Sansar News- Nepal's Fast Khabar Online News Portal

गेटआउट भनेको र त्यो पनि मलाई नै भनेको सुन्दा छक्क परेँ

संसार न्यूज़
३ महिना पहिले
गेटआउट भनेको र त्यो पनि मलाई नै भनेको सुन्दा छक्क परेँ

जमलबाट चेक आएको थियो, मैले कुनै वास्ता गरिनँ, एकैछिनपछि त गेटआउट भनेको र त्यो पनि मलाई नै भनेको सुन्दा छक्क परेँ । मेरो खल्तीको कपी थुतेर त्यसो भनेको रहेछ । मैले चेक गर, यसबाट केही सारेको छैन भन्दा ‘नो डिस्कसन’ भन्यो र बाध्य भएर निस्कनुप¥यो ।

एसएलसी दिएपछि बिचमा के–के गरियो, त्यति याद भएन । तर, परीक्षाफल आएपछि के पढ्ने भनेर धेरै योजना गरियो । स्कुलमा कुखुरापालन विषय पढेकाले त्यही विषयमा कलेज जान कोसिस गरेँ त्यतिखेर लमजुङमा पढ्न जाने कि भन्ने सोच पनि आयो तर पछि ल, शंकरदेव र त्रिपुरेश्वरमा पनि फर्म भरियो । ल क्याम्पसमा पहिलो लिष्टमै नाम निस्केकोले त्यहीँ पढ्न थालेँ । पाटनमा कोठा लिएर बस्न थाल्यौँ । त्यतिखेर दाइ पनि इन्जिनियरिङ कलेजमा पढ्ने हुँदा नजिकै खोजियो र विशेषतः घरबेटी चौताराकै भएकाले हखा टोलमै बसियो । पहिलो वर्षदिउँसो पढेँ । प्रायजसो पढाइ सकेर महाबौद्धमा मःम खाएर पसलमा चिज र ड्राई मिट किनेर रत्नपार्कबाट बसमा पाटन ढोका हुँदै कोठा पुगुन्जेल सकाउँथेँ ।

पहिलो वर्षको परीक्षामा अंग्रेजी र अर्थशास्त्रमा फेल भएछ । अर्थशास्त्र त दोस्रो वर्ष पास गरेँ । तर, अंग्रेजीले भने रुवायो । वास्तवमा कलेजमा पढ्दा मैले बाहिर त्यति समय दिइनँ । स्ववियु चुनावमा भने केही समय दिएँ । राजनीतिक चहलपहलमा त्यति संलग्न भइँन तैपनि राम्ररी पढ्न सकिएन ।

दोस्रो वर्ष बिहान पढियो पढाइ शुल्क तिर्न नपर्ने भयो छात्रवृत्ति पाएँ । जाडोमा पाटनदेखि आउँदा र ११ बजे कोठा पुग्दा गाह्रो हुन्थ्यो ।
राति नै दालभात पकाएर बिहानका लागि राख्थेँ । कति पटक कलेजबाट फर्केर खाना पकाउँथे खाटमा यसो आराम गर्दा भुसुक्कै निदाएर स्टोभको तेल सकिएर आगो निभेको हुन्थ्यो, खाना जलेर खाग हुन्थ्यो र भाँडा धुन निकै समस्या हुन्थ्यो । दिउँसो खाना खाएर सुत्थेँ । ल क्याम्पसमा पढ्दा पनि सामूहिक पढ्यौँ । श्यामकृष्ण मास्केसँग केही समय पढेँ । ऊ वसन्तपुरमा बस्थ्यो । हामी पहिले झगडा गर्ने भए पनि त्यतिबेला भने मिल्यौँ । उसले आईएल पास गरेर बीएल पढ्यो । अहिले आफ्नै पेसा गर्दै छ ।

म भने कलेजमा बडो नराम्ररी फेल भएँ । सबै विषयमा राम्रै नम्बर पाइयो । दोस्रो वर्षको ब्राइटर इंग्लिस पनि दोस्रोपटकमा पास गरेँ । त्यतिखेर म बिरामी भएर साह्रै दुब्लाएको थिएँ । टाइफाइड भएछ । बलजफ्ती परीक्षा दिएँ ।

