Sansar News- Nepal's Fast Khabar Online News Portal

संरचनात्मक प्रकार्यवाद र शिक्षा

संसार न्यूज़
९ महिना पहिले

पृष्ठभूमि
प्रकार्यवादको सन्दर्भ सम्झनासाथ सँगै सामाजिक संरचनाको पक्ष जोडिएर आउँछ । कुनै पनि वस्तुको इतिहास जानेर बुझेर मात्र त्यस विधिको कार्यविधि बुझ्न सकिदैन । कुनै पनि कार्यविधि तत्कालको संरचनाबाट प्रभावित भएकै हुन्छ । संरचनालाई अनदेखा गरेर प्रकार्यको चर्चा गर्दा सही निष्कर्षमा पुग्न कठीन हुने भएकाले यहाँ प्रकार्यवाद र संरचनात्मक प्रकार्यवादको छोटो पृष्ठभूमि केलाई पछि दुवैलाई समानार्थी पदावलीकै रूपमा प्रयोग गरिएको छ ।

समाज र सामाजिक सम्बन्धहरूको अध्ययन गर्नका लागि संरचना र प्रकार्य शब्दहरू एकै साथ प्रयोगमा आउने भए तापनि यिनीहरूले बेग्लावेग्लै अर्थहरू बोकेका छन् । संरचना र प्रकार्य शब्दहरू आफँैमा अन्तरसम्बन्धित छन् जसमा एकलाई बेवास्ता गरेर अर्काको अध्ययन अघि बढाउनै सकिदैन । संरचना भन्नाले कुनै चिजको विभिन्न भागहरू मिलेर बनेको निश्चित किसिमको समग्रता हो ।

जबसम्म त्यसका भागहरू क्रमशः एक अर्कामा मिल्दैनन् तबसम्म त्यहाँ संरचना बन्न सक्दैन त्यसैले संरचना हुनका लागि दुई कुराको आवश्यकता पर्दछ । एउटा विभिन्न भागहरूको मेल र अर्को कार्य गर्न सक्ने स्वरूप । अर्को तरिकाले भन्दा, कुनै पनि अर्थपूर्ण कार्य गर्न सक्ने भागहरूको समग्र स्वरूप नै संरचना हो । त्यसैले प्रकार्यको कुरा गर्दा संरचना पक्ष पनि सँगै आउने हुदा यहाँ संरचना र प्रकार्यको सँगसँगै चर्चा गरिएको छ ।

रचनात्मक प्रकार्यवादको अर्थ तथा परिभाषा
संरचनात्मक प्रकार्यवादी सिद्धान्तअनुसार समाज विविध पक्षहरू वीच अन्तरनिर्भरतामा आधारित हुन्छ भन्ने विश्वास गरिन्छ । अर्याल र अधिकारी (२०६४) समाजका हरेक भाग एक आपसमा अन्तर्सम्बन्धित छन् । समाजको कुनै एक भागमा असर प¥यो भने त्यसले सबै क्षेत्रमा प्रभाव पार्दछ र समाजको चालचलन रीतिरिवाजले व्यक्तिको व्यवहार पनि प्रभावित हुन्छ भन्दछन् (पृः १६६) । समाजका सम्पूर्ण एकाइहरूले संरचनाको सम्पूर्णता अन्तर्गत, काम गर्दछन् र सबै एकाइहरूको प्रकार्यको समग्र स्वरूप संरचना हो भन्दै उपाध्याय, र अन्य (२०६७) भन्छन् :समाजका विभिन्न एकाइहरूका प्रकार्यको एकीकृत रूप नै संरचना हो । समाजका विभिन्न एकाइहरूले एकीकृत रूपमा काम गर्छन् र सम्पूर्ण एकाइहरूको कार्यात्मक एकताले नै एउटा संगठित समाजको निर्माण गर्छ (पृः६०) ।

यसरी विभिन्न एकाइहरूको सञ्जालको रूपमा रहेको समाज अस्तित्वमा रहनका लागि यससँग सम्बन्धित सम्पूर्ण एकाइहरूले केही न केही प्रकार्य गरिरहेका हुन्छन् । सामाजिक आवश्यकताको पूर्ति गर्न र समाजलाई एकतावद्ध बनाइराख्न सबै एकाइहरूले आफ्नो भूमिका निर्वाह गरिरहेका हुन्छन् भन्ने स्पष्ट हुन्छ ।

