Sansar News- Nepal's Fast Khabar Online News Portal

भ्रष्टीकरण र अपराधीकरणको माखेसाङ्लोबाट मुलुकलाइ जोगाऔ

प्रेमलकुमार खनाल
३ हप्ता पहिले
भ्रष्टीकरण र अपराधीकरणको माखेसाङ्लोबाट मुलुकलाइ जोगाऔ

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य प्रेमल कुमार खनालले भ्रष्टीकरण र अपराधीकरणको माखेसाङ्लोबाट मुलुकलाइ जोगाउन अपिल गरेका छन । उनले  सम्मानित सर्वोच्च अदालत बाट स्थानीय तहका जन प्रतिनिधीहरुले लिईरहेको तलब भत्ताका बारेमा रोक लगाए पछि, नेपाली राजनीतिमा यस विषयमा पक्ष विपक्षमा छलफल वहस भईरहेको बताउदै उक्त धारणा सार्वजनिक गरेका हुन् ।

संविधानको धारा २२० र २२७ मा जिल्ला सभा, जिल्ला समन्वय समिति, गाउपालिका , नगरपालिका, गाउसभा , नगर सभा संचालन, वैठकको कार्य विधि, र सदस्यले पाउने सुविधाको व्यवस्था प्रदेश व्यवस्थापिकाले कानून बनाए बमोजिम हुने उल्लेख छ । तर ६ वटा प्रदेश व्यवस्थापिकाले गलत व्याख्या गरि जनप्रतिनिधिहरुले मासिक परिश्रमिक,ज्याला ,तलब सुविधा पाउने गरी कानून बनाएका छन् तर संविधानमा स्थानिय तहका प्रतिनिधिले तलब लिन पाउने व्यवस्था छैन । संविधान विपरित यसरी तलब सुविधा लिदा ७७ वटा जिल्ला र ७५३ वटा स्थानीय तहका जिल्ला समितिका प्रमुख, उपप्रमुख, सदस्य गाउँपालिका । नगरपालिकाका प्रमुख, उप–प्रमुख र सदस्यहरु गरी देश भर झण्डै २७००० जनप्रतिनिधिले मासिक रुपमा ३६ करोड, बार्षिक ४.५ अर्व र ५ वर्ष अवधिमा २२ अर्व खर्च हुने देखिएको छ । यो खर्चमा जनप्रतिनिधिहरुले लिने वैठक, लगायतका अन्य भत्ता सुविधा, सवारी साधन खरिद, मर्मत आदि पर्दैन । नेपाली वृहद कोषमा सुविधा भन्नाले कुनै कार्य सजिलो सँग गर्न सकिने अवस्था, सुबिस्ता, सजिलोपना हरतरह वाट सुविधा पाउने त्यस्तै पारिश्रमिक भन्नाले परिश्रम वा कुनै कार्य गरे वापत पाउने तलब, ज्याला, बनी, मजदुरी, भनी उल्लेखछ। यसरी हेर्दा सुविधा र पारिश्रमिकमा भिन्नता रहेको छ ।

कुनै पार्टीमा नेता वा कार्यकर्ता बनेर “राजनीति” गर्नुलाई कसरी परिभाषित गर्ने भन्ने विषय समकालीन नेपाली राजनीतिमा बहसको विषय बन्न थालेको छ । साँच्चिकै मानिसहरुले पार्टीले लिएको ध्येय, उद्देश्य परिपूर्तिको लागि त्याग र आदर्श भावनाका साथ राष्ट्र तथा जनताको हितका लागि निःस्वार्थ राजनीति गरीरहेका छन् वा आफ्नो स्वार्थका लागि राजनीतिलाई ‘पेशा’ का रुपमा अँगालिरहेका छन् ? यस्ता प्रश्नको सटीक उत्तर खोजी नगरेसम्म मुलुकको राजनीतिले बाटो बिराइरहनेछ । किनकी मुलुकलाई सही दिशा दिने भनेकै सही राजनीति नै हो । राजनीति गर्ने राजनीतिक पार्टीका नेता, कार्यकर्ताले नै राजनीतिको सही बाटोलाई आत्मसात् गर्न सकेनन् भने निश्चय नै मुलुकले सही दिशा लिँदैन र मुलुकको राजनीति सदैव अस्थिर, अन्योल, गरीबी, बेरोजगारी, भ्रष्टाचार र अपराधीकरणमै जकडिरहेको हुनेछ ।

