राज्यको जिम्मेवार पदमा वस्नेहरूले ठुल्ठुला कुरा वा काम गरेर जनताले खासै कुनै लाभ पाएका हुदैनन् । ठूला हैन, सरकारले प्रवाह गर्ने स–साना समस्याहरूका कारण बहुसंख्यक सर्वसाधारण जनता बढी दुःखी छन् ।
अंग्रेजीमा भनाई छ- Devils lie in details, तपसीलमा नै शैतानको बास हुने गर्छ । तपसील प्रमुख हो यसलाई व्यवास्ता गरेर गौण ठान्नु नेपालको मूल सार्वजनिक समस्या हो । जनताको ढोका अगाडी १० रूपैयाकौ घूसखोरी हुँदा पर्ने पीडा ठालूहरूले गर्ने करोडौंको घूसखोरी भन्दा बढी सकसपूर्ण हुन्छ । तपसीलमा ध्यान दिन थालेमा मुलुकमा सुशासन बिकसित हुन थाल्नेछ । यसका निम्ति प्रशासनमा संवेदनशील हृदय र उद्वेगयुक्त कार्यशैली खोज्छ ।
काममा आराम, आराममा कामको महसुस गरिएन भने बुझ्नुपर्छ जीवन ठीक ढंगले चलिरहेको छैन । काम र आराम अलग हुनुहुदैन । काम गरेर आराम गर्न मात्र मनलाग्यो वा आराम गर्दा मन बेचैन भयो र बिनाकाम चुप बस्नै सकिएन भने जीवनमा समस्या छ भन्ने बुझ्नुपर्छ । अध्यात्म वा योगमा रहदा सदासर्वदा काम वा सदासर्वदा आराम महसुस हुन्छ । अहिले सबैलाई ’न काम न आराम सदा सर्वदा आनन्द’ कसरी ? यो सिक्न सिकाउन जरूरी छ ।
प्रविधिको सुबिधाको क्रान्तिले गर्दा अहिले विगत भन्दा वर्तमान राम्रो छ र वर्तमान भन्दा भविष्य झन राम्रो हुदैछ । गएका पुस्ता भन्दा अहिलेका राम्रा र अहिलेका भन्दा भविष्यका पुस्ता झन आमदा हुनेछन् । वर्तमान विगतका कारण र भविष्य वर्तमानका कारण राम्रो हुन्छ । वर्तमान मात्र हाम्रो हातमा छ, आ–आफ्नो क्षमताको अधिकतम उपयोग र जिम्मेवारी पूरा गर्दै जाने हो, अरू सबै आफसे आफ सही हुदै जान्छ ।
गान्धी, बुद्ध, श्रीकृष्ण, राम, जिजस, मोहम्मद, महाबीर, शंकराचार्य, विवेकानन्द जस्तो महान सर्वकालिक सम्मानीत व्यक्तित्व हुन पाए हुन्थ्यो भनेर त सबै चाहन्छन् । तर तिनले त्यस चोटाको स्थानमा पुग्दा पार गर्नु परेका अनेक भयावह, दुरूह यात्राहरू गर्दाको कष्ठ बेहोर्न कसैले चाहन्नन् ।
नेपालीको मानसिकता सरकारले सबै काम छुमन्तर जसरी गर्न सक्नुपर्छ तर गरेन भन्ने छ । यो सही पनि हो, तर यसका लागि राजनीतिक पद्दति कस्तो छ त्यसमा भर पर्छ, न कि अमुक दल वा नेता को सरकारमा छ भन्नेमा !
समाजमा हाल व्याप्त बिकृति वा बिसंगति पुरानो दीर्घरोग पालेर बेलैमा उपचार नगर्दा पूरा छिप्पिएको जस्तो छ, जसलाई अटोक्रेटिक र असाधारण प्रकृयाबाट शल्यक्रिया नगरी ठीक हुने संभव देखिदैन । कति लोकतान्त्रिक र कति अटोक्रेटिक तरिका अवलम्बन गर्ने ? त्यसमा संतुलनको खा‘चो छ । कि रोग पालेर जीवनपर्यन्त दुःख भोग, कि क्षणिक पीडा सहेर पनि शल्यक्रिया गरी आनन्दसंग जिऊ !
जनताको समस्या समाधान जुम्से, लुम्से प्रशासन, न्यायालय र पुलिसबाट संभव छैन–सबैले बुझेका छन् । बेनेभोलेन्ट मेरिटोक्रेटिक डिक्टेटरको शासन प्रशासन बाहेक अरू पद्दति यहाँ निकम्मा ठहर्नेछ र यही देखिदै आएको छ, ०४७ सालदेखि जारी कुशासनयुक्त लोकतन्त्रमा !
मुलुकको चौतर्फी उन्नतिका तला थप्न नेपालले बिदेशी राष्ट्रप्रमुख वा सरकार प्रमुखहरूको समीट र अन्य अन्तर्रा्ष्ट्रिय स्तरका सम्मेलनहरू नियमित आयोजना गर्दै क्षमता विकास गर्दै जानुपर्छ । नेपालको पर्यटन विकासमा यसको प्रत्यक्ष योगदान गर्ने पक्ष हुन् । सम्मेलन आयोजना गर्दा मुलुकको धेरै क्षेत्रलाई अपडेटेड र दुरूस्त सक्रिय राख्न पर्ने हुन्छ ।
मेरो चाहना छ– नेपाल विश्वकै १ नं पर्यटकीय मुलुक बनोस्, यसका लागि जे–जे पूर्वाधार, व्यवस्थापन र विशेषज्ञता बिकसित गर्नुपर्छ छिटो गर्दै जाओस् । क्राईसिस म्यानेजमेन्टले हैन, योजनाबद्ध म्यानेजमेन्टले मुलुक चलोस् । काममा पोक्त हुन काम गरेको अनुभव बटुलेको हुनुपर्छ, जसरी पौडी सिक्न पोखरीमा पस्नैपर्छ ।
उपाध्याय नेपाल सरकारका पूर्वसचिव हुन्
वि.सं.२०७६ भदौ १३ शुक्रवार ०८:५२ मा प्रकाशित