प्रकार्यवादले समाजमा सन्तुलित अन्तरसम्बन्धमा जोड दिन्छ । सामाजिक, सांस्कृतिक प्रणालीका एकाइहरूका बीचको प्रकार्यात्मक अन्तर्सम्बन्ध द्वन्द्वप्रेरित नभई सहमति र समझदारीले प्रेरित हुन्छ भन्ने मान्यता यसले राख्दछ । समाज एउटा जिवित संयन्त्र भएकाले यसका सम्पूर्ण अङ्गहरूले प्रकार्य गरिरहनु पर्दछ । यसलाई जीवन्त राख्नको लागि समाजका विभिन्न एकाइहरूको प्रकार्य अनिवार्य हुन्छ । यसरी हेर्दा संरचनात्मक प्रकार्यवादलाई निम्नलिखित चार आधारहरूबाट चिनाउनु पर्नेमा धेरै विद्वानहरूमा मतैक्य देखिन्छ ।

क) अन्तर निर्भरता
समाजमा विभिन्न एकाइहरू रहन्छन् र ती एकापसमा अन्तरनिर्भर हुन्छन् । एक तत्वको प्रभाव अर्को तत्वमा हुन्छ । समग्र तत्वहरूको पारस्परिक अन्तर्निर्भरताको आधारमा सामाजिक संरचना जीवित रहन्छ । यस मान्यता अनुसार विभिन्न, विचार, धर्म, संस्कृति, सभ्यता, परम्परा, चाडपर्व, शिक्षा कानुन, जस्ता प्रकार्यगत पक्षहरूको समग्र मेलबाट सामाजिक संरचना बनेको हुन्छ । र यो सबैका बीचको अन्तर्सम्बन्ध नै एउटा प्रणाली हो ।
समाजका विभिन्न एकाइहरूका भिन्न भिन्नै मौलिक प्रकार्य हुन्छन् र ती सम्पूर्ण प्रकार्यको समष्टि संरचना हो । यसरी हेर्दा प्रकार्यलाई व्यष्टिमा र संरचनालाई समष्टिमा हेर्नुपर्ने हुन्छ ।

ख) सहमति र सहयोग
संरचनात्मक प्रकार्यवादका अनुसार समाजका विभिन्न एकाइहरू संस्कृति, परम्परा, शिक्षा, धर्म आर्थिक पक्ष आदिले आपसी सहमतिमै सहयोगात्मक भूमिका सहित कार्य गरिरहेका हुन्छन् । यिनीहरूका वीच सहमतिमा सन्तुलन बिग्रदा समाज चल्न सक्दैन तसर्थ समाजलाई निर्वाध सञ्चालन गर्न सन्तुलित सहमतिको अनिवार्यता हुन्छ । राम्रोसँग स्थापित सामाजिक संरचनाले समाजका आधारभूत आवश्यकताहरू परिपूर्ति गर्छन् र उक्त सामाजिक संरचनालाई निर्माण गर्न सम्बन्धित भागहरू सहमतिमा रहन्छन् (ढकाल र कोइराला २०६६) ।

ग) प्रकार्य
संरचनात्मक प्रकार्यवादका अनुसार समाजका प्रत्येक अङ्गहरूले कार्य गर्दछन् । समाजका सम्पूर्ण अङ्गहरूले गर्ने कार्यले नै समाजको आवश्यकता पूरा हुन्छ । परिवार तथा पदीय हैसियत आ–आफ्ना ठाउँमा क्रियाशील हुन्छन् । यसरी प्रकार्यले नै समाजलाई अस्तित्वमा टिकाएको हुन्छ । यसले हरेक एकाइको क्रियाशीलताले नै समाजलाई व्यवस्थित बनाउछ भन्ने दृष्टिकोण राख्छ ।

