुरामा सहमत भए ।

आमा मनकुमारी केहि दिनदेखी विस्तारामै लत्रिएकी थिइन् । छोरा काठमाण्डौं पढ्न जान्छु भन्दा भित्र भित्र भक्कानिइन् । विछ्यौनाबाट हत्तपत्त उठ्न नसक्ने आमा माइलो काठमाण्डौं हिड्ने दिन भने बिछ्यौनाबाट जुरुक्क उठिन् । बाटोमा खान भनेर अघिल्लो दिन बल्ल–बल्ल जाँतोमा नारिएर स्वाँ स्वाँ पिसेको मकै, भट्ट, गहुँ, भुटेर बनाएको सातु पोको पारिदिइन् । पुसको जाडो थियो, आमा आफै काम्दै कुना कुनामा थन्क्याएर राखेको माइलाको लुगा सबै निकालिदिइन् र पोको पारिदिइन । अनि बाटोमा अर्नि खानका लागि मकै ठिक्क पारिदिइन् । रातो मालती कलरको रंगमा टिका बनाएर छोरालाई आँखाभरी आँसु बनाउदै गर्लम्म अंगालो हालेर बिदा गरिन् ।

हिड्ने बेलामा आमा र बाको खुट्टा ढोग्दै खुब रोएको थियो माइलो । तर, शारदानाथले भक्कानिएको मुटु सम्हाल्दै भनेका थिए, ‘जा माइला, बेलैमा सहर जाँदैछस् तेरी आमा र मेरो सपना पूरा गरेस्, हामीले तँमाथि देखेको सपना र विश्वासले तैले तेरो जेठा दाइ र कान्छा भाइको भविस्य पनि उज्जवल बनाउनेछस भन्ने आसा छ ।’

बा ले भनेको कुरा मनमा लिएर ‘हुन्छ बा तपाईको सपना म पूरा गर्नेछु’ भनेर घरबाट निस्किएको थियो माइलो ।

काठमाण्डौं सहरमा आयो माइलो । त्यतिबेला सहर अहिलेको जस्तो थिएन । कम मानिस, कम सवारी कम धुलो धुँवा । बैशाखमा पनि बाक्लो सिरक ओढ्नुपर्ने जस्तो थियो काठमाण्डौंको चिसो । गाउँमा भन्दा बढी काठमाण्डौंमा चिसो रहेको महसुस गर्यो माइलाले ।

काठमाण्डौंमै बस्ने तल्लाघरे मास्टरको पछि लागेर काठमाण्डौं आएपछि क्याम्पस भर्ना भयो माइलो । त्यहि..बिज्ञान. विषय लिएर पढ्यो । उसको पढाईको लागि पण्डित शारदानाथले खेत बेचेरै खर्च पठाइरहे । खुब मितव्ययी थियो माइलो । बाउले पठाएको पैसा अन्त खर्च गर्न हुँदैन भन्थ्यो । यदि खर्च भइ हालेपनि त्यो भन्दा बढी कसरी गराउने भन्ने ध्यानमै हुन्थ्यो माइलो । त्यसैले कहिलेकाँही ठमेलमै टुरिष्टहरुलाई घुमाउने काम पनि गर्दथ्यो उसले ।

यता बर्षैपिच्छे माइलोले उच्च शिक्षा लिँदै गयो । उता घरपरिवार पनि राम्रै चल्दै थियो । एक्कासी आमा मन कुमारीलाई व्यथाले च्याप्यो । उनको आधा व्यथामा माइलोको चिन्ता मिसिएको थियो । जन्मेदेखि आफूलाई छोडेर कतै नहिँडेको माइलो, के खायो होला ? कसरी बस्यो होला ? विरामी पर्दा दवाई कस्ले दियो होला? खान पायो होला कि पाएन होला ? भनेरै सोँच्दा सोच्दै दिन बिताउँथिन् मन कुमारी । त्यहि पिर अनि आफ्नो व्यथाले थलिइन् । १५ दिनसम्म गुँहु मुत पनि ओछ्यानमै भयो । बोल्ने साहस र शक्ति भएन । यता माइलाको स्नातकोत्तरको अन्तिम वर्षको परीक्षा चलिरहेको थियो । बोलाउन पठाउने र बोलाएर आउने अवस्था पनि भएन । अन्तत ः मनकुमारीले अन्तिममा आँखा पर–पर बाटोसम्म पु¥याँउदै तनक्क ज्यान तानेर संसारबाट विदा भइन् । सायद उनको आँखाले घर छिर्ने डहरमा माइलो छोरो झोला बोकेर उभिएको र दौडदै आमा भन्दै आउँछ भन्ने आस गरेको थियो ।

