Sansar News- Nepal's Fast Khabar Online news portal

यति भनेर गए उनी ‘तिमी साहसी बन्नुपर्छ’

गंगा खतिवडा, काठमाण्डौं
२ महिना पहिले
यति भनेर गए उनी ‘तिमी साहसी बन्नुपर्छ’

दिव्य शक्ति पाएको महसुस भइरहेको छ आज मलाई । धैर्य, सहनशीलता र समयको स्वीकारोक्ति जीवनका अभिन्न पाटा रहेछन् । परिस्थितिलाई स्वीकार गर्दै अघि बढ्न सक्ने साहस कुनै अलौकिक दैवी शक्तिबाट प्राप्त गरिरहेको आभास हुन्छ मलाई । तर म ढुक्क छु, यो कुनै चामत्कारिक दैवी शक्ति नभई सधैं मेरो मन–मुटुमा बस्न चाहने र दिनरात मेरो अनुहारमा खुसी खोजिरहने उनै प्रिय पात्रको आत्माले दिएको साहस हो । नत्र यति धेरै शक्ति र साहस भएकी नारी होइन म ।

जन्मपछि मृत्यु अवश्यम्भावी र अकाट्य हो । यसलाई कुनै शक्तिले नियन्त्रण गर्न सक्दैन । जन्मेपछि मर्नैपर्छ । जीवनको एउटै सत्य मृत्यु हो, अरु सबै झूठ । बाबुआमा, छोराछोरी, नाताकुटुम्ब, साथीभाइ, तिमी र म, हाम्रो मायाप्रेम सबै झूठ । कतिखेर हामी जीवनको सत्य अँगाल्न पुग्छौं, पत्तै नपाई सहस्र स्विकार्नुपर्छ ।

कुरैकुरामा उहाँ मलाई भन्नुहुन्थ्यो, ‘स्वीकार्नुको विकल्प छैन, जे–जस्तो परे पनि हामीले सहनुपर्छ । हेर ! तिमीभन्दा अगाडि नै मर्छु, म धेरै बाँच्दिनँ । यो झूठ र भ्रमले भरिएको संसारमा धेरै दिन बस्न मन छैन तर तिमी साहसी बन्नुपर्छ । आत्मनिर्भर बन्नुपर्छ । नारी सक्षम हुनुपर्छ । चार दिवारभित्र घरधन्दामा सीमित हुने होइन, बाहिर निस्केर आफ्नो पहिचान बनाउनुपर्छ ।’ यी सब उहाँको आदर्शजस्तो लाग्थ्यो र सत्य पनि । यिनै शब्दले आज मलाई शक्ति र साहस दिइरहेका छन् ।

समाजमा विद्यमान कुरीतिप्रति आक्रोश व्यक्त गर्नुहुन्थ्यो, ‘श्रीमान् बितेपछि सम्पूर्ण शृङ्गार फ्याँकेर ज्यूँदै आफ्ना इच्छा र भावनालाई आहूति दिने महिला र विधवालाई अर्कै दृष्टिले हेर्ने यो समाजको थिति देख्दा घीन लागेर आउँछ । मलाई केही भइहाल्यो भने पनि तिमी सधुवा नारी जसरी बाँच्नुपर्छ यो समाजमा ।’

विकृतिको विरोधमा बोलेका लाग्ने ती शब्दले आज मलाई वाणले झैं घोचिरहेछन् । क्रान्तिकारी सोचाइबाट अभिप्रेरित भई महिला अधिकार र नारी सम्मानका विषयमा बोलेको ठानेर ती शब्द सही लाग्थ्यो । ‘तिमीले सबै कुरा सम्हाल्नुपर्छ, विधवाजस्तो बनेर होइन, पूर्ण रुपले भरिएकी सधवा बनेर’ भनिरहँदा मुख थुन्दै दुई चड्कन गालामा चड्काएको पनि थिएँ कुनै दिन ।
केही बेर ठुस्किएपछि ‘ओ हो, किन रिसाको ? मैले सही भनेको हुँ’ भन्दै हाँसोमा उडाइदिनुहुन्थ्यो । अनि त्यही हाँसोमा सबै भुलिदिन्थें म ।

धेरै समय पहिला भन्नुभएको यो कुरा आज… चुपचाप सहेर एक्लै हिँड्न विवश छु । न हातले थुन्न मुख छ न चड्काएर रिस व्यक्त गर्न गाला ।

भनिन्छ जन्म, मृत्यु र विवाह पूर्वजन्ममै तय भएको हुन्छ । त्यसैले होला दुई फरक जिल्लाका हामीबीच अकस्मात परिचय हुन पुग्यो व्यापारको बहानामा । आफैं केही काम गर्दै पढ्नुपर्छ भन्ने मेरा बुबा, दाइ र मेरो पनि विचारले एउटा पसलको विकल्प खोजेको थियो– काठमाडौको भीडभाडभित्र छिर्न वा भनौं उहाँसँग परिचित हुन । पढ्नकै लागि त घरबाट कलेज ओहोरदोहोर गर्न सम्भव थियो । त्यस ठाउँका सबै छोराछोरीले अहिलेसम्म त्यसरी नै उच्च शिक्षा हासिल गरिरहेकै छन् ।

