Sansar News- Nepal's Fast Khabar Online News Portal

दूध किन्न गोठमै पुग्छन् ग्राहक

–काशीराम शर्मा
४ हप्ता पहिले
दूध किन्न गोठमै पुग्छन् ग्राहक

१ असोज, बाँके । तपाई दूध किन्नका लागि डेरी पसल वा किसानको गोठमै पुगे भने तपाईलाई पहिलो प्रश्न सोधिन्छ, दूध कति लिटर चाहियो ? तपाईले प्रतिलिटर दूधको मूल्य सोध्दै आवश्यकताअनुसार दूध माग्छन् । पसले वा किसान आफैँले दूध लिटरले नापेर तपाईलाई दिन्छन् । यो अहिलेसम्म चलिआएको पद्धति नै हो भन्नुपर्छ तर बाँकेको कोहलपुर नगरपालिका–११ को शीतलनगरमा एउटा घर छ, जहाँ ग्राहकले आफैँ नापेर दूध लैजान्छन् । दूध नाप्दा कहिल्यै तलमाथि हुन्न । ग्राहकले गोठमै पुगेर दुहुँदै गरेको अवस्थामा प्रतिलिटर रु ७० तिर्छन्, आफँैले लिटरमा नाप्छन् र चाहिए जति लैजान्छन् । दूध बेच्ने र किन्नेबीच मोलमोलाई हुँदैन । न त ग्राहकलाई दूध कम प¥यो कि भन्ने शङ्का नै रहन्छ ।

कोहलपुरका विष्णु पोखरेल र शारदा पोखरेलले सञ्चालन गरेको गाई फार्ममा यस्तै पद्धति बसालिएको छ । “शुरु शुरुमा गाई दुहुँदै गर्दा दूध माग्न आउँथे । हामी व्यस्त हुन्थ्यौँ । आफैैँ नापेर लैजान भन्यौँ”, विष्णुले शुरुआती दिन सम्झँदै भने, “आफँै नापेर लैजान पाउँदा उनिहरू दङ्ग, हामीलाई पनि काममा सहयोग भयो । सबै विश्वासमा चलेको छ । ग्राहकलाई शुद्ध दूध खुवाउन पाउँदा खुशी छु ।”
यस्तो अभ्यास एक दशकदेखि चलिरहेको छ । शुरुमा यो दम्पतीको गाई फार्म थियो । स्थानीयवासीलाई दुहुँदै गरेको दूध दिने बानी बस्यो । अहिले कोहलपुर नगरपालिका–८ पिपरीमा प्रकृति गाई फार्म छ । त्यहाँबाट दुहुने बित्तिकै ल्याएको दूध ग्राहकलाई दिइन्छ । फार्ममै दूध लिन आउने उनका ग्राहकलाई दूध लिनकै लागि फार्म मालिकलाई कुर्नुपर्दैन । “बेच्ने र किन्नेबीच विश्वास भएपछि शङ्काको कुरै रहेन”, फार्म सञ्चालक विष्णुले भने ।

पोखरेल दम्पतीले २०६६ सालमा खजुराबाट रु २२ हजारमा एउटा गाई किनेर व्यवसाय शुरु गरे । अहिले उनको गोठमा ३५ वटा गाई छन् । तीमध्ये १७ वटा त दूध दिने नै छन् । औसत एउटा गाईले १५ लिटरसम्म दूध दिने गर्छ । उनले दैनिक १५० लिटर दूध बेचेर वार्षिक रु १८ लाख बचत र्गछन । “मल मात्र वर्षमा रु दुई लाखभन्दा बढीको बेच्दै आएको छु”, विष्णु पोखरेले भने, “गाई फार्ममा रु दुई करोड लगानी भइसकेको छ ।”

शिक्षित भएर गाई पाल्ने किसान, पोखरेल दम्पतीको पहिचान हो । उनले सफल कृषकका रुपमा केही वर्षअघि राष्ट्रपतिबाट पुरस्कार पनि पाइसकेका छन् । पोखरेल दम्पती दुवै जना समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । कोहलपुरमा आफ्नै लगानीमा सञ्चालित सङ्कल्प शिक्षालयमा विष्णु प्रिन्सिपल छन् भने शारदा कोहलपुरमै रहेको उपकार लघुवित्त वित्तीय संस्थामा कार्यकारी निर्देशक । पढेलेखेका व्यक्तिले गोठमा काम गर्दैनन् भन्ने समाजलाई उनिहरूले चुनौती दिएका छन ।

