Sansar News- Nepal's Fast Khabar Online News Portal

चिन्ता गर्नु पर्दैन प्रभो ! यो ‘कोरोना’ नारायणास्त्र जस्तै हो

संसार न्यूज़
२ हप्ता पहिले
चिन्ता गर्नु पर्दैन प्रभो ! यो ‘कोरोना’ नारायणास्त्र जस्तै हो

चिन्ता गर्नु पर्दैन प्रभो ! यो ‘कोरोना’ नारायणास्त्र जस्तै हो । जसरी नारायणास्त्रले अस्त्रधारीको विरूद्धमा हतियार लिएर बसेका सबैमाथि अग्नि वर्षागरि भष्म गर्ने सामर्थ राख्थ्यो तर हतियार नबोकेकालाई केहिँपनि गर्दैनथ्यो। त्यसैगरि कोरोनाले पनि सम्पूर्ण मानवलाई नै ध्वस्त गर्दैन । यदि मानव यो अस्त्र छोडेको बेला सबै कुरा छोडेर एकान्तवासमा रहन्छ र सामाजिक दुरी कायमगरि आत्मानुशासनमा बस्छ त्यसलाई केही हुने छैन । यो कुरा मानव आफैले पत्ता लगाउनेछ र कयौं देशमा लकडाउन र प्रतिबन्धहरु लाग्नेछन् ।

साह्रै कष्ट भएपछि एकदिन पृथ्वी भगवानको दर्शनपनि गरू र मौका मिलेछ भने आफ्नो गुनासोपनि पोखुँ भनेर वैकुण्ठतिर लागिन् । बैकुण्ठमा भगवान क्षीरसागरमा शेषको शैय्यामा आराम गरिरहनु भएको थियो । पृथ्वीले भगवानलाई दण्डवत प्रणाम गरिन् र भगवान नजिक रहेको एउटा आसनमा बसिन् । पृथ्वीलाई देखेर भगवान तीन छक्क पर्नुभयो ।

भगवान् के भयो पृथ्वी ? मलिन र जिर्ण पो भइछ्यौ । तिम्रो त्यो सुन्दर स्वरूपलाई के भयो ? जताततै घाउ नै घाउ, जताततै चिरैचिरा, डुङ्ग गन्हाएकी, किन एस्ति मैली, निन्याउरी, निकै डराएकी पनि देखिन्छ्यौ ?

पृथ्वी ! खै प्रभु । आजकल शरीर एकदम तातो हुन थालेको छ जसले गर्दा हिउँ पग्लिने क्रम बढेको छ फलस्वरूप नदि उर्लिएर कहिलेकाहीँ थेग्न नसकिने बन्छन र ताण्डव समेत मच्चाउछन् तेतिबेला पनि मलाई साह्रै कष्ट हुन्छ । उद्योग कलकारखानाबाट निस्केको प्रदुषित ग्यासले मलाई सास फेर्न पनि गाह्रो भैरहेको छ । वेलामा थरथर कम्पनपनि हुन्छ । खै केले हो कुन्नि शरीरनै चिथोरिरहेको को जस्तो भान हुन्छ । मेरा केश (वनजंगल) जथाभावी फडानी भइरहेको छ जसले मलाई कुरूप र रुग्ण बनाइदिएको छ । शरीरको कुनै अंगमा सञ्चो छैन । मेरो उर्वरा शक्तिपनि धेरै घटेको छ । म रोगी भएकि छु प्रभो ।

भगवानले पृथ्वीलाई नियालेर हेर्नुभयो पृथ्वीको अवश्था ज्यादै दयनीय र जर्जर देखेर द्रवीभूत हुनुभयो र तुरुन्त धनवन्तरिलाई वोलाई पृथ्वीको स्वास्थ्य परिक्षण गर्ने आदेश दिनुभयो । पृथ्वीले बताएका लक्षणका आधारमा धन्वन्तरीलाई पृथ्वीमा भाइरस संक्रमण भएको शंका लाग्यो त्यसैले उनले पृथ्वीलाई क्वारेन्टाइनमा राखेर अश्विनीकुमारहरूको सहयोगमा परिक्षण शुरू गरे । निकै लामो परिक्षणपछि निस्केको रिपोर्टका आधारमा उनी पृथ्वीमा ‘मानव’ नामको डरलाग्दो भाइरस संक्रमण भएको निष्कर्षमा पुगे र रिपोर्ट सहित छलफलका लागि भगवान विष्णुकहाँ गए। उनले सारा कुरा भगवानलाई बिन्ति विसाए र यो ‘मानव’ भाइरस अती नै विनाशकारी र आतङ्ककारी भएकाले सजगता अपनाई तुरुन्त यसको रोकथाम गर्नुपर्ने कुरामा जोडदिए ।

