Sansar News- Nepal's Fast Khabar Online News Portal

‘भारत हामीलाई सिक्किम जस्तै बनाउन चाहन्छ’

विष्णु पन्त
५ दिन पहिले
‘भारत हामीलाई सिक्किम जस्तै बनाउन चाहन्छ’

भारतीय सत्ताको साम्राज्यवादी नीति पुरै दक्षिण एशियाका लागी खतराको विषय वनेको छ । छिमेकी साना र कमजोर राष्ट्रका अगाडि भारतको दादागिरी र हेपाहा प्रवृति खतरनाक ढंगले अगाडि बढेको छ । ‘महान भारत’ का नाममा साना देशका भुगोलहरुमाथी अतिक्रमण गर्ने उसको अभियान निरन्तर चलिरहेको छ । भारतको त्यस्तो नीतिको चपेटामा नेपाल सबैभन्दा बढी पीडामा छ । वीर गोर्खालीहरुले भारतको रक्षाको लागि अनी उसको स्वतन्त्रताको लागी लडिदिएको गुनको बदलामा उ पटक–पटक हाम्रा सीमास्तम्भहरु भत्काउने र एकलौटी रुपमा नयाँ स्तम्भ बनाउने काम गरीरहेको छ । भारतीय हस्तक्षेपका शिकार हुन हामी विवश छौँ । भारत एकातर्फ विभिन्न सन्धी सम्झौताको माध्यमबाट हाम्रा नदीनालाहरुमाथी एकलौटी नियन्त्रण गर्न खोजिरहेको छ भने अर्कोतर्फ राजनीतिक हस्तक्षेपको माध्यमबाट पुरै सत्तामाथी नै नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।

महाकाली सन्धी, टनकपुर, कोशी, गण्डकी सम्झौताहरुले नेपालको अस्मितालाई जबरजस्ती लुट्ने काम गरीरहेको छ । भारतद्धारा गरीएका पटक–पटकका नाकाबन्दीको सामना हामीले ब्यहोरिसकेका छौँ । हाम्रो राष्ट्रवादी नेताहरु जस्तै मदन भण्डारी र जीवराज आश्रीतको हत्या, राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डमा भारतीय गुप्तचर संस्थाहरुको संलग्नता भएको आधारहरु पनि देखीएकै हुन् । नेपालभित्र भारतीय सेना र प्रहरीको नाङ्गो हस्तक्षेप र दादागिरीलाई पटकौँ पटक अनुभुती गरीरहेकै छौँ । अतः भारतीय सत्ताले साम्राज्यवादी नीति नत्याग्दासम्म उ असल छिमेकी वा असल मित्र हुन सक्दैन । उ हामीलाई सिक्किम बनाउन चाहन्छ भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ ।

भारतको नयाँ नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा
भारतले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतभित्रै गाभिएको छ । वास्तवमा भारतको यो कदम नेपालको सार्वभौम सत्तामाथीको नाङ्गो हस्तक्षेप र अतिक्रमणको पराकास्ठा हो । भारतको यो पछिल्लो कदमले फेरी एकपटक नेपाली जनतालाई आक्रोशीत बनाएको छ । आम नेपाली मनलाई उद्ेलीत बनाएको छ । हुन त हाम्रा थुप्रै गाउँहरु राती सुत्दा नेपाली अनि बिहान उठ्दा भारतीय बनाईएका छन् । हाम्रा गाउँहरुलाई नै रातारात निलीएका ईतिहास साक्षी छन् ।

पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म नै हाम्रो भुगोल भारतसँग जोडीएको छ । उसले चारैतिरबाट सीमा मिच्ने र सीमा स्तम्भहरु सार्ने काम निरन्तर गरीरहेको छ । जब भारतले नयाँ राजनीतिक नक्सा प्रकाशित गरि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतभित्रै समावेश गर्यो तब नेपालभित्र त्यसको विरोध भएपछी आएको भारतको प्रतिक्रियाले जनतालाई झनै आक्रोशित बनाएको छ । भारतले आफ्नो गल्ती स्वीकारेको छैन र आफ्नो नक्साबाट नेपालको सीमा नमिचिएको भनेको छ । यो निश्चित छ कि ‘मैले तिम्रो सीमा मिचेको हुँ’ भनेर भारतले भन्नेवाला पनि छैन ।

