आफ्नै आमा ठानेर
शिरमा सजाएको यो देशले
मलाई राखेको छ–
उसको खुट्टा भन्दा मुनि ।
आफ्नै भाग्यको देवता सम्झेर
आलो रगतको बलि चढाएको यो देशले
परिचयको तिर्खाहरूमा
पानीसम्म सोध्दैन ।
जीवनलाई पीरको भीरमा राखेर
साँध सिमानाहरूमा ऊभेको म
बस ! उसको लागि
मात्र दरवान हुँ ।
देशको विजय ध्वनि सुनाउन
म लाटा भएको छु
देशको सुनौलो बिहान उदाउन
म अन्धो भएको छु
देशको निरन्तर बिकास हिडाउन
म लङ्गडो भएको छु
तर मेरो खातिर
अकाल र अभावहरूको रातमा
मेरो छेउमा ऊभिन समेत
इन्कार गर्ने यो देशको
खोई कसरी मनाउ
आफ्नो भागको स्वतन्त्रता ?
हुण्डरीहरूमा उभिएको म
हिजो सेताहरू थिए
मेरो भागको खुशीहरू उडाऊने
आज कालाहरू छन्
मेरो भागको सपनाहरू लुटाउने
हिजो बाहिरकाहरू थिए
विपनाहरू लघार्ने
आज भित्रकाहरू छन्
मेरा चाहनाहरू चिथोर्ने ।
तब मनाउ कसरी ?
यी मर्मका पर्व जस्ता
प्रतिबन्धको यो ठाउँमा
निषेधहरूको यो गाउँमा
किनारामा उभिएको म जस्तोले
१५ अगस्त ।
क्यालेन्डरमा रातो रंगले रङ्गिएको
एउटा सरकारी बिदा जस्तो
विद्यार्थीहरूको कार्यक्रम जस्तो
हरेक बर्ष १४ पछि आउने
मात्र १५ अगस्त जस्तो ।
तथापि
मनको एक कुनाले किन हो
देशलाई आफ्नो ठान्न कहिल्यै भूल्दैन ।
वि.सं.२०७६ मंसिर २१ शनिवार ०९:५८ मा प्रकाशित