back

धेरैपटक स्वस्थानी सुन्ने मान्छे मै हुँ-यसोदा सुवेदी, सांसद नेकपा

वि.सं.२०७६ फागुन १ बिहीवार

135 

shares
NTC AD
Global IME AD

मंगलबारको संसद बैठकको सून्य समयमा बोल्ने क्रममा नेकपा नेतृ तथा सांसद यसोदा सुवेदीले स्वस्थानीको पाना च्यातिनुपर्ने भनाई राखेपछि सामाजिक सञ्जालमा उनीविरुद्ध चर्को आलोचना भएको छ भने कतिपयले उनको भनाईप्रति समर्थन पनि जनाएका छन् । सुवेदीले छाउगोठ भत्काएर मात्र नहुने भन्दै त्यस्ता कुरिती अनि अन्धविश्वास चिर्न जनचेतना आवश्यक रहेको बताएकी थिइन् । सोहि सन्दर्भमा उनले स्वस्थानी, पञ्चमी कथा लगायतका धार्मीक पुस्तकहरुले अन्धविश्वास फैलाएको भन्दै उक्त पुस्तकहरुका केहि पाना च्यात्न आवश्यक रहेको बताएकी थिइन् ।
सोहि कुरालाई लिएर उनको विरोध भइरहेको विषयमा संसारन्युजले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईले संसद भवनमा बोल्नुभएको कुराको किन यति विवाद गरियो, के भन्न खोज्नुभएको थियो ?
मैले बोलेको विषय त्यति धेरै विवादित हुनुपर्ने विषय जस्तो त लाग्दैन । फेरि पनि धार्मिकरुपमा जोडेर त्यसलाई विवादमा ल्याउने प्रयत्न गरेको महसुश मलाई भएको छ । धर्मको नाममा उत्पीडनको खेती गर्नेहरुले यसलाई विवादमा ल्याउन चाहेका हुन् ।  मंगलबारको शून्य समयमा ३ वटा कुरा मैले उठाएकी थिए । पहिलो कुरा सरकारले छाउपडि प्रथाजस्तो कुप्रथा हटाउन छाउगोठ भत्काउने अभियान चलाएको थियो । मैले त्यो काम स्वागतयोग्य छ, भनेको थिएँ । दोस्रो कुरा मैले छाउगोठ भत्काएर मात्र छाउपडि प्रथा अन्त्य हुँदैन भन्ने विषय राखेको थिएँ । छाउ एउटा संस्कार हो । यो संस्कार नेपालभर कुनै न कुनै रुपमा प्रचलनमा छ । यस्को अन्त्य गर्न मान्छेहरुमा जनचेतनाको अभियान आवश्यक छ भन्ने कुरा मैले राखेको थिएँ । मान्छेको मन मस्तिस्कमा भएका छाउ र छुवाछुतलाई पनि हटाउनुपर्छ भन्ने मेरो भनाई हो । यस्मा कतिपय धार्मिक संस्कारले पनि प्रसय दिएका छन् । धर्म संस्कारले धेरै आशंका पैदा गराईरहेको छ । छाउपडि पनि धर्मकै कारण कायम भैरहेको छ । धार्मिक पुस्तकहरुमा छाउपडि बारे यस्तो हुन्छ, त्यस्तो हुन्छ भनिएकोले मान्छे डराएर यो प्रथालाई कायमै राखेका छन् ।

धर्मकै डरले महिलाहरुले गाईले खाने घाँस काट्ने तर गाईको दूध नखाने गर्न बाध्य भए । धर्मका नाममा हाम्रा केहि संस्कार कुसंस्कार भएका छन् । गाउँमा मात्र हैन सहरमा पनि यस्ता कुसंस्कार कायमै छन् । हिजो राजधानीकै घटना हेर्नुहोस् न । अर्जुन कार्कीको श्रीमती महिनावारी भएकोले श्रीमानसँगै मन्दिर जान पाउनु भएन, त्यहि बेला उहाँको हत्या भएछ । कतै न कतै यहि कुसंस्कारको शिकार उहाँ हुनुभएको त होइन भन्ने पनि लाग्छ । यदि उहाँ जान पाउनु भएको भए यस्तो घटना हुन्थेन कि !