आमा वितेपछि ५ दिनमा मात्रै खबर पायो माइलोले । उसको घर आउन तीनदिन भन्दा बढी लाग्थ्यो । भनेको बेलामा खबर पठाउने मान्छे पनि पाएनन् र अन्तिम परीक्षा नबिग्रोस भन्ने पनि सोचे शारदानाथले । त्यसैले पनि अन्तिम अवस्थामा आमाको मुख देख्न पाएन माइलोले । आमाको काज किरिया सकेर फेरि काठमाण्डौं फर्कियो माइलो ।

काठमाण्डौंमै बसेर मास्टर्स सक्यो । त्यहि बीचमा उसले काभ्रेकी शुसिलासँग बिहे गर्यो । उनीहरु क्याम्पस पढ्ने क्रममा भेट भएका थिए ।

शारदानाथ छोराले मास्र्टस सकेकोमा गर्व गर्थे । गाउँमा सबैले उनको सह्राना पनि गर्थे । ‘पण्डित बाजेका छोराले डिग्री गरेरे’ भन्दै गाउभरी कुरा चल्दथ्यो । कतिले त माइलोले गाउँमै फर्किएर गाउँका गरिव दुःखीलाई पढाइदिन्छन कि भन्ने आसा गर्दै पण्डित शारदानाथलाई आफ्नो कुरा सुनाउँथे । उनीहरुको कुरा सुनेर मुसुक्क हाँस्दै पारी हेर्दै सन्तोषको लामो सास फेर्थे शारदानाथ । खुसी थिए, उनी छोराले उच्च शिक्षा हासिल गरेकोमा । तर, समय र परिस्थितिले कहिलेसम्म साथ दिन्छ र, विस्तारै शारदानाथ पनि थलिदै गए । श्रीमतीलाई जस्तै रोगले उनलाई सताउन थाल्यो ।

घरभरीका डिंगा बाच्छा हेर्न र पण्डित्याइ गर्न नसक्ने अवस्थामा पुगे । त्यो अवस्थामा पण्डितलाई साथ दिने केवल ठूलो छोरा थिए । क्याम्पस टेकेका तर, परिस्थितिले बढी शिक्षा लिन नपाएका पण्डितबाको ठूलो छोरा नै अब बाबुको बलियो काँध बनेर उभिए । उनी मास्टरी गर्दथे । घरका डिंगा बाच्छाका गोठालो बन्थे । अनि फुर्सद पाउना साथ गाउँभरीका बालबालिका बटुलेर उनीहरुलाई कखरा सिकाउँथे । जिवन र जिन्दगीको परिभाषा सिकाउँथे । देश र समाजका लागि सबै बालबालिका योग्य नागरिक बन्नुपर्छ भन्थे । ठ्याक्कै शारदा प्रसादको बिढो थामेका थिए ठुलाले ।

तर, कान्छा भने त्यस्ता भएनन् । कान्छा सानै हुँदा आमाले छोडेर गइनँ । माइलोपछिको कान्छो भनेर बाले पनि कहिल्यै केही भनेनन् । ठूलाले त कान्छो भाइ भनेर वरको सिन्को पर सार्न दिएनन् । आफूले पढ्न नपाएपनि कान्छाभाइलाई डाक्टर बनाएर गाउँको सेवा गराउने उनको ठूलो सपना थियो । गाउँमा डाक्टर नभएकैले आमाले बाँच्न नपाएको भन्ने उनको मनमा थियो । त्यसैले पनि भाइलाई डाक्टर बनाएर गाउँभरीका धेरै आमाहरुको जीवन बचाउन चाहान्थे ठूला ।

तर,कान्छाले पनि माइलाकै बाटो समाएर उच्चशिक्षा हासिल गर्न सहर पसेका थिए । घरमा बा र ठूला मात्रै भए । दुःख सुख गरेर बा लाई सहयोग गर्दै अनि घर धान्दै आए ठूलाले । एउटी शुसील कन्या पनि बिहे गरका थिऐ । भाइहरुको उपस्थितिमा धुमधामसँग विहे गर्ने रहर थियो ठुलाको । तर, घरको खराब परिस्थितिले बाँधिएका उनले त्यो गर्न सकेनन् । अन्तत बाको हातबाट टिका लगाएर एउटी कन्या भित्राए । उनले बा’को स्याहार गर्ने र घर स्याहार्न थालिन् भने ठुलाले बाउको पेशा सहित समाजसेवा गर्न थाले ।