अरुभन्दा मेरा छोराछोरीलाई फरक र सही बाटोमा हिडाउँछु, गाउँमा बरालिएर बस्दा बिग्रन सक्छन् भन्ने मेरा बुबाको मार्गनिर्देशले हामीलाई सधैं आत्मनिर्भर बन्न र गलत कार्य नगर्न उक्साइरहन्थ्यो । अहिलेसम्म पनि हामीले बुबाको त्यो मार्गनिर्देशलाई आत्मसात् गरिरहेका छौं ।
दाइको निरीक्षण र लगानीमा म र भाइ पसल चलाउँदै आफ्नो पढाइलाई निरन्तरता दिन थालेका थियौं ।

पसल बसाइकै क्रममा हो, उहाँसँग परिचय भएको । हामी दिदीभाइ उस्तैउस्ता । दुवै अल्लारे उमेरका देखेर होला, त्यतिबेला उहाँले हामीलाई पसल सञ्चालनका कुरादेखि लिएर त्यहाँ वरिपरिका मानिस र तिनीहरुका व्यवहारका विषयमा धेरै जानकारी र सल्लाह दिनुभएको थियो । हामीलाई मानिसहरु चिन्न र पसल सञ्चालन गर्न निकै सजिलो भएको थियो । अपरिचित ठाउँमा उहाँको यो व्यवहारले हामीलाई नजिकिन समय लागेन । पत्रकार सर भनेर सबैले नमस्कार गर्ने, हाँसिरहने, ठट्टा गरिरहने । अत्यन्त सहयोगी, इमान्दार, मन र विचारले पवित्र, समाजका नराम्रा पक्षलाई छाड्दै, सुधार्दै जानुपर्छ भन्ने क्रान्तिकारी सोच भएको असल व्यक्ति लाग्थ्यो । मसँग खासै बोलचाल हुदैनथ्यो । भाइसित भने गफिएर बस्नुहुन्थ्यो । त्यही बीचमा उहाँको व्यवहार बुझेको थिएँ ।

ढुङ्गा र मूर्तिपूजामा विश्वास नगर्ने, आफूलाई नास्तिक भन्न पनि नरmचाउने । भन्नुहुन्थ्यो– ‘भगवान् हामीभित्रै छन्, मन्दिर गएर पूजा गर्दैमा र दान–दक्षिणा दिँदैमा भगवान् खुसी हुने होइनन्, यो आडम्बरी सोच हो । सबैलाई सम्मान गर्नुपर्छ, गरिब–दुःखीको सेवा गर्नुपर्छ, कसैको चित्त दुखाउनु हुँदैन र अन्याय सहनु हुँदैन । यति गरेपछि हामीभित्रै भगवानको बास हुन्छ । मान्छेहरु आफूभित्रको भगवानलाई भोक र प्यासमा राखेर व्रत बस्छन्, मन्दिरमा गएर खानेकुरा चढाउँछन् । कसरी धर्म हुन्छ तिनलाई ? म मन्दिरमा गएर मूर्ति ढोगेर पुण्य मिल्छ भन्ने कुरामा विश्वास गर्दिनँ ।’

पहिलोपटक दक्षिणकाली गएका बेला पनि उहाँले यिनै कुरा दोहो¥याउनुभएको थियो । त्यो दिन उहाँसँग दक्षिणकाली जाने संयोग जुरेको थियों ।

‘भोलि भाउजू र म दक्षिणकाली जाने भनेको उहाँको नमिल्ने भयो रे, अब एक्लै भए पनि जान्छु । भाकल छ, जान त प¥यो नि !’ दक्षिणकाली जाने अघिल्लो दिन बेलुका प्रसंगवश यसो भनेको थिएँ ।

‘मलाई लाने हो त, भोलि अफिस छुट्टी छ । लाने भए म पनि जान्छु’, उहा“ले भन्नुभयो । मलाई जिस्किएर भनेजस्तो लाग्यो ।

‘भइहाल्छ नि किन नहुनु, मैले लैजान पर्छ र, गाडीले लग्दिहाल्छ !’ मैले पनि ठट्टैमा भनिदिएको थिएँ ।

यो एउटा सामान्य ठट्टाजस्तो लागेको थियो तर साँच्चै उहाँ भोलिपल्ट बिहान बसपार्क आउनुभएको रहेछ । मलाई अप्ठेरो लागिरहेको थियो, पहिलोपटक कुनै केटा मान्छेसँग एउटै सिटमा बसेर कतै गइरहेको थिएँ । त्यो अप्ठेरो उहाँमा पनि थियो तर लुकाएर सामान्य बन्न खोज्नुभएको थियो । पसलमा हुँदा हामीबीचमा दोहोरो संवाद खासै हुँदैनथ्यो । गाडीमा पनि राम्रोसँग कुराकानी भएन ।

मन्दिरभित्र प्रवेश गर्ने क्रममा ‘म त मन्दिरमा जान्नँ, तिमी पूजा गरेर आऊ, सक्छ्यौ भने मलाई पनि केही मागेर ल्याइदेऊ भगवानसँग’ भन्नुभयो ।

‘के कुरा हो भन्नु न, मागिहाल्छु नि !’

