Sansar News- Nepal's Fast Khabar Online News Portal

बुढाबा सँगको स्मरण र श्रद्धाञ्जलीका शब्दहरु

उदयराज गौतम, डेनमार्क
२ हप्ता पहिले
बुढाबा सँगको स्मरण र श्रद्धाञ्जलीका शब्दहरु

गीताको भनाइलाई आधार मान्ने हो भने मुक्ति जीवनको लक्ष हो । मुक्ति गेरु वस्त्र धारण गरेर मात्र प्राप्त हुने अवस्था होइन । गाउँको कुनै निम्न मध्यम बर्गीय कृषक गृहस्थीले जीवन कालमा आफ्नो कर्तब्य पुरा गरेर कसैप्रति पनि राग द्वेष नराखी यह लिला समाप्त गर्छ भने त्यो मुक्ति हो । कुनै राजनीतिज्ञले बरु त्यस्तो कुनै परमधामको कल्पना गर्छ भने त्यो कति प्राप्त गर्न सक्छ ठ्याक्कै भन्न सकिंदैन । सायद यसको व्याख्या शास्त्रमा के कति छ मलाइ जानकारी भएन । हरेक पुरुष योग्य हुन्छ भन्ने संस्कृत साहित्यको कुरालाई आधार मान्ने हो भने एउटा ठुलो परिवारको डुंगा चलाएर पार लगाउन सक्ने हाम्राबा र बुढा बाहरु सफल पुरुषहरु हुन् ।

बुढाबा अर्थात गोबिन्द प्रसाद उपाध्याय रिजाल । हाम्रा बाका लगौंटी दोस्त, पारीवारिक सम्बन्धले ज्वाईं– ससुरा, आमाका ‘मावली बा’ अब यस धर्तीमा रहनु भएन । यहि २०७७ साल जेस्ठ ५ गते अर्थात मई १८ तारिकमा उहाँले ८९ वर्षको उमेरमा महाप्रस्थान गर्नु भएछ । यो दुखस्द खबरले मन अमिलो भयो, हातखुट्टा फुतुक्क गले, सम्झें ‘ खै अब तँ संग भेट हुंदैन होला, सम्झेर आइस आज निकै खुशी भाछु,’ २ बर्ष अगाडी उहाँसंग भेट हुँदा भन्नुभएको थियो । तेरा बा संग भेट्न मलाइ आत्तुरी भै सकेको छ, उहाँले भन्दै गर्दा मैले अनुहारमा एकटकले हेरी मात्र रहेँ भन्ने कुरा म संग केहि पनि थिएनन । अनौपचारिक ढंगबाट सबै पारीवारिक बेली बिस्तार लगाउनु भयो । हाम्रा बासंगका जीवनका थुप्रै अनुभूतिहरूको संग्रह फुकाउनु भयो । जीवनको उत्तरार्ध सम्म पनि अनुहारमा जवानीमा जस्तै चमक, जोस र जाँगर थियो । घरमा एक्लै हुनुहुन्थ्यो । बुढीआमा धेरै वर्ष पहिल्यै परलोक हुनु भयो। ८ भाइ छोराहरु कर्म गर्न देस परदेश लागे । एक मात्र छोरीको बिहे भै सक्यो । ‘ चिया पकाऊंछु’ भनेर मन्दिरबाट जुरुक्क उठेर भित्र जान लाग्नु भयो । पाखुरामा समाएर फेरी मन्दिरमै राखेँ ,अनि भित्र गएर पानी सारेर पिएँ । करिब २ घन्टाको उहाँसँगको बसाइ अन्तिम रहेछ, पत्याउन गाह्रो भएको छ । ‘रुखका पात पहेंलिए पछि झर्छन । मेरो झर्ने बेला भै सक्यो तिमीहरुले समाजमा राम्रो काम गरेर, हाम्रा छोराहरुसंग पनि राम्रो सम्बन्ध राखेर, फेरी अर्को पुस्तालाई सम्झाउने काम गर्नु । हाम्ले गर्न नसकेका, नभ्याएका काम गर्नु’ बुढाबाको कथन थियो । हामी दाजुभाइ नाङ्गै घरको आँगनमा दगुर्दा बुढाबा टुप्लुक्क आउनु हुन्थ्यो अनि हाम्रो भागाभाग भएको अहिले सम्झना आइ रहन्छ । हामीलाई घरमा बुढा बा भन्न सिकाइयो हजुर बा भन्न जान्दै जानिएन ।

