back

विद्युतीय मिलको बढ्दो प्रयोगसँगै पानीघट्ट लोप हुँदै गए

वि.सं.२०७६ साउन २४ शुक्रवार

288 

shares
NTC AD
Global IME AD

२४ साउन, रुकुम । रुकुमपूर्वमा खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जौँ, चामललगायतका अन्न पिस्ने गर्दछन् । तर अहिले पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुँदै गइरहेको सिस्ने गाउँपालिका–५ का मिमबहादुर विकले बताए ।

रुकुमपूर्वका विभिन्न खोलाको छेउछाउमा ४०० को हाराहारीमा पानीघट्ट रहेको रुकुमकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रकाश मल्लले बताए । “यीमध्ये अधिकांश घट्ट छ महीना चल्ने र छ महीना बन्द हुने गर्दछन्”, अध्यक्ष मल्लले भने, ‘वर्षा शुरु हुनेबित्तिकै सबै पानीघट्ट सञ्चालनमा आउँछन्, जब हिउँदयाम शुरु हुन्छ तब खोलाको पानी सुक्छ, अनि आधाजति घट्ट बन्द हुन्छन् ।” भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका पानीघट्ट सञ्चालनमा छन् तर, रुकुमकोटमा भने पानीघट्ट प्रयोगविहीन हुँदै आएको उनको भनाइ छ ।

नयाँ प्रविधिका विद्युतीय मिलको बढ्दो प्रयोगसँगै पानीघट्ट लोप हुन थालेको स्थानीयवासीको भनाइ छ । हाल प्रयोगविहीन रहेका सिस्नेका पानीघट्टलाई कतिपयले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल र काठ चिरानीसमेत गर्न सक्ने घट्ट बनाएर सञ्चालनमा ल्याएसँगै पुराना पानीघट्ट लोप हुने अवस्थामा पुगेको पुराना पानीघट्ट सञ्चालन गर्दै आउनुभएका सिस्ने गाउँपालिका–५ का जितबहादुर बस्नेतले बताए ।

पहिले पानीघट्टबाट पिसानी गर्दा पिसानी गरेको अन्नको केही भाग घट्ट धनीलाई दिने चलन थियो । यस्तो प्रचलनले धेरै थोरै भए पनि आम्दानीको स्रोत बन्ने भएपछि व्यावसायिकरूपमा नै घट्टलाई लिने गर्दथे । तर अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक प्रविधिका पिसानी गर्ने मिल बनेपछि पानीघट्ट प्रयोग गर्नेको सङ्ख्या घटेको हो ।

मिलमा पिसानी गरेवापत प्रतिपाथी (८ माना) को रु ३० देखि ४० सम्म रकम तिर्ने गरेको पाइन्छ । आधुनिक प्रविधिका मिलहरु बनेसँगै पुराना पानीघट्टमा पिसानी गर्न कोही पनि नआउने भएकाले बन्द गरेर बस्नुपरेको बताउँछन्, पानीघट्ट सञ्चालन गर्दै आउनुभएका सिस्ने गाउँपालिका–६ का सुमन खत्री ।

घट्टमा पिसानी गर्दा टाढाको दूरीसम्म बोकेर लानुपर्ने र पिस्दा घण्डौँसम्म कुर्नुपर्ने बाध्यता रहेकाले आफूहरु छिटोछरितो र सजिलोको लागि विद्युतीय मिलमा जाने गरेको स्थानीयवासी बताउँछन् । तर पानीघट्टबाट पिसानी गरिएको अन्न पिठो स्वास्थ्यका लागि निकै लाभदायक र खाँदा पनि स्वादिष्ट हुने जानकारहरु बताउँछन् ।

विकासको गतिसँगै जिल्लाका अन्य ठाउँमा पनि यातायात र विद्युत्को सुविधा हँुदै गइरहेकोले अन्य ठाउँमा पनि विद्युतीय मिलको विकास र प्रयोग हँुदैन भन्न सकिँदैन । त्यसैले परम्परागत शैलीमा रहेका पानीघट्टको अस्तित्वलाई बचाइराख्न स्थानीय सरकारले पनि पहलकदमी चाल्नुपर्ने बताउँछन्, पानीघट्ट सञ्चालन गर्दै आएका पुथा उत्तरगङ्गा गाउँपालिका–११ तकसेराका धर्मु बुढा ।

के हो पानीघट्ट

कुलोबाट कलकल गर्दै बगेको पानी खोपेर कुलेसोजस्तो बनाइएको ठाडो काठबाट जोडले पानी खनिदा काठको सानो मुढोमा मिलाएर अड्याएका पोहरा (भुना) मा पर्दा जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुङ्गो फनफनी घुम्न थाल्छ । तब शुरु हुन्छ, नेपाली जीवनशैलीमा परापूर्व कालदेखि स्थान पाएको घट्टको पिसानी कार्य ।

फनफन घुमिरहेको घट्टमाथि टाङटाङटुङटुङ गर्दै उफ्रिने काठको चराको कलात्मक उफ्राइको बलले काठको कोठामा राखिएको अन्न विस्तारै खस्दै जान्छ । फनफनी घुमिरहेको घट्टको बीच भागमा रहेको मानी (प्वाल) बाट पसेको अन्न पिसिएर घट्टको वरिपरि घेरो लाग्न थाल्दछ । घट्ट घुम्दै गर्दा एक छेउबाट अलि बढी नै पिठो फाल्ने गर्दछ । त्यस ठाउँमा बेलाबेलामा कुचोले बढारिरहनुपर्दछ । यसलाई धार मार्ने पनि भनिन्छ । (रासस)

वि.सं.२०७६ साउन २४ शुक्रवार ११:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

चिसापानी घटना : पुलबाट हाम फालेका शाही अझै भेटिएनन्

घोडाघोडी (कैलाली) । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली...

प्रधानमन्त्री रोजगार कार्यक्रम व्यवस्थित बनाउन संवाद मञ्च गठन

प्रधानमन्त्री रोजगार कार्यक्रम व्यवस्थित बनाउन संवाद मञ्च गठन

सिमकोट (हुम्ला) । रोजगारीका नयाँ अवसरको पहिचान गर्न र प्रधानमन्त्री...

बजेट थप नहुँदा कर्णालीमा पाँच सय भन्दा बढी योजना कार्यान्वनमा समस्या

बजेट थप नहुँदा कर्णालीमा पाँच सय भन्दा बढी योजना कार्यान्वनमा समस्या

काँक्रेविहार (सुर्खेत) । कर्णालीमा प्रदेशसभाबाट पारित भई कार्यान्वनमा जानुपर्ने पाँच...

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

भेरीगङ्गा (सुर्खेत) । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा...

तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता

तिला नदीमा माछा मार्न गएका किशोर बेपत्ता

मान्म (कालीकोट) । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–६ मा तिला नदीमा...

बाटो अवरुद्ध हुँदा विद्यालय आवतजावतमा समस्या

बाटो अवरुद्ध हुँदा विद्यालय आवतजावतमा समस्या

सिमकोट (हुम्ला) । सिमकोट गाउँपालिका–४ मा रहेको हिल्दुम गाउँ र...