‘मागिदिने भए मात्र भन्छु ।’

के नै कुरा होला र त्यस्तो माग्न नसकिने भन्ने सोचेर ‘हुन्छ, साँच्चै माग्दिन्छु’ भनें ।
‘ऊ त्यो पुलमा हेर त के लेखेको छ, त्यो शब्दमा लेखिएको मेरै होस् भनेर भगवानसँग मागिदेऊ, म धेरै धन्य हुनेछु ।’

हेरें, पहिला त केही देखिनँ, गहिरिएर हेर्दा ‘पूर्णवती गंगा’ लेखेको रहेछ । अझै मैले बुझिनँ, ‘त्यो किन माग्नु र !’

‘त्यो पछाडि लेखिएको शब्दले मेरो जीवनलाई धेरै प्रभाव पारेको छ । त्यो शब्द जीन्दगीभर मेरो मुटुमा राख्न चाहन्छु । म आफ्नो बनाउन चाहन्छु ।’

कुरा बुझेपछि छाँगाबाट खसेझैं भएँ । सँगै आउनुको अर्थ बुझें । मन्दिर गएर कसरी पूजा गरेर आएँ, आफैंलाई थाहा छैन । त्यो दिनले मेरो जीवनमा धेरै उथलपुथल ल्याइदिएको छ । त्यो दिन उहाँले बोलेका हरेक शब्द मेरो मानसपटलमा घुमिरहन्छन्, हिजो भनेजस्तो लाग्छ । प्रेम प्रस्तावको शालीन र अनौठो शैलीले उहाँको सिर्जनशीलतालाई स्वतः झल्काउँछ । पारिवारिक र सामाजिक बाधा बन्धन सम्झेर पाइला लड्बडाएका थिए । भित्र एक किसिमको खुसी र उन्माद थियो, बाहिर दुःखी बन्दै सम्हालिन खोज्दै थिएँ । सायद त्यसदिन मन्दिर नगएको भए हाम्रो यो छोटो यात्रा सम्भव हुँदैनथ्यो ।

एक पोका वाइवाइ चाउचाउ र एक लिटर पानीले दिनभरिको भोक शान्त पारेका थियौं त्यसदिन । होटेलमा बसेर खाजा खान दुवैको भोक हराइसकेको थियो । चौरमा बसेर आफ्ना सबै वास्तविकता रामायणका कथाजसरी सुनाउनुभयो । आफ्ना पारिवारिक, व्यक्तिगत समस्या, आफूले भोग्नुपरेका दुःख र सङ्घर्षका कथा भनिरहँदा मेरा गह भरिइसकेका थिए । नदेख्नेगरी पुछ्थें ।
‘मसँग यति धेरै समस्या हुँदाहुँदै पनि तिमीलाई माया गर्छु र आफ्नो दुःखको सागरमा डुबाउन चाहन्छु भन्नु मेरो मूर्खता हो । मसँग पार लगाउन नसकिने दुःखको सागर छ । तिमीलाई सुख दिएर पाल्छु त भन्न सक्दिनँ, भौतिक सुख–सुविधामा राख्न नसके पनि मानसिक र शारीरिक दुःख कहिल्यै दिने छैन । तिमी काठमाडौंको सुखसयलमा हुर्केकी, हुने–खानेकी छोरी, मैले यस्तो नसोचेको नै वेश हुन्थ्यो तिम्रालागि । तर, मैले नभनी बस्न सकिनँ । फोटोग्राफरको रुपमा लामो समय काम गरें, कति मोडल साथी भए, पत्रकारिता र साहित्य क्षेत्रमा पनि थुप्रै केटी साथीहरु भए तर कसैप्रति पनि मेरो चाहना गएन । जब तिमीलाई देखें, मेरो मनले रोज्यो र जीवनसाथी बनाउने चाह पलायो । यसमा तिमीलाई बाध्य पार्न चाहन्नँ । आफ्नो जीवनको विषयमा निर्णय लिने अधिकार तिमीलाई मात्रै छ । सक्छ्यौ भने मलाई स्वीकार गर । तिमीलाई मैले अपनाउनु दुःखको सागरमा हाल्नु हो भन्ने कुरा थाहा हुँदाहुँदै पनि म विवश छु । तिम्रो सरल व्यवहारले एकतर्फी पागल बनाएको छ । के मलाई स्वीकार्न सक्छौ ?’

एउटा फिल्मी घटनाजस्तो लागिरहेको थियो । आँखाबाट आँसु झार्दै राख्नुभएको प्रेम प्रस्तावलाई मैले भित्रभित्रै स्विकारिसकेको थिएँ तर तुरुन्तै हुन्छ÷हुन्न भन्ने जवाफ दिइनँ । मलाई एकातिर परिवार र समाजको डर थियो, अर्कातिर तुरुन्त स्विकार्दा हल्का होइन्छ भन्ने लागेर ‘सोचेर जवाफ दिन्छु’ भनें ।