महिला उत्पीडन हुने यस्ता संस्कारहरुको अन्त्य गर्नुपर्छ । त्यसमा नाम लिने क्रममा मैले स्वस्थानी र ऋषि पञ्चमीको कथाको नाम लिएकी थिएँ । यी दुई कथामा महिलालाई धेरै नै अपमान भएको महशुस मैले सानै उमेरदेखि गर्दै आएको गरेकै हो । यस्ता कथाहरु जसले महिलालाई अपहेलना र तिरस्कार गरेर आउँछन्, यस्ता कुराहरु हटाउँ, यस्ता चिज परिवर्तन गरौं, च्यातौं भन्ने सन्दर्भमा मैले विषयको उठान गरेको हो । शदियौं पहिलेको समाजमा यस्ता कुरा पाच्य थिए होलान् तर अहिलेको समाजमा यो कुरा महिलाको सामाजिक र आर्थिक विकास हुन नदिनु हो । नेपाली जनमानसमा पनि घर–घरमा भनिने र सुनिने यस्ता स्वस्वाथी ब्रतकथाहरुबाटै समाज बढी प्रभावित हुने भएकाले यसभित्र रहेका समाजलाई अपाच्य हुने र २१ औं शताब्दिका महिलालाई तल पार्ने विषयवस्तु हटाइनु पर्छ भन्न खोजिएको हो ।

धर्मको विषयमा तपाईको धारण के हो ?
व्यक्तिगत कुरा गर्नुहुन्छ भने म कुनैपनि धर्म मान्दिन । माक्र्सले धर्म एउटा अफिम हो भन्नुभएको थियो । माक्र्सको कुरामा म सहमत छु । तर समाजमा धर्मप्रति मान्छेका आस्था छन् । त्यसैले मान्छेका व्यक्तिगत आस्थामाथि प्रहार गर्ने मेरो सोच हुँदै होइन । अरुको आस्थाको सम्मान गर्दागर्दै मैले मेरो स्वतन्त्रताको पनि रक्षा गर्नुपर्छ । धर्मकै कारण म कहाँनेर पीडित भए भन्ने कुरा मैले खोज्नुपर्छ अनिे म जस्ता लाखौं करोडौं महिलाको स्वतन्त्रताको रक्षाको कुरा पनि हो । उनीहरुको अस्तित्व रक्षाको कुरा हो । उनीहरुको स्वाभिमानको रक्षाको कुरा हो । उनीहरुको अस्तित्व, स्वाभिमान र स्वतन्त्रता कहाँबाट मिचिइरहेको छ भन्ने कुरामा सामाजिक उखान टुक्काको कुरा, सामाजिक प्रचलनको कुरा, कथा परम्पराका कुराहरु आउँछन् । यीनै कुरामध्ये हिजो मैले एउटा कुरा बोलेको हुँ ।

तपाईले हिजो बोलेको विषयलाई लिएर कतिपय महिलाअधिकारकर्मीहरुले पनि विरोध जनाउनुभयो नी ?
कस्ले कसरी विरोध जनाउनुभयो सबैको कुरा त मैले हेरेको छैन, सुनेको छैन । हिजोको विषयलाई कसैले ठाडै विरोध गर्नुभएको छ भने त्यो विरोधको लागि विरोध मात्र हो । महिला आन्दोलनसँग त्यो विरोध मिल्दैन । महिला आन्दोलनको मर्म भनेको सामन्ती पितृसत्तावादी उत्पिडनबाट मुक्त गर्ने भन्ने हो । सामन्ती पितृसत्ताबादी उत्पिडनको रुप बिभिन्न प्रकारका छन् । त्यसको जरो किलो नउखेलेसम्म महिला मुक्ति सम्भव छैन । सामान्तबादलाई प्रोत्साहन गर्नेखालका धार्मिक संस्कृति हाम्रोमा व्याप्त छन् । धार्मिक खोलभित्र रहेका सामन्ती र पितृसत्ताबादी सोच चिन्तन प्रवृत्तिहरु छन् । वेदमा भएका कतिपय विषयहरु दैनिक जीवनमा सकारात्मक असर पार्ने खालका पनि छन् त्यसलाई म मान्छु । तर बैदिक काल पछाडि पौराणिक कालहरु जो जोडिदै आए बेदका राम्रा विषयलाई छोप्ने प्रयासहरु भए । महाभारत, रामायण गीतमा एउटा कालखण्डको कथा छन् । तर स्वस्थानी ब्रतकथामा एउटै कथाकाल पनि भेटिदैन । शिव र सतिदेविको कथा पनि छ, विष्णु र पार्वतीको कथा पनि छ त्यसपछि लाभन्य देशको कथा पनि त्यसमा जोडिएर आउँछ । सतिदेवीको कुरा गर्दा साँखु र शालिनदीको कुरा आउँछ । शालीनदी त हदै भए किराँतकालको कुरा हो । त्यो भन्दा अगाडि त त्यस्तो शहरीकरण भएको हामीले भेट्टाउदैनौं ।

