Sansar News- Nepal's Fast Khabar Online News Portal

यसरी सुधार गर्न सकिन्छ त्रिभुवन विश्वविद्यालयलाई

संसार न्यूज़
५ दिन पहिले
यसरी सुधार गर्न सकिन्छ त्रिभुवन विश्वविद्यालयलाई

मुलुकको जेठो, भौतिक स्रोत साधनका हिसाबले धनी र विश्वमा नै नाम कहलिएको त्रिभुवन विश्वविद्यालयको वर्तमान दुरुह अवस्था प्रति सर्वत्र चिन्ता हुन थालेको छ । त्रिविविको वर्तमान अवस्था खस्कदै जानुमा के कस्ता कारणहरू जिम्मेवार रहेका छन ? यसका बारेमा सरोकारित सबै क्षेत्रबाट निदानका उपायका बारेमा गम्भिरतापूर्वक ध्यान दिने हो भने त्रिविविको साख र इतिहासलाई अझ माथि उठाउन सक्ने प्रचुर सम्भावना रहेको छ । तसर्थ सम्बद्ध सबै पक्षको यस बिषयमा गम्भीर रुपमा ध्यान जानु पर्ने देखिएको छ । वि.सं. २०१६ सालमा स्थापना भएको त्रिविविमा हाल ५ वटा अध्ययन संस्थान, ४ वटा संकाय, ४ वटा अनुसन्धान केन्द्र ३९ वटा केन्द्रीय विभाग, ६० वटा आंगिक क्याम्पस तथा १०५३ वटा सम्बन्धन प्राप्त क्याम्पसहरू रहेका छन् । अहिले त्रिविविमा उच्च शिक्षामा झण्डै ४ लाख विद्यार्थी अध्ययन गर्ने गर्दछन् । जुन कुल उच्च शिक्षा अध्ययनरत विद्यार्थीको झण्डै ८० प्रतिशत भन्दा बढी हुन आउँदछ ।

मुलुकमा सन् १९९० देखि पूँजीवादको नयाँ रुप नवउदारवादी अर्थ नीति अवलम्बन गरेपछि शिक्षा क्षेत्रमा पनि नीजिकरणको नीतिलाई अबलम्बन गरि राज्यको भूमिकालाई न्यूनीकरण गर्दै निजीक्षेत्रको भूमिकालाई बढाउन थालियो । निजी क्षेत्रको लगानीमा क्याम्पस, कलेजहरू खोल्ने क्रमसँगै बहु–विश्वविद्यालयको अवधारणालाई अगाडि सारियो । शिक्षा जस्तो जनताको आधारभूत अधिकारको विषयलाई व्यापारीकरण गर्ने उद्देश्यका साथ बहुदलीय व्यवस्था पुनसर््थापना यता सरकारी लगानीमा क्याम्पस खोल्ने कार्य नै बन्द गरियो । र जब निजी क्षेत्रमा क्याम्पस कलेज खोल्न अनुमति दिइयो तदनुरुप नै अन्य विश्वविद्यालय खोल्ने क्रम सुरु भयो, यहाँदेखि नै त्रिविविको वित्तीय एवं व्यवस्थापकिय क्षमता कमजोर बन्दै गयो । राज्यले त्रिविविको क्षमता एवम् शिक्षा विस्तार र गुणस्तरीय सेवा प्रति गम्भीर रुपमा ध्यान दिन छोड्यो । प्राध्यापक, कर्मचारी र बिधार्थी संगठनका नेता गणले पनि परिणाममुखी शैक्षिक आन्दोलन भन्दा पनि आ–आफनो राजनीति गर्दा गर्दै परिवारजनलाई तोकादेशका भरमा जागिर खुवाउन तल्लीन भए र त्रिबिबि भर्ती केन्द्र बन्न पुग्यो परिणामत : आज त्रिविविले अनेकन गम्भीर चुनौतीको सामना गर्नु परिरहेको छ ।