घ) सन्तुलत
संरचनात्मक प्रकार्यवादी मान्यता अनुसार समाज वा सिङ्गो सामाजिक प्रणाली सँधै सन्तुलनमा रहन्छ । समाजका वर्ग परिवार पदासिन वा क्रियाशील हरेक मान्छेको ध्यान समाजमा सन्तुलन राख्ने कुरामा केन्द्रित हुन्छ । समाजमा कसरी सन्तुलन कायम भएको छ भनेर व्याख्या र विश्लेषण गर्नु नै प्रकार्यवादीहरूको कार्य हो, समाजमा सकारात्मक वा समाज अपेक्षित कार्य नै हुनु पर्छ कहिलेकाही नकारात्मक प्रकार्यका कारण सामाजिक सन्तुलनमा बाधा उत्पन्न हुन पुगे पनि, स्वतः स्फूर्त रूपमा पुनः सन्तुलन कायम हुन्छ । अधिकारी (२०६३) भन्छन् : प्रकार्यवादी दृष्टिकोणले द्वन्द्वलाई बेवास्ता गरेको छ ।

ऐतिहासिक पृष्ठभूमि र विकास प्रक्रिया
संरचनात्मक प्रकार्यवाद भनेको प्रकार्यवाद र संरचनावादको यौगिक रूप हो, अझ यसलाई अर्को शब्दमा भन्दा समाजको अनेक प्रकार्यहरूको संरचित र सिङ्गो रूप संरचना हो र प्रकार्यलाई संरचनाको सापेक्षतामा हेर्ने दृष्टिकोण वा सिद्धान्त संरचनात्मक प्रकार्यवाद हो ।

कुनै पनि वस्तुको इतिहास जानेर बुझेर मात्र त्यसवस्तुको कार्यविधि बारेमा बुझ्न सकिदैन । कुनै वस्तुको कार्यविधि बुझ्नका लागि त्यस वस्तुको संरचनाका अङ्गहरू एक आपसमा कसरी कार्य गर्दछन भन्ने बुझ्नु पर्छ भन्ने दृष्टिकोण राखेर संरचनात्मक प्रकार्यवाद जन्माइएको देखिन्छ । ढकाल र कोइराला (२०६६) यस सिद्धान्ताको विकास अगस्ते कम्तेको Organism बाट भएको हो भन्दछन् । यस सिद्धान्तलाई विकास गर्नमा समाजशास्त्री हर्वट स्पेन्सर, इमाइल दुर्खिम, रेडक्लिफ ब्राउन, मलिनोब्स्की, मर्टन जस्ता विद्धानहरूको महत्वपूर्ण योगदान रहेको छ ।

समाज एउटा चिज वा वस्तुको नाम होइन । बरु यो त सामाजिक सम्बन्धको एउटा जटील जालोे हो । संरचनात्मक प्रकार्यवाद नयाँ घटना जस्तो देखिए पनि कम्ते, दुर्खिम, स्पेन्सरजस्ता समाजशास्त्रीहरूले विचारका रूपमा यसलाई अगाडि सार्ने काम १९ औँ शताब्दीमै गरेका थिए तर तिनलाई व्यापक सैद्धान्तिक दृष्टिकोणका रूपमा प्रचारित गर्न सकिएको थिएन (पृः १२५) ।

एउटा सैद्धान्तिक अवधारणाको रूपमा संरचनात्मक प्रकार्यवादको विकासमा दुर्खिम स्पेन्सर, मेलिनोब्स्की, रेडक्लिफ ब्राउन् , पार्सन, मर्टनका योगदान महत्वपूर्ण छन् । यी वाहेक क्लाउट लेभ, एडमण्ड लेक, स्मउल पो हटिङ्टन आदि विद्वानहरूले पनि यसको विकासमा योगदान गरेका छन् (पृ. ४४) । अधिकारी (२०६५) का अनुसार ः समाज र संस्कृतिको व्याख्या विश्लेषण गर्ने सन्दर्भमा खास गरी हर्वड स्पेन्सरले डार्विनको प्राणी उद्विकासको नियमबाट प्रभावित भएर सामाजिक उद्विकासवादी सिद्धान्तको विकास गराए पश्चात नै सामाजिक घटना र परिस्थितिको अध्ययन गर्ने सन्दर्भमा प्रकार्यात्मक दृष्टिकोणको विकास हुन पुगेको पाइन्छ (पृः४७) । डार्विनको मानव उद्विकासको नियम समाजसमक्ष आएपछि समाज र संस्कृतिलाई पनि नयाँ ढङ्गले विश्लेषण गर्ने चलनको विकास भयो । समाज विकासको प्रक्रियालाई आध्यात्मिक र पौराणिक विश्लेषण गर्ने नयाँ मानव प्रतिमानमा त्यसपछि देखि नै सामाजिक गठनको नियमलाई वैज्ञानिक आधारमा बुझ्नुपर्छ भन्ने मान्यताको विकास भयो । यसले पुरानो वैचारिक दृष्टिकोणमा परिवर्तन ल्यायो । सामाजिक व्यवस्था कसरी चलेको छ ? के कस्ता पक्षहरू संलग्न छन् ? तिनीहरू बीचको कार्यकायरण सम्बन्ध केकस्तो छ ? भन्ने बारेको वैज्ञानिक अध्ययन गर्ने सन्दर्भमा संरचनात्कमक प्रकार्यवाद विकास भएको सहजै अनुमान लगाउन सकिन्छ ।

