Sansar News- Nepal's Fast Khabar Online News Portal

साइप्रसमा कोरोनाको कहरः नेपालीले सहज रोजगारीका लागि २०२१ कुर्नुपर्ने

संसार न्यूज़
४ हप्ता पहिले
साइप्रसमा कोरोनाको कहरः नेपालीले सहज रोजगारीका लागि २०२१ कुर्नुपर्ने

साइप्रसले कोरोना महामारी नियन्त्रणका लागि लकडाउन झेलेको एक महिना नाघेको छ । आम नागरिकको दैनिकी पनि थप कष्टकर बन्दै गएको छ । मुलुकमा चरम आर्थिक मन्दी सिर्जना हुँदै गइरहेको छ । कोरोनासँगको लडाइँमा विजयी प्राप्त गरिसकेपछि फेरि आर्थिक मन्दीसँगको लडाइँ सुरु हुनेमा दुई मत छैन । यिनै विषयमा केन्द्रित रही कोरोना महामारीले साइप्रसमा निम्त्याएको सङ्कट र साइप्रसमा रहेका नेपाली समुदायले अपनाउनुपर्ने सावधानीका बारेमा साइप्रसबाट कृप थापाकुन्दन कार्कीले तयार पारेको रिर्पोट

साइप्रसमा रहेका नेपाली विद्यार्थी र कामदारमाथि कोभिड १९ को प्रभाव
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण साइप्रसलाई पनि नराम्ररी प्रभावित बनाएको छ । साइप्रसमा घरेलु कामदारका रुपमा आएका नेपालीहरुलाई एकदमै गाह्रो हुने देखिन्छ । कोभिड १९ ले साइप्रसका नागरिकहरुलाई पनि एकदमै ठुलो असर पारेको छ । यहाँका साहुहरुको पनि अहिले आफ्नो ब्यवसाय र रोजगार धरापमा परेको हुनाले, थुप्रै घरेलु कामदारहरुलाई मालिकले समयमा तलब दिन नसक्ने मात्र होइन तलब नै दिन नसक्ने स्थिति आइसकेको अवस्था देखा परेको छ । सकिको छ, यसो हुँदा धेरै घरेलु कामदारहरुको काम छुट्न सक्ने जोखिम पनि पछिल्लोपटक देखिएको छ ।

त्यस्तै बिद्यार्थीहरुको पनि समस्या धेरैनै देखिन्छ । साइप्रसको २० प्रतिशत अर्थतन्त्र पर्यटन र होटेल ब्यवसायलेनै धानेको हुनाले यो वर्ष (२०२०) साइप्रसको पर्यटन ब्यवसायनै धरापमा परेको छ । साइप्रसमा आउने प्रायजसो बिद्यार्थीहरु मार्चदेखि सेप्टेम्बेरसम्म होटेलमा काम गरेर बाँकी रहेको महिना त्यही आम्दानीले गुजारा गर्नुपर्ने भएको हुनाले यो पटक पर्यटन र होटेल ब्यवसायको सिजन सुरु हुनुभन्दा केहि समय अगाडी देखिनै कोभिड–१९ को प्रभावले नत होटेल नै खुल्न सक्यो नत बिद्यार्थीहरुले काम पाउने स्थिति देखियो । पुराना काम भएका बिद्यार्थीहरुको काम छुटेसँगै नयाँ बिद्यार्थीहरुल पनि काम पाउन असम्भव भइरहेको छ ।

रोजगारीको प्राथमिकतामा साइप्रस र युरोपियन नागरिक
त्यति मात्र नभएर अहिलेको परिस्थितिमा, साइप्रसका नागरिक र यूरोपियन नागरिकहरुको पनि उत्ति नै बरोजगार हुने भएको हुनाले ,रोजगारीको केहि अवसर आइहाले पनि पहिलो प्राथमिकता साइप्रस र यूरोपियन नागरिकलाई हुने छ भने नेपाली बिद्यार्थीहरु मात्र नभएर तेस्रो मुलुकबाट आएका सबै बिद्यार्थीहरुलाई यसले असर पर्ने देखिन्छ ।

साइप्रसमा विद्यार्थी मात्र नभए विभिन्न रोजगारदाता पनि छरिएर आएका रोजगारीहरुमा पनि यसको मार पार्ने देखिएको छ । नेपाली बिद्यार्थीहरुमा उच्च शिप, जोस र जाँगर कम नै देखिएको हुनाले, यसको प्रत्यक्ष असर नेपाली बिद्यार्थीहरुलाई पर्नेछ । यी सबै कुराहरु नियालेर हेर्दा यतिखेरि अब आउने वर्षहरुमा यस मुलुकमा नेपाली शरणार्थीहरुको संख्या एकदम नै धेरै नहोला भनेर भन्न सकिन्न र यस कुराले सबैलाई पिरोलिरहेको छ ।

अर्थतन्त्रमा प्रभाव र भाइरस नियन्त्रणपछि रोजगारीको सम्भावना
साइप्रसको अर्थ मन्त्रलाले कोभिड– १९ को सुरुवातदेखि नै सबैभन्दा खराब अवस्थाको लागि तयारी गरिरहेको छ । किन कि, मुलुकको अर्थतन्त्रमा कोरोनाभाइरसका कारण सोचेको भन्दा पनि धेरै ठूलो असर पर्ने अनुमान गरिएको छ । प्रकोपको शुरुवाती चरणमा अर्थमन्त्री Constantinos Petrides ले मुलुकको जिडीपी आर्थिक शटडाउनको अवधिमा रहेको र ९.७ प्रतिशतले घट्ने आशंका गरेका थिए भने साइप्रस विश्वविद्यालयका प्रोफेसरLouis christofides का अनुसार चरम परिदृश्यमा आधारित अर्थतन्त्रमा €.7 बिलियन डलर वा जिडिपी ११.८२ प्रतिशत घाटा हुन सक्ने सम्भावना रहेको बताएका थिए ।

हालसम्म साइप्रसले अन्तर्राष्ट्रय बजारबाट €.1   विलियन डलर बराबरको ऋण लिएको छ । राज्यको स्थानीय अर्थव्यवस्थालाई क्षमता अभिवृद्धि गर्न कोरोनाभाइरस महामारीको समयमा, यसले १२ महिनाको ट्रेजरी बिल जारी गरेर स्थानीय बैंकहरूबाट €1.25    ऋण लिएको हो ।

साइप्रसको मुख्य आयस्रोत पर्यटन हो । त्यो पनि खासगरी गर्मीयाममा मात्र चहल पहल हुने हुनाले त्यो बाहेक कुनै अन्य आयस्रोत छैन । अहिलेको यस विशेष परिस्थितिले यहाँको अर्थतन्त्रमा ठूलो असर पुगेको छ । यहाँको पर्यटन क्षेत्र सुचारू हुन साइप्रस लगायत अन्य युरोपेली मुलुकमा कोभिडको नियन्त्रणसँगै त्यहाँको ब्यवसायमा भरपर्छ । साइप्रसको सम्पूर्ण ब्यवसाय सुचारु हुन लगभग अब वर्षदिन कुर्नु पर्ने अवस्था छ । समग्रमा हेर्दा साइप्रसमा रहेका बिद्यार्थीहरुले रोजगारिको अबसर पाउन सन् २०२१ समर नै कुर्नुपर्ने देखिन्छ ।

यहाँको अर्थतन्त्रको मुख्य आधार
गणतन्त्र मुलुक साईप्रस भूमध्य सागरमा अवस्थित एक टापु मुलुक हो । पूर्वी युरोपमा पर्ने यो मुलुक भूमध्य सागरको तेस्रो सबैभन्दा ठूलो टापु हो भने जनसंख्याका हिसाबले पनि भूमध्यसागरको तेस्रो ठूलो टापु हो । यो टापु टर्कीको दक्षिण, सिरिया र लेबनानको पश्चिम, ईजरायल र प्यालेष्टाइनको उत्तरपश्चिम, ईजिप्टको उत्तर र ग्रिसबाट दक्षिणपूर्वी दिशामा अवस्थित छ । संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्कअनुसार गणतन्त्र साईप्रसको जनसंख्या ११ लाख ९८ हजार ५७५ रहेको छ ।
कुल ९ हजार २ सय ५१ वर्ग किलोमिटर क्षेत्रफल भएको यस देशको राजधानी निकोसिया हो । साईप्रसको जनसंख्याको बृद्धिदर ०.०२५ मात्रै रहेको छ । क्षेत्रफलका हिसाबले गणतन्त्र साईप्रस विश्वको १५८ औं देश हो । यस देशको प्रतिव्यक्ति वार्षिक आम्दानी ४१ हजार ५ सय ७२ अमेरिकी डलर रहेको छ । यस देशमा युरो मुद्रा प्रचलनमा रहेको छ । सानो टापु मुलुक भए तापनि यो विश्वका देशहरूमध्ये मानव विकास सूचकाङ्क अति उच्च भएको देश हो ।

साईप्रस टापु राजनीतिक हिसाबले दुई भागमा विभक्त छ । दक्षिणी साईप्रस जसलाई अन्तराष्ट्रिय समुदायले गणतन्त्र साईप्रस भनेर चिन्दछन् । त्यो युरोपेली युनियनको सदस्य रहेको सार्वभौम मुलुक हो । तर राजधानी निकोसियाबाटै उत्तरतर्फ केही भूभाग टर्कीको अधीनमा रहेको छ ।
टर्की अधीनस्थ क्षेत्रमा टर्किस लिरा प्रचलनमा छ र त्यहाँको सुरक्षा व्यवस्था पनि टर्की सरकारको हातमा छ । त्यस भूभागलाई अन्तराष्ट्रिय समुदायले मान्यता दिएको छैन । टर्की अधीनस्थ साईप्रसमा बस्ने मानिसलाई टर्किस सिप्रोट र गणतन्त्र साईप्रसमा बस्ने मानिसलाई ग्रिक सिप्रोट भन्ने चलन छ ।
ठुला ठुला योजना परियोजनाहरुमा बिदेशी लगानीहरु र पाइपलाइनमा प्राकृतिक ग्याँस शोषणको साथ पछिल्ला वर्षहरूमा ठोस वृद्धिको मार्ग जारी गरिरहेको छ । तत्कालको लागि यहाँको अर्थतन्त्रको मुख्य आधारहरु बिदेशी लगानी,पर्यटन,व्यापार र कृषि जन्य बस्तुहरुको निर्यातका साथै समुन्द्री र हवाई मार्गबाट यस मुलुकले अर्थतन्त्रको हिसाबले धेरै फाइदा लिईरहेको छ ।

संकटको बेला नेपाली समुदायका लागि सुझाव
सुन्नमा आएको छ, नयाँ बिद्यार्थीहरु जो भर्खर मात्रै साइप्रस आएका छन् , उनिहरुलाई भाषाका कारण नयाँ ठाउँ तथा रहन सहनमा भिज्न नसक्दा धेरै गाह्रो भएको छ । भाषा नबुझ्ने र पढ्न पनि कठिनाई भएको हुनाले यहाँको समाचारबाट आफुलाई खासै अपडेट गर्न नसक्ने हुनाले र धेरै बिद्यार्थीहरुलाई यहाँको कानुन थाहा नहुँदा साइप्रस सरकारको कानुन उल्लंघन गरेबापत जरिवाना तिर्नुपर्नेमा हामी नेपाली नै बढी रहेको स्थानीय संचारमाध्यममा आइरहेका छन् ।
‘जस्तो देश त्यस्तै भेष’ भने झैँ यहाँको समाज नेपालको भन्दा धेरै भिन्न भएको हुनाले नयाँ बिद्यार्थीहरुले यहाँ समायोजित गराउनको निम्ति आफूमा केही परिवर्तन गर्नुपर्ने र यहाँको रहन सहन सिक्नु पर्ने देखिन्छ ।

एउटा सानो उदाहरणका लागि अहिले नेपाली बिद्यार्थीहरुको संख्या बढे लगत्तै बाटोमा यत्र–तत्र ट्राफिक लाइटको पालना नगरी बाटो काट्ने गरेको र गाडी चालकहरुले अचम्म मान्दै गाली गरेको पनि धेरै मात्रमा देखिन्छ । अहिले यो फुर्सदको समय भाषा सिक्ने, साथी संगत राम्रो बनाउने र विभिन्न माध्यमहरुबाट साइप्रसमा भइरहेका परि घटनाहरु पढ्ने बानीको बिकाससँगै साइप्रसका इतिहासबारे अध्ययन गर्नु राम्रो हुन्छ ।

यतिबेला कुनै कलेजमा अनलाइन् अध्ययन भइरहेको छ भने त्यसमा सहभागीता जनाउने तथा नयाँ विद्यार्थीहरुले आफू भन्दा अग्रजहरुसँग सरसल्लाहसँगै निरन्तर छलफलमा रहँदा धेरै राम्रो हुन्छ ।

नेपालबाट साईप्रसमा अध्ययनका लागि आउन चाहनेहरुका लागि
पछिल्लो समय, अध्ययनका लागि साइप्रस आउने बिद्यार्थीहरुको संख्या बढे लगत्तै यसमुलुकको बारेमा धेरै नराम्रा कुराहरु मात्र सुन्न आएका छन् । साइप्रसमा रहन र बस्नको लागि एकदम उपयुक्त मुलुक हो । तर, बिद्यार्थीहरुको लागि त्यति उपयुक्त भने होइन । हुन त कतिपय नेपालीहरुमा विदेश जाने भन्ने बित्तिकै रुखमा पैसा फल्छ र गएर टिप्ने मात्र हो भन्ने गलत प्रवृत्ति पनि देखिन्छ । चाहे त्यो बिद्यार्थी भिसामा होस् या कामदार भिसामा नै किन नहोस् । तर बिद्यार्थी भिसामा आउने बिद्यार्थीहरुको उद्धेश्य त्यति स्पष्ट नभएको देखिन्छ ।

साइप्रसमा अध्ययन गर्दा युरोप महादेशको अरू कुनै पनि देशमा अझ खासगरि सेन्जेन कन्ट्रीमा सजिलै आफ्नो क्रेडिट ट्रान्सफर गर्न सक्नुहुन्छ भनेर अधिकांश कन्सल्टेन्सीले विद्यार्थीलाई यही आश्वासन दिएका हुन्छन् । तर वास्तविकता त्यो होइन, क्रेडिट ट्रान्सफर कहि कतै अपवादका रुपमा मात्रै हुने गरेका उदाहरणहरु छन् । अनि यसको लागि लाग्ने शुल्कले विद्यार्थीको ढाड सेक्छ ।

जति वर्षको अध्ययन ग्याप भएपनि साईप्रसका कलेजमा भिसा लाग्छ । यो अर्को समस्या बनेको छ । सायद मुलुकमा रोजगारीका विकल्प र श्रम र सीपअनुसार कामको अवसर भइदिएको भए १० वर्षअघि स्नातक वा स्नातकोत्तर गरेको व्यक्ति साईप्रस आउदैनथ्यो होला । यो वास्तविकतालाई गम्भीरतापूर्वक लिनु अत्यन्त जरुरी छ ।

उत्कृष्ट जीवनयापनको चाहनामा जीवनस्तर दयनिय
समृद्धि र उत्कृष्ट जीवनयापनको लालचमा साईप्रस पसेको नेपाली विद्यार्थीको जीवनस्तर अत्यन्त दयनीय छ । यहाँ नेपाली विद्यार्थीले जिउने जीवनभन्दा नेपालको जीवनस्तर अत्यन्त बेस छ । यही कारणले उसमा हीनतबोध हुँदा विद्यार्थीहरू अनेक कुलतमा फस्ने समस्याहरू बिकराल बन्दै गएका छन् । यसका अनगिन्ती उदाहरणहरू छन् । यति भनिरहँदा पनि आउनु हुन्छ भने, यदि कोही नेपालदेखि साईप्रसमा अध्ययनका लागि सोच गरिरहनुभएको छ भने सबैभन्दा पहिला आफूलाई एकपटक प्रश्न गर्नु होस्, के तपाईको विचार साच्चै नै पढ्ने हो कि, बिद्यार्थी भिषा लगाएर पैसा कमाउने हो भन्ने । यदि तपाइको विचार पैसा कमाउने हो भने साइप्रस तपाइको लागि सहि देश होइन । यदि तपाई साच्चै नै पढ्न चाहनु हुन्छ भने पनि साइप्रसमा राम्रा युनिभर्सिटीहरु छन् । पढ्न नै चाहनुहुन्छ भनि युनिभर्सिटीमा आउनु होस् तर अरु सानो सानो प्राइचेट विजनेश एजुकेशन इन्स्च्यिुटहरुमा नआउनु होस् ।

युनिभर्सिटीहरुमा राम्रो पढाई हुने र क्रेडिट ट्रान्सफर पनि सजिलो हुन्छ । ब्यवसायिक रुपमा सानो तिनो एजुकेशन इन्स्च्यिुटहरु पढाई भन्दा पनि धेरै विजनेशको लागि खोलिएको देखिन्छ । आउनु भन्दा अगाडी आफ्नो उद्धेश्य स्पष्ट बनाउनु अतिनै जरुरी हुन्छ ।

कोरोनाको कहर र लकडाउनको स्वरुप
साइप्रसमा मार्च १४ देखि लकडाउन सुरु भए लगत्तै यहाँ धेरैजसो सानो तथा ठूलो ब्यवसायहरु बन्द नै छन् । साइप्रस सरकार यस विषयलाई लिएर एकदमै गम्भीर रुपमा कदमहरु अगाडी सारेको छ । साइप्रस सरकार र सम्बन्धित मन्त्रलायले पनि नियमहरु एकदम कडाई गरेको छ । नागरिकहरुलाई सामाजिक दूरी राख्न अनुरोध गरेको छ भने सुपरमार्केटहरु र अति आवश्यक पसलहरु खुल्न पाउने निर्देशन दिएको छ ।

लकडाउनको पाँचौ हफ्तादेखि कोरोना संक्रमित बिमारीहरु कम कम भटिएपछि लगत्तै मेको पहिलो साताबाट सरकारले लकडाउनको नीति केहि खुकुलो बनाएको देखिन्छ । जसमा दिनको एकपटक भन्दा बढी म्यासेज गरेर बाहिर जान पाउने तथा मेको दोस्रो साताबाट सरकारले संक्रमणको अवस्था हेरेर केहि पार्क, फेन्सी पसल, सैलुनलगायत खोल्न अनुमति दिने बताइएको छ ।

त्यस्तै मेको तेश्रो साता (तेस्रो चरण) बाट जीम, कफिशप, सिनेमा, रेष्टुरेण्टहरु खोल्न सक्ने सम्भावना देखिन्छ भने जूनको पहिलो साताबाट होटेलहरु र हवाई बिमानहरु कडा नियमका साथ खोल्ने सम्भावना देखिन्छ ।

कोरोनाको लकडाउनका बेला यसरी व्यस्त रहनुहोस्
यतिबेला त्यति काम पनि नभएकोले आफूलाई कसरी व्यस्त राखेर मानसिक तनावबाट मुक्त हुने भन्नेमा नै लाग्नुपर्छ । साइप्रसमा रहने विद्यार्थीका लागि मात्र नभएर विश्वभर रहेका नेपालीमा परेको समस्या हो यो । त्यसकारण एक्सरसाइज, भाषा सिक्न, अनलाइन पढ्न, घरपरिवारसँग निरन्तर सम्पर्कमा रहनुहोस् । साथै अन्य क्रियाकलापमा पेन्टिङ, नृत्य, गायन, साहित्य लेखन, युट्युवमार्फत् नेपाली तथा विदेशी लेखकका राम्रा राम्रो नोबेलहरु सुुन्नुहोस् । नेपालका भरपर्दा राष्ट्रिय न्युज अनलाइनहरु पढेर देशको बारेमा जानकारी लिनुहोस् । आफ्नै कोर्सहरुमा वयस्त राख्नुहोस् । अझै दैनिकी डायरी लेखनको कार्य गर्ने हो भने, त्यो जीवनमा ऐतिहासिक पनि बन्छ । साइप्रसमा रहेका तपाईहरुका अनुभवहरु लेखेर विभिन्न अनलाइन मेडियामा प्रकाशन गर्न पनि सकिनेछ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…