मरे मान्छे हैजा भनिकन कठै धेर पहिले
चिनीकै रोगैले पनि कति मरे हेर पहिले
दुखी छाती खोकी दम र टिबिले मार्दछ अझै
उता अर्बुदैले पनि त लुटिए प्राण सहजै (१)
थिएनन् क्यै किल्ली पिडित सबको खत्तम जुनी
भनी भन्थे मान्छे अब त छ यहाँ औषध गुणी
कहे दैवी लीला सबतिर उही नित्य पहिले
चिकित्साको शिक्षा जनजन पुगे ढुक्क अहिले (२)
कतै सुन्दा मान्छे खुरुखुरु मरे “सार्स छ” कडा
कतै मैथुनैको क्षणिक सुखको एड्स खतरा
थियो त्यस्तै डेंगी मरणसरिको साधन बनी
पसेका ‘फ्लू’ धेरै नियमन भए निर्बल बनी (३)
मरे मान्छे त्यस्तै दशक पहिले “मर्स” भनिने
कडा थ्यो लाग्दैमा मरण उसको निश्चित हुने
लडे मान्छे आफैं सजगसँगले नित्य उभिए
अहिले देखिन्नन् प्रकृति यिनका निर्मुल भए (४)
लियो कोरोनाले मुलुक मुलुकै ज्यान अहिले
कतै छैनन् ऐले नियमन गरौँ भन्न सजिलै
लडाईं मान्छेले निडरपनले गर्नुछ यहाँ
र भोग्ला कोरोना नसिब उसको दुर्गति जहाँ(५)
नोट:
[सार्स = SARS Corona Virus = Severe Acute Respiratory Syndrome = 2003 China = २४ मुलुक = ७७४ मृत्यु = १५ महिना अवधी = त्यसपछि देखिएन
मर्स = MERS Corona Virus = Middle East Respiratory Syndrome = 2012 Saudi Arabia = २७ मुलुक = ६ वर्ष = ७२० मृत्यु = camel flu पनि भनिने = अहिले छैन ]