Sansar News- Nepal's Fast Khabar Online News Portal

सोल्टी– हस्ते

ओमार गुरुङ, स्पेन
३ हप्ता पहिले
सोल्टी– हस्ते

‘सधै लास्ट बेन्चको मान्छे अहिले मन्त्री ! हामी सबै भन्दा पनि अगाडी !’ हर्केले गुनगुनाउँदै भन्यो । उसलाई यो सपना जस्तो लागिरहेको थियो। भारतीय एघारौ रास्ट्रपति अब्दुल कलमको महान बाणी ‘कक्षा कोठाको अन्तिम बेन्चहरुमा पनि देशको महान सपुतहरु हुन् सक्छन’ उसलाई सही लागिरहेको थियो । ‘उद्योग गर्ने मान्छे भोको हुदैन, राजनीति गर्ने मान्छे पछुताउनु पर्दैन भन्थे’ हो रहेछ । हर्केको आँखा स्टेजतिर भए पनि मन महासागरमा डुबुल्की मारिरहेको थियो । व्यापार– अपार भने जस्तै नीतिहरूको पनि नीति – राजनीति, नाथहरुको पनि नाथ पशुपतिनाथ जस्तै रहेछ ।

जुल्फिकर अलि भुट्टोलाई – रिहा गर ! रिहा गर !!
बिधार्थी एकता –अमर रहोस् ! अमर रहोस !!
पन्चायती ब्यबस्था – मुर्दाबाद ! मुर्दाबाद !
गगन भेदी नाराहरु गुन्झिन्छ ।

नाराहरुले विद्यालय कम्पाउण्ड, वरिपरीका बस्ती, छिमेकी गाऊहरु, टाढा बनजंगल र पहाडहरुसम्म गुन्जीरहेको थियो । आफ्नो जीवनमा पहिले कहिल्यै यस्तो नसुनेका र नदेखेको स्कुल वरपरका मान्छेहरु एकाएक बाहिर हेर्न निस्किए । उनीहरु अनबिज्ञ थिए, के भैरहेको छ कसैलाई थाहा थिएन । हेर्ने निस्केका हुलमा मानिसहरु अड्कल बाजी लगाई रहेका थिए । कसैले ‘यो सरकार बिरोधी जुलुस हो’ भन्थे त कसैले ‘स्कुलको बार्षिक उत्सबको जुलुस’ । कोही भन्दै थिए ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर’ । कसैले यो सब मास्टरहरुको प्लान हो भन्दै मास्टरहरुलाई आरोप लगाई रहेको थियो । स्कुल कम्पाउण्ड भित्र विद्यार्थीहरु लाइनमा कसैले झन्डाहरु त कसैले ब्यनार, कसैले पम्प्लेटहरु हातमा लिएर यी माथिका नाराहरु लगाउदै थिए । झन्डै दुई सयको हाराहारी विद्यार्थीहरुको झुण्ड नाराहरु लगाउदै स्कुल कम्पौंड बाहिर निस्किरहेको थियो । जुलुस नजिक आएपछि बल्ल हुलले बास्तबिकता थाहा पायो । सन् १९७९ मा पाकिस्तानी रास्ट्रपति ज्यावुल हक दुरा बन्धि बनाएका अर्का रास्ट्रपति जुल्फिकर अलि भुट्टोलाई फाँसीको सजाय सुनाएको समय थियो । भुट्टोलाई फासी दिने निर्णयको बिरोधमा संसार भर बिरोध प्रदर्शनहरु भए । नेपालमा पनि पाकिस्तानी राजदूतावासमा नेपाली विद्यार्थीहरुले बिरोध प्रदर्सन गरे । भुट्टोको रिहाईको माग गर्दै ज्ञापनपत्र पनि बुझाए । नेपालका विद्यार्थी संगठनहरुले एक भएर देशभर बिरोध प्रदर्शनको आव्हान गरेको थियो । हर्के पढ्ने मा वि स्कुलमा विद्यार्थीहरुले आयोजना गरेको विरोध प्रदर्शन थियो यो जुलुस । विद्यार्थीहरुको दुईवटा लाइन थियो । सबैभन्दा अगाडी दुई छात्राहरुले निगालोको साहारामा ठुलो ब्यानर बोकेर जुलुसको अगुवाई गरेको थियो । दुई लाइनको मध्य भागमा केहि मिटरको दुरीमा एउटाले चर्को आवाजले माथिको नाराहरुको अघिल्लो शब्दहरु भन्दै थिए अनि समुहले पछिल्ला शब्दहरु । हर्के संगै पढ्ने चक्रे पनि थियो यो जुलुसमा । चक्रे जुलुसको बीचमा उफ्री–उफ्री अघिल्ला नाराहरू लगाउदै थियो र अरुले पछिल्ला नाराहरु । २०३६ सालमा देशभर विद्यार्थीहरुले यस्ता जुलुसहरु निकालेका थिए । २०३६ सालको एतिहासिक बिधार्थी आन्दोलनले नेपालको राजनैतिक इतिहासमा बहुदलिय प्रजात्रन्त्रको बोटलाई मलजल गर्ने काम गरेको थियो ।

