Sansar News- Nepal's Fast Khabar Online News Portal

कथा : कस्तो प्रेम

रजनी खत्री, काठमाण्डौं
१ महिना पहिले
कथा : कस्तो प्रेम

रमन र मेलिना एक अर्कालाई असाध्यै प्रेम गर्छन् । उनीहरूको प्रेम देखेर उनीहरूका साथीहरू पनि अचम्मित थिए । लाग्थ्यो रमन मेलिना बिना एक पल पनि सास फेर्न सक्दैन । उनीहरूले घर परिवारलाई नसोधी भागि बिवाह गरे किनकि, उनीहरूको उमेर पुगेको थिएन । तर, एक अर्को बिना बाँच्न नसक्ने भएपछि पढाइ बीचमै छाडेर दुबैले गाउँ छाडे ।

भखर्र ९ कक्षा पढ्ने केटाकेटी यसरी भागेको देखेर समाजमा छुट्टै तहल्का मच्चिन थाल्यो । समाजमा अन्य केटाकेटीलाई हेर्ने तरीका मात्रै एकै किसिमको हुन थाल्यो । सबैलाई स्कुलका मास्टरले समेत जो केटाकेटी बोल्थे त्यसलाई जोडी बनाइदिन्थे । चाहे त्यो निस्वार्थ साथी मात्रै किन नहोस् । रिमा त्यो कक्षामा छुट्टै स्वभाव भएकी केटी थिइ । उसलाई रमन र मेलिनाको यस्तो निर्णय देखेर अचम्म र दुःख पनि लागेको थियो । तर, सबैले बैसले उम्लिएको, पात्तिएका आदि–आदि आरोप आउन थाले ।

दिनहरु बित्दै थिए । कुनै अपरिचित नामबाट रिमालाई पत्र आयो । उ जिल्ल परि र त्यो पत्र खोलेर हेरी । त्यसभित्र त रमन र मेलिनाले पठाएको पत्र रहेछ । हामी बिवस थियौ साथी, त्यसैले भागेर बिवाह गर्न बाध्य भयौं । हाम्रो सम्बन्धको बारेमा सबैतिर हल्ला भएको र हामीलाई छुटाउने योजना बनेकाले हामी एक अर्को बिना बाँच्न त के सास समेत चल्दैन त्यसैले हामी अहिले नवलपरासीमा काम गरेर बसेका छौं । तिमीहरू राम्रोसँग पढ्नु हामीलाई त भाग्यले पढ्ने मौका दिएन ।

दिनहरू बित्दै गए सबैले स्कुलको पढाइ सकेर क्याम्पस जान थाले । यसै सिलसिलामा क्याम्पसबाट घुम्न लैजाने ठाउँ पनि नवलपरासी नै रह्यो । रिमा र उसका केही साथीहरूले रमन र मेलिनालाई भेट्ने योजना बनाए । केही साथीहरू मिलेर उनीहरूले भेट्न पनि गए । तर, जति सोच बनाएर गएका थिए । त्यहाँ पुग्दाको क्षणले अरुलाई त त्यति फरक परेन तर रिमा जो उनीहरूको निकट साथी र अलि भावुक स्वभावकी थिइ उसलाई नरमाइलो लाग्यो ।

मेलिना गर्भवती भइसकेकी रहिछ । तर, पनि उसले आफुले ज्यामी काम गरेर रमनलाई पढ्न उत्प्रेरित गरेकी रहिछ । रमन १० कक्षामा पढ्दै रहेछ । रमन लक्का जवान १९–२० वर्षको ठिटो । तर, बिचरी मेलिना काम,थकान र त्यो अवस्थामा मुखमा कालो चायाँ, दुब्लो र निदाउरो अनुहार दिक्क लाग्दो थियोे । यो जमानामा नपढी काम छैन, दुवैले पढे काम कसले गर्ने भन्ने सल्लाहमा बरु केटी मान्छेले नपढेनी हुन्छ केटा मान्छे त पढ्नु पर्छ भनेर रमनलाई पढ्न पठाएकी रहिछ मेलिनाले ।

एक हिसाबले ठिकै पनि हो । तर, मेलिनाको त्यो हालत देखेर साथीहरू दुःखी र केही सचेत पनि भए । हतारको निर्णयले आज यो परिस्थिति सिर्जना भयो । रिमाले पनि धेरै सम्झाउँदै भनि ‘अब माफी माग र आफनै घरमा गएर बस्, तिमीहरूको यो अवस्था सार्है दयनीय रहेछ । अर्काको ठाउँमा शरणार्थी जसरी कसरी चल्छ । झन् सुत्केरी हुँदा के गर्छौ एक्लैले रमन नि पढ्दै छन् ।’ त्यसपछि सबै आ–आफनै बाटो लागे ।

केही महिना पछि रिमालाई फेरि एउटा पत्र आयो बाहिरी भागमा उहीँ पुरानै अपरिचित नाम (उर्मिला) मा तर यसपटक त उसले हेक्का पाइहाली । रमनले यस्तो पत्र पठाउँछ भनेर उसले कल्पनासम्म गरेकी थिइन । रिमा वास्तवमा म तिमीलाई चाहन्थे तर मेलिनाले मलाई टुना–मुना लगाएर एकोहोरो प्रेममा फसाइ म अहिले पछुतो मान्दैछु । बरु तिम्ले साथ दिन्छौ भने तुरुन्तै त्यसलाई छाडेर तिमीलाई अपनाउन सक्छु । तिम्रो त्यो मोहनी रुप, ठूलाठूला आँखा सरल स्वभाव र सबैलाई दयाको भावले हेर्ने र सहयोगीपनबाट म प्रभाबित छु । प्लिज मलाई माफ गर म तिमी बिना बाँच्न सक्दिन । तिम्रो पत्रको प्रतिक्षामा हुनेछु । यस्तो पत्रले रिमालाई संसार भासिए जस्तो भो ।

