back

स्कुलदेखि कलेजसम्मका साथीहरुको साथ नै मित्रताको जगजस्तो हुने रहेछ

वि.सं.२०७६ पुस १८ शुक्रवार

282 

shares
NTC AD
Global IME AD

जीवनमा थुप्रै मानिस भेटिन्छन् । धेरैसँग मित्रता गाँसिन्छ । कतिसँग अटुट सम्बन्ध रहिरहन्छ कतिसँग छुट्छ । जीवनमा जेजति मित्रहरु थपिँदै गए पनि बाल्यकालका साथीहरुसँग नियमित भेटघाट नभए पनि सधैंंभरि सामीप्यता बनिरहेको हुन्छ । जहिले भेटे पनि पुराना यादहरुका कारणले कदापि अन्तरालको रत्तिभर अनुभव हुन पाउँदैन । अध्ययनका क्रममा थुप्रै साथीहरु बन्ने र छुट्ने क्रम चलिरहेको हुन्छ । कतिपय साथीहरु उनीहरुका मातापिताको सरुवा वा परिवारको बसाइँसराइका कारण, कतिपय साथीहरु कक्षा उत्तीर्ण हुन नसकेका कारण छुटिन्छन् र नयाँ जोडिने साथीहरु पनि तिनै कारणले थपिन आउँछन् । विद्यालयमा एसएलसी परीक्षापछि भने धेरै साथीहरु छिन्नभिन्न हुन्थ्यौँ । उच्च शिक्षा अध्ययनका निम्ति कोही कता कोही कता, परिवारले तोकेको स्थानमा जाने हुँदा धेरै साथीहरुको साथ छुट्न पुग्थ्यो ।

हामीले श्रीकृष्ण व्यावसायिक माध्यमिक विद्यालयबाट एसएलसी दिएका थियौँ । २०३८ सालमा हाम्रो आफ्नै विद्यालयबाट एसएलसी परीक्षा दिनेमा हामीहरुको ब्याच दोस्रो थियो । पहिलो पटक हाम्रो समूहका पाँच जना ऋषिराम कोइराला, तीर्थ कर्माचार्य, कृष्णकुमार सापकोटा, जानकी श्रेष्ठ र म उत्तीर्ण भएका थियौँ । अन्य साथीहरु पछि उत्तीर्ण भएका थिए तर हामीहरु कलेज पुग्दा कोही सँगै थिएनौँ । कोही स्थानीय काममै लागे, कोही कता पढ्नतिर लागे । तीर्थ कर्माचार्य काठमाडौंबाट बुबासँगै चौतारा आएका थिए । उसका बुबा लक्ष्मण कर्माचार्यले लामो समयसम्म शिक्षा कार्यालयमा काम गर्नुभयो । हाम्रो एसएलसीपछि उनी काठमाडौंस्थित पब्लिक युथ क्याम्पसमा अध्ययन गर्दै रत्न बुक्स बागबजारमा लामो समयसम्म काम गरी अहिले ठमेल नजिकै आफ्नै स्टेसनरी पसल सञ्चालन गरिबसेका छन् । म नेपाल जाँदा सकेसम्म भेट्न खोज्छु ।

कृष्णकुमार सापकोटा पनि काठमाडौं आएर पढाइ गर्दै थियो, साथमा काम पनि थियो । दसैंमा घर जाँदा हाम्रो भेटघाट हुन्थ्यो । केही समयपछि बिरामी भएको खबर सुनेको थिए, पछि त मृत्यु भएको थाहा पाउँदा स्तब्ध भएको थिएँ ।

ऋषिराम कोइराला हाम्रो कक्षामा प्रथम थिए । साँगाचोकबाट चौतारा आएर अध्ययन गरेका थिए । एसएलसीपछि उनी साँगाचोकमा शिक्षक हुँदै त्रिविबाट स्नातक गरेका थिए । पछि सपरिवार काठमाडौँमा पसल सञ्चालन गरी बसेका थिए । नेपालमा जाँदा उनको पसलमा जाने र भेट्ने गर्थे तर पछिल्लो पटक उनी पसल व्यवसाय छाडेर सहकारीतिर लागेका रहेछन् ।