यो भाइरसबाट पृथ्वीलाई बचाउनका निम्ति निकैवटा बैठक बसे । निकै लामो छलफल चल्यो । अन्त्यमा धनवन्तरीले भर्खरै आफ्नो ल्यावमा ‘कोरोना’नामको अस्त्र पत्तालागेको र यसले ‘मानव’ भाइरसलाई नियन्त्रण गर्नसक्ने बताएपछि त्यहीँ अस्त्रको प्रयोगबाट ‘मानव’ भाइरस रोकथाम गर्ने निष्कर्षमा बैठक टुङ्गियो र कोरोना सम्बन्धि रिपोर्ट तयार गरि भगवान कहाँ पेश गरियो ।

रिपोर्ट पढेर भगवान चिन्तित हुनुभयो र धनवन्तरी तिर हेरेर भन्नुभयो – हैन यो ‘मानव भाइरस’ त पृथ्वीका लागि अत्यावश्यक भनेर बनाइएको थियो हैन र ? जहाँसम्म मलाई लाग्छ ज्ञान, विवेक जस्ता धेरै राम्रा गुणहरू पनि यसमा सम्प्रेषण गरिएका थिए । के भएर यिनमा नराम्रा गुण आए जसले गर्दा पृथ्वी संकटमा परिन ?

भगवानको चिन्ता बुझेर धनवन्तरीले भने – चिन्ता गर्नु पर्दैन प्रभो ! यो ‘कोरोना’ नारायणास्त्र जस्तै हो । जसरी नारायणास्त्रले अस्त्रधारीको विरूद्धमा हतियार लिएर बसेका सबैमाथि अग्नि वर्षागरि भष्म गर्ने सामर्थ राख्थ्यो तर हतियार नबोकेकालाई केहिँपनि गर्दैनथ्यो। त्यसैगरि कोरोनाले पनि सम्पूर्ण मानवलाई नै ध्वस्त गर्दैन । यदि मानव यो अस्त्र छोडेको बेला सबै कुरा छोडेर एकान्तवासमा रहन्छ र सामाजिक दुरी कायमगरि आत्मानुशासनमा बस्छ त्यसलाई केही हुने छैन । यो कुरा मानव आफैले पत्ता लगाउनेछ र कयौं देशमा लकडाउन र प्रतिबन्धहरु लाग्नेछन् । प्रतिबन्धका कारण उद्योग कलकारखाना पनि बन्द अवस्थामा रहनेछन् । जसले गर्दा प्रदुुषणको मात्रामा कमी आउने छ । औद्योगिक कलकारखाना र सडकमा गुुड्ने कार र अन्य सवारी साधनमा आउने कमीले वायुु प्रदुुषणको प्रमुुख कारक मानिने नाइट्रोजन डाइअक्साइड र कार्बन मोनोअक्साइडमा पनि भारी गिरावट आउने छ र पर्यावरण स्वच्छ हुनेछ । घरमै बसेर मानवले रचनात्मक कार्य गर्नेछ । विश्वमा मानव जातिनै संकटमा परेपछि उसमा वैराग्य पलाउनेछ र उ पुन : विवेकी र ज्ञानी हुनेछ । उसमा उर्जा भरिनेछ, सद्भाव भरिनेछ । एति भएपछि पृथ्वीको समस्यापनि समाधान हुनेछ । उनी पनि उर्वरा ,सुन्दर र प्रदुषणरहित हुनेछिन र मानवपनि शुद्ध आचरणले शुरूका दिनको जस्तै पृथ्वीलाई आवश्यक तत्व बन्नेछ ।

यसप्रकार कोरोना र यसबाट पर्ने असरका बारेमा निकै लामो वहस पश्चात पृथ्वीमा मानव भाइरस बिरुद्ध कोरोना अस्त्र प्रक्षेपण गरियो ।

सर्बाधिक पढिएको

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश

कोरोनाको कहर भोगेका इटालियन नागरिकले दिए संसारलाई यस्तो सन्देश ३ हप्ता पहिले | संसार न्यूज़

संसारभरी फैलिएको कोरोना भाइरसको संक्रमणले  मानव मनमा उब्जाएको त्रास र…

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित)

३७०० फौज बिदाइ गर्दै वुहान फेरि रोयो(हेर्नुस् भिडियोसहित) २ हप्ता पहिले | संसार न्यूज़

१३ चैत्र, काठमाडौँ । वुहान फेरि रोएको छ । वुहान…

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ?

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ? १ दिन पहिले | संसार न्यूज़

२६ चैत, अमेरिका । डिसेम्बरको अन्तिम सातातिर चीनको वुहान प्रान्तबाट…

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल

कोरोना कहर : एउटी नर्सकी आमाको अपिल २ हप्ता पहिले | संसार न्यूज़

मैले मेरो मुटु यहाँहरुको सेवामा पठाएको छु । पिपिए विना…