यसको विकासमा वौद्धिक समुदायको अध्ययन चिन्तनको ठूलो भूमिका रह्यो । इमाइल दुर्खिमले घटनाको कार्यकारण सम्बन्ध (cause effect relationship) मा जोड दिए यसका निम्ति सामाजिक गठनको नियम बुझ्नु अनिवार्य थियो । मेलिनोब्स्कि तथा ब्राउनले समाज र संस्कृतिको अध्ययनमा जोड दिए । हर्वट स्पेन्सरले प्रकार्य र विकासलाई बुझ्न, प्रकार्यात्मक गठनको नियम बुझ्नु पर्ने तर्क अगाडि, सारे । यसरी हेर्दा संरचनात्मक प्रकार्यवादको विकासको निम्ति विभिन्न अध्यता र चिन्तकका बौद्धिक प्रयासहरूको निकै ठूलो भूमिका रहेको तथ्य बुझ्न सकिन्छ ।यसका अतिरिक्त समाजमा घट्ने समसामयिक घटनाले पनि प्रकार्यलाइ प्रभावित गर्दै आएको कुरा स्वीकार गरिएको पाइन्छ ।

फ्रान्सेली स्वतन्त्रता सङ्ग्राम तथा युरोपेली पुनर्जागरण पछि त्यसबाट प्रभावित समाजको अध्ययन अनुसन्धान गर्न विशेष अभिरुची दिइयो । त्यस्तै प्रथम र द्वितीय विश्वयुद्ध पछाडि समाजको पुनरुत्थानका लागि समाजको प्रकार्यात्मक भूमिकाको थप अध्ययनको आवश्यकता भयो । सामाजिक प्रक्रिया, सामाजिक व्यवस्थाको गठन, एकीकरण प्रकार्यात्मक सम्बन्ध जस्ता पक्षहरूको विश्लेषण साथै समाज र संस्कृतिको विश्लेषण गर्ने सन्दर्भमा नयाँ दृष्टिकोण अपरिहार्य भएकै समयमा संरचनात्मक प्रकार्यवादी अध्ययनको क्रम अगाडि बढेको पाइन्छ । यसैगरी अघिल्ला सिद्धान्तहरूमा वैज्ञानिक धरातल कमजोर हुँदै गएको, प्रकार्यात्मक अध्ययनलाई जोड नदिइएका,घटनाको कार्यकारण सम्बन्ध बुझ्न प्रयत्न नगरिएको आदि आरोप खेपिएकै बेला यस्ता प्रकार्यवादी अध्ययन प्रारम्भ भई विकसित भएको देखिन्छ ।
यसरी हेर्दा संरचनात्मक प्रकार्यवादको विकासमा सामाजिक सांस्कृतिक व्याख्याको नियम, बौद्धिक चिन्तकहरूको अध्ययन विश्लेषण बहस, समकालीन परिघटना र पूर्वमान्यताप्रति अपूर्णता बोध जस्ता पक्षले ठूलो भूमिका लेखेको कुरा स्पष्ट हुन्छ ।

