कुनै अदृश्य छायाले छोपिएझैँ
बोझिला बन्दै छन् सपनाहरू
निराकार उभिएको छ आकार
त्यो आकार जो प्रत्येक वर्ष
झरीको बिदाई
र, शारदीय आकाशको स्वागतमा
उभिने गर्छ-मेरो आँगनमा !
मलाई
त्यो आकार र आकाश उस्तै उस्तै लाग्छ
दुवै फैलन र खुम्चन सक्छन्
मलाई
मेरो आकार र आकाश पनि उस्तै उस्तै लाग्छ
दुवै शून्य छन् अदृश्य छन्
आज
यही शून्यताभित्रको सानो अदृश्य दुलोबाट
एकसाथ सयौँ अनुहारहरू चिहाइरहेझैँ लाग्छ ।
मलाई वासलात तयार पार्नु छ रहरको
र, फर्स्यौट गर्नु छ बेरुजु जीवनको ।
देऊ, कोही मलाई
एक चिम्टी दृष्टि पैँचो देऊ
एउटा स्केल र क्याल्कुलेटर पैँचो देऊ
गर्नु छ-गणना
राख्नु छ-हिसाब
र, जोड घटाउ गरेर आवश्यकताहरू
जानु छ बजार
किन्नु छ खाजासामल र बँचेका रहरहरू !
घरमा मलाई कुरिरहेको होला छोरो
रहरसितै खेलिरहेकी होली छोरी
उमेरसित पौँठेजोरी खेल्दै होलान् बाउआमा
आँगनबाट बाटातिर आँखा तान्दै होलिन् श्रीमती
लगिदिनु छ उनलाई पनि
अलिकति मुस्कानको गुलाबी सिन्दुर
र, किन्नु छ आफैँलाई पनि
कुनै सेकेन्डह्यान्ड पसलबाट
समय हेर्ने चम्किलो चस्मा !
हाल : पेप्सीकोला