खै, कुन संयोगले हो, दोस्रो वर्ष पढ्दाखेरि अन्तरकलेज सांस्कृतिक कार्यक्रममा मैले पनि भाग लिएछु । सामूहिक नृत्यमा तीन केटा र तीन केटी ‘कहिले माया पोखरा कहिले माया खैरेनी’ भन्ने गीतमा नाच्यौँ । राम्रै निर्देशकहरू हुनुहुन्थ्यो एक जनाको नाम बिर्सें, अर्को राजकुमार हुनुहुन्थ्यो । त्यतिखेरसम्म धेरै नाचिए पनि व्यवस्थित पाराले कहिल्यै नाच सिकिएन ।

कलेजमा पढ्दै गर्दा मैले होटल मायालुमा हाउस किपरको रूपमा तीन महिना काम गरेँ । त्रिचन्द्र कलेजअगाडिको त्यो होटल तीनजना पन्जाबीहरू ज्ञानु सिंह, महिन्द्र सिंह र जोगा सिंहको थियो । जयन्द्र दाइको साथी अमृत कार्कीको माध्यमबाट त्यहाँ काममा गएको थिएँ । रेस्टुरेन्ट पनि थियो । खाना त्यतै खान्थेँ । अझ भन्दा जाडोमा तातो पानीमा नुहाउन पाइन्थ्यो । रिसेप्सनमा काम गर्ने शाह रमाइलो थियो । मेरो कामचाहिँ सफाइपश्चात् ठीक छ/छैन हेर्ने र कपडा धुन पठाउने र बुझ्ने गर्थेँ । त्यहाँ नेपाली हिरो शिव श्रेष्ठ बहुत आउँथे । पछि कुवेतीहरूको सेतो कार शिव श्रेष्ठले किने । कुवेतीहरूले मोटरसाइकल र गितार पनि बेचे । तीन महिना काम गरेर छोडिदिएँ । मैले पैसाको कुरा गरिनँ । त्यसपछि कमलादीमा माणिक रत्नसँग फर्निचर पसलमा काम गरेँ । पहिला चौतारामा कृषि विकास बैंकको म्यानेजर हुँदा हाम्रो घरमै बस्ने हुँदा परिचय भएको थियो उहाँसँग । पछि खै किन हो जागिर छाडेर कमलादी फोममा काम गर्नुभयो र पछि त्यही पसल किन्नुभयो । त्यहाँ ठाउँ नपुगेर अर्को नजिकै भाडामा पसल लिएर त्यहाँ फर्निचर मात्रै राखेको थियो । पसलेसँग राम्रो सम्बन्ध भएर पनि त्यहाँ काम गर्न मन लागेन । तीन महिनामा पैसा नलिएरै काम छाडेँ । त्यतिखेर हामी क्षेत्रपाटीमा बस्थ्यौँ ।

साँगाचोकमा अस्थायी शिक्षक भएर जनसेवा प्रावि कटुञ्जेमा तीन महिना पढाएँ । पहिलादेखि परिचय भएको पदम पराजुलीको गाउँमा दधिरामको घरमा बस्थे । बेलुकीपख सधैंं रेडियो सुन्न अरू कुराहरू गर्न पदमको दलानमा सबै गाउँलेहरू झुम्म हुन्थ्यौँ । राजनीतिक कुरा बढी हुन्थे । त्यहाँ बस्दा प्रायः सांस्कृतिक कार्यक्रममा व्यस्त भएर गाउँमा पनि नाटक देखायौँ स्कुलको जन्मदिनमा नाटक देखायौँ र डडुवामा पनि देखायौँ । विद्यार्थीहरूको सम्मेलनमा बिन्जेल पनि गयौँ ।

त्यति बेलासम्म मेरो आईएल पूरा भएको थिएन । इंग्लिस फर कलेजले धेरै नै रुवायो । पहिलोपटक दिँदा त्यतिकै ड्रप गरेर आएँ । पढ्दै पढिएन । पछि केके भो कुन्नि । एकपटक भने कीर्तिपुरमा परीक्षा केन्द्र थियो । मेरो बानी पढेर लेख्ने थियो र त्यो लेखेको कापी खल्तीमा नै
राख्ने । कोठामै चिट त चोरिन्न थियो तर अड्किहाल्यो भने पिसाब फेर्न जाँदा हेर्न पाइन्छ भन्ठानिथ्यो । त्यसपटक बाहिर पनि जान नपर्ने भएको थियो । बडो खुसीका साथ ढुक्कले पास भइन्छ भनेर लेख्दै थिएँ ।