संरचनात्मक प्रकार्यवादको शक्ति र सीमा
शक्ति
संरचनात्मक प्रकार्यवादले समाज र प्रणाली बीचमा सापेक्ष सम्बन्ध रहन्छ, भन्ने दृष्टिकोण राख्छ । समाज र प्रणालीको समरूपताले नै संरचनाको अवधारणालाई जाहेर गर्छ तसर्थ समाज भनेको एकाइहरूको समग्र सम्बन्धको प्रणाली हो । शरीरका समस्त अङ्गहरूझैँ समाजका अङ्ग प्रकार्यरत हुन्छन र एक अङ्गको अकार्य वा नकार्यको प्रभाव अन्य अङ्गका कार्यमा समेत पर्न जान्छ यसरी हेर्दा समाजका सबै अङ्गको सन्तुलित सहकार्यको अपेक्षा संरचनात्मक प्रकार्यवादले गर्छ । समाजका विविध पक्षको प्रकार्यात्मक भूमिकाले नै समाजको संरचनालाई जोगाउँछ । प्रकार्यसम्बन्धि यस बुझाइले समाजलाई एउटा स्वनिर्मित व्यवस्थित संरचना र त्यसअन्तर्गत सञ्चालित प्रकार्यबीचको मेलका रूपमा अथ्र्याउँछ । जसले समाजका हरेक पक्षलाई परिभाषित भूमिका निर्वाह गर्न प्रेरित गर्दछ । यसलाई संरचनात्मक प्रकार्यवादको शक्तिका रूपमा लिन सकिन्छ ।

सीमा
संरचनात्मक प्रकार्यवादले समाजमा सन्तुलित सहकार्यको भूमिकाको अध्ययन गर्दै जाँदा द्वन्द्वात्मक पक्षको भने बेवास्ता गर्छ भन्दै यसको आलोचना पनि हुने गरेको छ । समाज स्थिर रूपमा चल्ने मान्यता अघि सार्दै समाजको द्वन्द्वात्मक गतिशीलताको यथार्थलाई अनदेखा गर्नु यस सिद्धान्तको कमजोरी ठान्ने गरेको पाइन्छ । समाजशास्त्रकै पर्यायका रूपमा प्रकार्यवादलाई अघि सारिएको र मूलतः यो दृष्टिकोण समाजको द्वन्द्वात्मक गतिशीलता वा भौतिकवाद विरोधी रहेको तर्क गर्दै किरण (२०६७) लेख्छन् समाजको ऐतिहासिक विकासको प्रक्रियालाई यसले उत्पीडक र उत्पीडित वर्गका बीचको सङ्घर्षका प्रक्रियाका रूपमा देख्न सक्दैन । यी दुई बीचको सङ्घर्षमा तटस्थ बन्न खोज्नुको असली अर्थ सामाजिक जीवनका क्षेत्रमा उत्पीडक र उत्पीडित वर्गवीचको सङ्घर्षमा तटस्थ बन्न खोज्नु हो (पृः२६८) ।
यसरी प्रकार्यवादी मान्यतालाई समाजको द्वन्द्वात्मक पक्षको बेवास्ता गरेको भनेर आलोचना हुने गरेको पाइन्छ । समाजको द्वन्द्वशक्तिलाई वेवास्ता गरेको भन्दै प्रकार्यवादले निहित रूपमा यथास्थितिवादलाई समर्थन गरेको र कर्ता भन्दा प्रणाली वा संरचनालाई महत्व दिएको भनी आलोचना भएपछि प्रकार्यवादी मान्यता रक्षात्मक बन्न पुगेको देखिन्छ ।