मुलुकमा संघीय शासन प्रणली अन्तर्गत तीन तहमा सरकार गठन भएको छ सरकार गठन संगै संबैधानीक अंग ,विभिन्न मन्त्रालय, मातहत निकाय तथा कूटनीतिक नियोगमा नियुक्तिका लागि पनि मानिसहरु दौडधुपमा लाग्दै आएका छन् ।

आखिर मानिसहरु किन यसरी राजनीतिक नियुक्तिका लागि अपहत्ते गर्दैछन् ? पटक पटक मन्त्री भइसकेको व्यक्ति वा राजनीतिक नियुक्ति पाइसकेको व्यक्ति फेरि नियुक्तिका लागि पटक पटक किन लालयित हुँदैछन् ? किन उनीहरु पार्टीको साङ्गठनिक काममा लालयित हुँदैनन ? पार्टीको सङ्गठक बनेर आफ्नो योग्यता, क्षमता र अनुभवलाई सिङ्गो पार्टी र जनताको हितमा उपयोग नगरेर किन राजनीतिक नियुक्तिका लागि मात्र लालयित हुन्छन् ?यस भित्र केबल मान ,सम्मान, र आय आर्जन बाहेक केही हुदैन । यसरी नियुक्तिका लागि लालायितहरुले नियुक्ति भएमा मुलुकको बिकास र अग्रगतिका लागि यसरी योगदान पुर्याउन सक्तछु भनेर कुनै प्रतिबद्धता सहितको प्रस्ताब भने अगाडी सारेको पाईदैन ।

यस्तै पटक पटक मन्त्री वा राजनीतिक नियुक्ति पाइसकेको व्यक्तिले नै मन्त्री वा राजनीतिक नियुक्तिको अवसर किन पाइरहन्छन् ? किन अवसरको समानुपातिक र न्यायोचित वाँडफाँड हुँदैन ? आदि प्रश्न प्राय ः सतारुढ पार्टी सामु उठ्ने गर्दछन् । तर सत्तारुढ पार्टिले जनस्तर वा कार्यकर्ता स्तरबाट उठने गरेका यस किसिमका प्रश्नको सही जवाफ दिने वा तदनुरुपको नीति बनाउने गरेको छैन ।

पार्टी र त्यसको नेता, कार्यकर्तालाई विगार्ने भनेकै गलत नीति, लोभलालच, र भोगविलासले नै हो । नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले त्यतीखेर सरकारलाई टिकाउन सांसदहरुका लागि पेन्सन, पजेरो, गाडी र औषधी सुविधाको लहर शुरु गराएको थियो। यसैले गर्दा नै बहुदल कालमा नेपाली राजनीतिमा विकृति र विसङ्गति बढ्न थाल्यो । पेन्सन सुबिधाका बिरुद्धमा तत्कालिन एमालेका युवा नेता गोकर्ण विष्टको अगुवाईमा विरोध प्रस्ताव अगाडी बढाए तर एमालेकै एकजना उच्चनेताले “राजनीतिज्ञहरुले गिटी कुटेर खाने हो त ? भनेर मन्त्री, सांसदहरुको पेन्सन, पजरो, औषधि सुविधाको पक्षपोषण गर्दै राजनीतिलाई ऐस, आराम, सुखसयल गर्न पाउने हो भन्ने बिचार ब्यक्त गरेका थिए। यहीँनेर राजनीतिलाई परिभाषित गर्न सकिन्छ । सुविधाको विरोध निष्ठा, आदर्श, त्याग र जनसेवाको राजनीति हो भने सुविधाको समर्थन र यसप्रतिको लालसासुबिधाका नाममा आय आर्जन गरि राष्ट्रको सम्पती दोहन गरी राजनीतिलाई सुखसयल र रुपमा लिनु हो । मन्त्री, सांसद भएर पदबाट भएपछि पजेरो, प्राडो चढ्नैपर्ने, आलिसान महल बनाउनै पर्ने र अकुत धनसम्पत्ति कमाउनैपर्ने खालको उपभोक्तावादी सोंच चिन्तनले साँच्चीकै राजनीति “पेशा” को रुपमा हो भन्ने भ्रम सिर्जना गरिदिएको छ ।

राजनीतिलाई राष्ट्र र जनताको हितमा समर्पण गर्दै आइरहेका अग्रजहरु नेपाली राजनीतिमा पाइन्छन् । नेपाली राजनीतिमा आफ्नो यौवनकालदेखि अनवरत रुपमा जीबन पर्यन्त समर्पण गरीरहेका मध्येका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ले नेपाली राजनीतिमा अनुपम छाप छोडी दिएका छन ।भट्टराइलेप्रधानमन्त्री पदबाट छोड्दा सुराही, छाता र बाकस बाहेक बालुवाटारबाट केहि पनि लिएनन् ।

