२९ साउन, सुर्खेत । उच्च अदालत पाटनले कर्णाली प्रदेश सरकारका भौतिक पूर्वधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई तीन दिन भित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएको छ ।
उच्च अदालत पाटनको संयुक्त वाणिज्य इजलासका न्यायधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाबाट सोमबार यस्तो आदेश भएको हो ।
कृषि विकास बैंक, रत्नपार्क शाखा जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्री खत्रीकै नाम प्रतिवादी कायम भई आएपछि न्यायाधीशद्वय पौडेल र ढुंगानाको संयुक्त इजलासले उनलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो । खत्रीसँगै अदालतले राजुप्रसाद श्रेष्ठलाई पनि पक्राउ गर्न आदेश दिएको छ ।
खत्रीसहित पाँचजनाले एक करोड १० लाख ८० हजार रकमको कुषि विकास बैंक भोजपुरबाट जारी किर्ते बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको अदालतको ठहर छ ।
खत्री, श्रेष्ठसहित छविलाल ढकाल, रणधीर तुम्बा र देवजंग शाहीविरुद्ध बैंकिङ कसुरअन्तर्गत मुद्दा चलाइएको थियो । उच्च अदालतको आदेशमा खत्री र श्रेष्ठलाई फरार अभियुक्त भनिएको छ । बुधबारको नागरिक दैनिकबाट