रिमाको बुवाको अफिस सरुवा भो । उनीहरू सपरिवार धरानबाट अब गोर्खा जाने भए । त्यसपछि सबै कुरा नयाँ हुन थाल्यो रिमाको जीवनमा । उनी पढाइ साथै एउटा अफिसमा काम पनि गर्न थालिन् । यता रमन र मेलिनाको जीवन भने दिनहुँजसो कष्टकर बन्दै थियोे । रमन दिनहुँ मेलिनासँग झगडा गर्ने र पिट्ने गर्दथ्यो ।

दिनहरु बित्दै गए । रिमाको विवाह उसँग काम गर्ने अफिसको केटासँग भयो । झन्डै दश वर्षपछि रिमा आफना परिवार सहित लुम्बिनी घुम्न गएको बेला उनको भेट मेलिनासँग हुन्छ । मेलिना काली, दुब्ली र बुढी जस्ती देखिन्थिन् । उनले सानो चियाखाजा पसल राखेर बसेकी रहिछिन् । रिमा र मेलिनाको कुराकानीबाट थाहा भयो कि, रमनले उसलाई धेरै यातना दिएर दुबै छोरी मात्रै पाएको र छोरा पाउन नसकेको । आफू पढेर ठूलो बिज्ञ भइसकेको र आफू सुहाउँदो नभएको भन्दै उनलाई छाडेर अर्को बिवाह गरेको र छोरा समेत भइसकेको खबरले रिमा एकछिन अत्तालिन् । उनलाई कुनै नमिठो सपनाबाट ब्युझे जस्तो भो, आफुले टेकेको जमिन भासिए जस्तो भो । त्यस्तो प्रेम जुनबेला एकछिन पनि एकअर्का बिना सास नचल्ने जस्तो थियो उनीहरुको । उसलाई पढाउन त्यति धेरै मिहिनेत गरेकी मेलिनाले जब उ सक्षम होला अनि परिवारलाई सुखले पाल्नेछ भन्ने सपना–सपना नै रह्यो ।

‘जब उसलाई अर्को बिहे गर्ने मन थियोे छोराको इच्छा थियो भने मलाई बरु राम्रोसँग सल्लाह गरेको भए पनि म हाँसिखुसी उसलाई अनुमति दिन्थे नि ! मलाई यति पिट्थ्यो कि, मलाई पिट्दा उ नै धेरै थकित हुन्थ्यो र पनि मेरो पिडाले भन्दा उसको पिडाले मलाई झन् धेरै पिडा हुन्थ्यो । ठिकै छ उ जहाँ भए नि खुशी र सुखी होस् मेरो चाहना यही हुनेछ । तर यी छोरीहरुले बाबुको माया र छायाँ पाएनन् भन्ने कुरामा सार्है दःुख लाग्छ रिमा ।’ मलिनाले भन्दै गई । ‘मैले मेरो आमा बुवा र दाइ दिदीको भनाइ नमान्दा यस्तो सजाय भोग्नुपर्याे । मेरो पापको परिणाम मेरा यी अवोध नानीहरूले भोग्नुपर्याे । कसैलाई साँचो र सच्चा प्रेम गर्नु यो कलिमा ठूलो अपराध र पाप हुने रहेछ । तिम्रो जीवन सुखमय रहेछ । धेरै खुशी लाग्यो । आफु सबैतिरबाट सक्षम र खुशी छँदाछँदै पनि म जस्तो झुत्री,गरीब र असहायलाई साथी सम्झेर आयौ धेरै ठूलो छ तिम्रो मन र विचार रिमा तिमीमा केही परिवर्तन छैन । जस्तो हिजो थियौ उदार, महान, दयालु र सहयोगी ।’
मेलिनाका यी कुरा सुन्दै गर्दा रिमाका आँखाबाट भदौरे भेल बगिरहेका थिए । हुन त मेलिना नि कहिले भेल बगाउँदै त कहिले शान्त हुँदै आफनो पीडा पोख्दै थिइ ।

मेलिनाकी जेठी छोरी मिरा र सानी छोरी रुमी पनि घरमा आइपुगे । ठूली छोरी १२ कक्षा सकेर नतिजाको प्रतिक्षामा एउटा प्राइभेट कम्पनीमा काम गर्दै रहिछे । सानी छोरी कक्षा ८ मा पढ्दै रहिछे । दुबैका आँखामा अबोध र एक प्रकारको आसा झल्किएको प्रष्ट देखिन्थ्यो, ‘बुवा एकदिन पक्कै आउनु हुनेछ, हामीलाई लिन ।’

यसै क्रममा थाहा भयो कि, रमन डिभी परेर स–परिवार अमेरिका गइसक्यो सदाको लागि । भक्कानिदै रोए, मेलिना र दुबै छोरीहरु अनि रिमा पनि ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…