वर्गनिष्ठा, इमान्दारिता, सरलता र त्याग एवं बलिदानी भाव कम्युनिष्ट आन्दोलनमा आदर्श मानिन्छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालसँग यी सबै गुणका अलावा बैचारिक प्रखरता र क्रान्तिकारी व्यवहार पनि थियो । अहिले चल्तिमा रहेका नेताहरुले ठिक उल्टो व्यवहार गरेको देख्दा निष्ठावान कम्युनिष्टहरुलाई चित्त दुख्नु स्वभाविकै छ । तैपनि वर्गसंघर्षको, नयाँ जनवादी क्रान्तिको र बैज्ञानिक समाजवाद हुँदै साम्यवाद सम्मको यात्रामा अटल र दृढ पात्रहरु नेपाली समाजमा अझै क्रियाशील छन् । स्याङजाको विरुवा गाउँपालिका वडा नं ६ अर्थात् साविक चिन्नेवास १ मा जन्मिएका राम बहादुर भण्डारी उर्फ आरबी भण्डारी कम्युनिष्ट निष्ठामा प्रतिवद्ध रहने मध्ये अग्रपंक्तिमै पर्दछन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको अस्तुलाई राजधानी छिराएर अन्तेष्टि कार्य गराउने भण्डारीसँग आन्दोलन, राजनैतिक जीवन र अस्तुयात्राका बारेमा संसारन्युजसँग गरिएको कुराकानी यहां प्रस्तुत गरिएको छ :
तपाईको बाल्यकाल, पढाई र राजनैतिक आकर्षण कसरी अगाडि बढ्यो ?
म स्याङजा जिल्लाको साविक चिन्नेवास, हालको विरुवा गाउपालिका ६ मा २००४ साल फागुन १५ गते जन्मिएको हुँ । मेरो पिता गोपिनाथ भण्डारी मध्यम किसान हुनुुहुन्थ्यो । गाउँकै रामराज्य प्रावि हालको जनकल्याण मावि प्यासिङ भन्ज्याङमा पढ्दाखेरी नै मलाई वर्गविभेद प्रति घृणा उब्जन्थ्यो । पढाइकै क्रममा स्याङजाली टोल, तौलिहवा म पुगेर ८ कक्षा पढेपछि गाउँमै आएर मास्टरी गर्न थाले । त्यतिबेला सरकारी इन्जिनियर करबन्धु शर्मा लम्सालले अप्रत्यक्ष छाप बढाउँदै कम्युनिष्ट पार्टीतर्फ नजिक बनाए । उनी जिल्ला पंचायतको इन्जिनियरको कार्ड बौक्नै तथा झोलाभित्र क्रान्तिकारी डकुमेन्ट र विचार बोक्ने अगुवा कामरेड रहेछन् । मलाई ६ महिनापछि सदस्यता दिइयो र गाउँ कमिटीको सदस्य, सेल सेक्रेटरी हुँदै एरिया सेक्रेटरीको जिम्मा दिइयो । २०२६ मा आइपुग्दा म पार्टीको डिसीएम र २०२८ मा आइपुग्दा गंडकी अञ्चल कमिटी सदस्यको जिम्मेवारी लिइसकेको थिएँ ।
त्यसपछिको तपाईको यात्रा कसरी अगाडि बढ्यो ?
देशको सेवा गर्ने नाउँमा र पढाइ बढाउने नाउँमा म घरमा ढाटेर राजनीतिमा सक्रिय भएको थिए । केहि समय भूमिसुधारमा लेखापाल खाए र पार्टीको काम पनि गरे । लम्जुङमा पार्टी बनाउने जिम्मेवारी सहित जागिर खान गएँ । दिनभरी जागिरको काम, त्यसपछि पार्टीको काम मलाई फुर्सद हुँदैनथ्यो । विद्यालय निरीक्षक भएर काम गर्दा जनसम्पर्क धेरै हुने गर्दथ्यो । सिडीओले शंका मानेर कैयौपटक केरकार खानु पर्दथ्यो । यसरी जागिरका आडमा राजनीति गर्दा मलाइ ‘प्रतिक्रियावादीको तलब खाएर क्रान्तिको सेवा गरेको’ अनुभुति हुन्थ्यो । पार्टी नेताहरुले पुरापुर विस्वास गर्नुहुन्थ्यो । २०३१ सालमा आइपुग्दा मलाई अञ्चल कमिटी सचिवको जिम्मेवारी पनि थियो । २०३० को चुवा काण्डपछि हाम्रा साथिहरुमा केही समस्या आइपर्यो । वारेन्ट पर्ने र पक्राउ हुने स्थितिमा हामी पनि नयाँ ठाउँ जानुपर्यो ।
तपाईको जागिरे जीवन यत्तिमै रह्यो कि ?
