आमाको दाह सँस्कार सकेर मेरी आमाको अस्तु सेलाउन जस्तोसुकै दुखझेल्नुपरे पनि म आफैं नै जान्छु भनेर उतै नदीबाटै अस्तु बोकेर सेलाउन हिडेको डम्वरे आज बल्ल नौ दिनको दिन घर आईपुग्यो । उसलाई देख्ने वित्तिकै सबैले उसलाई सहानुभूति पोख्दै सोध्नथाले ‘बाबु ! हामी आफ्नै घर गाँउमा बसेर काजक्रिया गर्नेलाई त कति गार्हो भयो,तै यहाँ त कसैले के ल्याए कसैले के ल्याए नयाँ नयाँकुरो मुख फेर्दै खाईयो,आउने जाने सँग यसो दुईचार कुरा गर्दापनि समय विताउन सजिलो भयो, तिमी त परदेशमा के खायौ होला ? को सँग वोल्यौ होला ? भुतुक्कै भयौ नि मेरो वावु’ भन्दै चुक चुक गरे ।
डम्वरेले पनि खुब सचिलो हुँदै भन्यो ‘त्यस्तो दुखको त कुरै नगर्नोस,आफ्नी आमाको मुक्तिको लागि यतिपनि नगरे के छोरो हुँ भनेर भन्नु त ?’
‘हेर त विचरा च्व च्व अनि के खाईस त नानी यतिका दिन ?’ काकीले दुखेसो पोख्दै सोधिन् ।
खोई के भन्नु र काकी ! घाटबाट हिडेका दिन एकदुई वटा स्याउका टुक्रा टोकेँ, पटक्कै खाँउ भएन, भोलीपल्ट अलिकति दुध किनेर खीर बनाएर खाँए त्यो पनि गुलियो पेटै गुलियो भएर आयो, अलिकति खाएर फ्याकीदिए, पर्सीपल्ट सारै भएन भनेर आधाकिलो खसिको फलमासु किनेर ल्याँए र मज्जाले मर मसला गरेर पकाएको थिएँ, तर त्यो पनि नुनै नहालेपछि कहाँ खाईसक्नु हुँदो रछ र त्योपनि झण्डै खेरगयो नि काकी ?’
घर गाँउलेहरू एकै स्वरमा भने, ‘हन केभन्छ हँ यो डम्वरे’
वि.सं.२०७६ असोज ४ शनिवार ०९:३६ मा प्रकाशित