१
अँध्यारो नै काफी थियो उसलाई घाम किन उदाउँछ ?
जसको ललाटमा सुख छैन डोको नाम्लो मै रमाउँछ
कम्मरमा पटुकी कसेर भोक तिर्खा बिर्सन्छ सबै
पीरको ओछ्यान आँसुको सिरानीमा दुःख बिसाउँछ ।
२)
अस्तित्व खतरामा पारेर पनि नगद हसुर्न लाग्नुभो
नेपाल र नेपालीको इतिहास खाल्डोमा पुर्नु लाग्नु भो
रहेन चिन्ता यहाँलाई अखण्ड देश र स्वाभिमानको
झन् उहाँ त नेपाली नागरिकता बोकेर दगुर्न लाग्नु भो ।
३)
कुन्ठिएर मरे आँकाक्षाहरू बैँसमा कति रहर फटाएँ
जानीजानी आफू जहर पिउँदै अरुलाई अमृत चटाएँ
दुर्योधन र दुशासनहरू बजारमा खुलेआम देखेपछि
चिरहरण नहोस् भनेर द्रौपदीलाई साडी उपहार पठाएँ ।
४)
मनको मैलो बिस्कुन सरि सुकाउँदा कसो होला ?
मनकै गाँठो तिमी सामु फुकाउदा कसो होला ?
जन्म भएको नै हाँसखेल गरि जिउन भन्छन्
ओठको हाँसो फुलाउन पीर लुकाउँदा कसो होला ?
५)
सिधाकुरा लेख्छु भन्यो कलम अन्तै बाङ्गीदो रहेछ
बेथिति को मलजल पर्दा भ्रष्टाचार झाङ्गीदो रहेछ
जतिसुकै महंगो पहिरनले लाज ढाक्न खोजे पनि,
नैतिकताको धरातलमा मान्छे झन् नाङ्गीदो रहेछ ।।
वि.सं.२०७६ असोज ४ शनिवार ०९:३४ मा प्रकाशित