कक्षाकोठमा हस्ते र हर्के बस्ने सीट संगै थियो । उनीहरुको पहिलो भेट यहि स्कुलको कक्षा आठमा भएको थियो । दुबैजना भिन्दा भिन्दै गाऊबाट निमाबी स्कुल कक्षा सात पास गरेर पढन आएका थिए । हेर्दा दुबैजना जुम्ल्याह जस्ता देखिन्थे । कक्षामा पढाउने सरहरुलाई निकै महिना हस्ते र हर्के छुटाउन गारो भएको थियो । दुबै गहुँगोरो, हट्टाकट्टा र तन्दुरुस्त देखिन्थे । उनीहरु दुवैजनालाई खेलकुद मन पर्थ्यो । भलिबल दुबै जनाको मनपर्ने खेल थियो । उनीहरु कक्षाकोठमा लास्ट बेन्चमा बस्थे र पढाईमा भने दुबैजना एउटै ड्याङ्गका मुलाहरु थिए । हस्ते जानीनजानी राजनीतिका कुरा गर्थे भने हर्के अलि सिधा र शान्त स्वभाबको थियो । हर्केलाई राजनितिमा चासो थिएन । उनीहरु कक्षामा टिचरको आँखा छलेर बेला बखत एक आपसमा चकचक र खासखुस गरिरहन्थे । गोविन्द सर कक्षा आठमा ग्रामिण अर्थशास्त्र पढाउथे । पढाउने बेलामा कक्षा कोठाको ओल्लो छेउ र पल्लो छेऊ हिड्दै पढाउने उनको बानी थियो । उनी घरमा घोकेर आउथे र किताब नहेरी पडाउँथे । विद्यार्थीहरुलाई पनि उनी घोकेर पढ्न लगाउँथे । एकदिन गोविन्द एउटा छेउबाट पढाउदै फर्कीरहेको बेला हस्तेले गोबिन्द सरको पाइन्टको पछाडी भागमा कागजको पुछार झुन्डाईदियो । कक्षामा एक, दुई गर्दै हाँसोको मूल फुट्यो । रीसले आगो हुदै गोविन्दसरले सबै विथार्थीहरुलाई उठ्न लगाए । महेशले गोविन्दसरको पछाडी झुन्डिरहेको कागजको पुच्छर निकालेर देखायो ।यो हरकत हस्ते र हर्केको लास्ट बेञ्चबाट भएको थाहा पाए पछि दुबैजनालाई अफिसमा लगेर गयो । हेडसरको उपस्थितिमा अब उप्रान्त यस्तो काम गर्दिन भनेर माफी मागे पछि उनीहरु छुटे । उनीहरु माफी मागेर छुटे पनि नानी देखि लाएको बानी भने झैँ कक्षा कोठाको लास्ट बेन्चमा बसेर अनेकन उट्पटांग गर्दै कक्षा आठ, नौ र दशको एसएलसी जाँचसम्म दिए ।