रामकृष्ण श्रेष्ठले नेपाल बैंकमा काम थाल्यो । उसको बसाइ पनि काठमाडौं हुन थाल्यो । उनी अहिले बैंकबाट अबकाश लिई राजनीतिमा लागेका छन् । उनको र मेरो बुबा मिल्ने साथी भएकाले हाम्रो मित्रता पारिवारिक रुपमा पनि बाक्लो हुन्थ्यो । हामीहरु पहिले नाचगानमा पनि
सँगै हुन्थ्यौँ, अहिले नेपाल गएको बेलामा सम्भव भएसम्म भेट्ने गरेको छु । कलाकारितामा उनको रुचि निकै भएकोले त्यस क्षेत्रमै केही गर्नुपर्छ भन्दै थियो । केही समयअघि जनयुद्ध दिवसमा पेरिसडाँडामा भेट भएको थियो ।

गायत्री दिदी मेरी सानीआमाकी छोरी हुन् । हामीसँग पढ्ने शंकरसँग उसको विवाह भयो । गायत्री स्कुलमा शिक्षिका भइन्, शंकर अदालतमा काम गर्न थाले । अहिले शंकर पाटन उच्च अदालतमा काम गर्ने हुँदा काठमाडौंमा बस्छन् । हाम्रो पारिवारिक सम्बन्ध भएको हँदा नेपाल आउँदा कहिलेकाहीँ भेटघाट भइरहन्छ ।

जानकी विवाह गरेर काठमाडौँ आइन् । उसको बहिनी भवानी मेरी जेठी भाउजू भएको हुँदा काठमाडौँ जाँदा भेट हुन्छ । उनको श्रीमान् काम विशेषले लन्डन आउँदा केही समय सँगै बिताएका थियाँ । मेरो बुबा र उसका बुबा पनि मिल्ने साथी भएकाले पारिवारिक सम्बन्ध पनि राम्रै छ । तुल्सीमाया मास्के पुरानो बजारका थिए । सुभाष कर्माचार्यजीसँग विवाह भएपछि हाम्रो घर नजिकै भयो । उनले पनि विद्यालयमा पढाउँथे । चौतारा जाँदा प्रायः उनीसँग भेट भइरहन्छ । गणेशमान श्रेष्ठको बुबाको कपडा पसल थियो । त्यहाँ हामी प्रायः सँगै पढ्ने गथ्र्यौँ । एकपटक त उसको बहिनी लक्ष्मीसँग तिहारमा भाइटीका नै लगाएको थिए । अहिले कपडा पसलको सबै जिम्मा गणेशले नै लिएका छन् ।

केशवलाल श्रेष्ठको पुख्र्यौली घर साँखु हो । हाम्रो पनि साँखु नै हो । त्यति मात्रै होइन, हामी पनि स्याउलेमा नै बसेका थियौँ र उनीहरुको पनि त्यहीँ केही समय कपडाको पसल थियो । उसका बुबाआमालाई कहिले मामामाइजू कहिले काकाकाकी भन्थ्यौँ । केशवले स्याउलेको स्कुलमा पढाउन थाल्यो । पछि बसाइँ सरेर चौतारा आयो, अहिले पनि त्यही कपडा पसल सञ्चालन गरी बसिरहेका छन् ।

तुल्सीमान श्रेष्ठ चौताराको एक सक्रिय युवा थिए । विद्यार्थीकालदेखि नै राजनीतिमा लागे । सामाजिक क्रियाकलापमा लागे । घरानियाँ पसले भएकोले पछि आफ्नो बेग्लै पसल सञ्चालनमा ल्याए । चौतारामा हुने हरेक क्रियाकलापहरुमा उनको प्रत्यक्ष सहयोग र भूमिका हुन्थ्यो । काठमाडौँमा घर पनि बनाएका थिए । पछि उनको हृदयाघात भएर देहवासन भएको खबर सुन्दा अफशोस लाग्यो । जीवनको क्षणभंगुरता
सम्झेर आउने दिनहरुप्रति ठूलो आशा पनि छैन । कम उमेरमै तुल्सीलाई गुमाउनुपर्दा सारा चौतारा सारा सिन्धुपाल्चोक दुःखित भएको थियो ।