साम्राज्यवादविरुद्ध आत्मसर्मपणवादी चरित्र
हाम्रो भौगोलीक अवस्थितिले पनि हामी स्वाधीनताका लागी साम्राज्यवाद वा विस्तारवादसँग लड्नुपर्छ । भारतीय सत्ताको साम्राज्यवादी नीतिसँग लडेर वा संघर्ष गरेर मात्र हाम्रो स्वाधीनता जोगीन सक्छ । तर, बिडम्वना हाम्रो सत्ता सधै आत्मसमर्पणवादी छ । हाम्रा शासकहरुको आत्मसमर्पणवादी नीतिकै कारण इतिहासमा हामीले धेरै नेपाली भुभाग गुमाएका छौँ । “पूर्वमा टीस्टा पुगेथ्यौँ, पश्चिममा किल्ला काँगडा” भन्ने गितले नै हाम्रो गुमेको भूगोललाई प्रस्ट पार्दछ । हामीले जती पनि भूगोल गुमाएका छौँ, त्यो सबै हाम्रो आत्मसर्मपणवादी शासकहरुका कारण गुमाएका छौँ । अंग्रेजको उपनिवेशबाट भारत स्वतन्त्र हुने बेला अंग्रेजले फिर्ता गरेका नेपाली भुमी फिर्ता लिने हिम्मत पनि नगर्ने शासकहरुका कारण नेपालको भुगोल मेची र महाकालीमा सिमित भएको तथ्य स्पष्ट नै छ ।

हाम्रो सिमा मिचिँदा चुँसम्म बोल्न नसक्ने हाम्रो राज्यसत्ता नै राष्ट्रको हीतमा छैन । भारतलाई चिढ्याएर हाम्रो बेग्लै अस्तित्व छैन भन्ने मनोविज्ञानले हामीलाई सधै मिचीरहेको छ । हाम्रा पूर्खाहरुले वीरतापूर्ण लडेर रक्षा गरेको हाम्रो भुगोललाई खुम्चाउँदै खुम्चाउँदै हाम्रा शासकहरुले हामीलाई राष्ट्रियताको पाठ पढाएकै छन् । हाम्रो राष्ट्रलाई युगौँयुगसम्म स्वतन्त्र र स्वाधीन बनाउने हो भने एकपटक राष्ट्रिय मुक्तीयुद्ध गर्नुको विकल्प हामीसँग छैन ।

सत्ता जोगाउन वा सत्तामा पुग्न दिल्ली चाहिने, सचिव र इन्सपेक्टरको सरुवा बढुवा गर्दा भारतीय दूताबासमा बिन्तीभाउ गर्ने आत्मसमर्पणवादी नेताहरु सत्तामा भएसम्म हाम्रो राष्ट्रियताको रक्षा हुन सक्दैन । सन् १८१६ को सुगौली सन्धीले किटान गरेको नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो देशको नक्शामा गाभेपछी अब भारत वैद्यानिक र घोषीत रुपमा नै सीमा अतिक्रमणको मिसनमा अडिग देखिएको छ ।