त्रिविविमा गैह्र प्राज्ञिक वातावरणको क्रमिक विकास हुँदै जानु, मुलुकमा भएको राजनैतीक परिबर्तन, र अब मुलुकको राजनीतिक र्आिर्थक कार्यदिशा अनुरुप मुलुकको आवश्यकता र प्रतिस्पर्धा गर्ने जनशक्तिका लागि तदनुरुपको पाठ्यक्रम निर्धारण हुन नसक्नु, विश्वव्यापिकरणको युग भनिए पनि विदेशी विद्यार्थीलाई आकर्षित गर्न नसक्नु, उल्टै वर्षेनी हजारौ नेपाली विद्यार्थी विदेश अध्ययन तर्फ आकर्षित हुनु, त्रिविविसँग रहेको हजारौं रोपनी जग्गा जमीनलाई दिगोरुपमा आयआर्जन गर्ने गरी परिचालन नगरिनु, भौतिक पूर्वाधारको विकास, पुर्नस्थापना र सम्भार हुन नसक्नु, अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्ने स्तर र मापदण्ड बमोजिम उच्च शिक्षा प्रदान गर्न नसक्नु, आधुनिक प्रविधि मैत्री कक्षाकोठाहरू नहुनु, अनुसन्धान कार्यमा अत्यन्तै न्यून बजेट विनियोजन हुनु, विश्वविद्यालयको आफ्नो क्षमता हुँदाहुँदै चिकित्सा र इन्जिनियरिङ विषयमा नीजि क्षेत्रका कलेजमा पढ्न बाध्य पार्ने खालको नीतिजन्य भ्रष्टाचारउन्मुख नीति अवलम्बन गर्नु, राज्यको लगानी समय क्रमसँगै न्यून हुँदै जानु, विद्यार्थी भर्नादर (स्ववियू निर्वाचनको साल बाहेक) अन्य वर्ष घट्दै जानु, शैक्षिक क्यालेण्डर अनुरुप प्रभावकारी रुपमा कार्ययोजना कार्यान्वयन नहुनु, विद्यार्थीको कक्षामा उपस्थिति र उत्तीर्ण प्रतिशतको दर न्यून हुनु, विश्वविद्यालयको तलब भत्ता सुविधा लिएर त्रिविविमा अनुसन्धान कार्यमा रहनुको सट्टा कतिपय प्राध्यापकहरू एनजीओका काम गर्न व्यस्त हुनु, हेलमेट शिक्षक भएर विभिन्न कलेजहरूमा धाउनु, आफ्नो कलेज संचालन गरेर समय त्यता लगाउने र विश्वविद्यालयको अध्यापनमा ध्यान नदिनु जस्ता समस्याले त्रिबिबिलाई समस्याग्रस्त बनायो । दैनिक प्राध्यापन (श्रम) गरेर मात्र तलब सुविधा पाउने रोजगारीको सिद्धान्त विपरित हप्ता वा महिनामा मात्रै हाजिर गरेर तलब सुविधा लिने, लामो समयसम्म गैह्र उपस्थिति हुने, वास्तविक आवश्यकता अनुरुप दरबन्दी तय गरी प्राध्यापक, कर्मचारी नियुक्ति नहुने, वर्षौसम्म प्राध्यापक कर्मचारीले अस्थायी, करारमा काम गर्नुपर्ने अवस्था, नियमित स्थायी नियुक्तिका माध्यमबाट सक्षम नयाँ जन शक्ति भित्र्याउने परिपाटीको अभाव र विद्यार्थी संगठन तथा टे«ड यूनियन बीचको अस्वस्थ प्रतिस्पर्धा, र टे«ड यूनियन संचालन सम्बन्धी स्पष्ट नीतिको अभाव जस्ता आदि आन्तरिक एवं बाह्य समस्याले विश्वविद्यालय आक्रान्त रहेको बताइन्छ ।

प्राज्ञिक निकाय जस्तो संस्थामा राजनैतिक भाग बण्डाका आधारमा पदाधिकारीहरू नियुक्ति गर्ने, अमूक राजनीतिक पार्टी र तिनका कार्यकर्ताको मनोकांक्षा पूरा गर्न विश्वविद्यालयलाई भर्ति केन्द्रको रुपमा स्थापित गर्ने र विश्वविद्यालयलाई प्राज्ञिक क्षेत्रभन्दा पनि राजनैतिक क्रिडा स्थलको रुपमा संचालन गर्ने परिपाटीका कारणले विश्वविद्यालय आज दुरुह अवस्थामा पुगेको मा सबैको ऐक्यमत रहेको छ । विश्वविद्यालयमा भित्रिएको अनुशासनहिन र अराजक गतिविधिले विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थाको साख घट्दै गएको छ, अन्य विकसित मुलुकमा राज्यको स्वामित्वका विश्वविद्यालय र क्याम्पस प्रति सबैको आकर्षण बढ्ने गर्दछ । सरकारी क्याम्पसमा विद्यार्थी भर्नाका लागि ठूलो प्रतिस्पर्धा हुने गर्दछ, सरकारी क्याम्पसमा भर्ना नपाएपछि मात्र बल्ल नीजि कलेज, क्याम्पस तर्फ विद्यार्थीहरू जाने गर्दछन् तर नेपालमा ठीक उल्टो भएको छ ।