पूर्ण श्रेष्ठ, बेलबहादुर र जितबहादुर नेपाल ठूलो सिरुबारीबाट दैनिक चौतारा आएर अध्ययन गर्दथे । हाम्रो कक्षामा सबैभन्दा पाका बेलबहादुर थिए । तीनै जनाले स्थानीय स्कुलमा अध्यापन गर्न थाले । म नेपालमा भएको बेला सिरुबारी जाँदा उनीहरुसँग भेट हुन्थ्यो, उनीहरु पनि चौतारा आइरहन्थे । बेलायत आएपछि भने भेट भएको छैन । पूर्णजीको मृत्यु भएको सुनेको थिएँ । साथीहरुका बारेमा नराम्रा खबर सुन्दा म हामीले छोडेर आएको विगतमा फर्कन मन लाग्छ, त्यहीँ रोकिन मन लाग्छ ।

कुलबहादुर पुरी र मोहन पुरी पीपलडाँडाबाट आउँथे । मोहनको घर भीरकुनामा धेरै पटक गएको र ताजा बदाम भुटेर दहीमोहीसँग खाएको याद अहिले पनि आउँछ । दुवैजना शिक्षक भए, नेपाल जाँदा भेट भइरहन्छ । कृष्णबहादुर हुन्द्रुगं बस्थे । उनले जन स्वास्थ्य कार्यालयमा काम गर्न थाले । स्कुलमा पढ्दा विद्यार्थी आन्दोलनमा एकरात पोस्टर टाँस्न जाँदा देवथानको माथि सूर्यथानमा पुग्दा थाकेर म त्यहीँ भित्तामा अडेस लाएर बसेको थिएँ । मलाई साथीहरुले देखेनछन् । म सबैभन्दा सानो थिएँ । कृष्णले खै कहाँ गएछ बुर्जा भनेकाले पछिसम्म मलाई बुर्जा नामले बोलाउने गर्थे । ज्ञानरत्न शाक्य देउरालीबाट आउँथ्यो । विद्यालय सक्नेबित्तिकै उसले पनि स्थानीय विद्यालयमा नै काम थाल्यो । म चौतारा जाँदा बेलाबखत भेट हुन्थ्यो । लन्डनबाट जाँदा पनि एक/दुर्ई पटक भेट भएको थियो ।

ओमबहादुर आचार्य कुन्चोक घर भए पनि सिरुबारी न्यौपानेमा बसेर चौतारा आउँथे । ऊ पनि पछि शिक्षक भएजस्तो लाग्छ । एसएलसीपछि हाम्रो भेट भएन । रामबहादुर श्रेष्ठ गाउँ विकासको सचिव भए । चौताराकै भएको हुँदा हाम्रो नियमित सम्पर्क हुन्थ्यो । विशेषतः दसैंतिहारमा मलाई ओखर खेल्न खुबै रहर लाग्ने हुँदा प्रत्येक वर्षजस्तै हामी खेल्थ्यौँ । हाम्रो भेटघाट त्यहाँ पनि हुन्थ्यो । राजेन्द्र घिमिरे (राजु) सिरुबारीबाट आउ“थ्यो, ऊ पनि विद्यालयमा पढाउँथ्यो । उनको दोलालघाटमा गाडीबाट खसेर मृत्यु भएछ । राजुको पनि याद आइरहन्छ ।

सरसर्ती हेर्दा धेरैजसो साथीहरुले आफू जन्मेको गाउँठाउँमै बसेर सक्रिय रहेको देखिन्छ भने केही साथीहरु काठमाडौंतर्फ आएका देखियो । म मात्र त्यस्तो अभागी भनाँै कि पृथक् व्यक्ति भएँ जो रातदिन नेपाल र नेपाली समाजका लागि केही गर्नुपर्छ भन्ठान्छु । सकेजति गर्छु तर विदेशमा बसेका कारण भूतपूर्व नेपाली बनेको छु ।

एसएलसीपछि आईएल पढ्न काठमाडौं गएको विषय अर्कै च्याप्टरमा समावेश छ तर त्यस बेलाका साथीहरुका बारेमा यहाँ चर्चा गर्न चाहन्छु । शंकर बैरागीजी हाम्रो समूहको सबैभन्दा तेज विद्यार्थी । साथीहरुसँग सम्बन्ध पनि राम्रै थियो । उहाँ अहिले परराष्ट्र मन्त्रालयको सचिव हुनुहुन्छ । सरकारी कामको सिलसिलामा स्विजरल्यान्डका महामहिम राजदूत भएर आउनुहँदा एनआरएनको क्षेत्रीय सम्मेलनमा त्यहाँ भेट भएको थियो । काठमाडौं जा“दा पनि भेट भइरहन्छ । छोरीले कर्णेल लामाको सम्बन्धमा शोधका क्रममा नेपाल जाँदा परिचय गर्न उहाँको अफिसमा पुगेकी थिइन् । सामाजिक सञ्जालमा सामान्य कुराकानी भइरहन्छ ।