नेपाल उत्तरकोरीया बनेर उभिनु पर्छ
नेपालको स्वाधीनतालाई बचाई राख्ने हो भने नेपालले शैन्य हिसावले आफूलाई उत्तरकोरीया बनाउनु पर्छ । हामीले बदलीदो विश्वपरीवेश अनुसारको शैन्य विकासमा जोड दिनु पर्दछ । शैन्य विकास गर्न सकेनाँै भने हामी आफ्नो अस्तित्वलाई बचाउन सक्दैनौँ । हामीले भारत, चीन वा पाकिस्ताको हाराहारीमा शैन्य शक्तिको विकास गर्ने राष्ट्रिय नीतिको विकास गर्नुपर्छ । कुनै देशका विरुद्ध हैन, तर आफ्नै शुरक्षाका लागी वा राष्ट्रिय स्वाधीनताका लागि हामीले आफ्नो नयाँ राजनीतिको विकास गर्नु अपरीहार्य छ । विदेशीहरुका सामु भीख मागेर खाने, विदेशीहरुको गुलाम बनेर उनीहरुलाई रिझाएर खाने सत्ताधारीलाई ध्वस्त वनाउदै नयाँ राष्ट्रिय सत्ताको निर्माण गर्नेतर्फ सबैले बेलैमा सोच्नुपर्छ ।

राष्ट्रियता जोगाउने एउटै विकल्प
आर्थिक र शैन्य विकासमा नेपालले आफ्नो स्वाधिनता जोगाउनका लागि हाम्रा छिमेकीहरु चीन, भारत र पाकिस्तानको सापेक्षतामा शैन्य विकास गर्नुपर्दछ । आर्थिक विकासका हिसाबले स्वीजरल्याण्ड र सिङ्गापुर बन्न सक्नुपर्छ भने शैन्य हिसाबले उत्तर कोरिया बन्नुपर्छ । नेपाल रहेमात्र हामी रहन्छौं । देशै नरहे न पार्टीहरु रहन्छन् न त सरकार । अब हामीले बेलैमा सोंच्नुपर्छ र एकताबद्ध हुनुपर्छ । हाम्रो तितो र नमिठो ईतिहास बोल्छ, “नेपालका जनता राष्ट्रवादी छन् तर शासकहरु आत्मसमर्पणवादी, जनताले बलिदान गर्छन् शासकहरुले गद्धार ।” अब यो बिडम्बनाको अन्त्य गर्नैपर्छ ।

हामीले विदेशीहरुलाई नेपालमा ल्याएर भीख मागेर स्वाधीनताको रक्षा हुन सक्दैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ल्याएर संसद वैठकमा सम्बोधन गराएर बुद्ध नेपालमा जन्मेका हुन भनेर भन्न लगाउँदैमा स्वाधीनताको रक्षा हुँदैन । अमेरिका, युरोपियन युनियन, चीन वा भारतका मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई भ्रमणका लागि ल्याउँदैमा नेपालको स्वाधिनताको रक्षा हुँदैन । यो सत्य हो कि नेपाललाई वैदेशिक क्रिडास्थल बनाएर वा नेपाली भूमीलाई विदेशीहरुको रणमैदान बनाएर नेपालको हित हुनेवाला छैन् । यस्तो शासकहरुको चेतनाले नेपाल विश्वमान चित्रमा कमजोर बन्दै गईरहेको दृष्टान्तलाई हामीले बदल्नैपर्छ ।

हाम्रो परराष्ट्रनीतिमा पूर्नविचार गर्नुपर्छ
हामीले सधैं “दुई ढुङ्गाबीचको तरुल नेपाल” भनेर हाम्रो राष्ट्रिय मनोविज्ञानलाई कमजोर बनायौं । कसैले चीन र भारतबीचको पुल बन्नुपर्छ पनि भनीरहेका छन् । यो भनाईले पनि केवल व्यापारिक दृष्टिकोणलाई मात्र सम्बोधन गरेको छ । आजको विश्वमा हामी बलियो बन्यौं भने भारत र चीनलाई पनि साईजमा ल्याउँदै एउटा नवउदयीमान शक्तिको रुपमा उभ्याउन सक्ने सम्भावनाको ढोका खुल्न सक्छ । संसारभरका साम्राज्यवादीको हस्तक्षेप र हैकमका विरुद्ध हामीले एउटा न्यायपूर्ण हस्तक्षेप गर्ने वा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ । तसर्थ हामीले हाम्रो एउटै मात्र देशसँगको परनिर्भरतालाई हटाउनु पर्छ ।