‘ १ ‘

भरखरै माथि आकाशमा करंग– कुरुङ्गको एक हुल मधेसबाट हिमालतिर उडिरहेको थियो । गर्मी लागे पछि यी चराहरुले आफ्नो बासस्थान हिमालय पर्बतको भुभागलाई बनाउँछन । मानिसहरु यी चराहरुले सहकालको सन्देश दिन्छन् भन्छन । यो बेला आ–आफ्नो खेतबारीमा अन्नबालीहरु छरेमा राम्रो हुन्छ भन्ने जनबिश्वास छ । त्यसैले ‘करंगकुरुङ्ग आयो काँक्रा फर्सी रोप’ भन्ने चलन गाउँघरमा सुनिन्छ । हस्ते यो कुरामा विश्वास त गर्दैनन् तर आमाको अनुरोधमा एक हातमा कुटो र अर्को हातमा काँक्राको बिऊ लिएर बारीमा जान्छन् । कुटोले भुइँ खोर्साउदै काँक्राको बीउको केहि गेडाहरु हाल्छन र कुटोले पुर्छन । उनका आमा पनि कुटो लिएर फर्सी र घिरौला रोप्नमा ब्यस्त थिइन् । हस्तेलाई यो काम गर्न झ्याउ लागिरहेको थियो । समय भरखर बिहानीको एघार बजिरहेको थियो । यहि बेला आगनमा टुप्लुक्क हर्के झुल्किन्छ । डेड घन्टाको हिडाईपछि बल्ल हर्के हस्तेकोमा पुगेको थियो । एसएलसी पछिको दुई महिनामा यो उनीहरुको पहिलो भेट थियो । उनीहरु एकआपसमा गफमा भुल्न थाले ।
‘सपनामा म त फेल भएछु यार’ हर्केले भन्यो ।
‘सपनाको ठिक बिपनामा उल्टो हुन्छ रे ! तिमी पास हुन्छ यार!’ हस्तेले भन्यो ।
‘ए म त तिमी सँग एउटा कुरा सल्लाह गर्न आएको !’ हर्केले भन्यो ।
‘भन्न के कुरा’ उत्सुकतापर्वक हस्तेले भन्यो ।
‘हेर न लाहुरबाट दाई आउनुभएको छ, बाबाले दाईसंगै मलाई भर्ति हुन् जाऊ भन्नु हुन्छ ! अब दाई अर्को हप्ता जादै हुनुहुन्छ ! त्यसैले तिम्रो के बिचार छ ? जाऊ हामी दुई संगै ! हर्केले भन्यो । हर्केको दाई इन्डियन लाहुरे हो भन्ने हस्तेलाई थाहा थियो ।‘जान्न त्यो बिस्तारबादी, दलाल र नोकरशाहीको देशमा गुलाम बन्न !’ हस्तेले ठाडै अस्विकार गर्यो ।

दिउँसोको खाना दुबै जनाले संगै खाए । उनीहरुको सहयात्रा अब अलगअलग गोरेटो तर्फ लम्की रहेको थियो । एकापसमा हातहरु मिलाएर उनीहरु छुटिए । हस्तेसँग हर्केको भेट कहिले हुने हो थाहा थिएन ।

‘ल अल द बेस्ट सोल्टी’ ! हातहरु हल्लाउदै हस्तेले हर्केलाई बिदा गर्यो ।
हर्कले पनि निन्याउरो अनुहार लगाउँदै हातहरु हल्लायो अनि घर फर्किन् गाउँको उकालो उक्लिन सुरु गर्यो । हर्केका हजुर बुबाले पहिलो बिस्व युद्धमा जर्मनहरु बिरुद्धमा यूरोपमा लडाई लडेका थिए ।बुबाले दोश्रो विश्व युद्धमा मलेसियामा जापान बिरुद्ध लडाई लडेर बहादुरी देखाए बापत एम सी (Military Cross) पदक पनि पाएका थिए । लाहुरे हर्केको पुर्खौली पेशा थियो । हर्केको रगतको कणकणमा सैनिक जीवनमा चाहिने बहादुरी, बफादारी र इमान्दारी जस्ता गुणहरु थियो । बुबा नै सैनिकमा भएकोले घरको माहौल सैनिकमय थियो । हर्केलाई सैनिक जीवनका कतिपय नियमकानुनहरु घरमा नै थाहा थियो । हर्के दाई खड्केको पछि लागेर हिड्यो । उनी इन्डियन आर्मीको गोर्खा ट्रेनिग सेन्टर शिलोङ्ग पुग्छन्। हट्टाकट्टा बलियो शरीर, दौडमा राम्रो, अग्लो कद र सैनिक पृष्ठभूमि भएकोले हर्के इन्डियन आर्मीमा भर्ति हुन्छ र सैनिक जवानको लागि गर्नुपर्ने ट्रेनिंगमा ब्यस्त हुन थाल्छ ।