त्यसपछि म डोल्पाको जुफाल पुगे । नयाँ मानिसहरु आएपछि फलो गर्नुपर्छ भन्ने सिडिओको आदेश रहेछ । तथापि राजनैतिक चेहरा नदेखाइकन जिल्ला शिक्षामा लेखापाल नियुक्ति भए । कैहि समय पछि मेरो गार्डकै रुपमा प्रहरी डुयुटी खटाउँथे । उनिहरुलाई खानपिनको ब्यबस्थापन गरेपछि मैले मेरा राजनैतिक काम गर्न रोकिनु पर्दैनथ्यो । र त्यहा राम्रो प्रभाव बनाइयो, पनि ।
त्यसवीचमा माल्दाइ (पुष्पलाल) विरामी भएको आवा आयो । आवामा लेखिएको थियो । ‘मादा सिरियस दिल्ली तु वनारस आ’ बराउती अर्थात् बलराम उपाध्याय तिमिल्सीनाको यो आवाको कारण म डोल्पाबाट बिदा मिलाएर स्याङजा आएँ । यसअघि बनारस गएर माइलदाको चिठी काठमाण्डौ ल्याएर प्रभुनारायण चौधरी, देवनारायण मर्हजन, शिव भट्टराइ, गणेशराज शर्मा र कृष्ण प्रसाद भण्डारीलाई उपचारको विषयमा कुरा गरीसकैकौ थिएँ । कुरा चल्दै गर्दा मलाई छिटो आइज भनेर आवामै बोलाएको कारण १ हजार रुपैयाँ खोजेर म त्यता लागेको थिएँ । पछि हिक्मत सिंहले १६ हजार पैसा उठाएर लगेको कुरो पनि आएको थियो ।
तपाईलाई बनारस नै किन बोलाइयो त ?
हामीले बनारसलाई हेडक्वाटर मान्ने गरेकोले त्यहि बाटौ बोलाइएको होला । म २०३५ साउन ५ गते बनारस पुगेको थिएँ । ६ गते दिल्लीमा उहाँको निधन भयो । निर्मल लामा समेत ट्रेनमा दिल्ली पुगेपछि नेपालका हामीहरु र भारतका समेत कामरेडहरु तथा मित्रहरुको उपस्थितिमा उहाँलाई निगमबोध घाटमा अन्तेष्टि गर्यौ । दिल्लीमा काम सकेपछि बराउती बनारससम्म आउनु भयो भने आरसी चापागाईं र म अस्तु बोकेर नेपाल तर्फ लाग्यौं ।
कसरी आउनु भयो नेपाल ?
हामी रेलबाट रक्सोल सम्म आयौं । रक्सौलबाट खेतको बाटो हिँडेर वीरगंजमा बास बस्यौं । वीरगंजमा जुक्ति निकाल्यौं । दुवैजनाले थोरै थोरै अस्तु बोकेर फरक बाटोबाट जाने । एउटा सीमराबाट प्लेनमा जाने, अर्को, सडकमार्ग । यहिबीच विविसीले निकै ठूलो फलाको हानेपछि प्रहरीले काठमाण्डौं एयरपोर्टमा निकै खोजतलास गर्यो । म सडकमार्ग हुदै आएर केही आन्तरिक व्यवस्थापनमा लागे । काठमाडौंमा अस्तु यात्रा गर्ने भनेर ठूलो जनसमुदाय तयार रहेको थियो । मानिसहरु भन्दै थिए सातसाल पछिको ठूलो मास थियो भनेर । पुष्पलाल मनमोहनकै साढुभाइ भएको कारण र नेपालमा अस्तु ल्याएपछि आफूले व्यवस्थापन गर्ने भनेर बलरामसँग भनेका कारण हामी ढुक्क थियौं । तर उनले त्यसो गरेनन् । उनको इमान्दारीतामा हामीलाई शंका लाग्यो । शोभा भगवतीमा हामीलाई प्रहरीले घेरा हालेको प्रत्यक्ष अनुभव भएपछि र मनमोहनको स्वभाविकता नपाएपछि आधा डुबेको अस्तुलाई मनमोहनको हातबाट खोसेर देवनारायण ज्यापुको हातमा सुम्पियौं । त्यसपछि त्यहाँबाट भाग्नुको विकल्प रहेन ।
मनमोहन जस्तो नेताबाट त्यस्तो भयो त त्यसो भए ?
मनमोहनजीले वलरामसँग ढुक्क हुनुहोस्, सरकारतर्फ मैले कुरो मिलाउँछु भन्नु भएकै कारण हामीले त्यसरी ल्याएका थियौ । तर, यहाँ त्यस्तो वातावरण रहेनछ । उहाँको अनुहार पढेपछि र चालामाला बुझेपछि त्यस्तो नेताबाट यस्तो ढाँट काम ! भन्ने पनि लाग्यो । उहाँको व्यवहारका कारण त्यो अस्तु हामीले देवनारायण ज्यापुलाई दिन बाध्य भएका हौं । मनमोहन जस्तो नेताबाट त्यस्तो होला भन्ने सोचेकै थिएनौ ।
त्यसो भए तपाईहरु त्यसपछि भागिहाल्नु भयो होइन ?