मेरो जीवनको सबैभन्दा कठिन दिन लागेको थियो त्यो । लभ म्यारिज गर्नु भनेको बुबाआमाको नाक काट्नुजत्तिकै सोच्थ्यो समाजले, मेरो परिवारले र स्वयं आफैंलाई पनि मागीविवाह नै मनपथ्र्यो । उहाँको निस्वार्थ माया, निश्चल भावना र विश्वासले जुनसुकै परिस्थिति सामना गर्नुपरे पनि गर्छु, यो व्यक्तिलाई खुसी बनाएर राख्छु, उसको दुःखमा साथ दिन्छु भन्ने दृढ प्रतिज्ञा गरिसकेको थियो मनले । तर उहाँलाई यो कुरा कहिल्यै भनिनँ । ‘मेरा बुबा–आमालाई मनाएर गर्नुहुन्छ भने ठिक छ, नत्र भागेर गर्दिनँ’ भन्थें ।

यसो भन्दा उहाँलाई निकै तनाव हुन्थ्यो । भन्नुहुन्थ्यो, ‘तिम्रो परिवारले मलाई दिँदैनन् । ठिक छ, तिम्रो अन्त विवाह भए पनि तिम्रो खुसी नै मेरो खुसी सम्झुँला तर तिम्ले दुःख पायौ भने मसँग आऊ है, विवाह गरेको ५ वर्षपछि आए पनि म स्विकार्छु । आजजत्तिकै चाहन्छु ।’

यो सबै वाहियातजस्तो लाग्थ्यो । नपाऊन्जेल सबैले यसै भन्दा हुन्, पाएपछि कति पीडा दिने हुन् । भित्रभित्र भने मनले भनिसकेको थियो, यो व्यक्ति छोडेर अरु जोसुकैसँग विवाह गरे पनि म खुसी हुन सक्दिनँ । ती दिनमा सधैं मलाई यो निर्दोष र निश्चल मायाले सताइरहन्छ । मनको यही आवाजलाई स्वीकार गरेर विवाह गर्ने निधो गरें, करिब दुई वर्षपछि ।

मेरो निर्णयमा परिवार पूर्ण खुसी र सहमत थिएन । ‘नाइँ’ भन्न पनि सकेको थिएन । यही अवस्थामा उहाँले लेख्नुभएको उपन्यास ‘मृत्युचुम्बन’ को विमोचन समारोहमा नयाँ जीवनको सुरुवात ग¥यौं । सामाजिक रुपान्तरणका लागि दाइजोरहित सिर्जनात्मक र पहिलो साहित्यिक विवाह भनेर मिडियाले कभरेज गरेका थिए । प्रमुख अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरे हुनुहुन्थ्यो ।

साहित्यकार, पत्रकार र आफन्तजनलाई साक्षी राखेर एक–अर्काको सुख–दुःखमा साथ दिँदै माया र विश्वासमा बाँच्ने प्रणसहित नयाँ जीवनको सुरुवात ग¥यौं, ०६२ साल वैशाख २१ गते । संयोगबश हामी दुईको जन्मदिन पनि एकैदिन पथ्र्यो, वर्ष मात्र फरक । त्यो दिन उहाँले ठूलो युद्ध जितेको अनुभव भइरहेको छ भन्नुभएको थियो । मलाई भने उहाँको दुःख–सुखमा साथ दिन सकुँला÷ नसकुँला, उहाँलाई हरेक दुःखबाट उतारेर सम्पन्न जीवन जिउन सकुँला÷नसकुँला भन्ने कुराले सताइरहेको थियो ।

विवाहपछिका अनेका दुःख र समस्यामा मैले कहिल्यै उहाँको अगाडि आँसु झारिनँ । यो भएन, त्यो भएन भनेर गुनासो गरिनँ । कति दिन उहाँ निदाइसकेपछि रुन्थें, एक्लै भएको बेलामा धित मरुन्जेल आँसु बगाउँथें तर उहाँको अगाडि मुस्कुराएर हिँड्थे । मेरो अनुहार अलिकति अँध्यारो देख्नुभयो भने आफैं रुन थाल्नुहुन्थ्यो । त्यसैले पनि सकेसम्म उहाँको अगाडि रोएर कमजोर बनाउनुहुन्न भन्ने लाग्थ्यो । यसै पनि बेला–बेला एउटा हिनताबोध देखिन्थ्यो उहाँमा, यति सज्जन श्रीमतीलाई मैले भनेजस्तो सुख दिन सकेको छैन भन्ने । हरपल मलाई खुसी बनाउने प्रयासमा रहनुहुन्थ्यो ।

मेरो मात्रै होइन, परिवारका सबै सदस्यको खुसीमा आफ्नो खुसी खोज्नुहुन्थ्यो । आमालाई असाध्यै सम्मान गर्नुहुन्थ्यो । कुनै कुराले आमाको चित्त नदुखोस् भन्ने चाहनुहुन्थ्यो । भाइ–बहिनीलाई जसरी पनि उच्च शिक्षा दिनुपर्छ, अनि आफैं गरेर खान्छन् भन्नुहुन्थ्यो । उहाँको जिम्मेवारी र कर्तव्यबोधप्रति म गर्व गर्थें ।