हाल त्रिविविले क्याम्पसमा अध्ययन गर्न अत्यन्तै सस्तो दरको शुल्क संरचनाको व्यवस्था गरेको छ । नीजि कलेज तर्फ औषत भर्ना शुल्क ७०–८० हजार सम्म र मासिक शुल्क ४÷५ हजार सम्म शुल्क लिने गरेको पाइन्छ । विश्वविद्यालयमा यस्तो सस्तो दरको शुल्क संरचनामा केही वृद्धि गरेर विश्वविद्यालयको आम्दानीको आन्तरिक स्रोत वृद्धि गर्ने प्रशस्त गुन्जायस छ तर अहिले विश्व विद्यालयको आम्दानीको आन्तरिक स्रोत केवल २० प्रतिशतको हाराहारीमा पनि नभएको स्थितिछ । शुल्क वृद्धि गरेर आन्तरिक स्रोतमा वृद्धि गर्दा विश्वविद्यालयमा भौतिक संरचनामा सुधार गर्न, र शैक्षिक गुणस्तर वृद्धि गर्न सक्ने प्रशस्त गुन्जायस रहेको छ, तर विद्यार्थी संगठनहरूबाट शुल्क वृद्धिको एजेण्डा आउने वित्तिकै यसको विरोध गर्ने, आन्दोलन गर्ने, टायर बाल्ने र क्याम्पसमा तालाबन्दी गर्ने जुन परम्परागत आन्दोलनको शैली छ, यसले गर्दा पनि विश्वविद्यालय आज आर्थिक रुपले आत्मनिर्भर हुन सकेको छैन, भने अर्को तिर सरकारको अनुदानको अंश घट्दो अवस्थामा छ । वास्तवमा आज विश्वविद्यालयको समस्या भनेको शुल्क महंगो होइन, गुणस्तरीय शिक्षाप्रति सरकार र विश्वविद्यालय व्यवस्थापनको उदाशीनता नै प्रमुख जिम्मेवार कारण रहेको छ । बिश्व बिधालयबाट सबै जिल्लास्तर सम्म उच्च शिक्षा हासिल गर्ने बहुमुखी क्याम्पस हरु खडा गरेर उच्च शिक्षा सर्ब सुलभ ढंगले पाउने नागरिकको संबैधानीक अधिकारलाई सुनिश्चित गर्ने बारेमा सरकार तथा त्रिबिबि ब्यबस्थापनको गंभीर रुपमा ध्यान जान जरुरी छ ।

सरकारी क्याम्पसमा सस्तो दरको शुल्क संरचना हुँदा पनि सरकारी क्याम्पसमा किन विद्यार्थी आकर्षित हुँदैनन् ? र किन ठूलो धनराशी खर्च गरेर नीजि कलेज तर्फ वा विदेश तर्फ अध्ययन गर्न विद्यार्थीहरू लालयित भइरहेका छन् ? आज नीति निर्माता र सरोकारवालाले ध्यान दिनुपर्ने बेला आएको छ । आज विश्वविद्यालयको उच्च व्यवस्थापन अनुगमन र नियन्त्रण गर्न नीरीह सावित भएको छ, उपकुलपति, रजिष्ट्रार, रेक्टर, विभागीय प्रमुख, अनुसन्धान केन्द्रका प्रमुख र क्याम्पस प्रमुख जस्ता पदहरू पेशाविद् अनुसन्धानविद् र व्यवस्थापकिय हिसाबले सक्षम र योग्य हुनु पर्ने हो । सिंगो विश्वविद्यालय, अनुसन्धानकेन्द्र र क्याम्पसलाई निश्चित ध्येय र लक्ष्यका साथ कुशल नेतृत्व दिन सक्ने व्यक्तित्व नभई विश्व विद्यालय जस्तो प्राज्ञिक संस्था संचालन नै हुन सक्दैनन् तर यि निकायमा जेलनेल बसेको, यति वर्ष विद्यार्थी र पार्टी राजनीति गरेको भन्दै केवल जागिर खाने, कमाउने र आफ्नो बायोडाटा बनाउने हिसाबले मात्र नियुक्तिका लागि लालयित हुने र यही प्रवृत्तिलाई प्रश्रय दिने गरी प्राध्यापक संघ संगठनले पनि दबाब दिई नियुक्ति गर्ने गराउने परिपाटी कायम राख्ने हो भने, विश्वविद्यालयको प्राज्ञिक गरिमा बढ्न सक्दैन । वास्तवमा पदाधिकारीमा नियुक्ति हुने व्यक्ति अध्ययन अनुसन्धानमा खारिएको, र मुलुकको शिक्षा प्रणालीलाई नयाँ दिशा प्रदान गर्न सक्ने, व्यक्तित्वबाट मात्र, प्राज्ञिक संस्थामा कुशल नेतृत्व प्रदान हुन सक्छ । आशा गरौ, भर्खरै नियुक्त उपकुलपतिबाट त्रिबिबिमा माथि देखी तल सम्म भाग बण्डाका आधारमा होईन सक्षम ब्यक्तीहरुको छनौट गर्न सफल हुन जरुरी छ । यसका लागि सरकारी स्तरबाट पनि बिश्व बिधालयको स्वायत्तताको रक्षा र गरिमा अभिबृद्धि गर्न अभिभाबकत्व भुमिका निर्बाह गर्न जरुरी छ ।

