Sansar News- Nepal's Fast Khabar Online News Portal

‘बुढा नेताहरुले युवाहरुको भ्यासेक्टोमी गरे’

संसार न्यूज़
४ महिना पहिले
‘बुढा नेताहरुले युवाहरुको भ्यासेक्टोमी गरे’

लेखनाथ न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता हुन् । तत्कालीन अखिल क्रान्तिकारीका अध्यक्ष रहिसकेका न्यौपानेसँग शसस्त्र संघर्ष र विद्यार्थी आन्दोलन दुवै भूमिकाको राम्रो अनुभव छ । विद्यार्थी आन्दोलनबाट उदाएका नेता भएकोले न्यौपाने अध्ययनशील नेतामा गनिन्छन् । न्यौपाने समार्ट र स्पष्ट वक्ताका रूपमा पनि चिनिन्छन् । तिनै युवा नेतासँग संसारन्युजले नेकपाभित्र चुलिँदै गएको जनताको बहुदलिय जनवाद र माओवाद बीचको द्वन्द, पार्टीको स्कुल विभागमा नेताहरूको चरम लुछाचुँडिका बारेमा कुराकानी गरेको थियो । प्रस्तुत छ नेता, न्यौपानेसँगको लामो कुराकानीको सम्पादीत अंश

सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टीभित्र जनताको बहुदलीय जनवाद र माओवादको वहस खुब सुनिन थालिएको छ, अहिले यो वहसको सान्दर्भिकता के हो ?
हो, बहस खुवै चलेको छ । यो बहसलाई मैले पनि गम्भीरतापूर्वक लिएको छु । मैले यसलाई सैद्धान्तिक पाटो भन्दा अलि पर गएर बुझ्ने प्रयास गरेको छु । अहिले केहि साथीहरुले जबज वा माओवादका नाममा गर्ने हल्लावाजी तत्कालीन दुई ठूला पार्टी नेकपा एमाले र माओवादी केन्द्रको नाममा भइरहेको छ । हिजोका एमाले वा माओवादी कसले नयाँ नेकपामा कब्जा जमाउने भन्ने कोणवाट मात्रै विवाद भएको जस्तो मलाई लागेको छ । यो विडम्वनापूर्ण अवस्था हो । जबज र माओवादको संश्लेषित स्वरूप भनिएको जनताको जनवादको कुनै व्याख्या नगरेर नेतृत्वले यसै छोडीदिँदाको परीणाम हो ।

अहिले स्कुल विभागको नेतृत्वमा नेताहरूको हानथापको नाभी पनि यहि विषयसँग जोडिएको छ भन्ने मान्नुहुन्छ ? कतै न कतै त्यस्तो देखिँदैछ । यो तानातान एकताको मनोविज्ञानसँग जोडिएको छ । धेरै र राम्रा भनिएका विभागहरू जसले पायो त्यसले अर्को पक्षलाई लत्याउन सक्ने मनोविज्ञानबाट अहिलेको दाउपेच सुरू भएको हो । यो कुनै शफेद दावा होइन । यसका पछाडी नेताहरूको नकारात्मक मनोविज्ञान हावी भएको छ । अर्कोतर्फ पूर्व विचारको कारण पनि यो हानथाप भएको हो । यसले पार्टी एकतालाई सार्थक बनाउँछ जस्तो मलाई लाग्दैन । अहिले हामी दूधमा चिनी घोलिए जसरी घोलिनु पर्ने बेलामा दूधमा ढुङ्गो हालेर घोल्न खोजिए जस्तो अवस्थामा पुगेका छौँ । यो कुनै मानेमा सकारात्मक सङ्केत होइन ।

विभागको नेतृत्व सबै बुढा नेताहरुलाई चाहिने, तपाईहरूजस्ता युवाहरु पार्टीभित्र अर्थहिननै रहने, कतै तपाईहरू जस्ता युवाहरूलाई नेतृत्वले विश्वास गर्न नसकेको त होइन ?
यो बिडम्वनापूर्ण अवस्था हो । पार्टीका दुइवटा अध्यक्ष बनाए जस्तै विभागका दुईजना प्रमुख वनाउन नमिल्ने भएर मात्रै हो । नत्र साथिहरूले त्यता पनि प्रयास गर्ने थिए । अर्को कुरा सचिवालयका नेताहरूले विभागको दावा गर्नु नै बेठिक हो । यहाँनिर नेताहरुको नियत ठिक छ जस्तो मलाई लागेको छैन । विभाग त विषयगत इस्युहरुमा एकेडेमीक बहस गर्ने, छलफल र अध्ययनबाट आएका विषय वस्तुलाई पार्टीको सचिवालयमा पेस गर्ने र पार्टीले अनुमोदन गरेपछि त्यसलाई मातहतमा कार्यान्वयन गर्ने निकाय हो । विभागमा सचिवालयका नेताहरूले लोभ गर्न हुँदैन । विभागको नेतृत्व पोलीटव्युरो र केन्द्रीय समितिकै नेताहरूलाई दिइनु पर्दछ ।