म पनि परिवारका सदस्यलाई सक्दो माया र सम्मान गर्थें । मेरो व्यवहार र सदासयताबाट उहाँ निकै प्रभावित हुनुहुन्थ्यो । त्यसैले पनि होला, हाम्रो सम्बन्ध कमजोर बन्न पाएन । वर्ष जति बित्दै गए, त्यति मजबुत बन्दै गयो सम्बन्ध । एक–अर्काप्रतिको सम्मान, समझदारी र अथाह मायाकै कारण यो सम्भव भएको हो । दुवैका राम्रा–नराम्रा, सही–गलत सबै कुरा सुनाउँथ्यौं, सम्झाउँथ्यौं र निचोड निकाल्थ्यौं । श्रीमान–श्रीमतीभन्दा पनि आत्मीय साथीझैं थियौं । कहिलेकाहीं आमा, भाइ र बहिनीका प्रसंगमा चिन्तित बन्नुहुन्थ्यो । म सम्झाउँथें, ‘घरको मूली मान्छे भनेको नै तपाईं हो, जसले आफूलाई धेरै माया गर्छ, उसैसित अपेक्षा हुन्छ । तपाईं कमजोर बन्नु हुँदैन ।’ मेरो कुरा चित्त बुझ्थ्यो क्यारे, सामान्य बनिहाल्नुहुन्थ्यो । त्यस्तो बेला कुन प्रयत्नले हुन्छ, उहाँको मुहारमा खुसी ल्याउन खोज्थें र सफल पनि हुन्थें ।

माइत जान्छु भन्दा सधैं अँध्यारो मुख लगाउनुहुन्थ्यो । खुसीले जाऊ भनेर कहिल्यै भन्न सक्नुभएन । मबिना घर भूतबंगाला जस्तो लाग्थ्यो रे ! ‘एक्लै बाँच्नुपर्ने भयो, तिमी घरमा छैनौ भनेपछि अफिसबाट आउनै मन लाग्दैन । घर आए पनि निद्रा नै लाग्दैन । यता फर्किन्छु उता फर्किन्छु निदाउनै सक्दिनँ । के मोहनी लगाइछे कुन्नि यो बूढीले । म त एकदिन पनि बाँच्न सक्दिनँ । मलाई छोडेर कहीं नजाऊ, कि मलाई पनि सँगै लैजाऊ ।’

उहाँले ठट्टा गरेजस्तो लाग्थ्यो सुरु सुरुमा तर होइन रहेछ, साँच्चै म नभएको दिन सुत्न सक्नुहुन्नथ्यो । कुनै काम विशेषले माइत जाँदा उहाँको यो बानीले मलाई रमाउन दिँदैनथ्यो, उहाँको पीर लाग्थ्यो । किन यति धेरै अट्याचमेन्ट छ हामीमा, एकदिन छुट्टिएर बस्न पनि गाह्रो हुने । संसारकै भाग्यशाली दम्पती हौं, बुढेसकालसम्म यसरी नै बाँच्न सकियोस् भन्ने प्रतिज्ञा गथ्र्यौं । विडम्बना आधा जिन्दगी पनि बाँच्न सकिएन ।

बच्चाबच्ची भएपछि श्रीमान्–श्रीमतीको सम्बन्ध बिग्रन्छ, एक–अर्काप्रतिको विश्वास र मायामा कमी आउँछ भन्ने सुनेको र देखेको पनि छु । हामीमा भने कहिल्यै त्यस्तो भएन । सधैं मेरी गर्लफ्रेन्ड भन्ने र उहाँका साथीभाइसँग परिचय गराउनुपर्दा अँगालो मारेर मेरी जीवनसंगिनी भनेर चिनाउने बानी अचम्मको थियो । मलाई भने अँगालो नमारीकन चिनाएको भए पनि हुने नि जस्तो लाग्थ्यो ।

बाहिरबाट घर फर्किंदा सधैं मुस्कुराउँदै छिर्नुहुन्थ्यो । राति ११÷१२ बजे ड्युटी सकेर आउँदा मोबाइलमा मिसकल दिनुहुन्थ्यो । अहिले पनि राति बिउँझिदा मिसकल आयो कि, मैले थाहा पाइन कि जस्तो लागिरहन्छ । झल्याँस्स ब्युँझेर मोबाइल समाउन पुग्छु । राति अफिसबाट घर आउँदा एउटा हातले अँगालो मार्दै अर्को हातले ढोका बन्द गर्न आइपुग्नुहुन्छ कि जस्तो लाग्छ ।
खानेकुरा ल्याएर मैले बच्चालाई जसरी खुवाइदे पनि हुन्थ्यो भन्ने सोच्नुहुन्थ्यो । सँगै खाना खान बस्दा, मिठो खाना पाकेको दिन मलाई दुई गाँस आफ्नै हातले खुवाइदिनुहुन्थ्यो तर म त्यसो गर्दिनथें । त्यसैले होला, अन्तिममा मेरो भागको एक गाँस भए पनि सुटुक्क झिकेर खानुहुन्थ्यो । ‘मेरो जुठो नखाइ तपाईंलाई चित्त बुझ्दैन है’ भन्थें । यसो भन्दा ‘के गर्नु, आफूलाई बूढीले खुवाइदिन्न, आफ्नो भागमा मिठो हालेकी छ कि भनेर चेक गरेको नि’ भन्नुहुन्थ्यो । भर्खर प्रेममा परेको प्रेमीझैं लाग्थ्यो उहाँको बानी ।