स्वस्थानी काल्पनिक हो भन्न खोज्नुभएको ?
त्यसो पनि नभनौं । स्वस्थानी ब्रत कथा हिन्दु धर्ममा सबैभन्दा पछाडि लेखिएको कथा हो । बिभिन्न कथा कुथुंग्री जोडेर बनेको कथा संग्रह हो स्वस्थानी । धेरै पछाडिका कथाहरु त्यसमा जोडिएका छन् ।

पछिल्लो कथा स्वस्थानी हो भने त त्यो सबैभन्दा बढी प्रगतिशिल हुनुपर्ने होइन र ?
हो । हुनुपर्ने प्रगतिशिल हो तर त्यो समयमा सामान्ती पितृसत्ताबादी उत्पीडनको उत्कर्षमा पुगेको बेलामा बनेको कथा भएको हुनाले सबैभन्दा धेरै महिला उत्पिडनको कथा छ । बाल विवाहलाई पनि त्यसले बैधानिकता दिएको छ । बलात्कारलाई पनि प्रश्रय दिएको छ । अनमेल विवाहलाई पनि प्रश्रय दिएको पाइन्छ ।

तपाईलाई क्रिश्चियनहरुले उचालेको भन्ने पनि आरोप लगाईएको छ नी ?
यो त हद दर्जाको आरोप भयो । विषयबस्तुको गहिराईमा नपुग्ने, सत्य र तथ्यको आधारमा आँकलन नगर्ने, अनुमानका भरमा मनपरि बोल्ने । लोकतन्त्रको स्वतन्त्रता दुरुपयोग गरेको अनुभूति भैरहेको छ मलाई । क्रिश्चियन समुदायसँग यस्को कुनै साईनो सम्बन्ध छैन । व्यक्तिगत हिसावले भन्नुपर्दा धार्मिक रुपमा जुनसुकै धर्मलाई म अफिमको रुपमा लिन्छु । तर धर्म निरपेक्षतालाई हाम्रो संविधानले स्वीकार गरेको छ । मैले पनि सबै धर्मावलम्बीहरुलाई सम्मान गर्छु ।

संसदमा तपाईले बोलेकै विषयलाई लिएर तपाईलाई कुनै धम्की या फोन आएको छ ?
फोन नै आएको त छैन । फेसबुक लगायतका सामाजिक सञ्जालमा धेरै नै विरोध गरेको देखेको छु । एकजनाले त कुकुर्नी नै भन्नुभएको रहेछ । त्यो पनि स्वस्थानीकै प्रभाव हो भन्ने मेरो बुझाई छ । ‘पतिलाई ढाँटेर खायो भने कुकुर्नी हुन्छे, बचन लाए लाटी हुन्छे’ भन्नेजस्ता प्रसङ्ग छ नी त स्वस्थानीमा ।

सत्य बोल्दा असत्यको तुवाँलोमा रमाएकाहरुले विरोध गर्दा रहेछन् । हिजो पृथ्वी गोलो छ भनेर ग्यालिलियोले व्याख्या गर्दै गर्दा एकथरीले पागल भएको संज्ञा दिएका थिए । सत्य बोल्दा शुकरातले विष पिउन परेको सत्य पनि हाम्रो सामु छ । अहिले मैले पनि हिन्दु धर्मभित्र रहेका बिकृति र बिसंगतिहरु हटाउन माग गर्दा मेरो बिरोध गरिएको छ ।

