दुई देशको सहमतिविना सीमाको नकसा परिवर्तन हुन नसक्ने – पद्माकुमारी अर्याल,भूमिसुधार, गरिबी निवारण तथा सहकारीमन्त्री
२६ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा सुरक्षा पोष्ट बढाउने गृहकार्य भईरहेको बताएका छन् । प्रतिनिधिनिसभाको राज्यव्यवस्था समितिको बैठकमा सोमबार उनले १० किमिको फरकमा पोष्टहरु राख्ने तयारी भइरहेको जानकारी दिए । बैठकमा सांसदहरुले सीमा सुरक्षा कमजोर भएकोबारे सरकारको धारणा राखेका थिए ।
‘हामीले सीमामा ‘काउन्टर इन्टेलिजेन्ट’ परिचालन गर्न लागेका छौँ,’ थापाले भने । भारतसँगको खुला सीमाका कारण कतिपय अवस्थामा सुरक्षा दिन कठिन भएको उनले बताए । पश्चिमी भेगमा तत्काल सुरक्षाकर्मी बढाउने योजना नरहेको उनको भनाइ छ ।
बैठकमा प्रधानमन्त्री केपी ओलीको तर्फबाट धारणा राख्दै भूमिसुधार, गरिबी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालले सुरकारले कुटनीतिक पहल गरी सीमा समस्या समाधान गर्ने बताइन् । ०२५ सालसम्म नेपाल आफैले नक्सा बनाउन नसकेकाले भारतले बनाएको नक्सा प्रयोग हुने गरेको उनको भनाइ छ । हाल नेपालकै नापी विभागले बनाएको नक्सा प्रयोगमा रहेको उनले जानकारी दिइन् । सजिलोका लागि गुगलबाट झिक्दा भारतले बनाएको नक्सा प्रयोग हुने गरेको उनले बताइन् । दुई देशको सहमतिविना सीमाको नकसा परिवर्तन हुन नसक्ने उनको दाबी छ ।
समाचार स्रोत : कान्तिपुर दैनिक
वि.सं.२०७६ कात्तिक २६ मंगलवार ०९:०२ मा प्रकाशित