Sansar News- Nepal's Fast Khabar Online News Portal

रविले उर्लदो जनसागरको समर्थन र साथ पाउँदा तिमीले के पायौं अस्मिता ?

चन्दा थापा (चन्द्रिका)
६ महिना पहिले
रविले उर्लदो जनसागरको समर्थन र साथ पाउँदा तिमीले के पायौं अस्मिता ?

बिहीबार भारतीय संचार माध्यम अमर उजाला पत्रिकाले एउटा समाचार लेख्यो ‘नेपाली युवतीसे कारमे किया दुश्कर्म, केस’ नेपाली युवतीमाथि बलात्कार भएको उक्त समाचारलाई समाचारको भाषामा प्रयोग गरिने शब्द चयन गज्जबको थियो । कतिपय यस्ता केसमा भारतीय मेडियाले ‘बलात्कार’ भनेर लेखेपनि अमर उजालाले पत्रकारिताको धर्म निभाएको थियो । घटनाका बारेमा युवतीले आफै प्रहरीकोमा पुगेर आफूमाथि बलात्कार भएको बताएकी थिइन् । उनले दिएको बयानको आधारमा प्रहरीले ‘जीरो एफआरआई’ दर्ता गराएको र आरोपिहरुको खोजि गरिएको पनि लेखिएको थियो ।

त्यहि समाचारलाई आधार मानेर यो पंक्तिकारले अनलाईन समाचार बनायो । तर, समाचारमा ती युवती नेपाल कहाँकी हुन्, त्यहाँ बस्दो कस्को घरमा बसेकी थिइन् ? उनलाई घरमा राख्ने महिलाको नाम के हो ? भन्ने केही नखुलाइएकोले पाठकले प्रश्न गर्छन कि भन्ने पनि लाग्यो ! त्यसोभए समाचार कसरी पुष्टि गर्ने, भारतमा रहनुभएका सामाजिक कार्यकर्ता मेरा दाइ तारा सोमरे (जसको फेसबुक वालबाट मैले उक्त समाचारको श्रोत फेला पारेकी थिए) लाई सोधे, ‘दाइ यो समाचार सत्य हो ?’ दाइले भन्नु भयो, ‘हो समाचार बनाउ’ त्यसपछि समाचार लेखे । किनकी, उहाँहरुको संस्थाले पनि यसलाई गम्भीर रुपमा लिएको र दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउनका लागि आवाज उठाएको थियो ।

त्यतिबेला मलाई अमर उजालाले लेखेको समाचार त समाचारनै होइन जस्तो लाग्यो मंगलबार भएको उक्त घटनाको समाचार हामी नेपाली संचारमाध्यमले भए, यतिबेलासम्म उनको घर कहाँ हो ? उनको बाबु आमाको नाम के हो ?, कहाँ बस्थिन्, कारमा कसरी बलात्कार गरियो, उनी कति वर्षकी थिइन्, उनको आनी बानी कस्तो थियो, उनी विवाहित कि अविववाहित ? विवाहित हुन् भने कति छोरा छोरी थिए ? श्रीमानको नाम के हो ? कहाँ काम गर्छिन् लगायतका उनका बारेमा मात्र नभएर उनको परिवारका सबैको नालीबेली बिहिबारको पत्रपत्रिकामा छरपष्ट आइसक्थ्यो । त्यतिबेलासम्म समाजले उनीमाथि संवेदना होइन, की उनी मात्र नभएर उनको परिवार माथिनै छि : छि र दुर–दुरको शब्दहरु ओकलिसक्थे । समाजले, ए त्यो फलानी त यस्ती र उस्ती भनेर कुरा काट्न थाल्थ्यो । तर, आफ्नो देशको नभएर दूर देशकी एक युवती बलात्कृत हुँदा अमर उजालाले युवतीको भविष्यमाथि कुनै पनि प्रकारको आँच नआओस् भन्ने उद्धेश्यले नै होला, उनका बारेमा केही खुलाएको थिएन । पक्कै पनि त्यहाँको प्रहरीले उनको बारेमा नालीबेली लिएकै थियो होला । पत्रकारले पनि त्यो डिटेल सबै ल्याउन सक्थे तर, त्यो प्रहरीसम्म मात्र रह्यो । यसले युवतीको मात्र नभएर उनको परिवारमा पनि भविष्यमा उठ्न सक्ने प्रश्नहरुलाई त्यहि दवाइदिएको थियो । केवल प्रहरी र युवतीबीच यो कुरा रह्यो । संचारमाध्यममा उनको व्यक्तिगत जीवनमाथि कुनै पीडा नदिने गरी समाचार प्रकाशन गरिएको थियो ।

