Sansar News- Nepal's Fast Khabar Online News Portal

अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ?

संसार न्यूज़
२ महिना पहिले
अमेरिकामा कोरोनाको कहरः के भन्छन् त अमेरिकाका नेपाली अगुवाहरु ?

२६ चैत, अमेरिका । डिसेम्बरको अन्तिम सातातिर चीनको वुहान प्रान्तबाट सुरु भएर विश्वका २ सय भन्दा बढी देशमा फैलिएको कोरोना भाइरस यतिबेला अमेरिकामा भयावहरुपमा फैलिरहेको छ ।

अमेरिकाको इपी सेन्टर न्यूर्योक र न्यूयोर्कको पनि इपी सेन्टर बनेको क्विन्स सहरमा यो भाइरसबाट धेरै नेपालीहरु प्रभावित बनेका छन् । न्यूयोर्कमा मात्रै कोरोना भाइरसको संक्रमण भएका नेपालीको संख्या १ हजारको हाराहारीमा पुगेको अनुमान गरिएको सामाजिक अभियन्ता तथा प्रवासी नेपाली मन्चका पूर्वअध्यक्ष संजय थापा बताउँछन् । उनका अनुसार नेपाली समुदायले पहिले आफू संक्रमित भएको कुरा बाहिर ल्याउन अप्ठेरो मानेपनि पछिल्ला दिनका बिभिन्न संघसंस्थाहरुले नेपाली समुदायका लागि गरेका राहतका विभिन्न कार्यक्रममा भने उनीहरुले आफू पनि संक्रमित भएको कुरा बाहिर ल्याउन थालेका छन् । त्यसरी बाहिर ल्याउने र फोन गरेर भन्नेहरु झण्डै १ हजारको हाराहारीमा रहेको उनी बताउँछन् ।

त्यस्तै न्युयोर्कमै रहेका किराँत राई अर्गनाइजेशन न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राईले पनि आफूहरुले विभिन्न राहतका कार्यक्रमहरु गरेको र त्यसका लागि सबै नेपाली समुदाय लागि परेको बताएका छन् ।

‘हामी लागि परेका छौं साथीहरु होम क्वारेन्टाइनमा र केही अस्पतालमा पनि हुनुुहुन्छ उहाँहरु तथा उहाँहरुको परिवारका लागि अति आवस्यक सामाग्रीहरु वितरण गर्ने कार्यहरु गरेका छौं ।’ उनले यी काम गर्दा पनि अत्यन्तै सावधानीपूर्वक गरिरहेको पनि बताए ।

यसै विषयलाई लिएर संसारन्युजले न्युयोर्कमा रहेका विभिन्न संघ संस्थाका अगुवाहरुसँग कुराकानी गरेको छ । जसमा एनआरएनए अमेरिकाका उपाध्यक्ष वि आर लामा, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, प्रवासी नेपाली मन्चका अध्यक्ष टेक गुरुङ, आदिवासी नेपाली जनजाति महासंघ (फिप्ना) का अध्यक्ष लोक चेम्जोङ, मगर संघ अमेरिकाका अध्यक्ष कुलदीप मगरसँग न्युयोर्कमा कोरोनाको कहर, त्यहाँ रहेका नेपालीको अवस्था र राहत तथा सहयोगका कार्यक्रम बारे कुराकानी गरिएको हो ।

समस्यामा परेकाहरुलाई हटलाइन सेवामार्फत विभिन्न सेवा दिइरहेका छौं

बिआर लामा, उपाध्यक्ष, गैर आवासीय नेपाली संघ, अमेरिका
यहाँ बढी समस्य देखिएको छ । अमेरिकाको इपी सेन्टर न्युर्योक र न्युर्योकको पनि इपी सेन्टर क्विन्स सहर रहेको छ । जहाँ अनुमानित डेढलाखको हाराहारीमा नेपालीहरु बस्छन् । अहिले न्युयोर्कमा ठ्याक्कै यति नेपाली संक्रमित भन्ने डाटा हामीले संकलन गर्न सकेका छैनौं । त्यो काम हुँदैछ । अहिले अस्पतालमा सिरियस अवस्थामा उपचार गराइरहेका २० जना जति हुनुुहुन्छ । एनआरएनएले कोभिड –१९ सर्पोट कमिटी बनाएर अमेरिकाका सबै च्याप्टरहरुलाई परिचालन गरेको छ । च्याप्टरले पनि लोकल कमिटी गठन गरेर प्रभावकारी रुपमा काम गरिरहेको छ । हामीले घरमै क्वारेन्टाइनमा रहनु भएका १०० जना जतिलाई राहत सामाग्री वितरण गरेका छौं । जसमा टाइनल औषधि, स्यानिटाइजर, थर्मोमीटर लगायतका अत्यावस्यक सामाग्री वितरण गरेका हौंं ।

एनआरएनएले ५ वटा क्षेत्र सम्बोधन गर्ने हटलाइन सेवा सुरु गरेको छ । ८४४–६७६–२८७८ मा फोन गरेर एक्सटेन्सन नम्बर दाबेर सम्बन्धीत क्षेत्रको बारेमा जानकारी लिन सकिन्छ । त्यसमा १ नम्बर स्वास्थ्य सेवा, जसमा डाक्टरहरुको टिम छ । २ नम्बरमा राहत तथा सहयोगका लागि । ३ नम्बरमा कानुनी सल्लाहका लागि वकिलहरुको समुह रहेको छ । जसले अमेरिकन सरकारले ल्याएका राहतका कार्यक्रमहरुका बारेमा जानकारी तथा आइपरेको कानुनी सहयोग गर्दछ । ४ नम्बरमा विद्यार्थीहरुका लागि टिम रहेको छ । ट्याक्स्, सरकारी वित्तिय सहयोग र बेरोजार भत्ता सम्बन्धि जानकारीको लागि एक्स्टेन्सन ५ रहेको छ जस्मा सिपिएहरुले जवाफ देनेछन् ।  त्यस्तै अन्य जानकारीका लागि जीरो दबाउन सकिन्छ ।

अन्य नेपाली भन्दा पनि यहाँ विद्यार्थीहरुको समस्या बढी देखिएको छ । उनीहरु पढ्ने कलेज बन्द भएको र त्यहि कलेजमा काम गरेर कलेज शुल्क तिर्ने र खाने बस्ने गरेका उनीहरु अहिले कलेज बन्द भएपछि बाहिर आएका छन् । अमेरिकन सरकारले बाहिर पनि काम गर्न मिल्ने भनेर विद्यार्थीहरुका लागि नीति ल्याएपनि बाहिर पनि सबै बन्द भएको कारण उनीहरु मारमा परेका छन् । यहाँ काम छैन, बस्ने ठाउँ छैन, नेपाल फर्कन पनि सम्भव छैन यी विविध कारणले उनीहरु समस्यामा परेका हुन् । एनआरएनएले उनीहरुका लागि पनि राहतका कार्यक्रम अघि बढाएको छ । हामीले केहीदिन अघि मात्र न्युजर्सीमा रहेको ऋबमिधभिि गलष्खभचकष्तथ मा रहेका झण्डै १०० जना विद्यार्थीहरुलाई १५ सय डलर बराबरको खाद्यान्न सामग्री सहयोग गरेका थियौं । उनीहरु कलेजमै बसेका छन् तर खाद्य सामग्री नभएको खबर पाएपछि हामीले सहयोग गरेका हौं । प्रत्येक विद्यार्थी एकसय डलर दिने घोषणा गरेका छौं । तर, १०० डलरले समस्या समाधान हुँदैन । यदि नेपाल सरकारले ती विद्यार्थीहरुका अभिभावकले यहाँ खर्च पठाउनका लागि सहज व्वयस्था गरिदिए अहिलेको अवस्थामा त्यो नै उत्तम विकल्प हुने थियो । त्यसका लागि हामीले दूतावाससँग पनि छलफल गरिरहेका छौं । दूतावासले न्यूर्योकमा सक्रिय रहेका संघसंस्थाहरुसँग समन्वय गरेर काम गरिरहेको छ ।

उच्च मनोबल बनाउनुहोस् हामी हरदम तपाइहरुको साथमा छौं


आनन्द विष्ट-सभापति जनसम्पर्क समिति अमेरिका
अमेरिकामा महामारीको रुपमा फैलिएको कोभिड १९ का लागि जनसम्पर्क समिति अमेरिकाले २१ च्याप्टरमा स्वयमसेवक टिम गठन गरेको छ । न्युयोर्कमा सक्रिय रहेका ४०–४५ विभिन्न नेपाली संघसंस्थाहरुसँग समन्वय गरेर अगाडि बढिरहेका छौं । त्यसको संयोजनकारी भूमिका निर्वाह गरेको छु मैले । हामीले न्युयोर्कमा अति आवस्यक सामान नपाएपछि अन्य राज्यबाट मगाएर पनि बाडिरहेका छौं । यहाँ ५०० भन्दा बढी नै नेपालीहरु संक्रमित हुनुभएको छ । अस्पतालमा उपचार गराइरहनु भएकाहरु २५-३० जना हुनुहुन्छ । अन्य साथीहरु होम क्वारेन्टाइनमा हुनुहुन्छ । त्यस्ता धेरै साथीहरुलाई हामीले टाइनल (सिटामोल जस्तै औषधि) तथा अन्य अत्यावस्यक इक्वीपमेन्टहरु क्लालिफोर्निया लगायतका राज्यबाट मगाएर बाडिरहेका छौं ।

विद्यार्थीहरु होस्टल (डोम) बाट बाहिरीनु भएको छ । काम छैन, आर्थिकरुपमा समस्यामा हुनुहुन्छ । उहाँहरुका लागि राहतका कार्यक्रम, कानुनीरुपमा सहयोग, स्वास्थ्य सेवा लगायतमा सहयोग अघि बढाइरहेका छौं । साथै नेपालबाट यहाँ घुम्न तथा परिवार भेट्न आउनु भएकाहरु पनि आत्तिनु भएको र नेपाल फर्कन चाहानु भएको छ । उहाँहरुको बारेमा पनि राजदूत अर्जुन बहादुर कार्कीसँग पनि छलफल भइरहेको छ ।

यतिबेला समस्या र महामारी दुवै छ । त्यसले मानसिक रुपमा पनि सबैलाई कमजोर बनाएको छ । हामीले ‘नेपालीका लागि नेपाली’ भन्ने भावना लिएर नोपली समुदायका लागि काम गरिरहेका छौं । साथीहरुलाई नआत्तिन अनुरोध गर्दछु । तपाईको सहयोगको लागि तपाइहरुकै नेपाली समुदाय हरेक अवस्थामा साथ रहेको छ । मनोबल उच्च बनाएर महामारीसँग लड्ने प्रयत्न गरौं । सबै मिलेर एक्यबद्ध भएमा मात्र यससँग लड्न सकिन्छ ।

यहाँको अवस्था भयावह छ


टेक गुरुङ, अध्यक्ष, प्रवासी नेपाली एकता मन्च, अमेरिका
यतिबेला हामी न्युयोर्कको रेडजोनमै छौं । न्युर्योक सिटीमा ९० प्रतिशतमा कोरोना संक्रमण भएको छ । त्यसमा नेपालीहरु पनि धेरै नै प्रभावित हुनुहुन्छ । सबैजना सेल्फ क्वारेन्टाइनमा बस्नु भएको छ । सबैतिर महामारी नै भएकाले पनि कतिजनामा संक्रमण भन्ने तथ्यांक एकिन रुपमा भन्न सकिएको छैन । हामीले अनलाईनबाट साथीहरुलाई काउन्सिलिङ गरिरहेका छौं । यहाँका धेरै संघ संस्था मिलेर सामुहिक रुपमा काम गरिरहेका छौं । आवस्यक सामग्रीहरु वितरण गरिरहेका पनि छौं ।