काठमाण्डौमा बसेको कान्छो माइलादाइको ब्यक्तिगत जीवनचर्याबाट आजित भैसकेको थियो र उसले निराशा शिवाय ब्यक्त गर्न छाडिसकेको थियो । बन्द ब्यापारका लागी क्रृण पनि नदिने र गाउको जग्गा बेच्नपनि माइलाले नै रोकेको कारण उसले बेलामौकामा रोष पनि प्रकट गरेको थियो ।

यसैबिच माइलोले अमेरिका जाने मेसो मिलायो । ठमेलमा आउने टुरिष्टसँग उसको संगत बढ्दैगयो । अनि त घुम्ने बहानामा अमेरिका पस्यो । उसका तीन छोराहरु थिए । विस्तारै छोरा र श्रीमती पनि अमेरिका झिकायो । अमेरिकाको एउटा प्रशिद्ध कम्पनीमा काम पायो माइलोले । छोराहरु त्यहि पढायो । श्रीमतीले पनि काम गरिन् अनि छिट्टै नै अमेरिकामा नै राम्रो व्यवस्था गरे उनीहरुले ।

रमाइलो थियो अमेरिका । संसारका मानिसहरुको सपनाको देश अमेरिकामा माइलो पनि खुसी थियो । कहाँको पानी चुहिने गाउँको खरको छानो अनि कहाँको बंगला गाडीसहितको सुख सुविधाको अमेरिकाको बसाई । सुखले छिट्टै नै दुःख बिर्साइदिन्छ भनेजस्तै माइलोलाई पनि अमेरिकाको सुखले घरको विगत सबै बिर्साइदियो । मनग्य पैसा कमायो । यता नेपालमा ससुरालीका आफन्तमार्फत् ठाउठाउमा घडेरी जोड्यो । अनि गाउँमै पुगेर पनि अमेरिकी स्टाइलमा सुविधायुक्त आधुनिक घर बनाएर सालीका परीवारलाइ बस्नदियो । तर, विरामी वावु र रातोदिन बाबुको सेवा गरेर आफ्नो जीउनी आफ्नो माटो धानेर बसेको ठूलोदाइ र आफ्नो धरोहर ‘बा’ लाई माइलाले सामान्य औपचारीकता पुरा गरेर अमेरीका फर्किएको थियो ।

क्ेहि बर्षपछि विस्तारै गाउँमा फोन चल्यो । लाइन लागेर फोन गर्नुपथ्र्यो । ठुलाले दुई घण्टा लगाएर माइलोलाई फोने गर्न जान्थ्यो । तर, यता र उताको समय नमिलेर पनि होला कहिले दुईभाइको भेट हुन्थ्यो कहिले हुन्थेन् । भेटमा केही बेर सन्चो विसन्चो सोधेर बाबुको बिमार र उपचारका लागि पैसाको कुरा गथ्र्यो ठुलाले । त्यो बाध्यता पनि थियो ठूलाको ।

बुबा गम्भीर बिरामी भएको र अप्रेशन गर्न तीन लाख ंपैसा जोहो गर्न काठमाण्डौंका डाक्टरले भनेका थिए । तर, ठूलाले त्यसको जोहो गर्न सक्ने अवस्था थिएन । उसका पनि चार छोरा छोरी भइसकेका थिए । ती छोराछोरीलाई खान, लाउन अनि उनीहरुको शिक्षा अनि बाको दबाई गर्न खुव धौ–धौ थियो ठूलोलाई । जहिले पनि आसा गर्दथ्यो अब त माइलोले पैसा पठाउँला र बाको अप्रेसन गर्न काठमाण्डौं लिएर जाउँला भनेर तर, माइलाले कहिल्यै पठाएन । माइलाले जहिले पनि अमेरिकामा आफ्ना पनि बाध्यता र विवषता छन् भनेर टार्यो । अलि–अलि दबाईको लागि पैसा जुटाएका ठूलाले त्यहि पैसा नै माइलोले पठाएको भनेर ढाडस दिन्थे बालाई । बाको सपना र परिवारको समृद्दिको सपना तोडिएकोमा बा लाई पीडा नहोस् भनेर झुटै सहि, बालाई सान्त्वना दिन्थे ठुलाले ।