जमलबाट चेक आएको थियो, मैले कुनै वास्ता गरिनँ, एकैछिनपछि त गेटआउट भनेको र त्यो पनि मलाई नै भनेको सुन्दा छक्क परेँ । मेरो खल्तीको कपी थुतेर त्यसो भनेको रहेछ । मैले चेक गर, यसबाट केही सारेको छैन भन्दा ‘नो डिस्कसन’ भन्यो र बाध्य भएर निस्कनुप¥यो । निकै राम्रो अनुभव प्राप्त भयो । त्यसपछि खल्तीमा कपी राख्न पनि छाडिदिएँ । त्यसै बिचमा अंग्रेजी राम्रो गर्न लाजिम्पाटमा ल्यांग्वेज क्लास ज्वाइन गरेँ, १/२ महिना पढेँ क्यारे । त्यही भेट भएको थियो निरायु श्रेष्ठलाई ।

०४५/४६ को आन्दोलनमा उनलाई प्रहरीले मारेको थियो । त्यसपछि स्पिड ल्यांग्वेज बागबजारमा पढ्न गएको थिएँ । त्यहाँ महँगो पनि भएकाले त्यही पढाउने अमेरिकन क्याथीसँग पढ्न चाबहिल जान थालेँ । त्यहाँ जाँदा साइकलमा जान्थेँ । बागबजारमा पढ्दा बाग्लुङको होमबहादुर थापासँग परिचय भएको थियो । ऊ पनि चाबहिल नै जान्थ्यो । कीर्तिपुरमा पढ्ने गथ्र्यो र म पनि बेलाबेलामा त्यहाँ जाने गर्थेैं ।

साँच्चै त्यतिखेर म काठमाडौँमा बस्दा सांस्कृतिक समूहमा निकै सक्रिय रुपबाट लाग्न थालेको थिएँ । कलेजको स्ववियु चुनावमा त बहुत नै हिँडियो । पहिला त प्रतिज्ञा सांस्कृतिक परिवार पाँगाले सबै नेतृत्व गथ्र्यो । पछि हितमान शाक्य काठमाडौं आएपछि र मणि थापा मसाल विद्रोह गरेर डाइनामिक युथ लिग बनाएर मशालमा आएपछि हाम्रो राम्रो जोडी बन्न थाल्यो । त्यसपछि हामीले भ्याली सांस्कृतिक सँगम भनेर काठमाडौं, भक्तपुर, पाटन सबैलाई समेटेर एउटै बनाउने निर्णय ग¥यौँ जसअनुसार मणि अध्यक्ष र म महासचिव भएँ । हामीहरुले प्रभावकारी ढंगले सांस्कृतिक कार्यक्रमहरु देखाउँदै गयौँ । कीर्तिपुर अडोटेरियम सभागृह र प्रज्ञा भवनमा समेत राम्रै कार्यक्रमहरु देखायौँ र पैसा पनि उठायौँ । नयाँ कलाकाहरु धेरै नै जन्मिए, सूर्य लामा, केपी पाठक, नाम्गेल लामा, सूर्य बोहोरा, गणेश पण्डित, बद्री पाठक आदिले धेरै सहयोग गरेका थिए । सूर्य बोहोरा त अहिले अभिनय क्षेत्रमै प्रख्याति कमाइरहेका छन् ।

दसरथ रंगशालामा भएको दुर्घटनाको दिन हामी कीर्तिपुरमा कार्यक्रम देखाउँदै थियौँ, कार्यक्रम सकेर बाहिर आउँदा मात्र थाहा लाग्यो ।
४५ सालतिर हो, कीर्तिपुरमा कार्यक्रम देखाउन लाग्दा प्रहरीहरु आएर बिथोल्यो र कार्यक्रम हुन पाएन । हामी पाँगामा गएर केही गीतहरु रेकर्डिङ गरेर बस्यौँ । एक दिन विद्यार्थीहरुको स्वागत कार्यक्रम संयुक्त रुपमा त्रि–चन्द्र कलेजमा हुँदै थियो । म पनि त्यहाँ आएको थिएँ । बाटोमा होमबहादुर थापाले हार्मोनियम बोकेर आएको देखेपछि ऊ पनि पक्का समर्थक भएको थाहा पाएपछि झन् सम्बन्ध गाढा भयो । त्यतिखेर ऊ अंग्रेजीमा बीएड गर्दै थियो । अंग्रेजीमा फेल भएको भनेपछि सहयोग गर्छु भनेकाले म ऊसँगै कोठामा बस्न थालेँ । त्यहाँ थुप्रै बाग्लुङेहरुसँग भेट भो गंगाराम, खडक पनि त्यतै बस्थ्यो, त्यसपछि मेघनाथ, कृष्ण, लोकराजहरुसँग पनि राम्रै सम्बन्ध भयो । त्यसै वर्ष मैले इंग्लिस फर कलेज परीक्षा दिएर अब धेरै वर्ष अलमल भएकाले जागिर खाने रहरले नेपाल बैंकमा जेटिएको बिज्ञापन खुलेकोले निवेदन दिएँ । स्कुलमा ४०० पूर्णांकको कुखुरापालन पढेको आधारमा निवेदन दिएको थिएँ ।