तपाईले स्वस्थानी सुन्नुभएको छ ?
मैले यो वर्ष स्वस्थानी सुनिन । तर म दाबी गर्छु स्वस्थानीको ब्रत कहिल्यै नबसे पनि सबैभन्दा धेरैपटक स्वस्थानी सुन्ने मान्छे म हुँ । मेरो बुझाईमा स्वस्थानीमा सकारात्मक पक्ष उल्लेखनिय छैनन् । सतीदेविको अंगहरु पतन भएका स्थानहरुलाई तिर्थस्थलको रुपमा वर्णन गरिएकोले धार्मिक पर्यटकीय क्षेत्र बनेका छन् । त्यसलाई सकारात्मक रुपमा लिन सकिएला । स्वस्थानी कथामा नै एकजना विदेशीले पीएचडी गर्नुभएको रहेछ । उहाँले एक अन्तवार्ताको क्रममा नेपाली महिलाहरुले यति कठोर ब्रत कसरी गर्न सक्छन् भनेर प्रश्न उठाउनुभएको रहेछ ।

बेलुकामा समय बिताउनको लागि, मनोरञ्जनको लागि कथालाई ठीकै मान्न सकिएला । मान्छेलाई एकाग्र बनाउने र अनुशासित बनाउने विषयलाई सकारात्मक मान्न सकिन्छ । मेरो विरोध चाँही के मा हो भने स्वस्थानी विधिको कुरा गर्दा ‘प्रसाद चाँही श्रीमान भए श्रीमान्लाई दिने, श्रीमान नभए छोरालाई खुवाउने, छोरा पनि नभए मित छोरालाई दिने र मित छोरा पनि नभए नदीमा बगाउने’ भनिएको छ । छोरीलाई पनि त खुवाउन सकिन्थ्यो होला नि ! छोरी पनि आफ्नै सन्तति हो । छोरी छैन भने आफै पनि खान सकिन्थ्यो । आफूले मेहनत गरेर बनाएको प्रसाद खोलामा किन बगाउनु पर्यो ? छोरीलाई नदिईकन, आफू नखाईकन खोलामा बगाउने भन्ने कहाँको न्याय हो ?

दोस्रो कुरा त्यहाँ बृन्दाको प्रसंग छ । बृन्दाको श्रीमान् राक्षसी प्रवृत्तिको हुन्छन् । उनीसँग महादेवको लडाई हुन्छ । महादेवले मार्न नसकेपछि बुझ्दै जाँदा उस्को शक्ति बृन्दाको सतित्वमा रहेछ । श्रीमान्लाई हराउन बृन्दाको सतित्व हरण गर्नुपर्ने भन्दा विष्णु भगवानले रुप परिवर्तन गरेर बृन्दाको श्रीमान् जस्तै रुप धारण गरेर बृन्दाको सतित्व हरण गरेको छ । सतित्व हरण गर्नु भनेको त बलात्कार हो नि । यस्ले बलात्कारलाई प्रोत्साहन गरेको छ । त्यो त बदल्नु पर्यो नि ।

अर्को प्रसंग ७ वर्षकी बच्चीलाई ७० वर्षको बुढासँग विहे गरेको भनिएको छ । त्यसलाई पनि जायज रुपमा प्रस्तुत गरिएको छ । महिलालाई अपमानित गर्ने गरी प्रसंग त पटक–पटक आउछ । यस्ता प्रसंगहरु बदल्नु पर्छ । यस्ता प्रसंग नबदल्ने हो भने महिला आन्दोलनका कुरा गर्ने, महिला मुक्तिको कुरा गर्ने अनी हाम्रा संस्कार र संस्कृतिमा भएका कुप्रथा, कुप्रचलनलाई स्वीकार गर्ने हो भने हामी कसरी परिवर्तन हुन सक्छौं ? हाम्रा पछिल्ला पुस्तालाई पनि यो जस्तो छ त्यस्तै हस्तान्तरण गर्दै जाँदा यस्ले नेगेटिभ भाईव दिइ नै रहने भयो । मैले यस्लाई परिवर्तन गरौं भनेको हो । यस्लाई पनि विरोध गर्ने हो भने त छाउ गोठ भत्काउनुको पनि अर्थ भएन । महिला मुक्तिको कुरा गर्नुको पनि अर्थ भएन ।

