Sansar News- Nepal's Fast Khabar Online News Portal

सम्माननीय सभामुखज्यू, संसदबाद की समाजवाद ?

निलकण्ठ तिवारी
८ महिना पहिले
सम्माननीय सभामुखज्यू, संसदबाद की समाजवाद ?

हाम्रो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले ‘डमरुमाथि खतरा नआउन्जेल केही गर्दिन, जब डमरु खतरामा परेको देख्छे, तब बघिनी जाइलाग्छे र झम्टिन्छे’ भन्ने विम्व प्रयोग गर्दै नयाँ संसद भवनको शिलान्यास गर्नुभएपछि विभिन्न तरंग उब्जेका छन् । यो सँगसँगै संसद भवनको निर्माण र अपेक्षित परिणामहरुबारे पनि सामाजिक संजालमा छरपष्ट आएका छन् ।

१ सय ७३ रोपनी ८ आना अर्थात् ८८ हजार २ समय ७१ बर्गमिटर ओगट्ने गरी हाइटेक प्रविधिद्धारा निर्माण हुने संसद भवनप्रति चासो जानु र स्वयं प्रधानमन्त्रीबाट त्यसैको शिलान्यासका अवसरमा ‘बघिनी’ शब्द प्रयोग हुनुले भवन निर्माण बढी चर्चामा आएको छ । भवन विभागद्धारा ७ अर्ब रुपैयाँको लागत अनुमान पेश भएपछि त्यो भन्दा करिब २ अर्ब घटीमा ‘जेभी तुंदी–एसएचइसी’ ले कामगर्न खाजेको विषय पनि यहाँ उठाउन खोजिएको होइन । २०६४ को संविधानसभा लगत्तै भाडा तिरेर बस्दै आएको परिस्थिति तथा २० वर्ष अगाडि देखि नै भवन निर्माणस्थलको खोजी भैरहेको सन्दर्भमा सिंहदरवारको पूतली बगैचामा भवन निर्माण शुरु गर्न लागेको विषयलाई नकारात्मक टिप्पणी गर्न खोजिएको त झनै होइन ।

तर, संसद भवन निर्माणको विषय निकै महत्वको हो भन्ने स्मरण गराउन वांछनिय ठानी सम्माननीय सभामुखलाई पुकारा गर्न खोजिएको भने सत्य हो । संसद भवन, एउटा भौतिक व्यवस्थापन भएपनि त्यसले मानसिकतामा पार्ने प्रभावलाई जोडेर यहाँ व्यंग गर्न खोजिएको पनि होइन । संसद भवन भनेको आवश्यकतामा संविधान शंसोधन गर्ने देखि ऐन, कानुन, पारित गर्ने मुख्य थलो भएकालै त्यसकौ भौतिक निर्माणसँगै केहि खट्केका बिषय जोडन खोजिएको हो । यद्यपी अहिलेको सन्दर्भमा भन्नुपर्दा दुईवटा संविधान सभामार्फत् हामीले महँगो संविधान प्राप्त गरेका छौं र यतिबेलाको संसदमार्फत् हामी संविधान कार्यान्वयन गर्ने अवसर प्राप्त गरिहरेका पनि छौ ।

हामी अहिले संविधानको कुल प्राप्ति ‘समाजवाद’ निर्माणका आधार बारे व्यापक बहश बढाउनुपर्ने स्थितिमा छौं । निर्वाचन प्रणालीका कारण भएको बेथिति, अराजकता र भ्रष्टाचार क्यान्सर झै फैलिएको बेला वर्तमान निर्वाचन प्रणालीलाई पुनरावलोकन गर्नैपर्ने स्थितिमा छौ । शक्ति राष्ट्रहरुले ‘फकाउने र फसाउने’ सिधा रणनीति अख्तियार गरिरहेको यो बेला माटोमा आधारित विदेश नीति बनाउने जरुरीमा पनि हामी छौ । यस्ता महत्वपूर्ण कामका लागि दुई तिहाइ समर्थनको सरकार त छ तर त्यसले मुख्य प्रश्नहरुको समाधान हुने गरी विश्वासको वातावरण प्रवाह गर्न सकेको छैन । संसदको काम ‘विल बनाउने’ सम्म हो भन्दै पुरानो धन्दामा रमाइरहने छुट यो संसदलाई छैन ।

लेखक-निलकण्ठ तिवारी

संसदमा बन्ने सबै विधेयक महत्वका हुन्छन्, सबै छलफल गम्भीर हुन्छन् र सबै बैठक निर्णयकारी हुन्छन् भन्ने मान्यतामा संसदका पात्रहरु अर्थात् माननीय सांसदहरु चलेको अनुभुति हुन सकेको छैन । यसकारण पनि ‘अरबौं खर्चेर किन उनीहरुलाई भवन बनाउने ?’ जस्ता झोक र आवेग पनि संजालमा आएका छन् । सामान्यतया संसदको बैठककक्ष खाली देख्दा सचेत र स्वाभिमानी नागरिकलाई आक्रोश आउनु स्वभाविक छ । आफ्ना सुविधा बढाउन र आफ्नो तजविजले विकासको नाउँमा बजेट प्रयोग गर्नका लागि आतुर हुने सांसदहरु निर्वाचनमा भएको खर्च कसरी जुटाउने भन्दै पिरिएको र झोक्रिएको स्थिति पनि छ नै । जनताले आफ्ना बाख्रा र भैसीको समेत कर तिर्न थालिसकेको बर्तमानमा जनप्रतिनिधिले घोषित भूमिका पूरा गर्यो कि गरेनन् भन्ने विषयको बहस जनस्तरमा पुगिनसकेको लाभ सांसदहरुले उठाइरहनु भएकै छ । ‘भोटिङ र टेकिङ’ का बेला बाहेक हाम्रा सांसदले पदीय गम्भीरता नदेखाएको र जिम्मेवारी सहितको परीणाम दिन नसकेको प्रष्टै छ ।