त्यतिबेलै अखिल नेपाल भारतीय एकता समाजको दिल्लीमा भएको सम्मेलनमा भाग लिन १० जना कलाकारहरु त्यता लाग्यौँ । गोरखपुर पुग्दा त्यहाँ कम्युनिस्टको झण्डा फहराएको घरमा लैजाँदा म त दंग परेको थिएँ । नेपालमा कम्युनिस्टको क भन्दा पनि कति गाह्रो, त्यहाँ त्यस्तो खुल्ला वातावरण । त्यतिखेर गर्मीको समय थियो क्यारे लामखुट्टे निकै लागेको थियो । त्यहाँ एक दिन आराम गरेर हामी रेलबाट दिल्ली गयौँ । रेलमा बडो राम्रो अनुभव बटुल्यौँ । हामी १० जनामा ३ जना महिला भनेकोमा २ जना मात्र भएको र ८ जना केटा थियौँ । टीटीले राति टिकट जाँच्न आउँदा खै ३ जना केटी भनेर सोध्न थाल्यो । म त माथि सुतेको थिएँ, उठायो । त्यसपछि त उसले मानेकै होइन, नयाँ टिकट लिनुपर्छ भन्थ्यो । पछि आधामा झ¥यो अन्त्यमा २५ प्रतिशत रकम लिएरै छाड्यो । त्यतिन्जेलसम्म बिहान भएसकेको थियो । सुत्नै पाइएन । दिल्लीमा उत्रेपछि ठुल्ठूला महल र मुन्तिर थुपै्र खाले झुप्रामा मानिस बसेको देख्दा अचम्म लाग्यो ।

गर्मीले गर्दा दिल्ली बसाइ त्यति रमाइलो भएन । फेरि थुप्रै मान्छे एउटै घरमा थुप्रिँदा त झन् उकुसमुकुस भयो । कार्यक्रम राम्रैसँग सम्पादन भयो । त्यतिखेर म र ऋषि देवकोटा ‘सिलगढीबाट हजुर मालगाडी आयो’ भन्ने गीतमा बडो लोकप्रिय भएका थियौँ । जुन हामीले काठमाडौं खुलामञ्चमा पनि देखाएका थियौँ । मणिजी र मेरो पानको पातको प्यारोडी गीत पनि धेरैले मन पराएका थिए । साथीहरु त बेलाबेलामा बाहिर घुम्न निस्कन्थे तर म भने अल्छी भएर त्यत्तिकै सुतेर बस्थें फुर्सदमा । एक दिन लालकिल्ला हिँडेरै जाने भनेर गयौँ । त्यति टाढा त रहेनछ तर बाटो थाहा नभएर रिक्सामा गयौँ । त्यहाँको दरबार सुन्दर थियो तर त्यहाँका भित्तामा टाँसिएका हीरामोतीहरु ब्रिटिसहरुले लिएर गए भन्थे । त्यहाँबाट टेम्पो रिर्जभ गरी पूरा दिल्ली घुम्यौँ । गान्धी समाधिस्थल, सदन, दिल्ली गेट, कुतुबमिनार आदि ठाउँ रमाइलै लाग्यो । त्यहाँ किनेकोकुर्ता–सुरुवाल पछिसम्म जतन गरेर लगाएँ ।