एक दिन पेटी परेड पछि दिउसोको खाना खाने बेला भएको थियो । हर्केलाई एक जनाले चिठी दियो । हस्तेले नेपालबाट छुट्टीमा गएर फर्केको मान्छे सँग पठाएको चिठी रहेछ। खोलेर हेर्यो ।

आत्मीय सोल्टी
अतितका सम्झनाहरु !!!

आराम छु र आरामको कामना गर्दै तिमी इन्डियन आर्मीमा भर्ती हुन सफल भएको समाचारले खुशी छु । अनि हाम्रो एसएलसीको परीक्षाफल प्रकाशित भयो । हामी दुबैजना गान्धी डिभिजनमा पास भएका रहेछौ। धेरै खुशी लाग्यो । तिमीलाई बधाई र शुभकामना छ । प्रकाश र धुर्बले राम्रो अंकले प्रथम श्रेणीमा, अरु सातजनाले दोश्रो र चौधजनाले तेश्रो श्रेणीमा पास भएको रहेछ । अब क्याम्पस पढ्न पोखरा जाने छु । यहाँ तिम्रो अनुपस्थितिमा मैले आफुलाई एक्लो महसुस गरिरहेको छु । अझ क्याम्पस गए पछि तिम्रो अभाब खड्कीरहने छ । अन्तमा तिम्रो सैनिक जीवनमा सुस्वास्थ्य र प्रगतिको कामना गर्छु । सैनिक जीवनको अनुभब कस्तो हुदोरहेछ समय मिलाएर चिठी लेख्न नभुल्न होला ।

तिम्रो प्रगतिमा रमाउने
उही मित्र, हस्त

चिठी पढे पछि हर्के एसएलसी पास भएको खबरले फ़ुरुङ्ग हुन्छ ।

‘ २ ‘

गोधुली साँझको बेला थियो । गाउका आइमाईहरुको एक हुल धारामा पानी भर्न आआफ्नो पालो पर्खिरहेका थिए ।कामबाट फर्केका गाउलेहरु पनि हातमुख धुन धारा संगैको कुवामा गफमा मस्त थिए । टिनको बाकस र बाकस माथी हरियो गुन्टा बोकेको मानिस लुरुलुरु धाराको बाटो हुँदै तल झरीरहेको थियो । भरियाको पछि पछि हरियो खाकीको सर्ट, खाकीको पाइन्ट, टोपी र जुता लगाएको मानिस थियो । उसले खाकीकै झोला, काँधमा रेड़ियो र कम्मरमा खुकुरी भिरेको थियो ।धारा नजिकै आई पुगे पछि सुनारी खुसीले कराउछिन ।

‘ए ! हर्के दाई आउनु भएछ।’ हतपत पानीको गाग्रो छोडेर ऊ घरमा आमाबुबालाई खबर गर्न दौडन्छ । हर्के पधेरोमा जम्मा भएका आफन्तहरुलाई साइनो अनुसारको सम्बोधन गरेर घर तर्फ लाग्छ । भोलिपल्ट बिहान हातमा पानीको लोटा लिएर हातमुख धुन हर्केआगनमा निस्किन्छन् । घामका सुनौला किरणहरुले टल्कीरहेको अन्नपूर्ण हिम शृंखलाले उनलाई स्वागत गरिरहेको थियो । धवलागिरी हिमाल चाँदीको ताज पहिरिएर केहि पर मुस्कुराई रहेको थियो । महाभारत पर्बतहरुमा गुराँसका बोटहरु लटरम्म फुलिरहेको थिए । सफा मौसम, स्वच्छ हावा, मनमोहक बातावरणले हर्के भावुक बन्छ । धर्तीको यो टुक्रा स्वर्ग समान छ । हामी हाम्रो यो स्वर्गभूमिलाई चिन्न सकिरहेका छैनौ । यो फुलबारीलाई सजाउन सकिरहेका छैनौ । हर्के मनमनै सोचीरहेको थियो । उनको यो सोचाईलाई भंग गर्दै पछाडीबाट सूनारीले भनिन् ।
‘हर्के दाई चिया !’ सुनारीले चियाको कप पिढिको डिलमा राख्छे र पुन बोल्छिन्

‘तपाईको साथी हस्ते त जेलमा छ रे दाई थाहा पाउनु भएको थियो कि नाइँ ?’
‘अँह थाहा थिएन ! किन ? के कारणले जेल गएछ ?’ हर्केले उत्सुकुतापुर्बक सोध्यो ।
‘खै राजकाज मुद्दा लागेको छरे ! ज्यानको पनि खतरा छ रे भनेको सुनेथ्यो !’ सुनारीले भनिन् ।
झोलामा ओल्ड मोन्क (Old Monk) रमको बोटल, देशी मसला र चियाको पोको हालेर एक बिहानै हर्के हस्तेको घर जानको लागि निस्किन्छ । दुई बर्ष पहिला एस एल सी दिए पछि हस्तेलाई भेट्न यहि बाटो हिडेको उसलाई याद आउछ । त्यहि बेला खुरुक्क म सँग हिडेको भए यो लफडा नै हुने थिएन । घरमा नुनतेलको खर्च पनि आउथ्यो । यस्तै कुराहरु सोच्दै ऊ हस्तेको घरमा पुग्छ । हस्तेको आमा बारीमा मकै गोडन लागेको रहेछ । आगनमा हर्केलाई देखेर उनि आइन् र रून थालिन । आँखाभरिको आँसु धोरोको टुप्पाले पुछ्दै भनिन् ।
‘कहिले आइपुग्यो बाबु ?’

हर्केले खल्तीको रुमाल निकालेर शिरमा राख्दै हस्तेको आमालाई ढोग गर्छन् र भन्यो ‘हप्ता दिन भयो माइज्यु ।’
‘ल बाबु लप्टन, कप्तान भएर । धेरैधेरै आसिर्बाद छ ।’ हस्तेको आमाले आसिर्बाद दिन्छिन् अनि
तिमीलाई देखेर छोरालाई देखे जस्तो लाग्यो बाबु भन्दै पुन रुन थाल्छिन् । ‘गाउँका प्रधानले तिम्रो छोरा राजा बिरोधी हो अब बाहिर आउँदैन भन्छन् बाबु । दशधारा दूध खुलाएर हुर्कायो ! बढायो ! पढायो । आज छोराको पौरख खाने बेलामा यो दशा लाग्यो ! गाउँका धेरै मान्छेलाई गुहारे तर कसैले बाहिर निकाल्न सकेनन् । रुन्चे स्वरले हस्तेको आमाले भनिन् ।
‘नरुनु माइज्यु ! जसको कोहि छैन उसलाई भगवानले हेर्छन ! केही हुदैन सोल्टीलाई !’ हर्केले हौसला दिदै भन्यो ।दिनभरि हस्तेको आमासँग बिताएर बेलुकी पख मात्रा हर्के घर फर्क्यो।

‘ ३ ‘

‘नेपालमा तीस बर्षे पंचायती निर्दलीय ब्यबस्थाको अन्त भएर बहुदलीय शासन प्रणाली लागु भएको थियो । नेपाली जनताले मौलिक हकअधिकार र वाकस्वत्रन्त्र प्राप्त गरेको थियो । बहुदलिय ब्यबस्था आए पछि चुनाब भयो । नेपाली कांग्रेस र कम्युनिष्टहरुको सरकार बन्ने र ढल्ने क्रम जारी रह्यो । शक्तिको लुछाचुडीमा नेताहरु चुर्लुम्ब डुबेका थिए ।देशमा परिवर्तनको महसुस भएको थिएन । देश झन्झन् अधौगतिमा गइरहेको थियो । नेपाल सरकार बिरुद्ध नेपाल कम्निस्ट पार्टी माओबादीले हतियार उठाईसकेको थियो ।नेपाल आमाका सपुतहरु दिनप्रति दिन शहिद भैरहेका थिए । देश गृहयुद्धको कालो बादलले ढाकिएको थियो । देशमा राजनैतिक अस्थिरता, त्रास र भयको वातावरण सृजना भैरहेको थियो । हर्केको आमा बितेको बर्ष दिन पछि बुबालाई पनि माथिबाट बोलावट भएपछि त्यहि बर्ष हर्केले आफ्नो परिवार इन्डियामा लगेर गयो । उसले परिवार र बच्चाहरुको भबिस्य उतै राम्रो देख्यो । इन्डिया देहरादुनमा बच्चाहरुलाई आर्मी स्कुलमा भर्ना गरेपछि हरेक बर्षमा पाउने छुट्टी उसले उतै देहरादुनमा नै बिताउन थाल्यो ।बर्षहरु बित्दै गयो । हर्केको कपाल फुल्न शुरु भैसकेको थियो । छोरा र छोरी इण्डिया देहरादुनको प्रसिद्ध कलेजहरुमा पढिरहेका थिए । उनी सिपाही देखि सेवा शुरु गरेर सुबेदार मेजर भैसकेको थिए । गोर्खा रेजिमेन्टमा सिपाहीबाट सेवा शुरु गरेको व्यक्तिको यो नै अन्तिम पद थियो । हर्केको सैनिक जीवनमा लगनशील, मेहनत, बफादारी, बहादुरी र बिबेकका आठइस बर्षहरुको प्रतिफल थियो यो पोस्ट। उनी यसमा खुशी थिए । आफुलाई गौरब र घमण्ड गर्थे । सैनिक जीवनको कडा अनुसाशन र नियममा उनी आफना छोरा र छोरीलाई राख्न चाहदैनथे । उनी छोराछोरी धेरै पढाएर डाक्टर, इन्जिनिएर र बैंकमा जागिरे भएको हेर्न चाहन्थे । छोरा र छोरीलाई इन्डियामा नै छोडेर उनी सैनिक जीवनबाट अवकास प्राप्त गरेपछि नेपाल फर्किए । अवकास आउँदा प्राप्त पैसाले पोखरामा जग्गा किनेर एउटा घर बनाए र आफ्नो अवकासको जीवन शुरु गरे ।

बितेका दशकहरुमा सबै भन्दा तीब्र बिकास संचार जगतमा भएको छ । हिजो घन्टौ हिडेर खबर पुराउनु पर्ने गाऊहरु अहिले एउटा फोनको नम्बर थिचेर कुरा गर्न सकिन्छ । सामजिक सन्जालको दुनियामा अहिलेको संसार सानो गाउँ जस्तो भएको छ । हर्केले फेसबुक एकाउन्टमा एक दिन आफु पढेको स्कुलको नामबाट फ्रेण्ड रिकेवास्टको देख्छ र एक्सेप्ट गर्छ । लगतै उसले स्कुलले आफ्नो पचास बर्षे स्वर्णजयन्ती मनाउन गइरहेको थाहा पाउछ । स्वर्ण जयन्तीको कार्यक्रममा सहभागी हुन उसलाई चाहना हुन्छ । स्वर्ण जयन्तिको अन्तिम दिन बिहान उनी पोखराबाट एक्लै बस चढेर गाऊ तर्फ लाग्छ ।