स्वतन्त्रता र समानताका आधार सबैसँग सम्मानजनक र मित्रतापूर्ण सम्बन्धको विकास गर्नेतर्फ सोंच्नुपर्छ । मूलतः हाम्रो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर हाम्रो परराष्ट्र नीतिको विकास गर्नुपर्छ । अनावश्यक वैदेशिक हस्तक्षेपलाई अस्विकार गर्ने राष्ट्रिय प्रतिबद्धताको आवश्यक भएको छ । कुनैपनि प्रकारको हस्तक्षेपबाट हैन कि पारस्परीक सम्बन्ध सहअस्तित्व र मित्रराष्ट्रका आधारमा परराष्ट्र सम्बन्धलाई पूर्नपरीभाषित गर्न जरुरी देखिन्छ ।

राष्ट्रिय सहमतिको पहल भएन
लिपुलेक, कालापानी हुँदै लिम्पियाधुरासम्को करिब ३७२ वर्ग किमी क्षेत्रफल भारतमा गाभिएको नक्शा आएको छ र नेपालको सार्वभौमसत्तामाथि गम्भीर थ्रेट उत्पन्न भएको छ । यस्तो गम्भिर अवस्थामा सरकार भने परराष्ट्र मन्त्रालयको बेनामे व्यक्तव्य त्यो पनि ‘काईते’ शब्दमा जारी गरेर झारा टारेको छ ।

सर्वदलीय वैठकमा नाममा सरकारले गरेको कसरत पनि देखाउने शैली मात्रै हो भन्ने पुष्टि हुन्छ । वैठकबाट बाहिरिएका नेताले भनेकै आधारलाई हेर्दा पनि वैठकमा राय लिने मात्र काम भयो तर कुनै रणनीति तयार गर्नेतर्फ सरकारले अग्रसरता देखाएन् । सरकारले राय लिने काम गर्नु अनि बाँकी पहलकदमी आफैं गर्छु भन्ने भन्ने शैली परराष्ट्रले सार्वजनिक गरेको जस्तो बेनामे पत्र जस्तै हो । जसको आधिकारितासमेत अत्यन्तै अन्यौलमा छ ।

सरकारले सार्वजनिक गरेको बेनामे पत्रको जवाफमा भारतीय एकजना नेताले चुनौति पनि दिईसकेका छन् । उनले भनेका छन्, “नेपालले पनि आफ्नो दाबीसहितको नक्शा जारी गरे हुन्छ ।” जनताहरु सडकमा उत्रिएका छन् तर सरकार रमीते छ । यदि शासक राष्ट्रिय सहमति चाहन्थ्यो भने सबै राजनीतिक दल, सरोकारवाला र विज्ञलाई साथमा लिएर नयाँ पहलकदमीको घोषणा तर्फ लाग्थ्यो । त्यसको सम्भावना न्यून छ ।

सेना र प्रहरीको काम सत्ताधारीको सुरक्षा मात्रै
भ्रष्टाचारले हाम्रो राज्यलाई नै विघटनको दिशातर्फ लैजादैं छ । आज सत्तामा जानु वा सरकारमा जानु भ्रष्टाचारमा डुबी कालो धन थुपार्नका लागि मात्र हो भन्ने आम संस्कार बनेको छ । सरकारको काम राष्ट्रवादी, प्रगतिशील, क्रान्तिकारी र सच्चा लोकतन्त्रवादीहरुलाई दमन गर्नु मात्र हो भन्ने प्रवृत्ति हाबी भएको छ । आज गणतन्त्र, लोकतन्त्र भनिएको छ तर राष्ट्रवादी शक्तिमाथि प्रतिबन्ध लगाईएको छ । प्रहरी त भ्रष्ट संरचनाको मुख्य रक्षाकवच बनेको प्रष्ट छ । सेनालाई पनि बदलींदो विश्वपरिस्थितिअनुसार सुद्धढ गर्नुको सट्टा केवल आन्तरीक द्वन्दमा मात्र सिमित गर्ने काम हुँदैछ ।

