Sansar News- Nepal's Fast Khabar Online News Portal

लघुकथा : ग्रहदशा

कान्छा तिवारी
१ महिना पहिले
लघुकथा : ग्रहदशा

एक दिनको कुरा हो, म वसयात्रा गर्दै काठमाडौं गएँ । राजधानीको व्यस्त मुटु बागबजारमा झरेँ ।
बटुवा हिँड्ने फुटपाथ सबै ओगटेर पसलेहरू ग्राहक तान्न हातमा सामान देखाउँदै भट्याइरहेका थिए । कोही त बटुवाको हातै समातेर सामान थमाउन पनि खोज्दै थिए ।

बागबजारको भीड छिचोलेर बल्लतल्ल रत्नपार्क पुगेँ । त्यहाँको फुटपाथमा पनि पसलेहरूको त्यही चर्तिकला थियो ।
आजकल रत्नपार्कस्थित फुटपाथका बजारमा मालसामानका साथै मानिसहरूका शरीर पनि विक्री हुन्छ भन्ने सुनेको थिएँ, आफ्नै आँखाले देख्न पाएँ । मान्छेको रोजाई पछि गरिएका मोलमोलाइका दृष्यले मलाई पनि केहीक्षण रोक्यो । म टक्क रोकिन पुगेँ ।

त्यसैबेला एउटी अधबैंसे महिलाले मलाई नै नियाल्दै थिइन् । हामी दुबैको आँखा जुध्यो । उनले आँखा झिम्काउँदै आँखैका भाखाले केही इसारा गरिन् । आफू साधीसुधा सरल मान्छे । उनलाई कर्के नजर लगाउँदै त्यहाँबाट तर्किएँ ।
मनमा अनेकन कुरा खेलाउँदै म वीर अस्पताल नजिक पुगिसकेछु । त्यहाँ रुखमुनि बसेर मलाई नै हेरिरेका एक ज्योतिषसँग मेरा आँखा जुध्न पुग्यो । म उनी सामु पुगिसकेको थिएँ ।

‘यहीँ टुसुक्क बस्नुस् ’ ज्योतिषले अनुरोध गरे । उनैको सामुन्ने म टुसुक्क बसेँ । हामी दुबैको भलाकुसारी शुरु भयो ।
‘मेरो हात हेर्नुहुन्छ ?’ मैैले प्रस्ताव राखें ।

‘हेर्छु, के-के हेर्नुहुन्छ ? बाबु तपाईंको वर्तमान, भूत, भविष्य सबै हेर्छु । भन्नुहोस्, के के हेरौं बाबु ?’ नम्र भावमा उनी बोले ।
‘कति पैसा लिनु हुन्छ ?’ मैंले सोधेँ ।

‘धेरै त हैन बाबु, सय-पचास लिन्छु । खुसी भएर दिँदा जति पनि हात थाप्छु ।’

मैले हात देखाउने बिचार गरेँ । किन धेरै पैसा खर्च गर्नु भनेर पचासको नोट उनको हातमा थमाउँदै दाहिने हात पसार्दै भने, ‘लौ हेर्नुहोस् मेरो वर्तमान, भूत र भविष्यका सबै कुराहरू बताइदिनूस् ।’

उनले पचासको नोट ज्वारीकोटको भित्री बगलीमा हाल्दै सोधे, ‘बाबुको न्वारनको नाम के हो ?’
मैंले आफ्नो नाम बताइदिएँ ।

‘बाबुको नाम अनुसार धनुराशी रहेछ, बाबुले हानेको तिरको निशाना फरकै पर्दैन तर अरुले हानेमा चाहीँ यसै भन्न सकिन्न है …,’ भन्दै उनले मेरो भूत, वर्तमान र भविष्यका भए नभएका सबै कुराहरू गोलमटोल पारेर एकोहोरो भट्भट्याउन थाले । कुनै कुरा मिल्ने, कुनै छेउटुप्पो नै नमिल्ने । उनले मेरो तीनलोक चौध भुवन नै देखेसरी अनेकन कुराहरू भनिरहे, म एकोहोरो सुनिमात्र रहेँ ।