न त उनले कुनै धनसम्पत्ति जोडे ,न त महल नै बनाए । जीवनपर्यन्त उनले राष्ट्र र जनतालाई सेवा अर्पण गरे त्यस्तै जननेता मदन भण्डारी आफू पार्टी र संसदीय दलको अध्यक्ष भएनन । काठमाण्डौ शहरमा साईकलमा यात्रा गर्ने भण्डारीले बिदेश जादा खर्च गर्न लिएको रकम बचत भएको रकम पार्टीको खातामा जम्मा गर्ने गरेबाट पनि जननेता मदन भण्डारीको राजनीतिप्रतिको सेवाभाव, निष्ठा, समर्पण र सादाजीवनशैली साँच्चिकै अनुकरणीय रहेकोे छ । यस्तै मनमोहन अधिकारी मध्यमवर्गीय परिवारमा जन्मिए पनि जीवनपर्यन्त सुखसयल र विलासी राजनीति नगरी मुलुकको निष्कलङ्क प्रधानमन्त्रीको रुपमा परिचित हुनुहुन्छ । उहाँको प्रधानमन्त्रीत्व कालमा सहयोगी कर्मचारीहरुबाट तलमाथि हुन नदिएर पनि ससानो कुराको निगरानी राखेर आफूलाई निष्कलङ्कित बनाउनु भएको थियो, तर उहाँ भन्दा अगाडी र पछाडि थुप्रै व्यक्ति प्रधानमन्त्री वा बनिसकेका छन्, उनीहरुले उल्लेखित राजनेताहरुको जस्तो आदर्श जीवन र कार्यशैली अवलम्बन गरे गरेनन् त्यो त समीक्षाको विषय छँदैछ । यसैगरी बामपन्थी नेता मोदनाथ प्रश्रितले समयमै पार्टीको सक्रिय राजनीतिबाट अवकास लिएर राष्ट्र र जनताका लागि स्वतन्त्र ढङ्गले पु¥याउँदै आउनु भएको वैचारिक योगदान आफैमा उल्लेखनीय छ ।

आज नेपाली राजनीतिमा कृष्णप्रसाद भट्टराई, मदन भण्डारी र मनमोहन अधिकारी जस्ता राजनेता ‘स्टेटमेनसिप’ को राष्ट्रमा खोजी भईरहेको छ । अहिले विभिन्न पार्टीका नेता वा कार्यकर्ताले उहाँहरुले छोडेर जानुभएको त्याग, आदर्श, समर्पण र सेवाभावको राजनीतिलाई आत्सात् गर्न सकिन्छ वा सकिदँैन ? एकचोटी ठण्डा दिमागले सोंच्न जरुरी भएको छ ।