त्यहाँ प्रहरीको आँखा छलेर हामी शोभा भगवती, क्षेत्रपाटी हुँदै जय नेपालको बाटो आयौं । प्रहरी र सीआइडीहरुले पिछा गरेको थाहा पाएपछि जय नेपालमा फिल्म हेर्ने जस्तो बनेर ट्वाइलेट पनि पस्न खोज्यौं । नमिलेपछि हामी हात्तिसारको अहिलेको चिनियाँ दूतावासबाट कमलपोखरीतर्फ लम्कदै गर्दा प्रहरीको पक्राउमा पयौं । निकै केरकार गरियो । अस्तु बोक्नेहरु पक्राउ भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडियाले भनेका कारण हामीलाई काठमाडौंमै अन्यथा गर्न प्रशासन डरायो । ‘स्याङजा पठाइदिने’ भन्ने मनसाय बुझियो । हामीले प्रहरी शुत्रबाटै थाहा पायौं कि, उता पठाउने नाममा बाटोमा हामी माथि जे पनि गर्न सक्ने सुइको पायौँ । प्रहरीको साथमा स्याङ्जा पठाउन खोजिदै गर्दा भागेर ज्यान जोगाउने जुक्ति निकाल्यौं । हामी सिद्धीलालको सम्पर्कमा ३ दिन रहेर स्याङजा नपसीकन साउनको आखिरीमा बनारस नै पुग्यौं ।
त्यसपछि तपाईको राजनैतिक यात्रा कसरी बढ्यो ?
२०३५ असोजमा दरभंगामा संकटकालिन सम्मेलनमा सहभागी भयौं । २०३९ मा आइपुग्दा मैले नेप्रवियूको महासचिवका रुपमा काम गरे । तिलक पराजुली, शरणविक्रम मल्ल, बोर्ण बहादुर कार्की, एकराज पाण्डे, हरिशचन्द्र आचार्य, रामसिंह रावल लगायतका कामरेडहरुले हाम्रो आन्दोलन थामिरहनु भएको थियो । म विद्यार्थीको जिम्मेवारी पछि पार्टीमा गण्डकी–लुम्बिनी हेर्दाहेर्दै शिक्षक भएर काठमाडौकौ टोखामा आए । यहि क्रममा २०४६ को जनआन्दोलनको स्थिति आयो र हामीले जिम्मेवारीपूर्वक काम गर्यौ । पार्टी गतिशील हुन नसकेको भन्दै पार्टीभित्रै रामसिंह, बोर्णजी, हरिशचन्द्र र म सहित ४ जनाले ‘३ वर्षे कार्ययोजना’ ल्यायौं । पार्टीभित्र ‘जी ४’ भन्दै हामीलाई निलम्बन पनि गरियो । मदन भण्डारीले हाम्रो गतिशीलता बुझेर मालेमा बोलाइसक्नु भएको थियो तर हामी गएनौं । पछि त पार्टी एकता नै भयो । पछि लाल सिंह भण्डारीको संयोजकत्वमा ‘कम्युनिष्ट एकता प्रर्वद्धन समिति’ भनेर प्रयास गरियो । त्यो बेला मालेभित्र पनि टंक कार्की लगायत केही कामरैडहरु कारबाहीमा परेका थिए । हामीहरु नयाँ रुपले अघि बढ्नुपर्छ भन्दा भन्दै यहाँसम्म आइपुग्यौं ।
अहिले तपाई संलग्न पाटी कुन हो ?
म अहिले ऋषि कट्टेल संयोजक र लोकनारायण सुवेदी सहसंयोजक रहेको नेकपाको सचिवालयमा छु । यसमा एमाले–मालेमा काम गरेका र कतिपय चौम तथा माओवादी धारका कमरेड पनि हुनुहुन्छ । पार्टीले गति नलिए पनि बाटो बिराएको छैन भन्नेमा मेरो विश्वास रहेको छ । हालै विभिन्न ६ वटा घटकहरु संग सहकार्य गर्दै एकताबद्ध गर्ने प्रयासमा पनि छौं ।
कम्युनिष्ट आन्दोलन कसरी अघि बढेको लाग्छ तपाइलाई ?
यो प्रश्न सँगै कम्युनिष्ट कस्लाई मान्ने भन्ने प्रश्न पनि आउला । तर, मुलधारको भनिनेमा खासै कम्युनिष्ट चरित्र छैन भने अरु राम्रा छौं भन्नेहरुले पनि विचार र व्यवहारको गतिशिलता बढाउन सकेका छैनौं । आन्दोलन निरन्तर चलिरहन्छ भन्नेमा मेरो विश्वास छ । नेपालमा बामपंथी र कम्युनिष्टलाई माया गर्ने ठूलो संख्या भएकाले फेरी पनि ध्रुबिकरण अवश्यमभावि छ । पुष्पलालको नाम लिने हामी सबैले पुष्पलालको बैचारिक अडान, सिद्धान्त, व्यवहारिकता र कम्युनिष्ट सभ्यता सिक्न सके सबैलाई राम्रै हुन्थ्यो भन्ने लागेको कारण म पुष्पलाल अध्ययन समाजमा पनि रहि आएको छु ।
वि.सं.२०७६ मंसिर ९ सोमवार १३:१३ मा प्रकाशित