सम्मेलनमा सहभागीमध्ये पन्जाबबाट आएका एक जना साथीको ५ वर्षे छोरीसँगको सम्बन्धले पछिसम्म पनि याद आइराख्थ्यो । सायद उसको नाम स्विटी हो क्यारे । एकदमै हिस्सी परेकी अलिअलि नेपाली तोतेबोली बोल्ने, रमाइलो लागेको थियो । मणिजीलाई पनि त्यस्तै भएको रहेछ, पछिसम्म हामी कुरा गथ्यौँ । आउने बेलामा एउटा पुतली किनेर उपहार दिएको थिएँ उनलाई ।

प्रत्येक वर्ष कार्तिक पूर्णिमामा गौरती र चौतारामा लाग्ने भीमसेनको मेलामा हामीले चिठ्ठा लान्थ्यौँ र साथै रेडक्रसको पनि काम गर्ने गर्दथ्यौँ । एकपटक नीलकाजीसँगको झगडामा तुल्सीले झन्डै ज्यान गुमाउनुप¥यो । सामान्य झगडामा नीलकाजीले तुल्सीलाई छुरीले हान्यो र उपचार गर्न काठमाडौं लानुप¥यो । त्यो मुद्दा धेरै पछिसम्म चल्यो । जसमा मैले पनि वकालत गरँ तर नीलकाजीलाई खासै सजाय भने भएन ।

फर्कदा हामी बसमा आयौँ । बसमा आउँदा डाँका लाग्छन् भनेको सुनेको थिएँ । नभन्दै बिहान ४ बजेतिर जंगलको बिचमा रोकेको र भूसतिघ्रेहरु बसमा छिरेको देख्दा डाँका नै होलान् भनेको त उनीहरु पुलिसवाला रहेछन् । बिहान लखनउमा खाजा मीठै खायौँ र दुर्र्ईदिने बसयात्रापछि काठमाडौं पुगेका थियौँ । त्यहाँ सम्मेलन सकेर समापन समारोहमा नाराजुलुस प्रदर्शन गरेका थियौँ । त्यहाँका पुलिसहरुले पूरै सुरक्षा दिने रहेछ र पूरा पुलिसहरु पनि सँगसँगै हिँड्ने रहेछन् । हेर्दा खाइलाग्दा मोटाघाटा देख्दा हाम्रो जिउ पनि ढक्क फुल्थ्यो । त्यतिखेर नेपालमा केही गर्न नपाइने, त्यहाँ भने खुला वातावरण भएकाले छक्क परेको थिएँ ।

कलेजको पढाइ सकेर परीक्षामा उत्तीर्ण नहुन्जेल करिब ४ वर्ष त्यत्तिकै बित्योजस्तो लाग्छ । तर सम्झँदा लाग्छ, यस अवधिमा सानाठूला धेरै कामहरु भएका रहेछन् । प्रायः म काठमाडौतिर रहने भए पनि चौतारामा पनि राम्ररी नै सामाजिक, सांस्कृतिक क्रियाकलापहरुमा संलग्न भइयो । विशेषतः बहुदल आउनुअगाडि राजनैतिक कामहरु सामाजिक रुपबाट गरिन्थे । चौतारामा केही युवाहरु सांस्कृतिक कार्यक्रम देखाउनका लागि संगठित भएका रहेछन् । पुरानो बजारमा त निकै पहिलादेखि निरन्तर रुपमा त्यस्ता कामहरु हुँदै आएका थिए तापनि नयाँ बजारमा भने अलि पछाडि नै थियो । ४०/४१ तिर होला, योमान, दुर्गामान र सोभितमान (चिरीभाइ) बसेर क्लब खोल्ने कुरा गरेछन् । कुखुरा पाल्ने, अण्डा बेच्ने, केही पैसा उठाउने गरेर बल, ब्याडमिन्टन, नेटहरु किनेर खेलकुदका क्रियाकलापहरु सुरु गरेछन् । केही सांस्कृतिक कार्यक्रमतिर पनि ध्यान दिन थालेछन् ।

