Sansar News- Nepal's Fast Khabar Online News Portal

छिट्टै आऊ है भोलि भेटौँला

मुरलिधर घिमिरे, चितवन
२ महिना पहिले
छिट्टै आऊ है भोलि भेटौँला

अलिकति सामलसित बोकेर झोलामा जिन्दगी
जङ्घार तर्दै थिएँ सुसाउँदै थियो
नजिकै आनाकानी गर्दै गण्डकी
आमाका कचेरा पुछेर पँधेरीमा
ओझेल पर्दै गर्दा अँधेरीमा
जूनले रुन्चे स्वरमा मेरै नयनमा
शीतविन्दु खसालेर मलाई सोध्यो-अबेला गरेछौ
टाढैको साइत हो कि१ छिट्टै आऊ है ?
मैलै प्रतिप्रश्न गरैँ – किन र मित्र ?
म त सुत्ने बेला भो भोलि भनुँला
थोरै गन्तव्य सोधुँला दुःखको
थोरै कर्तव्य पोखुँला मुखको
कतै नभुली छिट्टै आऊ है भोलि भेटौँला।

प्रतीक्षा गर्दै गर्दा वाहनको आँपटारीमा
चिबेचरी रुँदै गर्दा बाँसघारीमा
प्रभाती किरणले मेरा गाला मुसार्दै
अनि मलाई थोत्रो बसभित्र घुसार्दै
घामले रुखो स्वरमा सोध्यो(हतार गरेछौ
साइत नजिकैको हो कि ! फर्किहाल है ?
मैलै उही प्रतिप्रश्न गरेँ – किन र मित्र ?
म कुद्ने बेला भो भोलि भनुँला
थोरै मन्तव्य दिउँला रोगको
थोरै सम्भाव्य दिउँला भोक र शोकको
कतै नडुली छिट्टै आऊ है भोलि भेटौँला।

हस् हस् भन्दै विलय भएँ यात्रामा
पढाउन जाँदै गर्दा विश्वविद्यालयमा
बाटैमा पसेँ यसो शौचालयमा
कुरा सम्झँदै थिएँ घाम र जूनका
कानमा सान्त्वना गुन्जँदै थिए उनका
घन्टी बज्यो दौडेँ कक्षामा शौच गर्नै छाडेर
सिकाउँदै थिएँ शिष्यलाई पाठ्यवस्तु फाँडेर
अलिकति ढाँटेर अलिकति छाँटेर
भनेँ- आजलाई यत्ति है ?
उनीहरूले प्रतिप्रश्न गरे- किन र गुरुबा ?
म जाने बेला भो डेरामा
भोलि पढाउँला जीवन कथा
अनि पर्सि पढाउँला ‘मुटुको व्यथा’
पाठ पढेर छिट्टै आऊ है भोलि भेटौँला।

फेरि पुगेँ- उही कलङ्कीमा,
थोत्रो झोलामा पुरानै जिन्दगी बोकेर
बिचौलियाले चिच्याउँदै घिच्याए जिन्दगी कोचेर
सुरुदेखि नै बाटाको जाम
पिसाबको जाम केही छैन के खाम
सम्झेँ कर्तव्यको जाम
बिर्सें गन्तव्यको जाम
यात्रामा थुप्रै सुइराले घोचे भाँतीभाँती
पुगेँ घरमा एक बजे गर्दै तातीताती
बसेँ आमाको काखमा तब,
बोलाउनु भो ‘सानु’ दुईचोटि राति।

मिर्मिरेमा आमाको काख
वात्सल्य पोखियो लाखौँलाख
पिलाएँ जाउलो र तातोपानी
भनेँ- आमा! अब म नजानी
कठै! सुन्नु भएन सुन्न सक्नु भएन
कठै! हेर्नु भएन हेर्न सक्नु भएन
फोक्सो थियो काम लिनु भएन
मुटु थियो ढुकढुकी दिनु भएन
बाहिर असोजको महिना थियो दसैँ आएन
मभित्र साउनको बाढी उर्लेर आयो
खै कता गयो राति आकाशमा जून आएन
खै कता गयो बिहान आकाशमा घाम आएन
आमाको छातीमा अर्धमुर्च्छित मेरा कानमा
गुन्जिरहे निरन्तर-
जूनले भनेको- ‘नभुली छिट्टै आऊ है भोलि भेटौँला ?’
घामले भनेको- ‘नडुली छिट्टै आऊ है भोलि भेटौँला ?’
शिष्यलाई भनेको-‘भोलि पढाउँला जीवन कथा’
अनि पर्सि पढाउँला ‘मुटुको व्यथा’
‘पाठ पढेर छिट्टै आऊ है भोलि भेटौँला ।
९२०७६/१२/२६(रातको ११ बजे)

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…