त्यस्तै नुवाकोटका पत्रकार शालिकराम पुडासैनी चितवनको नारायणगढस्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिए । उनले आफैं आत्महत्या गरे या कोहीद्धारा हत्या गरियो भन्ने कुरा अझै पनि बहस र अनुसन्धानको विषय बनिरहेको छ । त्यो भन्दा पनि मर्नुभन्दा अगाडि उनले भिडियो रेर्कड गरेर आफूलाई मर्न बाध्य पारेको आरोप लगाउँदै संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र प्रेमिका भनिएकी ओखलढुंगाकी अस्मिता कार्की ( पेशाले नर्स) उनको नाम लिएका थिए ।

यहि विषयमा उनीहरु पक्राउ परेकै दिनको राति जापानमा रहनुभएका सिएम भट्टराईले फेसबुक मेसेन्जरमा फोन गरेर सोध्नु भयो, ‘चन्दा जी, यो के हुँदै छ देशमा, रवि र युवराज त आफ्नो पेशामा छन्, उनीहरुलाई भन्दा पनि अस्मितालाई भविष्यमा कस्तो समस्या पर्ला भन्नुस् त ?’
उहाँको प्रश्नले मलाई पनि गम्भीर बनायो । हुन पनि हो, रवि र युवराज भन्दा पनि संवदेनशील हुनुपर्ने थियो अस्मिता कार्कीको केसमा । तर, त्यसमा हामी संचारकर्मीहरु चुक्यौ । त्यहि दिननै उनका बारेमा छरपष्ट युट्युव र अनलाइनमा पाएजतिको जानकारी दियौं । अझै केही मिडियाले उनलाई न्याय दिनु भन्दा पनि पीडामाथि झन पीडा थप्ने काम गरेको पाइयो । उनलाई सालिकरामले ‘कोठा लिएर राखेको घर’ भनेर घरको फोटो खिचेर राखियो । अस्पतालमा जीवन र मरणको दोसाँधमा रहेकी अस्मिताकी आमा तथा परिवारका बारेमा पूरा विवरण लेखियो । पुडासैनीले भिडियोमा रेर्कड गर्दा भनिएका उनका दाजुभाई, दिदी बहिनी भेनाजु, दिदीको घर कहाँ हो, भेनाजुले कहाँ रोजगारी गर्छन जस्ता कुराहरु तछाँड मछाड गर्दै खोजमुलक रिर्पोट बनाइयो ।
सामाजिक संजाल लगायतमा भिडियोको पूर्ण पाठ खोजियो । पूर्णपाठमा जति अस्मिताका परिवारको फेहरिस्त शालिकरामले भनेका थिए, त्यति युवराज र रविको बारेमा भनिएको थिएन । त्यतिबेलै अस्मिताको परिवारलाई भिडियोको कारण समस्या परिसकेको थियो । त्यसपछि त झ्न अस्मिताका बारेमा खोजमुलक समाचार आउन थाल्यो । यस्तो लाग्यो यी सारा घटना उनकै कारण घटेको हो ।

सोहि भिडियोलाई आधार बनाएर चितवन प्रहरीले उनीहरु तिनैजनालाई १० दिनसम्म हिरासतमा राखे लामिछाने र कँडेललाई धरौटी तथा अस्मितालाई साधारण तारेखमा रिहा गरिदियो । लामिछानेको रिहाइका लागि देश विदेशबाट आवाज उठे । जिल्ला प्रहरी कार्यालय घेराउ गरियो । नारा जुलुश गरियो । त्यहि क्रममा प्रहरीले आन्दोलनकारीलाई भगाउन अश्रु ग्यास प्रहार गर्यो भने जिल्ला प्रशासन कार्यालयले ५ जना भन्दा बढी सँगै हिड्न नपाइने भनेर उर्दी जारी गर्यो । हजारौ मास रविको सर्मथनमा सडकमा उत्रियो । तर, कतैबाट पनि अस्मिता हाम्री छोरी जस्तै हुन् । यस्तो घटना हामीलाई पनि पर्न सक्छ । कसैले लगाएको दोषकै कारण हाम्री छोरीलाई पनि मर्नु न बाँच्नुपर्ने हुन सक्छ भनेर कसैले सोचेको, लेखेको वा उनको गोपनियता भंग नगर्न भनेर कसैले आवाज उठाएको पाइएन ।