एकपटक सहकारीको अगाडि सांस्कृतिक कार्यक्रम देखाए पनि । त्यतिखेर उनीहरु सोझो राजनैतिकभन्दा पनि सामाजिक रुपबाट सक्रिय रहेका थिए । एक साल सांस्कृतिक कार्यक्रममा सहयोग गर्न अरुलाई भन्दा त्यति वास्ता नगरेकाले कताकताबाट मसँग कुरा चल्यो, जसलाई मैले स्विकारे र आफूले चाहेअनुसार तयारी गर्न सकियो र सफल प्रदर्शन पनि भयो । त्यसअगाडि उनीहरुसँग मेरो सामान्य परिचय मात्र थियो । त्यसपछि व्यवस्थित रुपबाट एउटा क्लब खोल्ने कुरा भएअनुसार जमघट गरेर निर्णय ग¥यौँ । पञ्चायतइतर सबैको सहभागिता भयो । सुभाष, रामचन्द्रहरु पनि सहभागी भए । मेरो अध्यक्षतामा क्लब गठन भयो । नामको सम्बन्धमा पहिला दुर्गामानहरुले ठेगान गरेकै, सरस्वती युवा परिवार नामकरण ग¥यौँ । गोल्मालीको घरको छिँडीमा अफिस स्थापना ग¥यौँ । व्यवस्था तथा सरकारको विरोध गर्न नपाइने हुँदा प्रत्येक वर्ष गाईजात्रामा नाटक देखाउने चलन चलायौँ । पछि त टिकट बेचेर नै धेरै कार्यक्रमहरु प्रदर्शन ग¥यौँ । नाटकमा सुरजहरुलाई पनि सहभागी गरायौँ ।

सायद पहिलोचोटि पदमले लेखेको नाटक ‘जुवाको फल’ देखायौँ । पछि गएर सुरजले थुप्रै नाटकहरु लेखे, अधुरो सपना, प्रतिशोध आदिहरु । नाटकको साथसाथै हामीहरु बिचबिचमा प्रगतिशील गीतहरु, कमीकहरु पनि देखाउने गर्दथ्यौँ । दुर्गामानले नाचेको र मैले गाएको, अर्काको भारी बोकेर हामी, साह्रै मन पराएका थिए । प्रस्तुति र साजसज्जाको दृष्टिले दुर्गामान र इन्द्रकुमारीले अभिनय गरेको अपेरा ‘छातीभित्र’ अति नै सफल भएको जस्तो लाग्दछ ।

प्रत्येक वर्ष कार्तिक पूर्णिमामा गौरती र चौतारामा लाग्ने भीमसेनको मेलामा हामीले चिठ्ठा लान्थ्यौँ र साथै रेडक्रसको पनि काम गर्ने गर्दथ्यौँ । एकपटक नीलकाजीसँगको झगडामा तुल्सीले झन्डै ज्यान गुमाउनुप¥यो । सामान्य झगडामा नीलकाजीले तुल्सीलाई छुरीले हान्यो र उपचार गर्न काठमाडौं लानुप¥यो । त्यो मुद्दा धेरै पछिसम्म चल्यो । जसमा मैले पनि वकालत गरँ तर नीलकाजीलाई खासै सजाय भने भएन ।

प्रत्येक वर्ष तिहारमा देउसी खेलिन्थ्यो । हामीले नै पहिलो पटक सबैको घरमा चिठी पठाएर देउसी खेल्ने परिपाटी बसाएका थियौँ टोलमा । कहिलेकाहीँ नभ्यााएर पाँच दिनसम्म पनि खेलेका थियौँ । कहिलेकाहीँ लालबहादुर पनि हामीसँग देउसी खेल्न आउँथ्यो र ऊ आउँदा समूहको
रौनक अर्कै हुन्थ्यो । गितार, किबोर्डलाई एम्पिलिफायरमा बजाएर बहुतै नाचगान गरियो । पैसा पनि निकै उठाइयो । कामीगाउँमा गएर नाचगान गर्ने, मासुरक्सी खाइदिँदा उनीहरु खुसी भएर पैसा पनि धेरै दिन्थे ।

जिल्लास्तरीय खेलकुदहरु आयोजना गरिन्थ्यो । विशेषतः फुटबल निकै चल्तीको खेल थियो । धेरैचोटि यसको आयोजना गरियो, सहभागी बनियो । विभिन्न सभा, समारोहमा हामीलाई पनि मूल कमिटीमा राखिन्थ्यो । जिल्लामा हाम्रो क्लबको नाम परिचित थियो । बच्चाहरुको शिक्षालाई ध्यानमा राखेर बिहान हाई स्कुलमा बालकक्षा सञ्चालन गथ्र्यौं र जसबाट राम्रो प्रभाव पनि पर्न गएको थियो तर पनि त्यसलाई निरन्तरता दिन सकिएन ।