रमणकुमार श्रेष्ठ ल क्याम्पसमा पढ्दा सँगसँगै एउटै क्लासमा थियौँ । विद्यार्थी राजनीतिमा सक्रिय भएको हुँदा इन्जिनियरिङ कलेजबाट ल पढ्न आउनुभएको रहेछ । स्ववियु निर्वाचनमा अध्यक्ष बन्नुभयो । अनेरास्ववियुको केन्द्रीय अध्यक्ष पनि बन्नुभयो । नेपाल बारको केन्द्रीय महासचिव भई प्रचण्डको पछिल्लो कार्यकालमा महान्यायाधिवक्ताको भूमिका निर्वाह गर्नुभो । म सर्वोच्च अदालत जाँदा हरेकपल्ट उहाँसँग भेट हुने गर्छ ।

उषा मल्ल पाठक महिला कानुन व्यवसायीहरुमध्ये स्थापित नाम हो । बद्री पाठकसँग मेरो पहिलेदेखि नै सम्पर्क थियो । आउनेजाने भइरहन्थ्यो । उहाँहरुको एउटै ल फर्म थियो । पछि सम्बन्ध विवाहमा परिणत भएको थियो । नेपाल बार एसोसिएनको उपाध्यक्ष हुनुभयो । वरिष्ठ अधिवक्ता हुनुहुन्छ । प्रत्येकचोटि नेपाल जाँदा सर्वोच्च अदालतमा भेटघाट हुने गर्छ । लीला गड्तौला कानुन मन्त्रालयमा सहसचिव हुनुभयो । हाम्रो मुद्दा हेर्ने जिम्मा मातृकाजीलाई दिएपछि उहाँको घरमा गएर पनि भेट गरियो ।

बेलाबखत सामाजिक सञ्जालमा कुराकानी भइरहन्छ । सुजन लोप्चनलाई दिदी भन्ने गर्थें । मुटकोर्ट लेख्दा उहाँले मलाई सहयोग पनि गर्नुभएको थियो । मधुसूदन तामाङजी पनि हामीसँग पढ्थे । उहाँहरुको विवाह भएको थाहा पाएको थिएँ । महिला कानुन व्यवसायमा स्थापित हुनुभएकी सुजन दिदी अहिले वरिष्ठ अधिवक्ता हुनुभएको छ ।

केशव अधिकारी बडो रसिलो, रमाइलो साथी उहाँको घरमै गएर पनि पढ्थ्यौँ हामी । कलंकी अगाडिको मन्दिरबाट देब्रेतीरको खेतमा रहेको त्यो घरको वातावरण अहिले पनि याद आउँछ । कानुन मन्त्रालयअन्तर्गत जागिरे भएर अहिले बारा जिल्लाको न्यायाधीश बन्नुभएकोछ । भूकम्पमा परेर उहाँकी श्रीमतीको देहावसान भएको खबरले हामी साथीहरु दुःखी भएका थियौँ । एकपटक भेटेर भलाकुसारी गरेर हाँस्ने रहर लागेको छ । फोनमा ३/४ पटक कुरा भएको छ तर मज्जाले खुलेर कुरा गर्ने संयोग जुरेको छैन ।

शिव देवकोटा र चेतनाथ खनालको कोठामा गएर हामी परीक्षाको तयारी गथ्यौँ । शिवको पकनाजोल र चेतको पाटनढोकाको कोठामा धेरैपटक जम्मा भएका छौँ । चेतनाथ त लन्डनमै बसोबास गर्छन् । बेलाबखत भेटघाट र फोन हुन्छ । शिवलाई नेपाल जाँदा प्रायः भेट भइरहन्छ । उनीहरु दुवै जना नेविसंघमा, म अखिलमा थिएँ तर मिल्नचाहिँ मिल्थ्यौँ ।

