११ मंसिर, स्वीजरल्याण्ड । भारतद्धारा हालै जारी गरिएको नयाँ राजनीतिक नक्साप्रति संसारभरीका नेपालीले विरोध जनाएका छन् ।
भारतले नेपाली भूमिलाई आफ्नो भूमिका रुपमा उक्त नक्सामा समावेश गरेपछि देश तथा विदेशमा रहेका नेपालीहरुले यसको विविध तरिकाबाट विरोध गरिरहेका छन् । यसै विषयमा स्वीजरल्याण्डको राजधानी बर्नमा रहेको भारतीय दूतावासमा पुगेर नेपालीले विरोध प्रदर्शन गरेका छन् ।
प्रवासी नेपाली एकता मंच, जनसम्पर्क समिति तथा गैरआवासीय नेपाली संघ स्वीजरल्याण्डको संयुक्त आयोजनामा नोभेम्बर २६ मा विरोध प्रदर्शनका साथै ज्ञापनपत्र बुझाइएको बताइएको छ । उक्त अवसरमा स्वीजरल्याण्डको विभिन्न क्षेत्रमा रहेका नेपालीहरु तथा स्वीस नागरिकको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
स्थानीय प्रहरीको निगरानीमा भएको उक्त विरोध प्रदर्शनमा नेपालको राष्ट्रिय झण्डासहित सीमा अतिक्रमण बन्द गर, कालापानी लिपुलेक हाम्रो हो, भारत नेपालबाट फिर्ता जा लगायतका नाराहरु रहेको प्लेकार्ड तथा ब्यानरहरु बोकिएको थियो ।
सोहि अवसरमा प्रवासी नेपाली एकता मंचका संयोजक अच्युत फुँयालले उपस्थित सबैलाई स्वागत गर्दै नेपाली भूमि फिर्ता नभए संयुक्त राष्ट्रसंघ अगाडि पनि विरोधका कार्यक्रम गरिने बताएका थिए ।
त्यस्तै एनआरएनएका स्वीजरल्याण्डका अध्यक्ष शिब कुमार सुब्बा, संस्थापक अध्यक्ष संजय मुडभरी, जनसम्पर्क समिति स्वीजरल्याण्डका उपाध्यक्ष प्रकाश पौडेल, बेर्न समाज स्वीजरल्याण्डका अध्यक्ष विष्णु थापा, एनआरएनए स्वीसका आइसीसी सदस्य भुमि गुरुङ, एनआरएनए स्वीसका पूर्वअध्यक्ष धर्म गुरुङ र पत्रकार युवराज फुँयालले आ–आफ्ना भनाई राखेका थिए ।
एनआरएनए स्वीसका प्रवक्ता लक्ष्मण देवकोटाको संचालन रहेको उक्त कार्यक्रममा स्वीस नागरिकले समेत आफ्नो भाषामा मन्तव्य राखेका थिए ।
झण्डै एक घण्टाको नाराबाजीपछि स्थानीय प्रशासनको अनुमति अनुसार ५ जना प्रदर्शनकारी र दुईजना पत्रकारहरुलाई दूतावास अगाडि सम्म जान दिइएको थियो ।
उक्त ज्ञापनपत्र प्रहरीले बुझेर परराष्ट्र मन्त्रालयमार्फत् दूतावासमा बुझाइने बताइएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको उक्त पत्र प्रहरीलाईै बुझाईको बताइएको छ ।