प्रकार्यवादको शैक्षिक प्रयोग
समाज सञ्चालनका लागि स्थापना भएको संरचनात्मक पद्धतिमा समाजका सबै पक्षहरूको कार्यको अध्ययन नै प्रकार्यवाद हो । शिक्षा पनि समाजका लागि नै हो व्यक्तिको सर्वाङ्गीण विकास गर्दै समाजमा समाहित हुनसक्ने बनाउनु शिक्षाको उद्देश्य हुन्छ भने समाजको संरचना अनुरूप सकारात्मक प्रकार्य सम्पादन गर्नशक्ने शैक्षिक जनशक्ति तयार पार्नु समाजको उद्देश्य हुन्छ ।
समाज जुन पद्धतिका आधारमा सञ्चालित हुन्छ त्यहाँ समानता, सन्तुलन र निष्पक्षता कायम रहेको विश्वास गरिन्छ । कुनै नयाँ प्रविधि, वातावरण, नयाँ घटनाक्रम तथा कुनै बाहिरी शक्तिले पुरानो मान्यतालाई नबिगारुन्जेल पुरानो पद्धति कायमै रहेको हुन्छ । शर्मा र शर्मा (२०६६) का अनुसार : कार्यवादी सिद्धान्त शिक्षाको समाजशास्त्रको पुरानो परम्परावादी पद्धतिमा आधारित सिद्धान्त हो । यस सिद्धान्तले १९४०-१९५० को दशकमा अमेरिकामा निकै ख्याति प्राप्त ग¥यो । आजसम्म शिक्षाको समाजशास्त्रको क्षेत्रमा अध्ययन अनुसन्धानका लागि यस प्रकृतिको सिद्धान्तले मान्यता पाएको छ (पृ. २६३) ।
नेपालको सन्दर्भमा कुरा गर्दा नेपाली समाज विभिन्न संस्कृति, धर्म, भाषा र मानिसहरूको सम्मिश्रणको रूपमा रहेको छ । यसमा एकअर्का बीच कुनै प्रकारको अभिप्रायगत हस्तक्षेप रहेको देखिदैन ।

नेपालीहरू संस्कृति र भाषाको एकता र सम्मिश्रणको प्राकृतिक प्रक्रियामा आवद्ध भएका छन् । यदाकदा सांस्कृतिक भाषिक, तथा जातीय पहिचानका निम्ति सम्बन्धित समुदायमा उत्पन्न अभिव्यक्तिहरू हेर्दा वा सुन्दा सामाजिक संरचनामा बाधा उत्पन्न हुने हो कि जस्ता परिस्थिति देखिन खोजे पनि अन्ततः संरचनाको परिधिभित्रै समाधान निस्किएका प्रशस्त उदाहरणहरू छन् । जुन संरचनात्मक व्यवस्था अनुरूपकै शिक्षा प्रणाली हुनुको परिणाम हो । नेपाली मौलिकता, प्रकृति, धर्म, समाज, संस्कृति र यी पक्षवीच रहेको सहिष्णुता र हार्दिकता जोगाउँदै समाज सञ्चालन गर्ने प्रकार्यवाद र शिक्षाको घनिष्ट अन्तर्सम्बन्ध हुन्छ । ढकाल र कोइराला (२०६६) भन्छन् :संरचनात्मक प्रकार्यवादको मान्यता अनुसार समाज व्यवस्थाको निर्माण विभिन्न एकाइहरू मिलेर भएकोे हुन्छ, यी एकाइहरूले अन्तरनिर्भर भएर आआफ्नो कार्य गरिरहन्छन् । समाजलाई निरन्तर रूपमा गतिशील गराउन निश्चित नियम र मूल्यहरूको आवश्यकता पर्छ । समाज व्यवस्थाका तत्वहरू स्थिर र यसका कार्यहरू भने गतिशील मानिन्छन् (पृः१५०) । यसरी हेर्दा प्रकार्यवादी सिद्धान्त अनुसार अकार्य नकार्य (संरचना माथि नै प्रश्न उठाउने र धक्का पु¥याउने कार्य) लाई नियन्त्रण गर्दै समाजको विद्यमान संरचनामा नै प्रकार्य गर्ने परिस्थिति निर्माणमा शिक्षाको भूमिका हुनु पर्छ भन्ने प्रकार्यवादी सिद्धान्तको मूल मान्यता हो ।

निष्कर्ष
प्रकार्यवाद भन्ने वित्तिकै सामाजिक संरचनाको पक्ष पनि सँगै जोडिएर आउँछ । समाजमा धर्म, संस्कृति जाति पद, अर्थतत्वजस्ता अनेक पक्षहरू आपसमा मिलेर सिङ्गो सामाजिक संरचना निर्माण गरेको हुन्छ र सोही संरचनाको परिधिमा रहेर ती हरेक एकाइ तथा पक्षहरूले कार्य गरिरहेका हुन्छन् । प्रकार्यवादले समाजमा सन्तुलित अन्तरसम्बन्धमा जोड दिन्छ । समाज एउटा जिवित संयन्त्र भएकाले यसका सम्पूर्ण अङ्गहरूले आफ्नै ढङ्गले प्रकार्य गरिरहनु पर्छ यसलाई जीवन्त राख्नका लागि समाजमा विभिन्न एकाइहरूको प्रकार्य अनिवार्य हुन्छ ।