पाल्पाको रैनादेवीमा पुख्र्यौली घर भएका पोखरेलले नवलपरासी हुँदै बाँकेमा आएर गाईपालन शुरु गरे । १३ वर्ष शिक्षण पेशा र आठ वर्ष भूमि अधिकारका क्षेत्रमा लाग्नुभएका पोखरेल अहिले शिक्षालय र गाईपालनको काम सँगसँगै अघि बढाएका छन । “कुनै पनि काम ठूलो सानो हुँदैन । सबै कामका आफ्नै महत्व हुन्छन्”, विष्णुले भने, “गोठमा काम गर्दा गोबर फाल्नुपर्छ । गोठको काम सकेर मात्र घर परिवारलाई समय दिन्छौँ ।”

गोठमा एक जनामात्र कामदार छन् । गाई दुहुने, सरसफाइ गर्ने र घाँस दाना दिने सबै काम पोखरेल दम्पतीकै जिम्मा हो । बिहान ३ बजेदेखि उनिहरूको दैनिकी शुरु हुन्छ । “काम सकेर ९ बजे अफिस जान्छु”, शारदाले भनिन, “दिउँसो ३ बजेदेखि दूध दुहुन शुरु हुन्छ । अफिसबाट ५ बजे आएर राति ९ः३० बजेसम्म फार्ममा काम गर्छु ।” यसबाट पोखरेल दम्पती पूर्णरुपमा सन्तुष्ट हुनुहुन्छ ।

“रक्सी बेचेको भए म रातारात धनी हुन्थे होला । घर परिवारमै बसेर समाजलाई दूध खुवाएर स्वास्थ्यका लागि फाइदा हुने काम गरेको छु”, विष्णुले सन्तुष्टि व्यक्ति गर्दै भने, “छ महीनाको बच्चादेखि १०३ वर्षको हजुरआमालाई दूध खुवाउन पाएकोमा खुशी छु । उनिहरू मेरो ऊर्जा र प्रेरणाको स्रोत हो ।” उनले दूधमात्र होइन, मलमूत्रबाट पनि फाइदा लिएका छन् । “बारीमा रासायनिक मल र विषादी नहालेको तरकारी फलाउँछु र खान्छु”, उनले भने ।

उनले अहिलेसम्म रु पाँच लाख सरकारी अनुदान पाएका छन । प्रदेश सरकारबाट रु चार लाख र कोहलपुर नगरपालिकाबाट रु एक लाख पाएका छन । अनुदान वितरणको मापदण्ड नै उनलाई चित्त बुझेको छैन । “३५ वटा गाई पाल्दा पनि रु चार लाख पाएँ । चार÷पाँच वटा गाई हुनेले पनि यतिनै रकम पाएका छन् । पाल्दै नपाल्नेले अनुदान पाएका छन् । यो निकै अन्यायपूर्ण छ । सरकारले नै अनुदान वितरणको मापदण्ड बनाउनुपर्छ”, उनको भनाइ छ ।

“मुलुकको विकास र समृद्धिका लागि कृषि क्षेत्रको विकास अपरिहार्य छ”, विष्णुले भने, “देश समृद्ध बनाउने कृषिबाटै हो । कृषि आर्थिक क्षेत्रको मेरुदण्ड नै हो । यहाँ त जग्गा बाँझो राखेर बेरोजगार छु भन्ने गलत प्रवृत्ति छ ।” उनले गाई पालेर कोहलपुरमा १० कोठे दुई तले घर बनाएका छन् ।

गोठ बनाउन १० कट्ठा जग्गा किने । दुई छोरीमध्ये उनीहरूकै रुचिअनुसार जेठी प्रज्ञालाई नयाँ दिल्लीमा चाटर्ड एकाउण्टेन्ट र कान्छी प्रकृतिलाई काठमाडौँमा बिबिए पढाएका छन् । (रासस)

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…