त्रिविविको आफ्नै गौरवमय इतिहास छ । राष्ट्रव्यापी कार्यजालो, अनुभवी प्राध्यापक र कर्मचारी पचासौं अरब रुपैयाको चल अचल सम्पत्ति, राष्ट्रव्यापी शैक्षिक चेतनाको लहर, सस्तो शुल्क संरचना र उच्च शिक्षा अध्ययनका लागि निम्न मध्यम वर्गीय विद्यार्थीको बढ्दो संख्या, ऐतिहासिक प्राचिन स्थल प्राकृतिक मनोरम, सुन्दर हावापानी र सस्तो शिक्षा प्रणाली भएको मुलुकका कारण विदेशी विद्यार्थीहरू समेत अध्ययनका लागि आकर्षित हुने प्रचुर सम्भावना, र विश्वविद्यालयको पर्याप्त भौतिक पूर्वाधार र संरचनाका कारण त्रिविवि मुलुकको अग्रणी विश्वविद्यालय मात्रै होइन विश्वकै उत्कृष्ट विश्व विद्यालयको रुपमा विकास र विस्तार हुने प्रचुर सम्भावना र सामथ्र्यतता रहेको देखिएको छ ।

पहिलो- यतिखेर विश्वविद्यालयसँगको सामथ्र्यतता, प्रचूर सम्भावना र अवसरलाई उपयोग गर्दै विश्वविद्यालयको अग्रगतिका लागि सरोकारवाला प्राध्यापक संघ संगठन र टे«ड यूनियनहरूको गम्भीर ध्यान जानु पर्दछ । त्रिविविको अग्रगतिका लागि रणनीतिक योजनाका साथ प्रथमत : पदाधिकारी नियुक्ति प्रणालीमा आमूलसुधार र परिवर्तन गर्नुपर्दछ । सबै विश्वविद्यालयमा राजनीतिक भाग वण्डाबाट होइन सक्षम, योग्य, प्राज्ञ, अनुसन्धानवीद् व्यक्तित्वहरूको लोकसेवा आयोग झै संवैधानिक अंगबाट छनौट गरी नियुक्ति गर्ने परिपाटीको विकास गर्नुपर्दछ ।