त्यहि विचमा माइलाका छोराछोरी अमेरिकाबाट नेपाल घुम्न होलीडे टुर आए । उनीहरु इलाम, धनकुटा, दार्जिलिङ, सिक्कीम, चितवन र लुम्बिनि लगायतका ठाउँमा घुमे तर विरामी हजुरबा र ठूला बाको परिवारलाई भेट्न गाउँ गएनन् । ठूला बासँग फोनमै कुरा गररे आफूहरु अमेरिका फर्किन लागेको जानकारी भने गराए ।

सहर पसेको कान्छो आफ्नै धुनमा रमायो । सानैदेखि दुःख नभोगेको कान्छोलाई घरको कुनै वास्ता भएन । ब्यक्तिबादबाट आजित उसले केहि नबोली समस्याबाट टाढिन मात्र खोज्दथ्यो । उसको एउटा मात्र छोरालाइ सेन्टजेभियर्सबाट ग्रयाजुयसन गराउने चिन्ता मात्र प्रकट गर्दथ्यो ।
अन्तमा ठूलाले बा लाई बचाउन सक्ने अवस्था टाढिदै गयो । उनले १० वर्षसम्म बाको स्याहार गरे । दुःख सुखमा बालाई खुसी दिँदै गए ठूलाले । तर पनि बाको व्यथा दुईको एक भएन । च्याप्दै लग्यो । अन्तमा ‘दाजुभाइमा कहिल्यै बैरभाव नगर्नु है भनेर भाइहरुलाइ पनि सुनाइदिनु ’ भन्दै संसार छोडे शारदानाथले ।

वर्षाको मास थियो । मुसलधारे पानी परिरहेको थियो । घरको छानोले पानी थेग्थेन । भित्र धुरीखाँबो हुँदै पानी चुहिन्थ्यो । ठाउँ–ठाउँमा कतै ताउलो त कर्तै तमौरा थापेर पानी तर्काउनु पथ्र्यो । जिर्ण भएको थियो घर । आँधा गाह्रो पनि फुटेको थियो । त्यहि घरमा एक्लै किरिया बसे ठूला । माइलालाई पनि खबर गरेँ । कान्छालाई पनि खबर पठाए । फोनमै एकछिन रोयो माइलो । अनि ‘ म आउछु दाइ’ भनेर फोन राखिदियो ।

सुख र र वैभव थियो अमेरिकामा माइलोलाई । छोराछोरीहरुले पनि राम्रोसँग पढे । उनीहरु त्यहिको संस्कारमा रमाउन थाले । विस्तारै शुसीला पनि छोराछोरीतिरै व्यस्त भइनँ । जिन्दगीको आधा उमेर सकिसकेको माइलोलाई पश्चातापले कहिलेकाँही घरको सम्झनाले सताउथ्यो । अनि त घरमा अनेक निहुँ निकालेर झगडा गर्न थाल्थ्यो । छोराछोरी पनि चिढिएका थिए । शुसीला पनि करकर गर्ने लोग्ने भएभन्दा नभएकै जाती भन्नेमा पुगेकी थिइन् । अनि त्यति वास्ता गर्न पनि छाडिन ।

समयको चक्र न हो, एकदिन माइलो कामबाट फर्कदै थियो । अचानक विपरीत दिशातर्फबाट आएको ठूलो ट्रकले हान्यो । होसमा आउँदा न्युयोर्कको बोनइन्जुरी अस्पतालको बेडमा थियो माइलो । छोराछोरी श्रीमती छेउमा कुरेर बसेका थिए । त्यहिबेला थाहा पायो, दुर्घटनामा परेर उसका दुवै हर नचल्ने भएको ।

एकमहिनाको अस्पतालको बसाइपछि माइलो घर फर्कियो । सायद ‘कली आजको भोली’ भन्ने हो कि उसमा पनि त्यहि भयो छोराछोरीले वास्तै गरेनन् । उनीहरुले नेपालको जस्तो पारिवारीक संस्कृतिमा हुर्कन पाएनन् । एक्लै खाने, एक्लै हिँड्ने, एक्लै बस्ने संस्कृति रहेको अमेरिकामा उनीहरुलाई बाबुआमाप्रतिको दायित्वबोध भएन । नत माइलोले कहिल्यै आफ्ना बा र परिवारसँग छोराछोरीलाई कुरा गरायो, नत आफ्नो विगत उनीहरुलाई कहिल्यै सुनायो । त्यसैले पनि हो कि छोराछोरी उबाट पनि टाढा थिए । शुसीलाले पनि कति सक्ने स्याहार गर्न भनेर हार मानिसकेकी थिइन् ।

