बुढापाका भन्थे
माटोलाई ढुंगाको भर
ढुंगोलाई माटोको भर
हो रहेछ
बुझेँ
तिम्रो भरोसामा
जीवन गतिशील भएपछि
सत्य रहेछ
माटो ढुँगासंगै टाँसिएको पर्खाल झैं
स्थिर भएको छ अब जिन्दगी
पानीका छाल जसरी मडारिनु पर्दैन
किनारमा ठोकिएर फर्किनु पर्दैन
मुलधारको प्रबाहमा
खातमाथि खात थपिएर
बाँधिएको छ जिन्दगी
एक
दुई
तीन गर्दै
रहरहरू बुनिएका छन्
खुट्किला उठेका छन्
जमिनको पहिलो सिंढीं झैं
खडा छ्यौ तिमी
जहाँ
निर्धक्क
निर्भय टेकेर
अग्लो सिंढी चढदै छु म
त्यो अफ्ठ्यारो सिंढीको बाटो
तिम्रो रातो सिउदो हो
जहाँ
म भएसम्म पखालिन नसक्ने
मेरो रगतको रंग छ
गलामा रातो पोते छ
पहाड चढ्ने
मनि प्लान्टका लहराहरू जति
कमजोर छैन
चुँडिदैन मेरो विश्वासको बन्धन
र त
मजबुत छन् हाम्रा साथहरू
मजबुत छन् मुस्कानहरू
जतिसुकै विशाल कम्पन आएपनि
आँधीहुरी आएपनि
काँचका अनुहार जसरी फुटदैनन्
नयनका ओठबाट अश्रुजल बगेर
पखालिंदैनन् रगंहरू
सीमानाका पर्खाल जसरी
अग्नी कसमको बन्धन तोडेर
सार्न सकिंदैन माया
रातारात ।
२०७६ असोज ८
काठमाडौ