मुलुकको विकास र अग्रगतिमा बाधक भनेकै राजनीतिलाई सेवा होइन आय आर्जनको पेशाको रुपमा लिने गरेको भन्ने टिप्पणीलाई अव पार्टीका नेताहरुले सम्बोधन गर्नैपर्दछ । राजनीतिमा लाग्नेहरुले पद, पैसा र प्रतिष्ठालाई भन्दा जनता र राष्ट्रहित, त्याग र आदर्शको अनुमप उदाहरण देखाएर राजनीति गर्नुपर्दछ । प्रधानमन्त्री, मन्त्री देखि राजकीय निकायमा नियुक्ति हुने सबैको जीवनशैली र कार्यशैली खुला, पारदर्शी र उदाहरणीय बनाउनुपर्दछ । पार्टीका तर्फबाट ‘आफ्नो’ मान्छे भन्दा पनि ‘राम्रो’ अयोग्यभन्दा ‘सबैभन्दा योग्य’ ले राजकीय निकायमा नियुक्ति पाउने व्यवस्था गर्नुपर्दछ । राजकीय निकायमा गएर गर्ने काम भनेको असाध्यै चुनौती र कष्टपूर्ण हुन्छ, असक्षम भएमा राष्ट्र, जनता, पार्टी नै समाप्त हुन्छ भन्ने भावना र जिम्मेवारी बोधका साथ योग्य व्यक्तिहरुलाई जिम्मेवारी दिएर पठाउनुपर्दछ । राजकीय पदमा नियुक्ति गर्दा व्यक्तिको ‘खल्ती’ बाट होइन ‘पद्धति’ बाट नियुक्ति गर्ने परिपाटीको थालनी गर्नुपर्दछ । जनता र पार्टीको लागि जीवन समर्पण गर्ने कसम खाएका राजनीतिज्ञहरुले राजकीय पदबाट प्राप्त सुविधालाई पार्टीकरण गर्ने र सामान्य जीवनयापन गर्नपुग्ने सुविधा मात्र लिने परिपाटीको थालनी गर्नुपर्छ । यसो नगर्ने हो भने पार्टीभित्र सुविधा पाउने र नपाउनेहरुको बीच अन्तर बढ्न गई पार्टीमा समेत वर्गीय अन्तर बढ्दै जाने हुन्छ ।
राजकीय नियुक्ति र अवसरलाई न्यायोचित, सन्तुलित र समानुपातिक बाँडफाँड गर्ने नीति अवलम्बन गर्नुपर्दछ । पटक पटक राजकीय नियुक्ति पाउनेहरुलाई पुन ः नियुक्तिको सूचीमा होइन पार्टी संगठनको ‘संगठक’ बनाउनुपर्छ र पार्टी संगठनमा अहोरात्र लागेको ‘संगठक’ हरुलाई राजकीय निकायमा जिम्मेवारी बहन गर्ने अवसर दिनुपर्दछ । राजकीय नियुक्ति नपाई पूर्णकालिन पार्टी काममा लाग्नेहरुलाई जीवनयापनका लागि पार्टीले सुविधा उपलब्ध गराउने सुनिश्चित गर्नुपर्छ । राजकीय निकायमा नियुक्ति पाउने मन्त्री, सांसद, संबैधानिक अंगका प्रमुख तथा सदस्यहरुलाई नगद सुविधाभन्दा सरकारी स्तरबाट नै आवास गृह र अन्य भौतिक सुविधा उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । जहां सम्म स्थानीय तहका जन प्रतिनीधिहरुको सुबिधाको सन्दर्भ छ ,उनीहरु आफनै घरमा बसेर ,घरकै खाना खाएर जनसेवा गर्ने प्रतीनिधिहरु पनि छन् ।

यस्तै घरको बास छोडेर डेरा लिएर पनि कार्यालयबाट सेवा पुर्याउने प्रतीनिधिहरु पनि हुन् । यस्तो स्थितिमा उनीहरुले पाउने सुबिधाका बारेमा स्पस्ट भिन्न भिन्न नीति बनाउन जरुरी हुन्छ । तर जनप्रतिनीधी भए पछि सरकारी कर्मचारी जस्तो तलब सुबिधा लिनु पर्दछ भन्ने सोंच र तलब सुबिधा नपाएमा भ्रष्टाचार बढदछ भनेर ढोल पिटन थालिएको छ । यो बिल्कुलै गलत सोंच हो । देशको ढिकुटी कमजोर रहेको बेला मितव्ययिताका साथ राज्यसञ्चालन गर्नुपर्ने र श्रोत साधनलाई उत्पादन, रोजगारी कृषिमा लगानी गर्नु पर्ने आवश्यकता छ । यस्तो स्थितिमा जनप्रतिनिधिको तलव सुविधाका नाममा थप व्ययभार बढाउने गरी कुनै पनि निर्णय हुंदा यसले पार्टी र सरकारको इमेजमा पनि प्रश्न उत्पन्न गर्दछ । अतः यसबारेमा सत्तारुढ दल भित्रै ब्यापक छलफल गरि ठोस नीति बनाउन जरुरी छ ।

मुलुकलाई सही दिशाबोध राजनीतिले नै गरीरहेको हुन्छ । राजनीति गर्ने पार्टीका नेता कार्यकर्ताहरुले राजनीतिलाई निष्ठा, आदर्श र सेवाभावको रुपमा लिई पार्टि, जनता र राष्ट्रको सेवामा समर्पण गर्न सक्नुपर्छ । यसो भयो भने मात्र राष्ट्रले सही दिशा लिन्छ, यसले राजनीतिमा स्वच्छता र अनुशासन कायम भई सिंगो मुलुकमा सुशासन कायम हुन्छ । यदि राजनीतिलाई आय आर्जन गर्ने पेशाका रुपमा लिएर राजनीति गर्न थालियो भने मुलुक भ्रष्टीकरण र अपराधीकरणले माखेसाङ्लोमा फस्ने निश्चित छ । अतः यतिखेर नेपाली राजनीतिमा राजनीतिलाई पेशाको रुपमा होइन कसरी निष्ठा, आदर्श, त्याग र सेवाभावको रुपमा विकास गर्न सकिन्छ ? भन्ने बारेमा पार्टीहरुभित्र छलफल, बहस आरम्भ गर्न जरुरी भइसकेको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…