२८ असार, काठमाण्डौं । पत्रकार किशोर कुमार शर्मा सेढाईलाई पुत्रशोक परेको छ । अष्ट्रेलियामा व्याचलर इन कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेका स्वदेश सेढाईले आत्महत्या गरेपछि काठमाण्डौंमा रहेका सेढाईको परिवार शोकाकुल छ ।
ठिक २८ महिना अगाडि सन् २०१७ को मार्चमा अष्ट्रेलिया पढ्न गएका स्वदेशले सन् २०१९ को जुलाई ११ को राति आत्महत्या गरेको बताइएको छ । सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजि सिड्नीमा कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेका उनले एक हप्ता अगाडि बाबु किशोर सेढाईसँग पढाईको विषयमा छोटो कुराकानी गरेका थिए भने ऐक्यबद्धताकी पूर्व सहसम्पादक तथा हाल अष्ट्रेलिया प्रतिनिधि रहेकी अनिता भट्टराईसँग काम भन्दा पढाईमा ध्यान दिएको स्वदेशले बताएका थिए ।
पोखराका नेपाली परिवारसँग मिलेर अर्पाटमेन्टमा बसेका उनी सो साँझ पनि राम्रैसँग लामो गफ गरेर आफ्नो कोठामा सुत्न गएको बताइएको छ । विहान नियमित समयमा नउठेपछि उनको खोजी गर्ने क्रममा पासो लगाएर आत्महत्या गरेको अवस्थामा उनी भेटिएको बताइएको छ ।
उनको मृत्युपछि गैरआवासीय नेपाली संघ, झापा समाज अष्ट्रेलिया र आफन्तहरुले कानुनी प्रक्रिया पूरा गरी उनको शव नेपाल पठाउन पहल गरिरहेको जनाइएको छ । कर्मचारी संचयकोषमा वरिष्ठ अधिकृत रहेकी उनकी आमा गंगा उप्रेती र ऐक्यबद्धता प्रकाशनमा लामो समय सहसम्पादक रही हाल काठमाण्डौ. महानगरपालिकाको प्रेस विभागमा कामगर्ने उनका बुवा किशोर सेढाईको बालुवाटार टुँडालदेवीस्थित घरमा समवेदन व्यक्त गर्ने आफन्त र शुभेच्छुकहरुको भीड लागेको छ ।
सहकर्मी किशोर सेढाईलाई पर्न गएको यो चोटप्रति ऐक्यबद्धता प्रकाशन गहिरो समवदेना व्यक्त गर्दछ ।
वि.सं.२०७६ असार २८ शनिवार १४:११ मा प्रकाशित