समाजका विभिन्न एकाइहरूबीच अन्तर्निर्भरता, सहमति र सहयोगका साथ प्रकार्य सञ्चालन हुन्छन् । प्रकार्य व्यवस्थित र सन्तुलित हुन्छन् जसले समाजको संरचनालाई कुनै हानी पु¥याउन सक्दैन । यदाकदा संरचनामा प्रकार्य (अकार्य÷नकार्य) ले वाधा सिर्जना गर्न खोजे पनि अन्ततः संरचनाको परिधिमै समेटिन बाध्य हुन्छ ।

संरचनात्मक प्रकार्यवाद समाजशास्त्रकै पर्यायवाचीका रूपमा प्रचलित थियो । अगस्ते कम्ते, इमाइल दुर्खिम, हर्वट स्पेन्सर जस्ता चिन्तक तथा विद्वानले प्रकार्यवादको स्थापना र विकासमा योगदान पु¥याएका हुन् । विभिन्न चिन्तकहरूका बौद्धिक चिन्तन, समाजमा घट्ने विभिन्न घटना तथा परिघटना र पुराना स्थापित सिद्धान्तको अधुरोपनको परिपुर्तिको प्रयास स्वरूप प्रकार्यवादी मान्यता विकसित हुँदै अगाडि बढेको पाइन्छ ।

समाज र प्रणालीको बीचमा सापेक्ष अन्तरसम्बन्ध हुन्छ भन्ने दृष्टिकोणका साथ समाजका सबै अङ्गको सन्तुलित सहकार्यको अपेक्षा संरचनात्मक प्रकार्यवादले राख्दछ । समाजमा हरेक पक्षको भूमिका समाजौरा नै परिभाषित हुन्छ र परिभाषित भूमिका अनुरूप नै प्रकार्य सञ्चालन हुन्छ भन्ने मान्यतालाई यसका शक्तिका रूपमा लिन सकिन्छ ।
सन्तुलित पक्षको सन्दर्भमा जोड दिदै गर्दा समाजका विभिन्न पक्षबीच उत्पन्न हुने द्वन्द्वका पक्षलाई विर्सनुलाई यसको सीमाका रूपमा लिइन्छ । समाजको ऐतिहासिक विकासको प्रक्रियालाई यसले उत्पीडित र उत्पीडक वर्गका बीचको सङ्घर्षका प्रक्रियाका रूपमा देख्न नसक्ने भएकाले यसलाई अव्यवहारिक सिद्धान्त भनी आलोचना हुने गरेको पाइन्छ ।

संरचनात्मक प्रकार्यवादी सिद्धान्त अनुरूप विद्यमान संरचनाकै सापेक्षतामा प्रकार्यलाई प्रेरित गर्ने । शिक्षा व्यवस्थाको अपेक्षा गर्दछ । समाजलाई निरन्तर सञ्चालन गर्न निश्चित नियम र मूल्यहरूको आवश्यकता पर्छ । समाज व्यवस्थाका तत्व स्थिर हुन्छन र कार्यहरू भने गतिशील हुन्छन् र प्रकार्यवादी सिद्धान्तअनुसार शिक्षा विद्यमान संरचना माथि कुनै वाधा सिर्जना नगरी विद्यमान संरचना भित्रै प्रकार्यात्मक सुधारको उद्देश्यमा केन्द्रित हुनु पर्छ भन्ने मान्यता राख्दछ ।