श्याम मास्केको बुबा कुवेर मास्के चौतारा अदालतमा हुनुहुन्थ्यो । हामी ५/६ कक्षामा सँगै पढेका थियौँ । झोंछेमा बस्थ्यो ऊ, कहिलेकहिले म त्यहाँ पनि बस्ने गरी जान्थेँ । अहिले फोनमा सम्पर्क भइरहन्छ । नेपाल जाँदा ऊ काठमाडौं आएको समयमा हाम्रो भेट भइरहन्छ । चौतारा नजिकै गिदानेका कमल मगर र ठूलो सिरुबारीका पूर्ण खवास पनि सँगै थियौ । अहिले वरिष्ठ अधिवक्ता भएका साथीहरुमा बालमुकुन्द जोशी, यदु खनाल, प्रेम सुवेदीसँग पनि सर्वोच्च अदालत जाँदा भेट भइरहन्छ ।

डा. निर्मला, अनिता दिदीसँग कलेज सञ्चालन गर्दा भेट भयो । बाग्लुङकै भएको हुँदा मिनुले पनि चिनेको रहेछ । ऊ दिदी भन्थ्यो । नरेन्द्रप्रशाद छत्कुल्लीसँग चाहिँ सम्पर्क हुन सकेको थिएन । हालै भएको नेपाल बारको निर्वाचनमा सर्वोच्च अदालतमा जम्काभेट भयो र सम्झना स्वरुप एउटा तस्बिर पनि खिच्यौँ । राजेन्द्र सुनुवारलाई सम्झिरहन्थेँ । उनी सेनातिर लागेका छन् । देखभेट सम्पर्क हुन सकेको छैन । फेसबुकमा हेर्ने गर्छु । लमजुङका गुणराज घिमिरेजीसँग पनि राम्रो उठबस थियो । काठमाडौं जाँदा म सधंै सर्वोच्चमा पस्ने गर्छु । हाम्रो प्रायः भेट भइरहन्छ । म्यासेन्जरमा पनि सम्पर्क भै रहन्छ ।

रामकृष्ण तिवारी पछि चौतारामा कृषि कार्यालयमा जेटीए भएर गएका थिए । सँगै राजनीति गर्ने हुँदा पछिसम्म पनि सम्पर्कमा थियौँै हामीहरु । राजनीति शास्त्रमा स्नातकोत्तर गर्दा उनीसँग थुप्रै नोट लिएको थिएँ । मलाई गोर्खा कलेजमा पढाउन जाने प्रस्ताव दिलीप देवकोटाजीबाट आएको थियो तर मैले रामकृष्णजीलाई भनेको थिए र उहाँ जानुभयो । जनयुद्धको समयमा त्यहीबाट पक्राउ परेर जेल पर्नुभएको रहेछ । काभ्रेबाट बिजुली श्रेष्ठ पनि थिए उनीसँग पनि नजिक थिए तर खासै भेट भएको छैन । एकपटक केशवजीले फेसबुकमा फोटो राखेको देखेको थिए । शम्भु निरौलासँग धेरैपछि सुजित श्रेष्ठजीले अनुपम फुडल्यान्डमा बोलाउदा त्यहीँ भेट भएको थियो । दुवैले पुराना दिनको स्मृति निकाल्यौँ र रमाइलो गरेका थियौँ।

दांगका सुरेश श्रेष्ठ र संखुवासभा चैनपुरका रोजेश शाक्यसँग पनि राम्रै उठबस थियो तर त्यसपछि हाम्रो भेट भएको छैन । मुकुन्दजी उर्जा मन्त्रालयमा काम गर्ने रहेछन् । जनार्दन शर्मा उर्जामन्त्री भएको बेला मन्त्रालयमा भेट्न जाँदा त्यहीँ भेट भएको थियो । उनी कलाकार पनि हुन् । जीरे खुर्सानीमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अरुण तिवारी जो स्थापित गीतकार भएका छन् ! २ पटक फोनमा कुरा भएको

थियो, भर्खरैमात्र नेपाल जाँदा धोबीधाराको बाटोमा जम्काभेट भयो र चियापान गरी अतीततर्फ फर्केका थियौँ । काठमाडौंकै राजु शाहीसँग हामी एउटै समूहमा थियौँ । शाहीजी अब्बल दर्जाको नाट्य निर्देशक भएर ख्याति पाइरहेका छन् । जुन त लग्यो ताराले, गीत उहाँले निर्देशन गरेको हो, अरु धेरै गीत पनि हिट भएका छन् ।