कुराकानीकै क्रममा हाम्रा बासंग उहाँले बिताएका रमाइला दिनहरुको गाँठो पनि फुकाउन भ्याउनु भयो । नेपालमा जहानिया राणा शासनको उन्मुलन हुनु भन्दा ३ वर्ष पहिला अर्थात बि स २००४ सालमा बुढाबा नोकरी गर्न भारतको आग्रा जानु भएछ । एक वर्ष नोकरी गरेर घर फर्किनु भयो । बिहे गर्ने कुरो चल्यो तर भने जस्ती कन्या फेला परिनन । पढ्न अल्छी गरिस अब सप्तासती चण्डी पुरै कण्ठ नगरेसम्म तेरो बिहे हुँदैन भन्ने आफ्ना बाको उर्दी पछि चण्डी पाठ गर्न थाल्नु भयो । मनले मानेन । पुरानो नोकरी आँखामा झल्झली आउन थाल्यो । एक सय पचास भारु महिनै पिच्छे पाउने नोकरी गर्न फेरी भागेर आग्रा जाने बिचार आएछ । हाम्राबा संगै जाने सल्लाह भएछ ।

बा लाहुर जाने कुराको गाईगुई हाम्रा बुढाबा पुनाखरले थाहा पाउनु भएछ । ‘ मेरो जेठो छोरोलाइ लिएर गयौ भने नाता सम्बन्ध पुरै तोड्छु’ भन्ने धम्कि पछि उहाँ फेरी सुटुक्क आग्रा लाग्नु भएछ । भर्खर १७ बर्षको उमेरमा । बुढाबा आग्रा पुगेको झन्डै २ महिना पछि बा पनि भागेर आग्रा पुग्नु भएछ । बिजुली कम्पनि अल इन्डिया इलेक्ट्रिक ट्रान्सफरमा नोकरी गर्नु हुने रहेछ बुढाबाले । बालाई पनि उहाँले चिनेको कोहि अर्को नेपालीले त्यहीं पुर्याई दिएछ रातीको १२ बजे । सेण्ट्रिले राती कम्पनीमा पस्न नदिएपछि बा रातभर बाहिर बस्नु भएछ । बिहान ७ बजे बल्ल सेन्ट्रीले भित्र लगिदिएछ । गम्लङ्ग अँगालो हालेर ज्वाईं ससुरा अत्यास मेटेछन । बाहिर अंग्रेज बिरुद्ध आन्दोलन चलेको रहेछ । कम्पनीमा हड्ताल भएको कारण फुर्सदको मौकामा ज्वाईं ससुरा मज्जाले गफिन थालेछन । बिहानै देखि गफ गर्दागर्दै रात छिप्पिंदै गएको पत्तै भएनछ । किनकि बिजुली बलेकोले अँध्यारो हुँदै भएन । बा आश्चर्य चकित हुनु भएछ । फेरी त्यहि बिजुलीको कथा भन्दाभन्दै उज्यालो हुने बेला भै सकेछ । जीवनमा पहिलो पटक बिजुली बलेको देख्दा कसलाई पो अचम्म नलाग्ला र ! हाम्रा गाउँघरमा पनि यस्तै बिजुली बल्ने भए गोठ घर गर्न कति सजिलो हुन्थ्यो होला भन्ने कुराले उहाँहरुलाई निकै रोमाञ्चित पारेछ । बाहिर उज्यालो भएपछी बल्ल खानपिनको शुरु गरियो, भन्दै जाँदा बा संगका ति रोमाञ्चित दिनमा उहाँ डुबुल्की मार्न थाल्नु भयो । आँखाका डीलमा आँशु भरिए जस्तो मानेर मैले कुरो अन्तै मोडें । अनि कहिले फर्किनु भयो त भन्ने मेरो जिज्ञाशा शान्त पार्दै उहाँले भन्नु भयो  ‘बाले एक बर्ष जति नोकरी गर्नु भो त्यहि कम्पनीमा , पछि यताबाट हजुरबाले मान्छे लिन पठाएर जसरि पनि लिएर आउनु भनेकोले उहाँ फर्किनु भयो । म भने अलि यस्तै ४ महिना जति पछि फर्कें’ उहाँले भन्नुभयो । आग्राबाट फर्किदा बाले टर्च लाइट र एउटा टिनको बाक्सा पनि किनेर ल्याउनु भएको रहेछ । त्यो बाक्सा हाम्रो घरमा भएको प्रसङ्ग मैले बुढाबालाइ सुनाउँदा ‘ मैले पनि त्यस्तै ल्याएको थिएँ एकै ठाउँमा किनेको’ भन्नु भयो । टर्च लाइटको कुरो भने अलि अचम्मको छ । रातीमा बालेर हिंड्ने गरेको देखेर हजुरआमाले एक दिन आगो सल्काउन भनेर लाइटलाइ अङ्गेनामा जोतेको र आगो नबोले पछि किन बोलेन भनेर बालाई सोधेको प्रसङ्ग सम्झना आयो । बुढाबा स्वदेश फर्के पछि बा र उहाँको दोस्ती पुन: यथावत रह्यो ।बाको बिहा भै सकेको र दिदि जन्मी सकेकी रहिछन । बुढाबा हाम्रा बा भन्दा झन्डै डेढ बर्ष उमेरले जेठो सम्बन्धले ससुरा बिहा भएको थिएन । १८ बर्ष पुगी सक्नु भएको रहेछ । अब ससुराको बिहे जसरि पनि गर्नु पर्छ भन्ने लाग्यो होला । असल कन्याको खोजीमा ज्वाईं ससुरा घुम्दै जाने क्रममा बिहे गर्न योग्य जात कुलकी केटी ( हजुरआमा) माग्नु भएछ । र, यसरी बिबाह कर्म सम्पन्न भएको कुरा उहाँले भन्नुभयो ।

तत्पश्चात हाम्राबा र बुढाबा दुबैले संस्कृत शिक्षा अध्ययन गरि तत्कालिन समयमा सहकार्य गर्दै पुजाकर्म ,यज्ञ यज्ञादी, तिर्थबर्त गर्दै अगाडी बढेको कुरा उहाँ संगको बार्तालापबाट थाहा भयो । ज्वाईं ससुरा भए पनि एउटाले अर्कालाई सम्मान गर्ने भन्दा झैँ झगडा गरे जस्तो सुनिने तर आन्तरिक हार्दिकता लैला र मजनुको जस्तै अटुट अमर हामीले पनि देखियो । एऊटा घटना सम्झन्छु : २०३७ सालको माघ महिना एका बिहानै बुढाबा हाम्रो घर आउनु भयो । बिहानै त प्राय आइ रहनु हुन्थ्यो ।सधैं बालाई सोध्नु हुन्थ्यो,बा सितै कुरा हुन्थ्यो । चिया पकाएर काँसको थाल भरि टक्र्याउने काम आमाले गर्थिन । रातो पछेउरा हातले समाएर निधारमा लैजाने र नमस्ते गरेपछि आमाको काम सकिन्थ्यो । त्यस दिन बुढाबाले बा सित मलाइ सोध्नु भयो, माइलो खै ? सबै केटाहरु सुतिराखेका छन्, छक्काल सम्म सुत्छन । कुटो बाउसो यिनलाई के मतलब, संगैको साथी रामपुरे कान्छाको जेठोछोराले कति गरि सक्यो । दिल्लीबाट ३ पटक छुट्टी आइ सक्यो । हाम्रा केटा बिग्रे ससुरा, यस्तै कुरा बाले भन्दै हुनुहुन्थ्यो । बुढाबा म सुतेकै ठाउँमा आएर सिरक फाल्दिनु भयो ए उठ, छक्काल भै सक्यो । सुन त भोलि शनिबार पनि हो होस्रान्ग्दीमा जाप पुटक छ मलाइ साथी दिन्छस ? एक मनले जान्न भनु जस्तो लाग्यो । फेरी यसो सोचें, बुढाबाले कहिलेकाहीं यसो २-४ पैसो पनि हातमा हाल्दिने गर्नु हुन्थ्यो रिसाउनु भयो भने त्यो श्रोत पनि बन्द होला भन्ने सोंचेर हुन्छ भने । ‘बिहान ७ बजे सानो समिमा आएस’ । यति भनेर उहाँ हिड्नु भयो । सहमति अनुसार म गएँ । त्यस दिन जाप पुटकमा मकैको गेडा गनेर १३ रुपयाँ आयो । औधि खुशि लाग्यो । भर्खर लाल कम्युनिस्ट बन्ने सुरसार थियो । स्कुलमा बिद्यार्थी नेता, अब पाठपुजा गरेको भनेर केहि भनि हाल्छन कि भन्ने मनमा अलि रन्को पनि परेको थियो । भेट हुन नहुने कसै संग पनि भेट भएन, ठिकै भयो । पैसोको हिसाब बालाई दश रुपयाको बुझाइयो । बालाई हिसाब बुझाउनै पर्थ्यो हाम्रो घरमा । भाइ कृष्णले स्कुलमा पढाउने तर तलब बुझ्न बा जानु हुन्थ्यो । हेडसर संग बाको कनेक्सन भै सकेको हुने रहेछ । पढाउने मान्छेको काम तलब बुझेकोमा सहिछाप गर्यो, हिंड्यो । सरौंखोलामा पढ़ाउदा तलब बुझेर म घर आइ नपुग्दै मैले कति तलब बुझें बालाई थाहा हुन्थ्यो । ज्युँका त्यूँ बुझाउन पर्थ्यो । आर्थिक हिसाब लेनदेन बाको कुरा सबै बुढाबालाई थाहा हुन्थ्यो ।

भैंसी किन्न जाने देखि ऋण काढ्ने सम्मको , पुजा पाठ देखि तिर्थबर्त सम्मको सहकार्यमा मिलेर गर्ने दुइ बुढाहरुको सहकार्य जीवनको अन्त्य काल सम्म पनि अनुकरणिय रह्यो । होस्रान्ग्दीबाट गोरादिको भिर हुँदै झर्दाको कुरा सम्झन्छु – अलि पेट दुख्यो भनेर बुढाबा झाडी तिर लाग्नु भो, अलि निकै बेर आउनु भएन । हामी ४-५ जना थियौं । बुढाबा आइ सकेपछि बाले भन्नु भो’,  घरै गएर खाँदा पनि त हुन्थ्यो किन पोको बोकेर भीरतिर गएर खान पर्थ्यो र कस्ता मान्छेलाई ससुरा भन्न पर्यो है मलाइ ?’ सबैजना मरि मरि हाँस्न थाले । यति हद सम्मको छेडखान पनि हुन्थ्यो ज्वाईं ससुराको । बुढाबा पनि यो पैंचो तिर्ने कुनै दिन आउलानी भन्दै बाटा लाग्नु भयो । २०४२ साल तिर हुनु पर्छ । खरबारीमा बा र म घाँस काट्दै थियौं । तलबाट बुढाबाले बालाई बोलाउनु भयो । ‘भोलि १० बजे आउनु नि भात खाएर , फेरी खाने बेलामा टुप्लुक्क आउने हिन नि !’

बुझ्दै जाँदा लाग्यो यस्ता छेड्खान बा र बुढाबाको बीचमा दैनिक जसो चल्ने रहेछन । मेरो बुझाइमा उहाँहरु दुइका बीचमा अनेक समानताहरू रहेका थिए । दुबैजना अहिले यो सांसारिक मोहजालबाट मुक्त भै सक्नु भएको छ । गीताको भनाइलाई आधार मान्ने हो भने मुक्ति जीवनको लक्ष हो । मुक्ति गेरु वस्त्र धारण गरेर मात्र प्राप्त हुने अवस्था होइन । गाउँको कुनै निम्न मध्यम बर्गीय कृषक गृहस्थीले जीवन कालमा आफ्नो कर्तब्य पुरा गरेर कसैप्रति पनि राग द्वेष नराखी यह लिला समाप्त गर्छ भने त्यो मुक्ति हो । कुनै राजनीतिज्ञले बरु त्यस्तो कुनै परमधामको कल्पना गर्छ भने त्यो कति प्राप्त गर्न सक्छ ठ्याक्कै भन्न सकिंदैन । सायद यसको व्याख्या शास्त्रमा के कति छ मलाइ जानकारी भएन । हरेक पुरुष योग्य हुन्छ भन्ने संस्कृत साहित्यको कुरालाई आधार मान्ने हो भने एउटा ठुलो परिवारको डुंगा चलाएर पार लगाउन सक्ने हाम्राबा र बुढा बाहरु सफल पुरुषहरु हुन् ।

अमन्त्रम् अक्षरम् नास्ति, नास्ति मूलमनौषधम् ।
अयोग्यः पुरुषो नास्ति, योजकस्तत्र दुर्लभः ।।
अर्थ : मन्त्रविनाको अक्षर हुँदैन, योग्यताविनाको मानिस हुँदैन र औषधिविनाको वृक्ष हुँदैन ।
त्यसैले यी सबैलाई मिलाउन सक्नु चाहिँ दुर्लभ हो ।

तत्कालिन सामाजिक परिवेशमा दुस्ख सुख संस्कृत शिक्षा हाँसिल गरि समाजलाई ज्ञान उपदेश, सामान्य आयुर्वेदिक औषधिबाट उपचार, दुखमा परेकाहरुलाई सहयोग र परिवारको जिम्मेवारीबोध सहितको कर्तव्यपथमा नेत्रित्वगर्नु महत्वपुर्ण कर्म हो । जुन कर्तब्य उहाँहरुबाट सम्पन्न भयो । बा र बुढाबा छुट्ट्य़ाउनै नमिल्ने पात्र हुन् । संगै जोडिएका, खेलेका बढेका पढेका र लडेका र भोगेका । दुबैका अनुभूति झन्डै समान छन् । दृश्य पात्रको रुपमा मैले बुढाबाको जीवनको अन्त्य पछि लेखिएका स्मृतिका यी हरफहरु मेरा निजात्मक हुन् । बिसुद्ध पारिवारिक सम्बन्धका तरेलीहरु संग संम्बन्धित हुन् ।

बुढाबा हजुर कत्तिको खुशी हुनुहुन्छ यति बेला रु मेरो यो प्रश्न बिदा हुनै लाग्दाको बेलामा मैले सोधेको थिएँ । एक छिन घोरिएर जिर्ण बन्दै गरेको आफ्नो शरीर जस्तै घर तर्फ हेर्दै भन्नुभयो ‘ हेर माइला, उतिबेला समयले मलाइ पुरै साथ् दियो तेरा बा जस्ता साथी थिए । हप्ता १० दिन जजमानी गरेरै बाहिर बस्दा पनि हुरुक्क गर्ने इष्टमित्र थिए । बिस्तारै उनीहरु पनि टाढिए । म पनि एक्लो हुँदै गएँ । घर भत्किन आं ट्यो, बनाउने तागत छैन । कुन दिन यहि घरले किचेर मरिने हो के थाहा !’ इतिहाँस र बर्तमानले आफ्नो जीवन प्रति गरेको ठट्टा जस्तै लाग्ने लघुताभासले उहाँलाई घचघच्यायो । यति बेला सम्म मेरो मोबाइलमा थुप्रै घन्टीहरु बजिसकेका थिएँ । खल्तीबाट मोबाइल झिकेर पुलुक्क हेर्न के भ्याएको थिएँ, अब यो हिड्ने भयो भन्ने सोंचेर होला , अलि बेर बस् भन्नु भयो । थचक्क फेरी बसें ।

‘तेराबाले छाडेर गए पछि म टुहुरो जस्तै भएँ । छोराछोरी हुर्काउन, सातु सामल जुटाउन हरेक फाल्गुन १५ गते ऋण धन, ब्याज बट्टो बुझाउन तेरा बा र मैले गरेको दुस्ख अलि अलि त तैंले पनि थाहा पाइस् होलानी रुुु उहाँले म प्रति प्रश्न तेर्स्याउनु भयो । स्वीकृतिको टाउको हल्लाएँ । बा र बुढाबामा धेरै कुराहरुको समानता पनि थियो । दुवै जनाले छोराछोरीले घर टम्म भर्नुभएको थियो । दुबैजना गाउँका पण्डित, दुबैले केहि समय भारतमा जागिर खानु भयो । कुनै लामो समय सम्म दुवै जना सिगरेटको बाक्लो अम्मली हुनुहुन्थ्यो । दुबैमा हाँसो ठट्टा गर्ने र एकले अर्कालाई छेड्खान गर्ने बानी थियो । उतिबेलै बाजाबाज गर्ने अनि तुरुन्तै चिसिएर गम्भीर छलफल गर्ने यस्तो अभ्यास आजकल बिरलै देखिन्छ । रातभरी गफ गरेर बुढाहरु बस्दा खाटमुनि सुतेर लामालामा कहानी, घटना, ब्यबहार, सीप, ज्ञान, शास्त्र र जीवन जिउने कला बारे उहाँहरुको अभ्यास र अनुभवका बेली बिस्तार मैले सुनेको छु । एक पटक मेरै बारेमा कुरा गरेको पनि मैले सुनेको छु । यद्यपि म खाटमुनि छु भन्ने कुरा उहाँहरुलाई थाहा हुँदैनथ्यो । मलाइ जसरि पनि भारतीय सेनामा भर्ति गराउने कुरामा दुबैको जोड थियो । त्यति बेला भर्ति हुनु भनेको घर परिवारको निम्ति एउटा महान उपलब्धि थियो । हाम्रो ठुलो दाइ भर्ति भएको खबर थाहा पाउँदा बा आमाको आँखाबाट हर्षका बलिन्द्र धारा आँशु झरेको घटनाको मलाइ सम्झना आइ रहन्छ । सात कक्षा पढ़दा देखिनै भारतीय बिस्तारबादको कथा पढी सकेकोले भर्ति हुने कुरालाई मैले सधैं इन्कार गरि रहें ।’ जजमानहरु पनि टाढीदै गए, ‘ भन्ने उहाँको भनाइ सुन्दा भने मलाइ २०५० साल तिरको एउटा कुरा सम्झना आयो । भाइ कृष्णले बुढाबालाइ कसैले चिट्ठी पठाएको र त्यो चिट्ठीमा लेखिएको व्यहोरा मलाइ काठमाण्डुमा सुनाएको थियो । सुने अनुसारको व्यहोरा यस्तो थियो :
श्री पं गोबिन्द प्रसाद पाध्याय ,
धरमपानी ।
उप्रान्त हाम्रो टोल छिमेक र हामी दाजुभाइकोमा हजुरले लामो समय सम्म गर्दै आउनु भएको धार्मिक कर्म काण्ड हामी आफ्नै विधिबाट र हाम्रा आफन्तबाट गर्ने गराउने व्यहोरा अबगत गराउंदै यो पत्र पठाएका छौं । आज सम्म हजुरले गर्नु भएको सहयोगको निम्ति धन्यबाद , भवदीय , भनेर पठाउनेको नाम ठेगाना समेत उल्लेख गरेर लेखिएको रहेछ । यस बाहेकको बिबरण खुलाउन आबस्यक भएन । पछि फेरी चिठी पठाउने ठाउँबाट कर्मकाण्ड गर्न बोलाउँदा जान मन नलागेको कुरा बताउनु भएको थियो । सायद त्यहि घटनालाई संकेत गर्न खोज्नु भएको हो कि भन्ने लाग्यो । जीवनको यो उत्तरार्धमा अहिले भने उहाँको कसै संग कुनै गुनासो छैन । बिदेसको छोटो अनुभव गर्ने हो लामो समय बाहिर बस्दा सबैको माया ममता गुम्छ, गुमाइञ्छ ।अब तिमीहरु पनि फर्क भन्नु भयो । भाइ काशिराम बेला बेला आइ रहन्छ, आजभोलि उसै संग मेरो धेरै कुरा हुन्छ भन्नुभयो । खरदार महेन्द्र प्रताप, प्रेम बहादुर आले लगायत धेरै आफ्ना समयका दौंतरीको सम्झना गर्नुभयो । बालक देखि बृद्ध सम्म सबै संग साथी बन्न सक्ने खुबी भएका मावली बुढाबालाइ साह्रै मन पर्ने फुर्सदको खेल भने ‘तास’ थियो ।

भाइ काइलो दान प्रसाद, मास्टर काशिराम कान्छो निलकण्ठ र ठुल्दाइले तैंले त फेसबुकमा बेलाबेला के के लेखि रहन्छस बुढाबा बित्नु भो यसो केहि लेख भनेको हुँदा श्रद्धान्जलीका केहि शब्द लेखियो । बुढाबाको चिर शान्तिको कामना गर्दै परलोक कहीं छ भने हाम्राबा संगै झगडा गर्दै शान्तपुर्वक रहनु होला । बुढाबाका छोराहरु (हाम्रा मामाहरु) कमल, तारा, रेसम, ठगु, प्रेम, मित्रलाल, केशब ,खगेन्द्र तथा फुपु भविला प्रति हार्दिक समबेदना प्रकट गर्दछौं ।

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए २ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…

वीरगन्जबाट आयो खुसीको खबर, आज एकैपटक ४३ जना कोरोना संक्रमित डिस्चार्ज

वीरगन्जबाट आयो खुसीको खबर, आज एकैपटक ४३ जना कोरोना संक्रमित डिस्चार्ज २ हप्ता पहिले | संसार न्यूज़

१२ जेठ, काठमाण्डौं । वीरगन्जको नारायणी उपक्षेत्रिय अस्पतालमा उपचाररत ४३…