हाम्रो केन्द्रीय सांस्कृतिक टोलीको नाम सामना रह्यो । यसले देशैभरि र प्रवासमा पनि प्रभाव जमायो । युद्धकालमा र अहिलेसम्म पनि सबै माओवादी घटकहरुको सांस्कृतिक समूहको नाम सामना नै रहेको छ । यो नाम राख्नुको पछाडिको कारणचाहिँ हामीले जस्तोसुकै परिवेशलाई पनि सामना गरेर नेपालमा समाजवाद हुँदै साम्यवाद स्थापना गर्नुपर्छ भन्ने थियो । यो नामको प्रस्तावचाहिँ हितमान शाक्यले गर्नुभएको जस्तो लाग्दछ ।

हाई स्कुलको स्थापना दिवसमा हाम्रो राम्रो सहभागिता हुन्थ्यो । एकचोटि हामीले बिंगो खेलाएर उठेको पैसाले फोहोरमैला जम्मा गर्ने इँटाको बार बनाइदिएका थियौँ । विद्यालयमा सामान्य शुल्कसमेत तिर्न नसक्नेहरुको फी तिरदिने गर्दथ्यौँ । यो काम हामीले व्यक्तिगत रुपमा धेरै पछिसम्म पनि गरिरहेका थियौँ । यसले अरुलाई पनि प्रेरित गरेको थियो र उनीहरुले पनि गर्न थालेका थिए । स्थानीय स्तरमा सडक सफा गर्ने, वृक्षारोपण गर्ने काम पनि गरेका थियौँ । ४५/४६ सालतिर क्लबको ख्याति जिल्लाको सामाजिक क्षेत्रमा निकै महत्त्वपूर्ण र उल्लेखनीय नाम कमाएको थियो । देशमा बहुदल आएपछि सबै जना को कता लागे, को कता र सक्रियता सेलाएर गएको थियो । म आफैँ पनि जागिरमा लागेँ, अरु साथीहरुको हाल पनि त्यस्तै थियो, अन्य कारणहरु पनि थिए, ती त्यसै हराए ।

२०४५ साल पुस २७ गते हुनुपर्छ, हामी सिन्धुलीमा विद्यार्थी सम्मेलनमा सांस्कृतिक कार्यक्रमका लागि काठमाडौँबाट म, मणि थापा र भरत बुर्जा दोलालघाट हुँदै राति झाँगाझुली रातोमाटोमा बास बस्न पुगेका थियौँ । जति हिँडे पनि पुग्दै नपुग्ने त्यो ठाउँ पहिलोचोटि गएका थियौँ । गितार पालैपालो झुन्ड्याउँथ्यौँ । बाटो असाध्यै डरलाग्दो र साँघुरो पनि थियो । बीपीको गाउँ नेपालटार पनि त्यतै रहेछ । राति रातोमाटो पुगुन्जेल बाटो केही पनि देखिँदैनथ्यो, छामछुम गरेर हिँड्दा झन्डै रोशीमा पुग्यौँ । गाउँमा हिँड्दा विस्तारै अघि बढ्यौँ । त्यहाँ खाएको गुन्द्रुक र भात असाध्यै मीठो लागेको थियो । राति थाकेकोले सुकुलमै भए पनि भुसुक्कै निदाइयो । बिहान उठेर एकअर्काको जिउमा लागेको सुकुलको डाम हेर्दा मज्जै लागेको थियो । त्यतिखेर अवस्था अलि जटिल भएकाले हामी त्यहाँ गएको कसैलाई थाहा नहोस् भन्ने थियो । भोलिपल्ट बिहानै नागडाँडामा महेश्वर दाहालको घरमा पुगेर आराम ग¥यौँ । दिउँसो मकै, भटमास खाँदै घाममा सुत्यौँ । त्यहाँ सामान्य गीतहरु गायौँ । भोलिपल्ट बिहानै ३ बजेतिर उठेर सम्मेलनस्थल बस्तीपुर जाने तयारी ग¥यौँ । करिब १५/२० जना थियौँ, मेन्टोल बाल्दै हिँड्यौँ, पुसको जाडो महाभारत लेकमा हिउँ पर्नु र बिहानै भएकाले बाटो देखाउनेले नै भुल्नुले साह्रै गाह्रो परेको थियो । हिँड्दाहिँड्दै ठूलो भीरमा पुगेका थियौँ । मेरो जुत्ता चिप्लेकाले फुकालेर हातखुट्टा टेक्दै हिँडेको थिएँ र बल्लबल्ल तल खोलामा पुग्यौँ । त्यहीँ खाजा खाएर फेरि नाकै छुने उकालो बाटो हिँड्यौँ । दिनको एक बजेको होला त्यसबेला । बाटोमा भेटेको घरमा पुगी त्यहाँ भएको मुला, अमिलो किनेर खाएका थियौँ र फेरि उकालो लागेका थियौँ । बस्तीपुर पुग्दा २ः३० भएको थियो । पुसको जाडो उस्तै थियो तर साथीहरुले दहीच्युरा खाने व्यवस्था मिलाएका थिए । भोकले चुर भएका हामीहरुले खान त खायौँ तर पेटमा दही त बरफ पसेजस्तो पो भएको थियो । जस्तो भए पनि कार्यक्रम गर्नै पर्ने थियो । धेरैजसो साथीहरुलाई सिन्धुलीमा प्रहरीले समातेर राखेछ । खासै सहभागी हुन पाएनन् । हामीले औंलाले गितार बजाउन नसकेर पन्जा लगाएर बजाएको सम्झँदा अहिले पनि हाँसो उठ्छ ।