प्रकार्यवादले विद्यमान संरचनामाथि सन्तुलन मात्र खोज्ने तर समाजमा विद्यमान पक्षबीच हुनसक्ने द्वन्द्वका पक्षको वेवास्ता गर्ने हुनाले यथास्थितिवादी सिद्धान्तको रूपमा यसले चौतर्फी आलोचना खेप्नु परेको छ र यसले गर्दा यो सिद्धान्त रक्षात्मक हुन पुगेको छ । यद्यपि नेपालको सन्दर्भमा कुरा गर्दा बहु भाषा बहुजाति बहुसंस्कृति र आर्थिक सामाजिक अनेक विविधताका बीच सन्तुलित सम्बन्ध अपरिहार्य रहेकाले सामाजिक सम्बन्धको सन्तुलनका लागि यस सिद्धान्तले निर्देशित गरेको शिक्षा व्यवस्था आवश्यक छ भन्न सकिन्छ ।

सन्दर्भसूची
अर्याल, प्रेमनारायण र अधिकारी, बालकृष्ण (२०७४), शिक्षाका आधारहरु, काठमाडौँ : पिनाकल पब्लिकेशन ।

आचार्य, बलराम (२०६५), सामाजिक विश्लेषणको सैद्धान्तिक ढाँचा, काठमाडौँ :सनलाइट पब्लिकेशन ।

……….. (२०६८), समाजशास्त्र र मानव शास्त्रमा अनुसन्धान पद्धति तथा प्रतिवेदन लेखन, काठमाडौँ : नेसनल बुक सेन्टर ।

उपाध्याय, प्रकाश, सिग्देल, सूर्यझक्त र कँडेल भानुभक्त (२०६७), समाजशास्त्रका सैद्धान्तिक दृष्टिकोण, काठमाडौँ :दीक्षान्त प्रकाशन ।

उपाध्याय, प्रकाश र सिग्देल, सूर्यभक्त (२०७१), समाजशास्त्रका सैद्धान्तिक दृष्टिकोणहरू, काठमाडौँ : क्षितिज प्रकाशन ।

गौतम, टीकाराम (२०५८), सामाजिक अनुसन्धान पद्धति, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।

नकर्मी, सुदीपसिंह र ओझा, नेत्रकुमार (२०७४), संरचनात्मक प्रकार्यात्मक दृष्टिकोण, काठमाडौँ :देउराली प्रकाशन प्रा.ली. ।

ढकाल, माधवप्रसाद र कोइराला मातृकाप्रसाद (२०६८), शिक्षाका आधारहरू काठमाडौँ :रत्न पुस्तक भण्डार ।

शर्मा, कमलराज (२०६७), समाजशास्त्रका सैद्धान्तिक दृष्टिकोणहरू, काठमाडौँ :ग्लोबल पब्लिकेशन ।

शर्मा, चिरञ्जीवी र शर्मा निर्मला (२०६६), शिक्षाका आधारहरु काठमाडौँ : एमके पब्लिकेसन ।

किरण, मोहनबैध (२०६७), क्रान्ति र सिद्धान्त, काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन प्रा.ली. ।

अधिकारी, तोयानाथ (२०७३), शिक्षाका आधारहरु काठमाडौँ :एकेडेमिक बुक सेन्टर ।

हेरम्बराज बास्तोला नेपाली भाषासँग सम्बन्धित विषयमा विद्याबारिधिका शोधार्थी हुन् , हाल महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्यापनरत छन् ।

सर्बाधिक पढिएको

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो

वैद्य र विप्लवको अगुवाईमा पूर्वमाओवादी एक हुँदै, सत्तारुढ नेकपामा जाँदैछ पहिरो १ हप्ता पहिले | समर शर्मा

काठमाडौं । विभाजन र टुटफुटले सकिन लागेको माओवादी आन्दोलन फेरि…

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा

३० वर्षे कलिलो उमेरमै बेलायतमा अस्ताए एक नेपाली युवा २ हप्ता पहिले | संसार न्यूज़

२५ भदौ, युके । बेलायतमा एक नेपाली युवाको मृत्यु भएको…

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड

काण्डै काण्डले चर्चित बने कांग्रेस मेयर शिव गिरी, यस्ता छन् उनका ६ काण्ड २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाका मेयरमा नेपाली कांग्रेशका पुराना…

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ?

निरन्तर ओरालो लाग्दै सुनको भाउ, हेर्नुहोस् कति छ त आज प्रतितोला ? ४ हप्ता पहिले | संसार न्यूज़

९ भदौ, काठमाडौं । निरन्तर उकालो लागेर लाख नाघेको सुनको…