अन्यमा तपाईको विरोध गरिरहेकालाई के भन्नुहुन्छ ?
बुझेर पनि बुझ पचाएर विरोध गर्नेहरुलाई त के नै भन्न सकिन्छ र । तर पनि यो बैचारिक वहश हो । यो वहशले लामै समय लेला । हिजो हाँस्नु हुँदैन नारीहरुले बेश्या हुने हाँस्दछन्, बेश्या ती नहुनन् सम्पूर्ण काम ती नाँस्दछन् भनेर कविता लेख्न रुचाउनेहरु पनि हाम्रो समाजमा छन् । नारीलाई दबाउनै पर्छ, थिचोमिचो गर्नु नै पर्छ भन्नेहरुले मेरो विरोध गर्छन् भने यो एउटा बैचारिक वहसको विषय हो । वहश गर्दै जाउँ भन्ने एउटा कुरा म राख्न चाहन्छु ।

धार्मिक रुपमै तपाईमाथि आक्रोशित हुनेहरुलाई के भन्नुहुन्छ ?
कतिपयलाई धार्मिक रुपले ठूलै आक्रमण भयो, क्रिश्च्यिानीटी हावी भयो भनेर साच्चै भित्रैदेखि पीडाबोध भएको छ भने वहाँहरुले एकपटक फेरि मैले बोलेका कुराहरु सुनिदिनुहुन म आग्रह गर्दछु । मैले कसैको धार्मिक आस्थामा आँच आउने कुरा गरेको छैन । महिला स्वतन्त्रतामा आँच पुग्ने गरी धर्मका नाममा कहि कतै प्रयोग भएका छन्, त्यसलाई बदल्ने कुरा मैले उठाएको छु । कमेन्ट र स्टाटसको आधारमै विरोध भैरहेको पनि मैले पाएको छु । सामन्ती राजतन्त्रको अन्त्य गर्यौं, सामन्तवादको पनि अन्त्य गर्नु जरुरी छ । यो पितृसत्ताबादको पनि जरोकिलो उखेल्ने अभियानसँग जोडिएको विषय हो । यस्लाई त्यहि भावनाका साथ वहशमा लैजाउ भन्न चाहन्छु ।

विषयलाई थोरै अतिरञ्जीत पनि बनाईयो । चौतर्फी तपाईमाथि आक्रमण पनि भैरहेको छ । तपाई हतोत्साहि त हुनुभएको छैन ?
हतोस्साही नै त भएको छैन । यो विषयले लामो वहशको माग गर्यो विषयलाई गहिराईमा गएर बुझ्नको लागि थप अध्ययनको पनि माग गर्यो । मैले कसैलाई व्यक्तिगत रुपमा आरोप लगाउने गरी विषय प्रस्तुत गरेको छैन । धार्मिक स्वतन्त्रता माग गर्नेहरुलाई मैले इंगित गरेको पनि छैन । मेरो स्वतन्त्रताको रक्षा गर्ने अधिकार मलाई पनि छ ।

सांसदमा उनले भनेको कुरा जस्ताको तस्तै :
‘छाउपडी जस्तो कुरिता र कुसंस्कार हटाउन नेपाल सरकार गृहमन्त्रालयले छाउगोठ भत्काउने अभियान चलाएको छ, यो स्वागतयोग्य कुरा हो । सदियौंदेखि नेपाली महिलालाई जकडेर राखेको कुरीति भत्काउन छाउगोठ भत्काउनुमात्र पर्याप्त हुँदैन, ‘बारीका ढिक भत्काएर छाउगोठ भत्काएर मात्र के गर्नु ? मान्छेको मन मष्तिस्कबाट भत्काउन जरुरी छ । के गाउँ, के शहर, के पूर्व के पश्चिम सबैतिर कुनै न कुनै रुपमा छाउ संस्कार हटाउन सरकार, जनप्रतिनिधि, नागरिक समाज सबैको संयुक्त प्रयास र शसक्त अभियानको खाँचो छ, जसले छाउपडीसँग जोडिएर आउने हाम्रा धार्मिक अन्तविश्वास भत्काउन सकोस् । छाउ जस्ता परम्परा र संस्कारलाई मजबुत पार्ने स्वस्थानी ब्रतकथा र ऋषि पञ्चमी कथाका पन्नाहरु च्यात्न सकोस्, तसर्थ म सम्माननीय सभामुखमार्फत सरकारको यसतर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।

वि.सं.२०७६ फागुन १ बिहीवार १४:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD