Sansar News- Nepal's Fast Khabar Online News Portal

‘साहित्यको मूल उद्देश्य आनन्दको अनुभूति र समाजलाई दिशाबोध गर्नु हो’

संसार न्यूज़
४ महिना पहिले
‘साहित्यको मूल उद्देश्य आनन्दको अनुभूति र समाजलाई दिशाबोध गर्नु हो’

कवि केशव ज्ञवाली बिक्रम सम्बत (२०२०) मा रुरु गाउँपालीका गुल्मीमा जन्मेका हुन् । घरमै अक्षारम्भ गरेका ज्ञावलीले स्नातकोत्तर सम्मको औपचारिक शिक्षा हासिल गरि स्व अध्ययनबाट बिशिस्ट श्रेणी हासिल गरेका हुन् ।

गुल्मीको किसान परिवारमा जन्मेर त्यहाँको हावापानी उकाली ओराली गर्दै हुर्केका ज्ञावलीले कर्मथलो भने काभ्रेपलान्चोक जिल्लाको बनेपालाई बनाएका हुन् । शिक्षण प्राध्यापन सेवामा संलग्न ज्ञवाली माबी प्रथम श्रेणीका शिक्षक हुन् । बिद्यालयका विभिन्न स्मारिकाहरुको सम्पादन समेत गर्दै आएका ज्ञवाली बिक्रम सम्बत २०३९ देखि भिन्न भिन्न पत्रिकामा फुटकर कविताहरु प्रकाशित हुँदै आएका छन् । विभिन्न साहित्यिक संस्था एबम पूर्वबिद्यार्थीबाट सम्मानित ज्ञवाली पछिल्लो समय साहित्यको कान्छो विधा साइनोको बिकास प्रबर्द्धनका अगुवा अभियन्ताका रुपमा सक्रिय रहेका छन् । उनै साइनो अभियन्ता ज्ञवालीसँग संसारन्युजको लागि बालकुमार क्षेत्रीले गरेको कुराकानी ।

केमा व्यस्त हनुहुन्छ ?
खासै व्यस्त छैन । अहिले विश्व कोरोनाको कहरमा छ । नेपाली समाज पनि यसबाट अछुतो छैन । एउटा असहज परिस्थिति हामी सबैले भोगिरहेको अवस्था हो । केही अध्ययन, लेखन र परिवारसँग समय बिताउने क्रममै दिनहरू बितिरहेका छन् ।

यो लक डाउनको समयलाई के कसरी सदुपयोग गर्दै हुनुहुन्छ अनि हामीलाई के सल्लाह दिनुहुन्छ ?

मैले यो बन्दाबन्दीको समयलाई खासै सदुपयोग गर्न सकेको छैन । ४–५ वटा कविता, ‘साइनो कसरी लेख्ने ? यसका मानक र सिर्जनकला’ शीर्षकको एउटा सैद्धान्तिक लेख लेखेँ । फाट्टफुट्ट साइनोहरू पनि लेखिरहेको छु । यसबिच साहित्यकार रामप्रसाद ज्ञवालीको ‘तेस्रो आँखाको आलोचना’ सरसर्ती अध्ययन गरेँ । यो विचारोत्तेजक समालोचनाहरूको संग्रह हो । म गद्य कविताहरू लेख्ने भएकाले ‘रसका दृष्टिले नेपाली गद्य कविताहरूको अध्ययन तथा विश्लेषण’ लेख उपयोगी र महत्वपूर्ण लाग्यो । रामचन्द्र वर्माको ‘अच्छी हिन्दी’ सरसर्ती हेरेँ । हिन्दीको पुस्तक भए पनि भाषिक सिर्जनात्मक पक्षसंग सम्बन्धित विषय यसमा रहेका छन् ।

सर, आफनो पेसासँगै साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ । यो व्यवस्थापन के कसरी सम्भव भएको छ ?
पेसा र साहित्य सिर्जना बिच समयको तालमेल र इच्छा शक्ति प्रमुख हो । पेसाबाट बचेको समयलाई सिर्जनात्मक कार्यमा उपयोग गर्ने प्रयत्न गर्छु । संवेगहरू प्रबल रूपमा अनुभूति हुँदा कुनै पनि बेला कविता सिर्जना गर्ने प्रयत्न गर्छु ।

दैनिक काम र सिर्जनात्मक कार्यका लागि समय व्यवस्थापन के कसरी मिलाउनुभएको छ ?
मैले दैनिक घरायसी कामहरूको खासै चिन्ता लिनुपर्दैन । भैपरिआउने विशेष अवस्थाबाहेक जीवन संगिनी मीनाले नै गर्छिन् । छोराछोरीले पनि सहयोग गर्छन् । परिवारको साथ र सहयोग भएको हुनाले समय व्यवस्थापनमा खासै अप्ठ्यारो छैन ।

पछिल्लो समय नेपाली साहित्यको कान्छो विधा ‘साइनो’ प्रवर्द्धनमा देखिनुभएको छ ,के पाउनुभयो साइनोमा त्यस्तो आकर्षण ?
मेरो खास रुचिको विधा गद्य कविता हो । पछिल्लो समय ’साइनो’ संग पनि जोडिएको छु । खुसी लागेको छ । साहित्यकार छायादत्त न्यौपाने ’बगर’ को ’फेसबुक वाल’ मा सर्वप्रथम साइनो पढ्ने अवसर मिल्यो । आफ्ना केही जिज्ञासा र साइनो सम्बन्धी आधारभूत संरचना, मानक लगायत विषयमा हामी दुबैको सहमति भएपछि साइनो सिर्जना यात्रामा सामेल भएको थिएँ । यसका आफ्नै संरचना र मानकहरूमध्ये साइनोका स्वतन्त्र तीन गुच्छा, तिनको स्वतन्त्र अर्थ र समुच्चमा एउटै सिङ्गो गहन भाव बोध साइनोको सिर्जनात्मक प्रमुख आकर्षण हो मेरा निम्ति । यही मौलिक वैशिष्ट्यले नै साइनो अरु कविता भन्दा फरक स्वादको मौलिक कविता बन्न पुगेको छ ।

साइनो बारे यहाँले लामो लेख लेख्नुभएको छ, साइनोका दोस्रो सर्जक हुनुहुन्छ । साइनोको संरचना र यसका आवश्यक तत्त्वबारे स्पष्ट पारीदिनुहोस् न ?
साइनो सम्बन्धी केही लामा–छोटा लेखहरू लेखेको छु । विशेषतः सात,आठ र नौ अक्षरका तीन हरफ (गुच्छा), तिनको स्वतन्त्र अर्थ र समुच्चमा एउटै सिङ्गो भाव साइनोका आधारभूत महत्त्वपूर्ण संरचनात्मक मानक हुन् । गुच्छा र अर्थको अनेकतामा भावको एकत्व साइनोको संरचनात्मक मौलिकता हो । साइनो कविता भएको हुनाले भाव तत्व, शैली तत्व र लय तत्व नै यसका प्रमुख तत्व हुन् । अभिधा, लक्षणा र व्यञ्जना तीनै शब्द शक्तिको प्रयोग गरी नौवटै रसमा साइनो सिर्जना सकिन्छ । प्रतीक, बिम्ब र अलङ्कारको प्रयोगले भाव गहनता, पद–लालित्य र भाव सम्प्रेषणीयतालाई प्रभावकारी बनाउन सघाउँछन् ।

चौबिस अक्षरमा पूरै भाव, त्यसमाथि गुच्छाहरू स्वतन्त्र हुनुपर्ने यस्तो विधाले सिर्जनाको संरचनालाई जटिल बनाएन र ?
कुनै पनि खोज अनुसन्धान र सिर्जना सहजै गर्न सकि हालिन्छ भन्ने सोच्नु कति उपयुक्त होला ? यसका लागि प्रतिभा, रुचि, अध्ययन र अभ्यासको खाँचो हुन्छ । बाह्य र आभ्यन्तर दृष्टिले अन्य कविता भन्दा नयाँ शैलीको सिर्जना भएकाले केही जटिल लागेको हुन सक्छ । स्वतन्त्र गुच्छा, स्वतन्त्र अर्थ र समुच्चमा एउटै सिङ्गो भावले नै साइनो अरू कविताभन्दा फरक, स्वादिलो र लोकप्रिय बन्न पुगेको हो भन्ने तथ्यलाई पनि बिर्सनुहुँदैन ।

साहित्यका अरु विधाबाट भन्न नसकिने के छ र साइनोबाटै भन्नुपर्ने ?

साहित्यको मूल उद्देश्य आनन्दको अनुभूति र समाजलाई दिशाबोध गर्नु हो । अन्य विधाबाट पनि विचार व्यक्त गर्न सकिन्छ । प्रस्तुति र रचनाको प्रकार(शैली)को कुरा हो । गुच्छा र अर्थको अनेकतामा भावको एकत्व साइनोको अभिव्यक्तिगत मौलिक शैली हो ।

साइनोको बहस भएकै छैन भन्ने र यति छिटो समयमा धैरै माध्यमबाट विमर्शजन्य सामग्री आएका छन् । अध्यन गरौँ भन्ने दुबै भनाइ के कति सान्दर्भिक लाग्छन् ?
प्रश्न र जिज्ञासा उठ्नु स्वभाविक हो । सैद्धान्तिक बहस भएकै छैन भन्नु न्याय संगत हुँदैन । विभिन्न लेख, मन्तव्य र ’साइनो चौपारी’मा साइनोका विविध पक्षबारे विमर्श र बहस हुँदै आएको छ। व्यापक बहसको थप आवश्यकतालाई भने अस्विकार गर्न सकिदैँन

भर्खरको बालक, साइनो लेखनमा धेरै स्रष्टाहरू देखापरेका छन् । नयाँ नयाँ भएकाले यसलाई सकारात्मक मान्नुपर्ने देखिन्छ । गुणस्तर कायम राखेर साइनोको साख बचाउन के गर्नुपर्ला ?
नयाँ उपविधा भएकाले सर्जकको सहभागिता, साइनो सिर्जना र गुणस्तरीय ताका लागि पनि धेरै स्रष्टाहरूको संलग्नताको महत्वलाई अस्वीकार गर्न सकिदैँन तर गुणस्तर नै प्रमुख हो, संङ्ख्या होइन । साइनोको मानक कायम राख्दै हृदयमा स्पर्श गर्दै मस्तिष्कमा झन्कार उत्पन्न गर्ने प्रभावशाली साइनो नै लोकप्रिय र स्तरीय हुन सक्छ । स्तरीयता प्रतिभा, अभ्यास र अनुभवबाट प्राप्त हुने कुरा पनि हो । भावको गम्भीरता, प्रस्तुतिको चमत्कार, शैलीको रोमाञ्चकता र प्रभावशाली सिर्जनात्मकताद्वारा साइनोको साख बचाउन सकिन्छ जस्तो लाग्छ ।

साइनो लहडमा उम्रेको खहरे ‘न भूतो न भविष्यति’ भनेर ठट्टा गर्नेहरू हनुहुन्छ । उहाँलाई के सुझाब दिनुहुन्छ ?
कुनै काम र सिर्जना कहिले योजनाबद्ध, कहिले अनायास र स्वतस्फूर्त रूपमा हुन्छन् । साइनो स्वतस्फूर्त सिर्जना हो भन्ने कुरा यसका प्रणेताले प्रस्ट पारिसक्नुभएको छ । साइनो सिर्जना यात्राको एकवर्ष नपुग्दै धेरै सर्जकको संलग्नता देखिनु, यसले विभिन्न क्षेत्रमा स्थान पाउनु साइनोकार विष्णु पादुकाको ’साइनो’ कृति प्रकाशित हुनु ’साइनो सारथि’ साइनो संग्रह र ‘निरूको साइनो’ कृति प्रकाशनको तयारीमा रहनु आदि तथ्यहरूले साइनोको लोकप्रियता र उज्यालो भविष्यलाई सङ्केत गर्छन् । उहाँहरूलाई सुझाब भन्दा पनि, साइनोको सिर्जनात्मक मौलिकता, लोकप्रियता र प्रभावकारितालाई गम्भीरतापूर्वक नियालेर गुण दोषका आधारमा मूल्याङ्कन गरिनुपर्छ भन्ने मेरो धारणा छ । पूर्वाग्रहग्रस्त मानसिकताले होइन । भाव गहन र शैली सौन्दर्यले युक्त प्रभावशाली साइनो सिर्जना गरी साइनोलाई समृद्ध तुल्याउनु नै ’ठट्टाको’ गतिलो जवाफ हो जस्तो लाग्छ ।

संरचना, कपिकल्प दृष्टिले सुन्दर साइनो लेख्नका लागि सर्जकले ध्यान दिनुपर्ने कुराहरू के के हुन् । साइनो भाव प्रकाशनको सुन्दर भाषिक कला हो । यसका मानकहरूको सौन्दर्यबोध, जीवन र जगत्का यथातथ्यको भावानुभूतिहरूलाई कल्पना शक्ति र भाषिक सौन्दर्यले सिँगारेर बेजोड साइनो सिर्जना हुन सक्छ । । नयाँ नयाँ प्रतीक र बिम्ब र अलङ्कारले साइनोमा निखार ल्याउन सघाउँछन् । अध्ययन र अभ्यास पनि सहयोगी हुन्छन् ।

साइनोलाई विशेष गरी ‘हाइकु’ कै समकक्षी मान्नेहरू हुनुहुन्छ । उहाँहरूको चित्त कसरी बुझाउन सकिन्छ ?

सरसर्ती हेर्दा तीन हरफ, थोरै अक्षर समूह, संक्षिप्तता जस्ता कुरालाई देखेर तुलना गरिएको हुन सक्छ । समालोचकीय दृष्टिले तुलनात्मक अध्ययन–विश्लेषण गर्न नसकिने होइन तर यी दुबैमा तात्विक भिन्नताहरू छन् । साइनो नेपाली मन– माटोमा जन्मिएको सिर्जना हो । हाइकु जापानबाट आएको स्थापित विधा हो । हाइकु ५, ७, ५ को संरचनामा लेखिन्छ भने साइनो ७, ८,९ को संरचनामा लेखिन्छ । साइनोमा स्वतन्त्र अर्थवान् गुच्छा र समुच्चमा एउटै सिङ्गो भाव हुन्छ । शब्द गुच्छा, अर्थ र समुच्चमा भावको एकत्व जस्ता तत्त्वले साइनो हाइकु भन्दा फरक मौलिक शैलीको कविता हो भन्ने चिनारी दिन्छन्

साइनोप्रेमी स्रष्टाहरूबिच आवश्यक छलफल भई यसको मूल्यबोधमा एकमत हुन नसकिएको त होइन ? यस्तो आशङ्का कम गर्न हामी अभियन्ताहरूको भूमिका कस्तो हुनुपर्ला र अहिले भइरहेका काममा सुधार गर्नुपर्ने के के देख्नुहुन्छ ?
साइनोको मर्म सम्बन्धी जानकारीको अभावमा पनि यस्तो समस्या देखिएको हुन सक्छ । कसैलाई तितोपिरो लाग्न सक्छ, यो उपविधा नयाँ भएकाले यसलाई जतातिर पनि तन्काउन र ढल्काउन सकिन्छ भन्ने ठानेर व्यक्तिगत महत्वाकाङ्क्षा राख्नाले पनि समस्या आएको हुन सक्छ । भइरहेका प्रयत्नहरू सकारात्मक नै छन् । प्रत्यक्ष अन्र्तक्रिया, साइनो सम्बन्धी गोष्ठीहरू आवश्यक देखिन्छन् । साइनोका मौलिक विशिष्टतालाई पहिचान गरी साइनो सिर्जना गर्नाले एकरूपता कायम हुन सक्छ ।

अन्त्यमा मैले सोध्न छुटाएको र यहाँलाई केही छ कि ?
सन्तान जन्मेपछि पालन पोषण गर्नु, हुर्काउनु ठूलो जिम्मेवारी हो । उल्लेख गर्नुपर्ने नामहरू धेरै छन् एकमुष्टमा भन्नुपर्दा सबैको सिर्जनात्मक प्रयत्नले साइनो यति छिट्टै लोकप्रिय र बिस्तारित हुन सकेको हो साइनोको भविष्य उज्वल छ । साइनोको प्रचार प्रसारमा तपाईंको अग्रणी भूमिका रहेको छ । यो उत्साह-जाँगर रहिरहोस् ।

अन्त्यमा अन्तर्वार्तामार्फत् मेरा विचारहरू राख्ने अवसर दिनुभएकोमा तपाईं र तपाईंको टिमलाई विशेष धन्यवाद दिन चाहन्छु । अस्तु ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प २ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…