नेतृत्वलाई युवाहरू प्रति विश्वास नभएरै त उहाँहरू आफैँ अगाडी सर्नु भएको होला नि हैन र ?
विभागको किचलो, नेताहरूको पद मोह यो सबै सामान्ती चरीत्रको उपज हो । हिजो प्रधानमन्त्री, पार्टी अध्यक्ष, महासचिव भइसकेका नेताहरुले विभागमा दावा गर्नु कोरलीलाई वुढो गोरुले ओगटेर बस्नु सरह हो ।सबै पदमा आफ्नै मात्रै दावा गर्नु उहाँहरू युवाहरूलाई नेतृत्व हस्तान्तरण गर्न खोज्दै हुनुहुन्न भन्ने दरिलो सङ्केत हो । यस्तो चरीत्रले नेतृत्वमा युवाहरूको भ्यासेक्टोमी मात्रै हुन्छ । नेताहरुले युवाहरूलाई बन्ध्याकरण गरेर कस्तो पार्टी बनाउन खोज्नु भएको हो मैले बुझेको छैन । मेरो प्रस्ताव सचिवालयका नेताहरू नेता नै बनेर बस्नुहोस् । हामी युवाहरूलाई विभागको जिम्मा दिनुहोस् भन्ने रहेको छ । तर, उहाँहरू कोरली छोड्न तयार भएजस्तो लाग्दैन् ।

थोरै प्रसङ्ग बदलौँ, दुई ठूला वाम पार्टीको एकतापछि बनेको नेकपा सैद्धान्तिक रूपमा कहाँनेर रहेको छ ?
यहाँनेर म अलिकति पछाडी फर्कन चाहान्छु । बिगतमा तत्कालीन एमालेले जनताको वहुदलीय जनवादलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाएको थियो । एमाले सोही आधारमा चलेको पार्टी हो । तर, तत्कालीन नेकपा माओवादी केन्द्रले एक्काइसौँ सताब्दीको जनवादलाई मार्गदर्शक सिद्धान्त मानेकै छैन । माओवादीको मार्गदर्शक सिद्धान्त त माओवाद नै हो । एक्काइसौँ सताब्दीको जनवाद त एउटा प्रस्ताव मात्रै हो । अब अहिलेको अवस्थामा आउ एकतापछि जबज वा माओवाद दुवै हामीसँग छैनन् । अहिले हाम्रो मार्गदर्शक सिद्धान्त जनताको जनवाद हो । अहिले यसको सार के हुन्छ यसै भन्न सकिँदैन तर हामी अहिलेको जनताको जनवादरूपी सैद्धान्तिक लाइनमा छौ । त्यहाँ न जबज छ न माओवाद नै ।

जनताको जनवादको व्याख्या कसरी हुन्छ ?
नेपाली जनताको वर्ग विश्लेषण, समाजको सामाजिक, आर्थिक अवस्था अलि–अलि जानेको आधारमा कसैले जनताको जनवाद यहि हो भनेर हचुवाको भरमा भनेर वास्तविक जनताको जनवादको व्याख्या हुँदैन । देशको वर्तमान अवस्था, सामाजिक मनोविज्ञान र अन्तर्राष्ट्रिय परिस्थितिको सहि विश्लेषण गर्न सके मात्रै हामीले जनताको जनवाद बुझ्न सक्छौँ । यहि संसदीय व्यवस्था, पाँच वर्षको चुनाव त्यसका लागि तयार पारिने घोषणा पत्रलाई आफ्नो कार्यभार मान्ने हो भने यो भन्दा राम्रो जनताको बहुदलिय जनवाद नै छ । आवद्यिक निर्वाचन, विधिको शासन र संवैधानिक सर्वोच्चता प्रष्टरूपमा जबजका मान्यता हुन् । जनताको जनवाद सरकारदेखि सरकारसम्म र चुनावदेखि चुनावसम्म वन्ने खतरा देखिदैँछ । यदि यस्तो भयो भने जनताको जनवाद हाम्रो मार्गदर्शक सिद्धान्त बन्न सक्दैन ।

त्यसो भए अहिलेको समाज र देशको अवस्था तपाईहरुले भने जस्तै पुँजीवादी हो त ?
राजनीतिक कुरा गर्दा हामी पुँजीवादी अवस्थामा छौँ । तर, समाज परिवर्तनका कुरा गर्दा त्यस समाजले निर्माण गरेका आधारहरूको जग खोतल खातल गर्नुपर्छ । अनि बल्ल समाजको व्याख्या गर्नुपर्छ । अहिले हाम्रो अर्थतन्त्र पराश्रीत अर्थतन्त्र हो । देशले १३ खर्ब व्यापार घाटा सहेको छ । यो अर्थतन्त्रको चरित्रलाई हेर्दा हामी भ्याकुममा छौैँ । त्यसकारण हामीले आफूले टेक्ने स्थान बनाउनै पर्छ । सेवा र निर्माण दलाल पुँजीवादको अवस्था छ । यसरी हेर्दा हामी दलाल पुँजीवादी अबस्थामा छौ ।

संविधानमा त समाजबाद नै लेख्नुभयो त ?
त्यो हाम्रो लक्ष हो । त्यहाँसम्म पुग्न हामीले लामो यात्रा तय गर्नुपर्छ । त्यसका लागि आयात प्रतिस्थापन गर्ने कृषिमा रोजगारी वृद्धि गर्ने काम गर्नुपर्छ ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल ३ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…