यो भएन, ऊ भएन भन्ने गुनासो त के, ठूलो स्वरले एकपटक पनि गाली गर्नुभएन । साँच्चै एउटा असल र बौद्धिक व्यक्तिको साथ र मायामा आफूलाई साह्रै भाग्यमानी ठानेकी थिएँ । घरकी गृहलक्ष्मीलाई खुसी राख्नुपर्छ, गृहलक्ष्मी रिसाइन् भने मेरो चौपट हुन्छ भन्ने मात्र होइन, व्यवहारमा पनि लागू गर्नुभएको थियो । सधैं मेरो सामिप्यमा बस्न चाहनुहुन्थ्यो । दिनरात सँगै हुँदा पनि झर्को नमान्ने प्रवृत्ति अचम्मको लाग्थ्यो । हामीलाई सँगै देख्ने जोकोहीले पनि सजिलै अनुमान लगाउन सक्थे, हामीबीचमा कति आत्मीयता छ भन्ने । कति जनाले त मुखै फोरेर भन्थे, ‘छोरीहरु त्यति ठूला भइसके, भर्खर लभ परेको जस्तो छ यिनीहरुको जोडी ।’

‘हामी बुढेसकालसम्म यसरी नै बाँच्नुपर्छ है प्रेमी–प्रेमिका बनेर मलाई छोडेर कहीं नजाऊ ।’ छोडेर अरुसँग जान लागेकी बुढीलाई जसरी बारम्बार भनिरहनुहुन्थ्यो । मसँग घुम्नु, मिठो खानु, सँगै गफिएर बस्नु, सँगै फिल्म हेर्न चाहनु पछिल्ला ६ महिनामा अझ बढेको चाहना थियो । उहाँमा अकस्मात वृद्धि भएको खुसीले दुःखको सागरबाट किनारामा ल्याउन सफल भएँ भनेर भित्रभित्रै गद्गद् हुन्थें । साना खुसीमा रमाउनसक्ने, ठूला पीडा र समस्यामा पनि धैर्य गर्नसक्ने उहाँको बानीले मलाई पनि त्यस्तै बनाएको थियो ।

छोरीहरुलाई असाध्यै माया गर्नुहुन्थ्यो । छोरीहरुसँग सधैं बच्चा बनेर खेल्नुहुन्थ्यो । उनीहरुका चाहना सकेसम्म पूरा गर्नुपर्छ, बच्चालाई गाली गर्नुहुन्न । बदमासी नगरे बच्चा नै भएनन् नि । बच्चालाई चकचक गर्न दिनुपर्छ, स्वतन्त्र रुपमा खेल्न दिनुपर्छ र आफू पनि बच्चा बनेर खेलिदिनुपर्छ भन्ने उहाँको बानीले मलाई भन्दा बाबालाई बढी पछ्याउँथे छोरीहरु । मैले गाली गरें भने मेरो बाबालाई भन्दिन्छु भन्दै मोबाइल समातेर फोन गर्थी सानी छोरी । बच्चाहरु खेलेको ठाउँमा सँगै खेलिदिने र म्युजिक बजाएर सँगै नाच्ने बानीले स्वर्गजस्तो बनेको थियो घर ।
अघिल्लो वर्ष साउनमा ‘यतिका धेरै साथीहरु छन्, स्पिकर बजाएर सबलाई नचाइदेऊ’ भनेर स्पिकर किनेर पसलमा छोडिदिनुभयो । उहाँले भनेजस्तै त्यो वर्ष साउनको सोमबार र तीजका दिन स्पिकर बजाएर सडकमै रमाइलो गरे नक्सालका साथीहरुले । दाइले किन्देको स्पिकर बजाएर नाचौं भन्दै नाचे सबै जना । अति नै अविस्मरणीय वर्ष भयो । त्यो किनकि त्यसभन्दा अघि न कसैले सडकमा नाचेका थिए, न त्यसपछि नाचे ।

बिहान बेडमा सँगै बसेर चिया पिउने चाहना मैले पूरा गर्न सकिनँ । म बिहान पसल खोल्न जानुपर्ने । उहाँको रातिको ड्युटीले बिहान ढिलासम्म सुत्नुपर्ने । पछिल्ला दिन दुवै आ–आफ्ना काममा व्यस्त भएकोले सँगै बसेर गफ गर्ने र खाना खाने समय जुटाउन शनिबार नै कुर्नुपथ्र्यो । बिहान म पसल हिँड्दा उहाँ उठ्नुभएकै हुन्नथ्यो, राति घर आउँदा म सुतिसकेको हुन्थें । यो सम्बन्ध उहाँलाई झर्को लागिरहेको रहेछ । एकदिन भन्नुभयो, ‘बूढीको मुख हेर्न पनि गाह्रो हुने भयो, कति दुःख गछ्र्यौ ? हप्ताको एकदिन बन्द गर्ने गर ।’ श्रीमानको मुखबाट यी शब्द सुन्न पाउनु नारीका लागि सबैभन्दा खुसीको कुरा हो ।