अझ उनी रिहाइ हुने दिनको एउटा भिडियो समाचारले त झनै बिक्षिप्त बनायो । उनी अपराधि जस्तै मेडिया सामु उभिएकी थिइन् । रोएकी थिइन, आफैलाई आफैलाई म पीडित भनिरहेकी थिइन् । यहि रुवाईका बीचमै मेडियाले प्रश्न सोधिरहेका थिए, उनले आफूलाई पीडित महिला बताउँदै भिडियोका सामु बोलिरहेकी थिइन् । घरी घरी अक्मकाएकी उनलाई छेउमा रहेकी एक दिदीले भनेकी थिइन्, बोल–बोल, मन बलियो बनाएर बोल ।’ भर्खर साधारण तारेखमा छोडिएकी उनलाई कतै बसेर आराम गर्न दिनुपर्दथ्यो । परिवारका सदस्य भेटाउनु पर्दथ्यो । वा भिडियो भन्दा बाहिर राखेर २–४ जना शुभचिन्तकले उनलाई ‘हामी छौं पिर नमान्’ भनेर मनभरी साहस र मुटुभरी भावि जीवनका बारेमा सोच्न सक्ने आँट भरिदिनु पर्दथ्यो । तर, त्यसो गरिएन । अझ छेउमा रहेकी उनै दिदीले जर्वजस्ती अस्मितालाई बोल्न लगाउँदै फेरि भनेकी थिइन्, ‘बोल–बोल, मन बलियो बनाएर बोल । सबैले हेर्ने हो । यत्रो दिन तिमीहरुको लागि आन्दोलन गर्नेले सुन्ने हो ।’
दिदीको भनाई अनुसार त आन्दोलन गर्नेले अस्मिताले आफ्नो वास्तविकता खुलाउनु पर्छ । मेडियाले नभएर आफ्नै मुखले बताउनु पर्छ र त्यसकै लागि आन्दोलन गरिएको हो जस्तो प्रस्तुति त्यहाँ देखिएको थियो । के अस्मिताले त्यहाँ स्पष्टीकरण दिनु पर्ने नै थियो र ? अस्मितालाई साथ दिनेहरुले मेडियामा मुख देखाउनै पर्ने थियो ? देखाउनु पर्ने थियो र मेडियाले लिनुपर्ने नै थियो भने लिने तरिका र अनुहार देखाउने तरिका अरु पनि थिए । पछि पनि अस्मितालाई सहयोग गर्ने नायक नायिकालाई मेडियामा ल्याएर उनीहरुको उदाहरणीय काम समाज अनि देशमा उदाहरणीय बनाएर प्रस्तुत गर्न सकिन्थ्यो । तर, त्यहाँ ‘तातै खाउँ र जल्दै मरौ’ जस्तो गरेको देखिन्थ्यो ।

यतिबेला रवि लामिछाने र युवराज कँडेल आफ्नै लयमा फर्किसकेका छन् । अदालतले विभिन्न शर्त राखेर उनीहरुलाई छोडिएको भएपनि उनीहरुको समर्थनमा उत्रिएको ठूलो मासले देखाएको सद्भावले उनीहरुलाई केही हदसम्म पीडा भुलाइदिएको थियो । तर, अस्मिताको मनोविज्ञान कस्तो भएको छ होला भनेर हामी सर्बैले सोच्न जरुरी छ यतिबेला । अस्पतालमा रहेकी विरामी आमा, जानेर वा नजानेरै भएपनि गरिएको माया र माया गरिएको नाममा आफूमाथि आइलागेका तमाम दोषहरु अस्मिताले कसरी सहलिन् ! साथै उनलाई आत्मसम्मानका साथ फेरि जीवनलाई आफ्नै लयमा फर्काउनका लागि आफन्त साथीभाइ, परिवार वा हामी मेडियाको भूमिका के होला भनेर सोच्न आवस्यक भएको छ ।