धेरै दुःख पायो माइलोले । पैसाको भन्दा पनि परिवारको साथ अनि माया पाएन । दिन, महिना, छ महिना अनि वर्षदिन विस्तरामा बस्दा आत्तियो माइलो । बल्ल घरपरिवार सम्झने फुर्सद आयो । मकै र भटमास पोको पारिदिएर निधारमा रातो टिका लगाइदिएर उच्च शिक्षाका लागि आमाको काख र घर छोडेको सम्झियो, बाको सपना सम्झियो, ठूलो दाइको याद आयो । बा लाई उपचार खर्च पठाइदिन ठुल्दाइले गरेको अनुरोध सम्झियो । अनि त उ आत्तियो । पुराना दृश्यहरु तछाँड मछाड गरेर सम्झनामा आउन थाले । अनि छोराछोरी र श्रीमतीलाई अमेरिका बसाईको सुखद कामना गरेर अमेरिकाबाट ह्विलचियरको साथमा १६ वर्षपछि देश फर्कियो माइलो ।

राति ११ बजे उत्रिएको उ, साथीसँगै सुन्धाराको एक होटलमा गएर बसेको थियो ।

एयरपोर्टममा झरेर जब जन्मेको माटोको बासना हरर उसको नाकमा ठोक्कियो , त्यसपछि भक्कानिएको थियो माइलो । साथीले देख्लाकि भनेर डराउँदै उसको आखा छलेर चश्मा भुइँमा खसालेको बहाना गर्दै औलाले माटो छोएर टिका लगाएको थियो । अनि चुमेको पनि थियो ।
लामो समयपछि काठमाण्डौं फर्किदा धेरै परिवर्तन भइसकेको थियो ठूला–ठूला घर बनिसकेका थिए । गाडी मोटरसाइकलको चाप थियो सडकमा । एकछिन त माइलो आत्तिएको थिया, यो त्यहि काठमाण्डौं हो त भनेर ।

अर्कोदिन बिहानै होटलले गाडीको व्यवस्था गरिदिएको थियो । माइलो त्यहि गाडीमा चढेर घर पाल्पा गए । गाउँमा उनलाई सबैले स्वागत गरे । अस्वस्थ्य भएकोमा चिन्ता व्यक्त गरे । सबैलोइ भेटौला हैं भन्दै हात हल्लाउँदै उनी आफ्नो घरमा गए । ससुरालीहरु मार्फत पठाएको पैसाले सुबिधासम्पन्न घर बनेको थियो गाउँमा । तर, माथिल्लो तला चाहि अमेरीकामा रहेकी उनकै श्रीमतीको जिद्धीमा आफूहरुलाई बस्नका लागि भनेर ताल्चा झुण्डयाएर राखेका थिए भने अरु सबै सालाको जिम्मामा थियो ।

रिजर्वको बोलेरोमा माइलोलाई अचानक घरमा देख्दा ठूलाको आँखा रसाएका थिए । अंगालो हालेर रोए । वाल्यकाल सम्झिए । बाले खेत बेचेर उच्चशिक्षाका लागि काठमाण्डौं पठाएको सम्झिए । अनि अंगालोमा भाइलाई कसेर रोए ठूला । माइला पनि केही क्षण रोए । सन्चो विसन्चो सोधेर त्यो साँझको खाना दाइसंगै खाएर आफ्नो घरतिर गए माइला ।

घरको तला चढ्न गाह्रो थियो माइलालाई । ठूलाले आप्mनो जेठो छोरा विष्णुलाई बोकेर लैजान आग्रह गरे । विष्णुले माइला बालाई बोकेर तलामाथि पुर्याइदिए । ठूलाले कहिल्यै पनि आफ्नो गरिवी अनि भाइ माइलोको व्यवहार छोरालाइ सुनाएका थिएनन । न त आफूले विगतमा भोगेको दुःख नै सुनाएका थिए । विष्णुले घरको व्यवहार देखेर जति आफै महसुस गरे, त्यतिमात्र उनको मनमा थियो । हृदयदेखि विष्णुले माइला बालाई सघाए । तर, पनि माइला भने ठूला र उनका सन्तानप्रति त्यति सकारात्मक र दयालु देखिएनन् ।