दोस्रो- मुलुकको युगान्तकारी परिबर्तन र समाजबाद स्थापनाको कार्यदिशा अनुरुपको के कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने अनुसन्धान गरी तदनुरुप पाठयक्रममा आमुल परिबर्तन गर्नु पर्दछ र अहिले झै टोल नै पिच्छे कलेज क्याम्पस खोलेर कलेज क्याम्पसलाई पैसा कमाउने उद्योग थलो बनाउने परिपाटीलाई पूर्ण नियन्त्रण गर्नु पर्दछ । सबै जिल्ला हुदै निर्वाचन क्षेत्रमा त्रिभुवन विश्वविद्यालयबाट एक एकवटा उच्च शिक्षा हासिल गर्ने बहुमुखी क्याम्पस स्थापना गरी शिक्षा क्षेत्रमा भई रहेको व्यापारीकरणलाई न्यून गर्दै जानुपर्दछ र निम्न मध्यम वर्गका विद्यार्थीलाई सहज ढंगले उच्च शिक्षा हासिल गर्न पाउने अवसर र अधिकारलाई ग्यारेन्टी गर्नु पर्दछ । यसका लागि त्रिबिबि र सामुदायिक क्याम्पसबीच ५०\५० प्रतिशतको स्वामित्वमा नयां ढंगले क्याम्पस संचालन गर्नू पर्दछ । त्रिबिबिले आन्तरीक भौतिक एबं आर्थिक श्रोतको अधिकत्तम परिचालन गरेर हालको कम्तीमा तेब्बर अर्थात ५०\६० अर्बको बजेट तर्जूमा गरेर त्रिबिबिलाई नयां ढंगको बिश्वबिधालयको रुपमा बिकास गर्ने गरि रणनीतिक योजना बनाएर अगाडी बढाउन जरुरी छ । सरकारबाट पनि शिक्षा क्षेत्रमा कम्तीमा २० प्रतिशत बजेट बिनियोजन गर्नु जरुरी छ र यसरी मात्र शिक्षा क्षेत्रमा भएको ब्यापारीकरण र नीजिकरणलाई अन्त्य गर्न सकिन्छ ।

तेस्रो-विश्व विद्यालयको भौतिक साधन र चलअचल सम्पत्तिको पूर्ण उपयोग गर्नु पर्दछ । दिगो हिसाबले आर्थिक रुपमा आत्मनिर्भर बनाउन भौतिक स्रोत साधनको अधिकतम परिचालन गर्ने र समय सापेक्ष विद्यार्थी भर्ना शुल्क र मासिक शुल्कमा वृद्धि गर्ने नीति अवलम्बन गर्नु पर्दछ ।

चौथो- विश्वविद्यालयमा नियुक्त हुने सबै तहमा पदाधिकारीहरूलाई विद्यार्थी भर्नादर, उत्तीर्ण प्रतिशत, आन्तरिक स्रोत परिचालनमा वृद्धि, अध्ययन अनुसन्धानको विकास जस्ता विषयमा सम्पादन गर्नु पर्ने काम र लक्ष्य किटानी गरेर मात्र नियुक्ति गर्ने परिपाटीको विकास गर्नु पर्दछ ।

पाँचौ- शैक्षिक सत्रको आरम्भमा मात्र विद्यार्थी भर्ना गर्ने प्रणालीको विकास गरी स्ववियू निर्वाचनका बखत रातारात भर्ना गर्ने परिपाटीलाई निषेध गर्नु पर्दछ र विद्यार्थी उत्तीर्ण हुन वार्षिक रुपमा ८० प्रतिशत कक्षाकोठामा उपस्थित हुने परिपाटीको विकास गर्नु पर्दछ ।

छैठौं – त्रिविविमा नियुक्त प्राध्यापक, कर्मचारीलाई अन्यत्र अध्यापन गराउने, आफ्नो वा परिवारको नामबाट कलेज क्याम्पस खोल्ने, लामो समयसम्म गैह्र हाजिरी हुने, लामो समयसम्म विदामा बस्न पाउने परिपाटीलाई अन्त्य गरिनु पर्दछ ।

सातौं- विश्वविद्यालयको आवश्यकताका आधारमा हरेक वर्ष दरबन्दी निर्धारण गरी स्थायी प्रक्रियाबाट मात्र प्राध्यापक कर्मचारी नियुक्ति गर्ने परिपाटीको विकास गर्नु पर्दछ र करारमा तथा तोक आदेशका भरमा नियुक्ति गर्ने परिपाटीको पूर्ण अन्त्य गर्नु पर्दछ ।

आठौं- अध्यापन कार्यमा उत्कृष्ट हुने प्राध्यापक र नतीजामा उत्कृष्ट क्याम्पसहरूलाई नियमित रुपमा सम्मान र पुरस्कृत गर्ने परिपाटीको विकास गर्नु पर्दछ ।

नवौं- प्राध्यापक, विद्यार्थी तथा कर्मचारीका जायज पीरमर्कालाई यथासमयमै सामाजिक सम्वादका माध्यमबाट समाधान गरी असल औद्योगिक सम्बन्धको विकास गर्न ध्यान दिनु पर्दछ ।

लेखक -नेकपाका नेता हुन्

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…