त्यसो त अस्मितामाथि सामाजिक संजाल लगायतमा यसअघि नै विभिन्न गाली गलौजहरु आइसकेका छन् । ती गाली गलौजलाई अस्मिताले कसरी सहजरुपमा लेलिन् र जीवनको दैनिकी कसरी अगाडि बढाउलिन्, उनमा यस्तो हिम्मत कसले भरिदेला, घरमा, परिवारमा, छिमेकमा, बाटोमा अनि कार्यक्षेत्रमा उनीलाइ गरिने व्यवहार र हेरिने दृष्टिकोण कस्तो होला र यसमा हाम्रो सहयोग के होला भनेर सोच्न र उनलाई सकारात्मकरुपमा लिन जरुरी रहेको छ यतिबेला । रवि लामिछानेका तमाम समर्थकले जसरी रविलाई नारायणगढमा हजारौंको संख्यामा जम्मा भएर समर्थन गरे, उनको उचाइ अझ उचाइमा पुर्याइदिए के त्यसरी नै अस्मिताको उचाई बढाउन सकिएला ? भन्ने प्रश्न पनि यतिबेला हाम्रा सामु आएको छ ।

यतिबेला भन्न मन लाग्यो, बहिनी अस्मिता, तिमीले कुनै गल्ति गरेकी होइनौ, गल्ति गरेकी थियौं त त्यतिमात्र जसलाई तिमीले काठमाण्डौको शहरमा आफ्नो मान्यौ, भरोसा ठान्यौ अनि माया पनि गर्यौ । तर, माया अन्धो हुन्छ त्यसमा जत्ति आनन्द छ पीडा पनि त्यत्तिनै हुन्छ भनेर तिमीले नबुझ्नु मात्र तिम्रो गल्ति हो । शालिकरामले भिडियोमा लिएको तिम्रो नाम बाहेक उनलाई मर्न बाध्य पारेको भन्ने अन्य प्रमाणहरु नभएकै कारण तिमीलाई साधारण तारेखमा छोडेर अदालतले त्यसको पृष्टि गरेको छ ।

अब तिमीले गर्ने भनेको, आफन्त अनि नजदिकका साथीभाइसँग खुलेर आफ्नो मनको कुरा गर । माया गरेकी थिए, केही भुल भएछ भनेर त्यो घटनालाई बिर्सिदेउ, विरामी आमाको सेवा गर अनि आमालाई अबदेखि यस्तो भुल हुनेछैन भनेर दुई हात जोडेर ‘सरी’ भन् । आमालाई सहारा देउ । केही समय सामाजिक संजाल भन्दा टाढा बस् । अदालतले बोलाएको बेला जाउँ । मिल्छ भने तत्काल मेडियामा नआउँ । तिम्रो बयान अदालत लिइसकेको हुनाले अब तिमीले कुनै मेडिया या कसैलाई पनि उक्त घटनाका बारेमा स्पष्टीकरण दिइरहनु पर्दैन । एक्लै नबस । काममा फर्किउ । काममा पनि साथीहरुसँग ती घटनाका बारेमा कुरा नगर । मानिस हुँ, गल्ति सबै मानिसबाट हुन्छ म बाट पनि भएको थियो, तर त्यो गर्नै नहुने गल्ति नभएर कसैलाई अन्जानमा माया गरेकी थिएँ भन्ने मात्र सम्झ । हो, अस्मिता जसरी रवि र युवराज आफ्नो कार्यमा फर्कन सहज हुन्छ, त्यसरी तिमीमा नहोला तत्काल । तर, भविष्यमा आँटिली र संघर्षशील छोरी बनेर तिमी अगाडि बढ् हाम्रो शुभकामना छ तिमीलाई ।

सर्बाधिक पढिएको

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा)

यस्तो छ, प्रहरी कर्मचारीलाई समायोजन गर्न बनेको विधयेक(हेर्नुस् विस्तृतमा) १ दिन पहिले | संसार न्यूज़

सरकारले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने…

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य

अख्तियारको भनाई गलत –संविधानविद् आचार्य ३ हप्ता पहिले | संसार न्यूज़

संविधानविद्  डा.  भिमार्जुन आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललित निवास…

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ?

कहाँ-कहाँ अनि कहिले हुँदै छ भुतपूर्व सैनिक सम्मेलन ? नाम दर्ताका लागि के-के कागजात चाहिन्छ त ? १ हप्ता पहिले | संसार न्यूज़

५ फागुन, काठमाण्डौ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना…

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?

नेकपाको प्रवास कमिटीले पूर्णता पायो, हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ? ३ हप्ता पहिले | संसार न्यूज़

२४ माघ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो…