सन्ते र बिरे एक अर्काका छिमेकी मात्र नभएर दौतरी पनि थिए । सानै देखि एउटै पाखा–पखेरा, पानी–पधेंरो र घर–स्कुल गर्दै संगसंगै हुर्केका थिए । उनिहरूको घरको आर्थिक अवस्था भने धर्ति–आकासको फरक थियो ।
सन्तेको परिवारलाई बिहान बेलुकी हात मुख जोड्न पनि धौधौ थियो । उनिहरूको परिकार भनेकै कोदोको ढिंडो, सिस्नोको खोले र गुन्द्रुकको झोल हुन्थ्यो ।
उता बिरेको परिवारको भने रवाफ नै बेग्लै थियो । उसको घरमा दिनदिनै मसिनो चामलको भात, रहरको दाल र मासुका परिकार नै पाक्ने गथ्र्यो ।
साथी साथीको बिचमा पनि कहिलेकाहीं झैझगडा हुनु कुनै नौलो कुरा होइन् । बेला बेलामा सन्ते र बिरेको पनि झगडा पथ्र्यो । त्यो बेला भने बिरेले सन्तेलाई हेप्ने गथ्र्यो ।
‘तं सधैं ढिडो, सिस्नु र गुन्द्रुक खाने –गरिब । म सँग निहु खोज्छस् ? तं मेरो साथी बन्न पनि लायक छैनस् ।’
बिचरा सन्ते ! नाजवाफ हुन्थ्यो । गरिब हुनु परेकोमा आफ्नो भाग्यलाई धिकाथ्र्यो । मन खिन्न पार्दै चुपचाप आफ्नो घरतिर लाग्थ्यो ।
बिरे र उसको परिवार वेलायत गएर उतै बसोवास गर्न लागेको पनि डेढ वर्ष बितेछ । यसै क्रममा उनिहरूलाई सुगर र ब्लड प्रेसर जस्ता रोगले समातेछन् । मासु, भात र अन्य जंक फुडहरू खान नहुने भएछ । यता सन्तेको बुढाबुढी खोलाको किनारामा सिस्नुको मुन्टा टिप्दै थिए ।
सन्तेको मोवाइलको घण्टी बज्यो । हत्त न पत्त मोवाइलको स्वीच अन गर्दै बोल्यो ।
‘हेल्लो ! हेल्लो !! को ?’
‘म बिरे क्या, तेरो साथी । बेलायतबाट । अब त चिनिस् ?’
‘ए, बल्ल चिने । अँ भन के छ, तेरो खबर ?’
‘ठिकै छ यार। यहाँ हामी दुबैलाई ढिंडो र सिस्नुको तरकारी असाध्यै मन पर्छ । गुन्द्रुक पनि मन पर्छ । दुइ पाथी कोदोको पिठो, चार माना सिस्नुको धुलो र दुइ किलो गुन्द्रुक पठाइदे न । अर्को हप्ता पल्लाघरे हर्के आउंदैछ, उसैको हात ।’
‘ल ल हुन्छ, म पठाइ दिउँला ।’ भन्दै सन्तेले फोन राख्यो ।
सिस्नु टिप्दै गरेकी श्रीमति तर्फ हेर्दै भन्यो । ‘बिचरा बिरे !!! उ पनि बेलायत गएर हाम्रो लेभलमा पो आयो कि क्या हो ? नगएको भा हुने नि…।’