२९ भदौ, काठमाण्डौं । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका महासचिव भुपेन्द्रजंग शाही कारबाहीमा परेका छन् ।
तरुण दलका अध्यक्ष जितजंङ्ग बस्नेतले उनलाई साधारण सदस्य समेत नरहने गरी दलबाट हटाइएको एक पत्रमार्फत् शनिबार जनाएका छन् ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई बोद्यार्थ गरिएको उक्त पत्रमा भनिएको छ ‘महासचिवजस्तो महत्वपूर्णमा पदमा रहेर पनि पदीय मर्यादा, जिम्मेवारी र नेपाली कांग्रेस पार्टी र नेपाल तरुण दलको आर्दश एवं सिद्धान्त विपरीत गई अनुशासनहिन कार्यहरु गर्नुभएको हुँदा नेपाल तरुण दलको विद्यानको परिच्छेद १० को धारा ४४ को व्यवस्था अनुसार नेपाल तरुण दलको महासचिव सहित कुनैपनि सदस्य नरहने गरी हटाइएको व्यहोरा यसै पत्र मार्फत् जानकारी गराइन्छ ।’
यसैबीच महासचिव भुपेन्द्रजंग शाहीले पनि पार्टीअध्यक्ष जितजंङ्ग बस्नेतलाई कारबाही गरिएको शनिबारै अर्कोपत्रमार्फत् जानकारी गराएका छन् ।
पार्टी केन्द्रीय कार्यालयलाई बोद्यार्थ बनाइएको उक्त पत्रमा शाहीले बस्नेतलाई विभिन्न आरोपहरु लगाउँदै कारबाही गरेको बताएका छन् ।
उनले अध्यक्ष बस्नेतले भष्ट्राचार विरुद्ध लक्षित अख्तियार घेराउ कार्यक्रमलाई अन्तिम समयमा हठात् रोकेको, नेपाल तरुण दल केन्द्रीय समिति विस्तार गर्न आफूहरुले पटक–पटक गरेको आग्रहलाई वेवास्ता गर्दै कार्यकाल सकिन लाग्दा पनि ९६ जनाको कार्यसमिति हुनुपर्नेमा जम्मा ४ जनामा मात्र समिति राखी लाखौं तरुण युवाहरुको भविष्यमाथि खेलवाड गर्ने कु नियतका साथ अगाडि बढेको, संगठनको विधि, विधान, मूल्य मान्यता, भावना, मर्म र परम्परा विपरित तानाशाही प्रवृत्तिले आफूखुसी गतिबिधि संचालन गरेको, बाढी पीडितको नाममा संकलन लाखौं रुपैयाँ गम्भीर रुपमा भ्रष्टाचा र र दुरुपयोग गरेको आरोप महासचिव शाहीले उक्त पत्रमा लगाएका छन् ।
वि.सं.२०७६ भदौ २९ आइतवार १५:३१ मा प्रकाशित