यतिबेला महाशक्ति राष्ट्र भएपनि विपद्का बेलामा कस्तो अवस्था हुन्छ भनेर देखिरहेका छौं । कोरोनाबाट मृत्यु भएकाहरुको शब अस्पतालमा फ्रिजर ट्रकमा राखिएको अवस्था छ । यहाँ अन्तिम अवस्थामा मात्र अस्पतालले भर्ना लिन्छ । नभए घरमै आइसोलेटेड भएर बस भन्छ । सामान्य मेडिकलहरु बन्द छन् । उनीहरुसँग आवस्यक सुरक्षाका सामग्री तथा किट नपाएका कारण तथा संक्रमणको डरले यसो गरेका हुन् । सरकारी अस्पतालमा पनि ८–९ घण्टा लाइनमा बस्नुपर्ने अवस्था आएको छ ।

यतिबेला आफूलाई आफूले कसरी बचाउने र परिवारलाई कसरी सुरक्षित राख्ने भन्नेमा सबैको ध्यान हुन जरुरी छ । तर, संक्रमणको डर बढी छ । अर्पामेन्टमा बस्दा अन्यलाई सर्ने डर, खाली छोड्दा बाहिर जाने डर हुन्छ । यहाँको सरकारले स्ट्रोङ्ग पोलिसी नलिँदा पनि समस्या आएको छ । संक्रमित व्यक्तिलाई निश्चित ठाउँमा राखियोस् भन्ने हो । तर, उ खुला भएर हिड्छ । त्यसले सबैलाई समस्यामा पारेको हुन्छ ।

यतिबेला यहाँका धनीमानीहरु ‘गन’ किन्नमा व्यस्त देखिन्छन् । महामारी भएमा लुटपाट हुने र त्यसबाट आफूलाई सुरक्षित राख्नका लागि गन खरिद गरेका हुन् ।

अन्त्यमा, नेपाल सरकारले समयमै लकडाउन गरेर राम्रो गरेको छ । तर, नाकाबाट छिमेकी मुलुकबाट प्रवेश गरिरहेको समाचारहरु आइरहेको छ । सरकारले नाकामा बस्ने सुरक्षाकर्मीलाई संक्रमणबाट बचाउनका लागि पीपीइ लगायतका सुरक्षा सामग्री दिएर सुरक्षित रुपमा राख्न जरुरी छ । साथै विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनहरु व्यवस्थित बनाउन जरुरी छ । होइन, भने त्यहिबाट पनि संक्रमणको महामारी फैलिने डर हुन्छ ।
राहत तथा सहयोगका लागि जुटिरहेका छौं

अनलाइन् फर्म बनाएर संक्रमित साथीहरुको नामावली संकलन गरिरहेका छौं


लोक चेम्जोङ- अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ अमेरिका
न्युयोर्कमा बढी समस्या क्विन्स सहरमा रहेको छ । सबै घरभित्र रहेको र बाहिर कुनै सम्पर्क नभएका कारण पनि स्थिति भयावह नै छ । नेपालीहरु यति नै संक्रमित छन् भन्ने तथ्यांक छैन ।

नेपालीहरुको बाक्लो वस्ति रहेको क्विन्सका अस्पतालमा भेन्टिलेटर एकदमै कम भएका कारण सिकिस्त विरामीलाई मात्र भर्ना लिइएको अवस्था छ । अरु सबैलाई सेल्फ आइसोलेसनमा बस्न भनेर फर्काएको अवस्था छ । सेवा, सुविधा र पहुँच एकदमै कम छ । यस्तो अवस्थामा जसलाई कोभिड १९ संक्रमण भएको छ त्यस्ता साथीहरुलाई थाहा पाएसम्म सेल्फ आइसोलेसनमा बस्न भनेका छौं । संक्रमित भएको अवस्थामा पनि लुकाउने र साथीहरुलाई तपाईलाई मात्र भनेका हौं भन्ने जमात पनि धेरै भएको छ ।

त्यस्तै हामीले अहिले अनलाइन फर्म बनाएर आफ्नो समुदाय तथा संघ संस्थाका अगुवाले आफ्ना कति साथिहरु संक्रमित हुनुभएको भन्ने तथ्यांक संकलन गर्ने काम औपचारिक रुपमा सुरु भएको छ । त्यस्तै भ्रमणमा आउनु भएकाहरु नेपाल फर्कन चाहानुहुुन्छ त्यसका लागि नेपाल सरकारले कुटनैतिक पहल गर्न जरुरी छ । विद्यार्थीहरु तथा भिसा समाप्त भएकाहरुका लागि भिसा नविकरण तथा अन्य व्यवस्था गरिएको छ । त्यस्ता व्यक्तिहरुले दूतावासमा फोन गरेर जानकारी पनि लिन सकिन्छ । हामी सहयोग तथा राहतका लागि जुटिरहेका छौं । तर, अहिलेको अवस्थामा सशरीर उपस्थिति हुन नसके पनि समस्यामा पर्नुभएकाहरुलाई सहयोग गर्न अनलाइन तथा तत् तत् स्थानमा रहनुभएका साथीहरु भेलियन्टियरका रुपमा खट्नु भएको छ ।

सामुहिक तथा व्यक्तिगतरुपमा पनि लागि परेका छौं


कुलदीप रानामगर, अध्यक्ष मगर संघ अमेरिका
न्युयोर्कमा विकराल स्थिति छ । यहाँ विभिन्न संघसंस्थाको समन्वयमा एकिकृत राहतका कार्यक्रमहरु गरिएको छ । दूतावासले पनि कन्फ्रेन्स कलहरुबाट सबै संघसंस्थासँग समन्वय गरिरहेको छ । साथै मगर समुदायका साथीहरुले व्यक्तिगत रुपमा पनि स्वतस्पूर्तरुपमा सहयोगी भूमिका निभाइरहनु भएको छ । हामीले प्रत्येक राज्यमा रहेका च्याप्टरहरुलाई पनि यसमा परिचालन गरेका छौं । जसले विभिन्न ग्रुप बनाएर काम गरिरहनु भएको छ । यस्तोबेला सामुहिकताको अत्यन्तै आवस्यकता त छ नै साथै व्यक्तिगत रुपमा जहाँ जे सकिन्छ सहयोग गर्नुपर्छ भन्नेमा पनि लागिरहेका छौं ।

यहाँ साथीहरुले आफू संक्रमित भएको कुरा सार्वजनिक नगर्दा पनि समस्या भएको छ । उहाँहरु सार्वजनिक गर्न डराउनु भएको छ । तर, यो कुनै गल्ति काम र पाप भन्ने होइन, विश्व यसको महामारीसँग लडिरहेको बेला हामीले पनि आफ्नो परिवार, आफ्नो समुदाय, टोल, छिमेकमा भाइरस संक्रमण कसरी रोक्न सकिन्छ र आफ्नो भूमिका कस्तो हुन्छ भन्नेमा ध्यान दिन जरुरी छ । यहाँ मृत्यु भएकाहरुमध्ये ६५ वर्षमाथिका ९० प्रतिशत रहेको पाइएको छ ।

स्मरण रहोस्, यो समाचार तयार पार्दा सम्म अमेरिकामा ४ लाख बढी भाइरस संक्रमित भएका छन् जसमा ७७ हजार २७९ जना निको भएका छन् । साथै अहिलेसम्म १२ हजार ८५४ जनाको मृत्यु भएको छ । अमेरिकामा यो दुई साता मृतकको संख्या अझै बढ्ने बताइएको छ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ६ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ३ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ४ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…