हाम्रो शरीर जति अक्कड वा रिजिड हुन्छ त्यति हाम्रो दिमाग र सोच अक्कड हुन्छ । हठयोगले शरीरलाई लचकदार बनाउछ । फलस्वरूप दिमाग र सोच पनि लचकदार बन्छ । कुनै कुरालाई त्यसको सत्य र यथार्थमा देख्न सकियो भने मात्र त्यसबारेमा सही समाधानका उपाय निकाल्न सकिन्छ ।
के तपाई पलेटी मारेर आधा घंटा चुपचाप आँखा चिम्म गरेर ध्यानमा बस्न सक्नुहुन्छ ?
के तपाई उभिएर कुप्रिदा घूँडा नमोडी दुबै हातले दुबै खुट्टाका बूढी औला सजिलैसंग छुन सक्नुहुन्छ ? यदि सक्नुहुन्छ भने तपाईको शरीर, दिमाग र सोच पनि लचकदार छ, हैन भने अक्कड छ ।
शरीर र दिमाग बीचमा सिधा सम्बन्ध हुन्छ । त्यसैले हठयोग मार्फत शरीर मात्र हैन, सोच पनि सही र लचकदार बनाउन सकिन्छ ।
लचकदार दिमाग हुनेहरू बिषयलाई मर्ममैं प्रहार गर्ने तिक्ष्ण क्षमता राख्छन् । सही र सत्यको कठोर शब्द बाण हाने पनि ती मनमा भने शान्त र आनन्दित हुने गर्छन् ।
संस्कृत ग्रन्थका केही श्लोक दैनिक पाठ गर्ने हो भने मानसिक र शारिरीक धेरै रोगबाट स्वत ः मुक्त हुन सकिन्छ । भगवद गीता, रामायण, महाभारत, वेदका श्लोकहरू मन्त्र हुन् । मन्त्र भनेको जिवनउर्जा प्रणालीलाई सक्रिय बनाउने खास उद्देश्यबाट रचित ध्वनियुक्त वाक्य हुन् । बिज्ञान र प्रविधि भएकोले मन्त्रको अर्थ बुझिरहनु पर्दैन ।
तर, प्रभावकारिताका निम्ति मन्त्रोच्चारण शुद्ध हुनुपर्छ । मन्त्र भनेको ध्वनि भौतिक बिज्ञान र प्रविधि हो । मन्त्र विभिन्न उपयोगी ध्वनिका खास अक्षरहरू संयोजन गरेर निर्माण गरिने हुनाले त्यसको असर पनि त्यही अनुसारका उद्देश्य प्राप्तिमा पर्छ । जसरी बिज्ञानका कसैले कुरा बुझे पनि, नबुझे पनि त्यसको असर जहिलै पनि त्यही हुन्छ, कुनै फरक पर्दैन, त्यही मन्त्र बिज्ञानमा पनि लागू हुन्छ । तर मन्त्रको अर्थ पनि बुझियो भने मनमा सकारात्मक भावना र विश्वास जाग्ने र त्यसरी मन्त्रोच्चारण गर्दा मनमा मिठास आउने हुनसक्छ । तर मन्त्र नबुझी पाठ गरे पनि असर उही हुन्छ ।
त्यसकारण, मन्त्र भनेको बिज्ञान र प्रविधि भएकाले बिश्वका जताका, जुन भाषा, धर्म, संस्कृति वा आस्थाका मानिसले पनि संस्कृत मन्त्रोच्चारण गरेर लाभ लिनसक्छ । मन्त्र संस्कृत भाषामा मात्र हुन्छ ।
उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्