घुम्दै फिर्दै रुम्जाटार भने झैँ झन्डै आज फेरी लामो समय पछि हर्के आफ्नो गाऊ पुग्छ ।गाउमा धेरै परिबर्तन भैसकेको रहेछ । हिजो जाँचको बेला रातभर टुकी बालेर पढ्ने अवस्था बाट घरघरमा बिजुली बतिको बल्बहरु झुण्डीरहेको थियो । कच्ची बाटाहरु जताततै माकुराको जालो झैँ खनिएका थिए । ढलान गरेर बनेका पक्की घरहरु पनि यदकादा देखिन्थे । गोबर ग्यासका प्लान्टहरु निर्माण भएका थिए । औषधि उपचारको लागी स्वस्थ चौकीको ब्यबस्था भइसकेको रहेछ । गाउमा नै मा.बि स्कुलको स्थापना भएको रहेछ । आन्तरिक र बाह्य पर्यटनको लागि होम स्टेहरु खुलेको थियो । गाउँमा भएको आधुनिक परिवर्तनले उनको मनमा केहि आशा र उत्साह जागेर आउछ । तर उनी तुरुन्त निराश हुन्छन् । गाऊ माथिको घनघोर जङ्गल विनास भएर झाडीको रुपमा परिणत भएको थियो । आकाशको पर्ने बर्षको पानीलाई संचय गर्न सक्ने बर्षे जङ्गल त्यहाँ थिएन । पानीका ठुला मुहानहरु सुकी सकेका थिए । खोलाहरु सुकेका थिए । बचपनमा भेडाबाख्रा चराउन जाँदा पौडी खेल्ने पानीको ठुलो दहको नामो निशाना थिएन । सानो छँदा साथीभाई मिलेर बल्छीले माछा मार्ने खोला बगरमा परिणत भएको थियो । भैसी बस्ने आलहरु सुकेको थियो टोलका धेरै घरका मानिसहरु चाबी लागएर शहर पलाएन भएका थिए । एक हात लामा मकैको घोगाफल्ने बारी र धानका बालाहरु लहराउने खेतहरु बाँझोटारीमा परिणत भएको थियो । आधुनिक बिकास संगैको यो बिकृति देखेर हर्केको मन रोई रहेको थियो । बिकास र सम्बृद्धिको खातिर मानव जातिले हरेक पलहरुमा धर्ती मातालाई चिमोठी रहेको छ । यो पृथ्बीलाई कुरुप बनाउँदै लगिरहेको छ । यस्तै हो भने एकदिन मानब जातिले यो पुण्य भुमिबाट सदाको लागी बिदा हुनेछ । हर्के आफुले एसएलसी पढेको स्कुल तर्फ लाग्छ ।
विवाहको लागी दुलाही सिगारिए झैँ स्कुलको वरिपरी सिगरिएको थियो । चारैतिर खम्बाहरु गाडेर कागजका फिलफिले झण्डा र धजाहरु टांगिएको थियो । बाजाका धुनहरु परसम्म सुन्नमा आइरहेको थियो । स्कुल कम्पाउन्डको अग्र भागमा ठुलो त्रिपाल टाँगिएको थियो। त्रिपालभित्रको एक भाग अलि माथी उठाएर स्टेज बनाएको थियो । स्टेजको पछाडी भागमा नेपालको राष्ट्रिय झण्डा र स्वर्ण महोत्सोवको ब्यानर टाँगिएको थियो । स्टेजको बीचमा ठुलो टेबल, टेबल माथि फुलको गुच्छाहरु, एक भाडोमा रातो अबिर, अनि टेबल वरपर बीसबाइस कुर्सीहरु राखिएको थियो । त्रिपाल भित्रको बाँकी खाली भागमा रातो कलरको पुरानो कार्पेट बिछाएको थियो । स्टेजमा जान आउनको लागी बीचमा बाटो र दुबैतर्फ मानिसहरूले खाचखच भरिएको थियो । त्रिपाल भन्दा बाहिर पनि मानिसहरु उभिएर कार्यक्रम हेरिरहेका र सुनिरहेका थिए । विद्यालय प्रअले कार्यक्रम संचालन गर्न गइरहेको थियो ।

‘४ ‘
‘हर्कजी नमस्ते चिन्नु भयो ?’ पछाडीबाट कोट्याउँदै एकजनाले भन्यो । हर्केले फर्केर हेर्छ । कक्षा दशमा पढ्दाको फर्स्ट बोय साथी प्रकाश रहेछ ।
‘आरे प्रकाश तिमी !’ हर्केले हातहरु मिलाउन खोज्छ । तर प्रकाशले अंकमाल गर्न दुबै हातहरु बढाउँछन् । दुबैले अंकमाल गर्छन् । झन्डै साढे तीन दशक पछि उनीहरुको भेट भैरहेको थियो । हर्केलाई प्रकाशले समकालीन साथीहरुको बीचमा लैजान्छ । कक्षाको सेकेण्ड बोय धुर्ब र थर्ड हुने अस्मितासंगै हर्के पनि मिसिन्छ ।
उनीहरु सानो स्वरमा खासखुस गर्दै कुरा गर्दै गए ।
‘म त इंडिया आर्मीको सुबेदार मेजर अनेरी कप्तानमा पेन्सन आएको । पुरा आठाइस साल नोकरी गरे ।’ हर्केले गर्ब गर्दै भन्यो । अनि तपाईहरुको भन्नुहोस् भनेर प्रकाशतिर इशारा गर्यो ।
‘म त क्याम्पसमा प्रोफेसर छु ।’ प्रकाशले भन्यो ।
‘म त टिचिंग होस्पिटलमा मेडिकल डाक्टर छु ।’ अस्मिताले भनिन् ।
‘म नेपाल पुलिसको एस एस पी हुँ ।’ धुर्बले बिस्तारै कानको नजिक आएर भन्यो ।
‘बहुत आच्छा ’ एकदम खुशी लाग्यो ।’ हर्के बोल्यो ।
माइकबाट प्रअले विद्यालय संचालक समितिका अध्यक्षलाई कार्यक्रमको सभापतिको आसन ग्रहणको लागि बोलाउँछ ।अध्यक्ष गएर सभापतिको असन ग्रहण गर्छ । तालीको गडगडहाट आवाज आउँछ ।
‘यसपछि सभापतिको आज्ञा अनुसार म यस विद्यालयका भुतपूर्व विद्यार्थी तथा शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री र आजका स्वर्ण महत्सोबका प्रमुख अथिति माननिय श्री हस्त बहादुर गुरुङ्गज्यूलाई प्रमुख अथितिको आसन ग्रहण गरिदिन हुन् अनुरोध गर्दछु ।’ पुन तालीको गडगडहाट सुनिन्छ ।
हस्ते स्टेजमा जान्छ र उपस्थित जनसमुदायलाई हात हल्लाएर अभिबादन गर्छ अनि प्रमुख अथितिको कुर्सीमा गएर बस्छ । हस्तेको बडीगार्ड़ उसको पछाडी गएर उभिन्छ ।
‘आरे के हो यो ? हस्ते मन्त्री ।’ हर्के आश्चर्य मान्दै साथीहरु तर्फ हेरर बोल्छ ।
‘तिमीलाई थाहा थिएन र ?’ प्रकाशले सोध्छ।
‘अहँ पता थिएन ।’ हर्केले भन्यो ।
‘राजनीति भनेको जुवा जस्तै हो क्याप्टेन साहेब । हार्यो भने चपरी मुनिको बास, जित्यो भने हस्तिनापुरको राज ।’ धुर्बले सानो स्वरले भन्यो ।
‘सधै लास्ट बेन्चको मान्छे अहिले मन्त्री ! हामी सबै भन्दा पनि अगाडी !’ हर्केले गुनगुनाउँदै भन्यो । उसलाई यो सपना जस्तो लागिरहेको थियो। भारतीय एघारौ रास्ट्रपति अब्दुल कलमको महान बाणी ‘कक्षा कोठाको अन्तिम बेन्चहरुमा पनि देशको महान सपुतहरु हुन् सक्छन’ उसलाई सही लागिरहेको थियो । ‘उद्योग गर्ने मान्छे भोको हुदैन, राजनीति गर्ने मान्छे पछुताउनु पर्दैन भन्थे’ हो रहेछ । हर्केको आँखा स्टेजतिर भए पनि मन महासागरमा डुबुल्की मारिरहेको थियो । व्यापार– अपार भने जस्तै नीतिहरूको पनि नीति – राजनीति, नाथहरुको पनि नाथ पशुपतिनाथ जस्तै रहेछ ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ ७ दिन पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? २ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए ५ दिन पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…