नेपाली सेनालाई राष्ट्रिय सेना बनाउन सक्नुपर्दथ्यो । पाकिस्तान, भारत वा चीनमा जस्तै नेपाली सेनाले आफ्नो राष्ट्रियता जोगाउनका लागि पहल कदमी लिने आँट गरोस् भन्ने नेपालीहरुको चाहना थियो । तर अहिले हाम्रो सेनालाई सडक, पुल, भवन बनाउने जस्ता ठेकेदारी काम दिन थालिएको छ । हाम्रा सेनालाई द्वन्द्धग्रस्त क्षेत्रमा शान्ति सेनाको रुपमा खटाउने मात्रै काम गरिएको छ । हाम्रो सीमा सुरक्षा र राष्ट्रियताको जर्गेना गर्नको लागि सेनालाई भूमिका नै दिइएको छैन् ।

निष्कर्ष
वर्तमान विश्व बहुधुव्रमा विभक्त हुने क्रम जारी छ । वर्तमान विश्व रंगमञ्चमा नयाँ–नयाँ देशहरुले पनि आफुँलाई शक्तिराष्ट्रका रुपमा उभ्याउने कसरत गरीरहेका छन् । उत्तरकोरीया, भारतजस्ता देशहरु नयाँ रंगमञ्चमा देखा पर्दैछन् । भारत र चीनको बीचमा पनि कतै मित्रता त कतै संघर्ष छ । भारतले साम्राज्यवादी नीति अंगीकार गर्दैछ । विशाल भारतका नाममा दक्षिण एशियामा उसको साम्राज्य फैलाउन चाहन्छ । भरत दाहालले भने जस्तै, यदि चीनसँग मात्र हामी नजोडिएको भए नेपाल उहिल्यै भारतमा गाभिसक्थ्यो । नेपाली जनतामा भएको राष्ट्रवादी चेतनाका कारण पनि हाम्रो अस्तित्व रहेको हो ।

आजको विश्वमानचित्रमा स्वाधीन राष्ट्र बनेर उभिनका लागि दुईवटा मुख्य आधारहरु छन् – पहिलो हो आर्थिक विकास वा अर्थतन्त्र र दोस्रो हो शैन्य विकास वा शैन्य शक्ति । यी दुई आधारहरु नभएका देशहरु कुनैपनि बेला विघटित हुने खतरा रहन्छ । अरु कुनै शक्तिराष्ट्रले मेरो राष्ट्रको संरक्षण गरिदेला भनेर बस्नु केवल काल निम्त्याउनु मात्र हो । नेपालको ईतिहासलाई हेर्यौं भने हाम्रा पुर्खाहरुले वीरतापूर्वक लडेर देशको रक्षा र विस्तार गरे । आज हाम्रा वीर गोर्खालीहरु भारतीय, ब्रिटिश र सिङ्गापुर सेनामा गएर विदेशी भूमिका लागि समेत लडीरहेका छन् । हाम्रो यो गुनको बदला हामीले भने भारतबाट बारम्बार हस्तक्षेप, अतिक्रमण र नाकाबन्दी मात्र उपहार पाएका छौं ।

कुरा स्पष्ट छ, भारतीय साम्राज्यवाद एकातर्फ हाम्रा सिमाबाट अतिक्रमण गरी खुम्च्याउन चाहन्छ भने अर्कोतर्फ मधेश हुँदै पुरै नेपाललाई आफुमा विलय गराउने वा आफ्नो मुठीमा राख्न चाहन्छ । उसको यो साम्राज्यवादी नीति घट्दो अवस्थामा छैन् र बढ्दो अवस्थामा छ । अतः यसको समाधान एउटा बृहतर एकताबद्ध राष्ट्रिय जागरणबाट मात्र सम्भव हुन्छ । जालझेल र भ्रमबाट यसको समाधान छैन् ।

लेखक पन्त, नेपाल कम्युनिष्ट पार्टी विप्लव निकटका हुन्

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…