सांसदहरु आकाशबाट आएको भिन्दै प्राणी नभएको बरु दलका नेता रिझाएर पाएको टिकट, पैसा र प्रभाव पुर्याएर पाएको टिकट वा योग्यता र त्यागले पाएको टिकटका प्रक्रियाबाटै जनताको मत पाएर निर्वाचन जितेका राजनैतिक व्यक्तित्वहरु हुन् । निर्वाचन प्रणाली र दलहरुभित्रको सहि लोकतन्त्रको अभावको फाइदामा नपाउनेले पाइहालेपनि निर्वाचन जितेपछि उनीहरु सबै माननीय सांसद नै हुन् र हामीले मानेका पनि छौं । तर उनीहरुलाई दलको भूमिका सँगै माटो निष्ठा भन्दा बाहिर जाने छुट कदापी छैन ।

सुविधा सहितका राजनैतिक व्यक्तित्व भएका कारण अहिलेका हाम्रा माननीयलाई मुलुकको वर्तमान कार्यभारका विषयमा बहश बढाउने जिम्मेवारी समेत संसदले दिनै पर्ने स्थिती उत्पन्न भएको छ । जुनसुकै दलका किन नहुन्, संविधान शिरोपर गरी समाजवादी निष्ठा मान्छौं भनेका हाम्रा माननियहरुलाई सहि काम दिन र मुलुकलाई परीणाम प्राप्त गराउन सम्मानीय सभामुखको ठूलो भूमिका रहनेमा कुनै बिवाद छैन ।

परिवर्तन व्यवस्थापन गर्दै जनतालाई त्यसको अनुभुति गराउनुपर्नै वर्तमानमा देखिएका केही प्रतिगामी सल्बलाहट बाहेक अरु ठूला समस्याहरु केही नभएकाले पनि आन्तरिक चुनौतीहरुलाई अवसरको रुपमा प्रयोग गर्न सभामुखको जाँगर र सक्रियता बढ्नैपर्ने देखिएको छ । नेतृत्वको निष्ठा र इमान्दारिता समाजवादमुखी नै हो भने वारुला, अरिंगाल र बघिनीका विम्वहरुको सहि उपयोगमा परिपक्व सल्लाह दिन तथा समाजवादी संक्रमणमा घचेट्न सभामुखले थप आँट गर्नै पर्दछ । यदि त्यसो होइन र पुरानै संसदवादी मान्यतामा घुमिफिरी गरिरहने हो भने परिवर्तनको एउटा मुख्य संवाहक भनेर चिनिएका कृष्ण बहादुर महराको अमुल्य समय त्यसै खैर जान्छ भनेर ब्यक्त भएका चिन्ता सहि पनि हुनसक्छन भन्नेतर्फमा ध्यान पुगोस् भन्न चाहान्छु ।

‘ कम्युनिष्ट अधिनायकबादका लागी महराको सभामुखीय भूमिका’ भनेर तितो टिप्पणी सहनु परेको वर्तमानमा सम्माननीय सभामुखज्यूले गम्भीरतापूर्वक र कौशलता सहित दलहरुको अग्रगामी रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका खेल्न जरुरी देखिएको छ । हो यसका लागि त्यति सहज छैन । समाजबादतर्फ जाने आधारभुत अभ्यासहरु देखिएकै छैन भन्दा हुन्छ भने बिभिन्न बिधेयकहरुको पछिल्लो कसरतले संसदिय अभ्यासप्रति नै शंका उत्पन्न भएका स्थिति पनि छन् । रुपान्तरणकारी भनिएकै कतिपय नेतृत्वको कथनी र करणीमा निकै अन्तर पनि छ । तर असहजताका बिच सहजता फेला पार्ने र प्रतिकुलताका बिच अनुकुलता भैटटाउने तपाइको राजनैतिक संस्कृतिका कारण यस्तो अनुरोध गरीएको हो । संबिधानमै टेकेर समाजवादी संयन्त्र निर्माणको कामगर्ने छुट र अवसर भएकाले झिना मसिना विषयमा नअल्झिइकन सांसदहरुकै उपयोगबाट सभामुखको पदमा रहेरै पनि दलहरुको रुपान्तरणमा ध्यान पुर्याउन थप अनुरोध गरिएको हो ।

नयाँ संसद भवन शिलान्यासको वर्तमान सेरोफेरो तथा संबिधान दिवसको यो चटारोमा समाजवादी विचार र व्यवहारको मानसिक र भौतिक खम्बाहरु उपयोग गर्ने स्थिति पैदा गर्न सम्माननीय सभामुखलाइ उत्साह जागोस । पुरानै प्रकारको संसदबादी भाइरसलाइ अन्त्य गरेर बर्तमान संसदबाट पनि समाजबादी सभ्यता प्रवाहको अभ्यास हुन सकोस् ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…