मैले केही समय अगाडि आईएल २०३९/४१ समूहका साथीहरुको एउटा फेस बुक ग्रुप बनाएको थिएँ । यही ग्रुपमा मैले माथि लेखेको लेख राखेको थिएँ । केही साथीहरुको सुझावअनुसार मैले थप साथीहरुको फेस बुक पत्ता लगायर केही साथीहरु यो समूहमा थप गरेको छु । कति साथीहरु नाम बिर्सिसकेको तर फोटो देख्दा सम्झिन सजिलो भयो । रामेछापका दुर्ईजना साथीहरु रामहरि ढुंगेल र कुशश्री न्यौपाने नेविसंघमा अति नै सक्रिय थिए । पछि राष्ट्रिय राजनीतिमा पनि संलग्न भएको सुनियो । सिन्धुपाल्चोककै देवकी थापा पनि सँगै थियौँ, अहिले अमेरिका बस्ने गरेको सुनेको छु । भक्तपुरको सरस्वती सिंह राष्ट्रिय कला सँग्रहालय भक्तपुरको प्रमुख रहेको देखिन्छ । श्री सञ्जेलजी पनि जिल्ला अदालतको न्यायाधीश भएको रहेछ, अहिले सप्तरीमा कार्यरत रहेछ । अञ्जली खनाल, अमृता, सुनिता श्रेष्ठ, मोहनी, ज्ञान शोभा, बद्री श्रेष्ठ, शिवकुमार कँडेल, हरि चौधरी, प्रमोद, चन्द्रमणिलगायत धेरै साथीहरुसँग सम्पर्क हुन सकेको छैन ।

हामी आईएलमा अध्ययन गर्ने साथीहरुबिच भेटघाट गरौँ भनेर पटकपटक सल्लाह त ग¥यौँ तर अहिलेसम्म जुरेको छैन । सबै साथीहरुको व्यस्तता छ, कहिले म अरु भएर सोच्दा यस्तै अनुभूति आउँछ । बीएड र एमए कीर्तिपुरमा गरे तापनि नियमित कक्षा नगएकाले खासै
साथीहरु परिचय भएन । परीक्षा दिने समयमा केही समय कीर्तिपुर होस्टलमा नै बसियो । सामूहिक रुपमा गोरखाका बलराम मरहठ्ठा र
अर्को एकजना आँखा नदेख्ने साथी टेकनाथजीसँग तयारी गर्ने गरेको थिए । बेलायतमा एलएलएम गर्दा करिब २० जना थियौँ । दुर्ई जना बेलायतीबाहेक अरु सबै विभिन्न देश अमेरिका, क्यानडा, घाना, बेल्जियम, जर्मनी, नर्वे, क्यामरुन, टर्की, बुल्गेरिया, चाइना, मलेसियाका थिए । सिद्धार्थ भन्ने एकजना साथीचाहिँ भारतको थियो । ऊ होस्टलमै बस्ने भएको हुँदा केही दिन ऊसँगै बसेर पढियो । अहिले पनि बेलाबखत फेसबुकमा सम्पर्क हुन्छ । उनी हाल भारतमा राम्रै पेसा गरेर बसेका छन् । अरु दुर्ई/तीन जनासँग फेसबुकमा साथी छौँ, बेलाबखत हाईहेल्लो हुन्छ ।

स्कुलदेखि कलेजसम्मका साथीहरुको साथ नै मित्रताको जगजस्तो हुने रहेछ । जीवनमा अरु नयाँ साथीहरु बाटोमा भेटिए पनि ती पुराना
साथीहरुको तृष्णा कहिल्यै नमेटिने खालको हुन्छ । केही साथीहरुले सधैंका लागि साथ छोडेर जानुभयो तर उहाँहरुसँग जोडिएका स्मृति
सहयात्री भइन्जेलसम्म यही रहिरहने छन् । कहिल्यै तृप्त नहुने सम्बन्धको सुगन्ध उडाइरहने छन् ।

(प्रस्तुत सामग्री गैरआवासीय नेपाली अभियन्ता सुरेन्द्र श्रेष्ठद्वारा लिखित तथा रंग नेपालद्वारा प्रकाशित ‘मेरो आधा शताब्दी ‘को बाल्यकाल र विद्यालय जीवन शिर्षकबाट लिइएको हो ।)

वि.सं.२०७६ पुस १८ शुक्रवार १७:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...