बेलुकीको कार्यक्रम सकेर नजिकै भरत बुर्जाजीको घरमा बस्यौँ । त्यहाँ नाङलो जत्रो सागसँग खाएको भात भने अति मीठो लागेको थियो । त्यही बाटो फर्कन आतेस लागेकाले सदरमुकाम हुँदै बसमा काठमाडौँ फर्कौ भन्ने मेरो प्रस्ताव थियो । तर धेरै खर्च र विशेषतः प्रहरीको कडा निगरानीले गर्दा त्यही बाटो फर्कने निधो गरेर भोलिपल्ट बिहानै हिउँले पुरिएको महाभारत डाँडा झ¥यौँ । बाटोमा राँगो काटेको देखेर त्यतै खाना खाएर जाने निधो ग¥यौँ । त्यहाँ खाना खाई एकछिन आराम ग¥यौँ फेरि हिँड्यौँ । त्यस दिन बाटोमै बास बसेका थियौँ ।

भोलिपल्ट म दोलालघाटबाट चौतारा लागेको थिएँ र मणिजी काठमाडौँतिर । घरमा पुग्दा त सबैजना दंग परिराख्या रहेछन् । मैले जाने कुरा कतै कसैलाई पनि भनेको थिएनँ । धेरैतिर सोध्दा पनि कसैलाई थाहा नभएकाले मेरो पिर सबैलाई परेको रहेछ । सायद त्यसरी हिँड्नुभन्दा केही अगाडि मेरो घरमा केही खटपट पनि परेको थियो क्यार । फर्केको दिन माघे संक्रान्ति रहेछ । भोज खाएँ र ४/५ दिनको थकाइ मारैँ ।

त्यसपछि हामी नारायणगढमा पनि स्ववियुको स्वागत कार्यक्रममा मणि र हितमानजीसँग गयौँ । वीरेन्द्र बहुमुखी क्याम्पसमा भएको उक्त कार्यक्रम राम्रै भएको थियो । त्यसपछाडि मेरो जीवनमा नयाँ मोड आयो ।

पछि हाम्रो केन्द्रीय सांस्कृतिक टोलीको नाम सामना रह्यो । यसले देशैभरि र प्रवासमा पनि प्रभाव जमायो । युद्धकालमा र अहिलेसम्म पनि सबै माओवादी घटकहरुको सांस्कृतिक समूहको नाम सामना नै रहेको छ । यो नाम राख्नुको पछाडिको कारणचाहिँ हामीले जस्तोसुकै परिवेशलाई पनि सामना गरेर नेपालमा समाजवाद हुँदै साम्यवाद स्थापना गर्नुपर्छ भन्ने थियो । यो नामको प्रस्तावचाहिँ हितमान शाक्यले गर्नुभएको जस्तो लाग्दछ ।

(प्रस्तुत सामग्री गैरआवासीय नेपाली अभियन्ता सुरेन्द्र श्रेष्ठद्वारा लिखित तथा रंग नेपालद्वारा प्रकाशित ‘मेरो आधा शताब्दी ‘को बाल्यकाल र विद्यालय जीवन शिर्षकबाट लिइएको हो ।)

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ५ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ६ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…