८ माघ, काठमाडौं । तीन उखु मिलको आर्थिक कारोबार रोक्का हुने भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको रकम भुक्तानी नगर्ने मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रचार गरेको छ । उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक कारोबार रोक्न गर्न पत्राचार गरिएको मन्त्रालयले जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न तथा उनीहरुमाथि अनुसन्धान गर्न आन्तरिक राजस्व विभागमा पत्राचार गर्ने निर्णय गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले ती उद्योगहरु मन्त्रालयको सम्पर्कमा नआएकाले आर्थिक कारोबार रोक्का गर्न पत्राचार गर्ने जनाएको हो ।
मन्त्रालयको मध्यस्थतामा भएको सहमति अनुसार उखु किसानसँग यी मिलले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम बुझाउने सहमति गरेका थिए ।
अन्नपूर्ण र इन्दिर सुगर मिल राकेश अग्रवालको हो भने लुम्बिनी सुगर मिल्स मनिष अग्रवालले लिजमा लिएर सञ्चालन गरिरहेका छन् । मनिष अग्रवालको मृत्यु भएकाले उक्त उद्योग हाल कसले सञ्चालन गर्छ भन्ने विषयबारे नै मन्त्रालय बेखबर रहेको छ ।
यस्तै उद्योग तथा आपूर्ति मन्त्रालयले बुधबार नै गृह मन्त्रालयलाई चिठी काटेर सम्पर्कमा नआएका उद्योगहरुलाई सम्पर्कमा ल्याइदिनका लागि आग्रह समेत गरेको छ ।
वि.सं.२०७६ माघ ८ बुधवार १६:४५ मा प्रकाशित