धनको दम्भले जन्मेको माटो टेक्दा पनि छाडेन् माइलालाई । दाइको छोरालाइ कहिलेकाहि दिएको पैसाका आधारमा उनले दाइका छोरालाई तलबै दिएर काम गराए जस्तोगरी आफ्नो स्याहार गराएको सम्झिए । यो मनोबिज्ञानका कारण छोरा बिष्णुपनि माइला अंकलसंगै बस्न सकेनन । ससुराली र सालीहरुले त उपयोगविहिन माइलाको वास्ता गर्न छाडेको धेरै भैसकेको थियो । तर, पनि ठूलोदाइले आफ्नो रगत सम्झिएर आफ्नो धर्म छाडेनन् । गत बर्ष बारेको आपmनै खोपीमा ल्याएर भाइको स्याहार सुसारमा सकेसम्म लागे, केही कमि राखेनन् ।

माइलाको घाउ बढदै गयो । अमेरिका र काठमाण्डौमा जस्तो तत्काल अस्पतालको सुविधा गाउँमा भएन । श्रीमति र छोराको असहमतिका बाबजुद पनि बाकी रहेको आपmनै टुक्रो बेचेर भाइको उपचारमा धेरैपटक काठमाण्डौं आउने जाने पनि गरे । त्यो विचमा पनि अमेरीकाबाट माइलाका श्रीमति छोराछोरी भेट्न आएनन् । एकातिर बढेको घाउ, अर्कोतिर आमा, बा र आफनै उपचारको लागी सबै जग्गा बेचेर पनि दाजुले निभाएको धर्म, आफनै असहयोगका कारण कान्छोभाइको संपर्कविहिनता , अनि केहि महिना अगाडि श्रीमति नेपाल आएर ससुरालीको नाउमा घर पास गरेर फर्केको यादले उनलाइ बढि छटपटि भै रहेको थियो । तर उनी अब आत्मग्लानी र पश्चाताप पनि बताउन नसक्ने भैसकेका थिए । केहि भन्न खोजेजस्तो र देखाउनखोजे जस्तो गरी उनी दाइको आखामा सुनाउन खोज्दै थिए । आखाको परेला बन्द गर्नु अगाडी दाइ दाइ भनेर बोलेको हो की भन्ने अनुभुतिसम्म दिएर नेपाल आएको ५ वर्षपछि माइलाले संसार छाडेर विदा भए ।


सर्बाधिक पढिएको

कथा : माइलो

कथा : माइलो १ महिना पहिले | चन्दा थापा (चन्द्रिका)

रात आधाउधि घर्केको छ । घण्टाघरले ट्याङ–ट्याङ १२ बजेको संकेत…

यति भनेर गए उनी ‘तिमी साहसी बन्नुपर्छ’

यति भनेर गए उनी ‘तिमी साहसी बन्नुपर्छ’ ४ हप्ता पहिले | गंगा खतिवडा, काठमाण्डौं

दिव्य शक्ति पाएको महसुस भइरहेको छ आज मलाई । धैर्य,…

कथा : २१ वर्ष

कथा : २१ वर्ष १ हप्ता पहिले | संसार न्यूज़

नलानुस म्याम, तपाइँले सक्नु हुन्न यस्लाइ । लुकिलुकि गाजा र…

लघुकथा : आरक्षण

लघुकथा : आरक्षण ४ हप्ता पहिले | महेश श्रेष्ठ

‘यो सार्कीको छोरो पढ्दै पढ्दैन दाइ’ विष्णुप्रसाद पौडेलले सुनाउदै भने,…

लघुकथा : एडभान्स

लघुकथा : एडभान्स १ दिन पहिले | अरुणबहादुर खत्री ‘नदी’

मेरो घरमा दुइटा कोठा खाली भएपछि एकजना बुढी आइमाई कोठा…

लघुकथा-तुहिएकी आइमाई

लघुकथा-तुहिएकी आइमाई १ दिन पहिले | रजनी खत्री, काठमाण्डौं

बुवाको आँखाको नानी बिहेपछि कस्तो अनौठो भो जिन्दगानी । बिबाह…