उनले मेरो हात समाउँदै करिब १०\१५ मिनेट एकोहोरो फलाकेरै बिताए । दाहिने हातको पालो सकेर मेरो देब्रेहात समाउँदै निधारमा केही चाउरी पार्दै फेरि भन्न थाले :

‘बाबु तपाईंले लाखै गरेर, आफ्नो टाउकै काटेर, गर्धनै ओछ्याएर, आफूले कमाएको सारा धनसम्पत्ति बुझाउँदा पनि चित्त बुझाउन भने सक्नु भएको रहेनछ । ग्रहदशा अति नै लागेका रहेछन् । राख्नु हुन्न है यस्ता ग्रहदशालाई, यसो पन्छाउने कि, कसो गरौं बाबु ?’ उनले सोधनी गरे ।

पैसा झार्ने उनको जुक्ति सुनेर मेरो मनमा झनक्क रिस उठ्यो । म जुरुक्क उठेँ ।

‘ज्योेतिष बा ! तपाईंले भनेको सबै कुराहरू सुनेँ । दिनहुँ धेरै मान्छेका वर्तमान, भूत, भविष्यको बारेमा तपाईं यहीँ बसेर बताउनु हुन्छ, अव मलाई पनि भन्नूस्, तपाईंको वर्तमान, भूत भविष्यका कुन चाँही ग्रहदशाले गर्दा आज तपाईलाई यहाँ ल्याइ पु¥यायो ? कहिल्यै आफ्नो हातमा ग्रहदशा हेर्नु भाको छ ? यस्तो पाराले कसरी पेट पाल्नु हुन्छ ?’ मैंले झनक्क उठेको रिसलाई प्रश्न गरेर पोखेँ ।

उनी केहीबेर भावुक भए । मेरो अनुहारमा राम्ररी हेरेर गलामा लगाएको रुद्राक्षको माला समाउँदै, ‘बाबु, मेरो घाँटीमा रुद्राक्षको माला छ, आफ्नो बारेमा ढाँटी कुरा किन गर्नु र मैंले ।

लौ सुन त बाबु, मेरो रामकहानी । मेरा वर्तमान र भविष्यको बारेमा अहिले नै धेरै कुरा नगरौं, विगतमा अनगिन्ती भूतहरूले मलाई अति नै सताएका थिए । तर एउटी भूतिनीले भने अझै पनि पिछा छाडेकी छैन बाबु, उनी यतै रत्नपार्कमा आँखा झिम्काउँदै विचौलियाको काम गर्छिन् । म पनि यही रुखमुनि बसेर अरुको जोखना हेर्दै कमाउने गर्छु । हरेक साँझ आफ्नो सबै कमाई उनैलाई बुझाउँदा पनि उनको पापी मनपेट बुझाउनै सक्तिनँ । यो हन्तकाली सहरमा हामी दुबैले जति कमाए पनि न त उनलाई त्यो रत्नपार्कले छोड्न सक्यो न त मलाई यो रुखको फेदले नै छोड्न सक्यो । मेरो यही पापी पेट पाल्न धन कमाउने तिर्सनाले मलाई दिनहुँ यही रुखमुनि पछारिरहेछ बाबु ।’ यति भनिसकेर सुस्ताउँदै उनी टोलाउन थाले ।

‘धन्य ज्योतिष ! अघि ति आँखा झिम्क्याउने ताउलीबाट उछिट्टिएर कसो म उनकै ग्रहदशाको भुङ्ग्रोमा परिनँ । बल्ल बुझेँ आफ्नै दशा कहँदै यी ज्योतिषले पेट पालेका रहेछन् ।’ सोच्दै यो मनले उनलाई धन्यवाद दियो ।
ज्योतिष पुनः अर्को ग्राहकको खोजिमा सडक पेटीमा आँखा दौडाउन थाले । उनलाई त्यहीँ छोडी म आफ्नो गन्तव्यतिर लागेँ ।

शङ्खरापुर नगरपालिका -४, फेदी, काठमाडौं

सर्बाधिक पढिएको

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना

प्रधान सेनापति छात्रवृत्ति सम्बन्धी सूचना ३ हप्ता पहिले | संसार न्यूज़

२४ फागुन, काठमाण्डौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालय वलाध्यक्ष…

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश २ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) ५ दिन पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल ६ दिन पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…