‘आऊ न एकछिन बसौं, जति गरे पनि हामीले लैजानु केही छैन, बाँचुन्जेल मायामा बाँच्नुपर्छ । यो पसलले तिमीलाई धेरै बिजी गरायो । धेरै नचलाऊ है यो पसल, बेचिदेऊ । बूढाबूढी सँगै बस्न पनि नपाउनु, घुम्न पनि नपाउनु । यस्तो पनि लाइफ ?’ सुस्केरा हाल्दै भन्नुभएको थियो । ‘हामीले केही गर्ने भनेकै यही समय हो, घुम्ने समय त आउँदै छ नि’ भनेर सान्त्वना दिन्थें । हाम्रो सम्बन्ध छोट्टिँदै छ भन्ने पूर्वाभास थियो सायद उहाँलाई । दुइटी छोरीहरुलाई मात्र घरमा छोडेर बेलुकाको ‘शो’ मा फिल्म हेर्न मलाई ठमेलको छायाँ कम्प्लेक्स लैजानुभयो । ‘तिमी के खान्छौ खाऊ, म जे भने पनि खुवाउँछु ।’ मैले उहाँको अनुहारमा प्रशस्त खुसीका रेखा देखेको थिएँ त्यतिबेला । उहाँको हँसिलो मुहार हेरिरहें निकै बेर र उहाँको खुसीमा मक्ख भएँ । लाग्छ, अहिले पनि साथमै हुनुहुन्छ, मसँग लुकेर अघि बढ्न प्रेरणा दिइरहनुभएको छ । आफूलाई भन्दा बढी माया गर्ने, टाउको दुख्दा काम छोडेर मसाज गर्ने, खुट्टा दुख्यो भन्नासाथ तेल ल्याएर मालिस गर्न बसिहाल्ने । ज्वरो आउँदा तिम्रो ज्वरो आधी मलाई सार्छु अनि तिमीलाई ठीक हुन्छ भन्दै छातीमा टाँसेर राख्ने प्रेमी पाएको थिएँ ।

जति समय पाएँ, जे पाएँ मेरो जीवनको अमूल्य निधि सम्झन्छु । छोटो समय पाएर के भो त, राम्रो पाएँ मिठो पाएँ । ५०÷६० वर्षको साथमा नपाउने माया र ममता १३ वर्षको साथमा पाएँ । यसमा आफूलाई भाग्यमानी ठान्छु ।

जीवनको अर्को नाम हो सङ्घर्ष । जे–जस्तो परिस्थिति आइपरे पनि सहनसक्ने क्षमता चाहिने रहेछ । ठूलो होस् वा सानो, धनी होस् वा गरिब । भगवान् छन्÷छैनन्, देख्छन्÷देख्दैनन्, न्याय गर्छन्÷गर्दैनन् यी सबै कुरामा हामी अनविज्ञ छौं ।

सबैभन्दा बलवान् समय रहेछ । समयको सुईले जस्तै हाम्रो जीवनले पनि फन्को मारिरहेको हुन्छ । मानवनिर्मित घडी चल्न रोकिन्छ तर समय चल्न कहिले रोकिँदैन । जीवन जिजीविषा लिएर जिउनु छ, जसरी पनि जिउनैपर्छ । बाँच्दिन भनेर पनि सुख छैन, मर्छु भनेर पनि मर्न सकिँदैन । यसो गर्न नसकिने, उसो गर्न पनि नसकिने । के गरुँ कसो गरुँ र कसरी मनलाई शान्त पारुँ भन्ने ध्येयमा रुमल्लिनु नै जिन्दगी रहेछ ।

के सोच्यो के हुन्छ । सोचेजस्तो नहुने, चाहेजस्तो पनि नहुने । एक पल खुसी बिताउन नपाउँदै पीडाको भारीले थिचिदिने । यही हो जिन्दगी ? आफैंसँग प्रश्न गर्न मन लाग्छ । जसले माया गर्छ, उही टाढिन्छ । जसको न्यानो साथ हुन्छ, उही बिरानो भइदिन्छ । जोसँग आफ्नोपन हुन्छ, उही पराया भइदिन्छ ।

भुल्न कसरी सक्छु र म उहाँका ती व्यवहारहरु । बाहिर निस्कँदा होस् वा अफिस जाँदा ‘बूढी म गएँ है बाइ’ भन्न कहिल्यै बिर्सनुहुन्नथ्यो । जुनसुकै काममा व्यस्त भए पनि हाँसेर उहाँको अगाडि उभिनुपथ्र्यो । आफ्नो अगाडि नपाउँदा खोइ बूढालाई एकचोटि हेरेर बाइ पनि गर्दिनौ ? कस्तो बूढाको मुख हेर्न मन नलागेको ? भन्दै म भएकै ठाउँमा पुगेर गाला टोकिदिनुहुन्थ्यो र ल अब त बाइ भन्छेऊ नि भन्दै मुस्कुराउँदै निस्कनुहुन्थ्यो ।

०००
प्रेमकथाको चलचित्रजस्तो सिर्फ मायामा जेलिएको थियो हाम्रो जिन्दगी । सधैं मेरो स्वास्थ्य र खानपानको हेरविचार गथ्र्यौ । थोरै खाऊँ, मिठो खाऊँ, स्वस्थ खाऊँ, मन लागेको आजै खाऊँ, भोलिलाई नपर्खिऊँ, भोलि कसले देखेको छ र भन्थ्यौ । आज मरे भोलि दुई दिन, के लानु छ र – कति सजिलै भन्थ्यौ ।

अस्वस्थ तिम्रो शरीर थियो, चिन्ता मेरो स्वास्थ्यको गथ्र्यौ । अस्पतालमा बस्दासमेत खुट्टा खसालेर नबस, तिम्रो खुट्टा सुनिन्छ, बरु ट्रलीलाई तेस्र्याएर सजिलोसँग बस भन्यौ । त्यतिखेर तिमी आफैंलाई सुत्न–बस्नसमेत गाह्रो भइरहेको थियो । भोक–प्यास र डाक्टरको अनावश्यक औषधिले सिकिस्त थियौ । हाइकेयरबाट आईसीयुमा लैजाँदै गर्दा मैले खाना खाएँ कि खाइन भनेर तिमीले नै सोधेका थियौ । नखाएको भए गएर खाऊ, भोकै नबस भन्यौ । कसरी भन्न सक्यौ आफ्नो अस्वस्थताका बीच पनि ?

आईसीयुमा जाँदै गर्दासम्म तिमीमा विश्वास थियो । मैले बचाउँछु भन्ने विश्वास । मेरो पनि विश्वास यही नै थियो । त्यसैले त डाक्टरले जे गर भन्यो, हामीले आज्ञाकारी बच्चाजसरी गर्दै गयौं । किन १ प्रतिशत कल्पना पनि गरिनँ मैले तिम्रो देहले हामीलाई छाड्दैछ भनेर ?
आईसीयुमा लगेको दुई घण्टापछि तिमीले त्यहाँको वातावरण र डाक्टरको उपचार पद्धतिप्रति आक्रोश व्यक्त गरेका थियौ र पहिलो तथा अन्तिमपटक मसँग झोक्किएका थियौ । ‘के खानुहुन्छ बाबा ?’ भनेर सोध्दा ‘कसले के दिन्छ र खानु’ भन्दै झोक्कियौ । डाक्टरको उपचार पद्धति देखेर रिस उठिरहेको रहेछ भन्ने मैले सजिलै अड्कल काटें । ‘रोग पत्ता लगाउन सकेका छैनन्, अनेक एक्सपेरिमेन्ट मात्र गरिरहेका छन्, खान पनि केही दिँदैनन्’ भनेका थियौ आँखाबाट आँसु झार्दै । आज मलाई त्यही कुराले पीडा दिन्छ । मैले तिमीलाई जिन्दगीभर खुसी राखेको थिएँ तर अन्तिम घडीमा चाहेको कुरा खान दिन सकिनँ । त्यतिखेर अर्को अस्पताल सार्ने बुद्धि मात्रै आएको भए पनि तिमीलाई अलबिदा भनेर, तड्पिएर बाँच्नुपर्ने थिएन कि ? तिमीले शरीरको रोगले नभएर डाक्टरको लापरवाहीको कारणले अल्पायुमै ज्यान गुमाउनुप¥यो प्यारा… ।

दुःखको सागरबाट किनारा लागेको आभास गर्न थालेका थियौ । यसको श्रेय मलाई दिएर सधैं मक्ख पाथ्र्यौ । ‘यसपालि जसरी पनि घर बनाउँछु, मेरी बूढीलाई घर बनाएर काठमाडौंकी घरभेटी बनाइदिन्छु । काठमाडौंकी चेली बिहे गरेर यत्ति पनि गरिनँ भने मलाई काठमाडौंले सराप्छ’ भन्दै जिस्किन्थ्यौ । गाउँमा भएका बूढीआमा र फुपूलाई सँगै ल्याएर राख्न पाए आफ्नो जिम्मेवारी पूरा हुने महसुस गर्न थालेका थियौ । साहित्यमा अब पूर्ण रुपले लाग्छु, पन्ध्रौं विवाह उत्सवमा तिमीलाई दोस्रो उपन्यास उपहार दिन्छु भन्ने सोचले अगाडि बढिरहेका थियौ । अबको मेरो योगदान साहित्य क्षेत्रमा हुनेछ भनेर दंग पर्दै मलाई सुनाइरहन्थ्यौ ।

ठूली छोरीमा मेरै प्रतिभा सरेको छ, यसलाई राम्रो वातावरण र संस्कार दिन सके सोचेभन्दा राम्रो प्रगति गर्न सक्छे भन्ने कुरामा ढुक्क थियौ । सानी धेरै माया खोज्छे, यसको आँखाबाट आँसु झरेको म हेर्न सक्दिनँ, २÷४ वर्ष अझै म योसँग खेल्नु छ, त्यसपछि कोसँग खेल्नु होला भनेको एक साता पनि नहुँदै सबैलाई टुहुरो बनाएर गयौ । तिमीलाई भुल्न मनले भन्न मानिरहेको छैन । आज पनि हाम्रो परिवारमा केही भएको छैन, सबै ठिक छ – कसैले आएर भनिदिए पनि हुन्थ्यो जस्तो लागिरहन्छ ।
०००
(म मर्नका निम्ति जन्मेको छु ।
मर्नकै निम्ति हुर्की बाँचिरहेको छु ।
मृत्युसँग रापिलो चुम्बन गर्न म रत्ति पनि डगमगाउँदिन“ ।

किनभने मेरो मृत्युपछि एउटा अलौकिक सिर्जना तिमी बाँच्नेहरुका निम्ति जन्मनेछ ।)
(उहाँको डायरीबाट साभार ।)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ १ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा १ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ १ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…