Sansar News- Nepal's Fast Khabar Online News Portal

भक्तपुरमा जनप्रतिनिधिलाई नै कोरोना संक्रमण देखिएपछि वस्ति सिल गरियो

संसार न्यूज़
१ हप्ता पहिले
भक्तपुरमा जनप्रतिनिधिलाई नै कोरोना संक्रमण देखिएपछि वस्ति सिल गरियो

१० जेठ, भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ९ की ४२ वर्षीया महिला जनप्रतिनिधिमा पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण भएपछि जनप्रतिनिधि बस्ने बस्ती सिल गरिएको छ ।
भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा गत ६ गते स्वाब सङ्कलन गरी जनप्रतिनिधि, सफाइ कर्मचारी र स्वास्थ्य कर्मचारीको कोरोना परीक्षण गराउने क्रममा ती महिलाको स्वाब सङ्कलन गरी भक्तपुर अस्पतालमार्फत टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रगोगशालामा पठाइएको थियो ।

प्रयोगशालामा भएको परीक्षणको शुक्रबार राति सार्वजनिक भएको नतिजामा कोरोना पोजेटिभ आएपछि आज बिहान प्रहरीको टोलीले महिला जनप्रतिनिधि बस्ने भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रह्मायणी जाने सडकको मालपोत कार्यालय क्षेत्र आसपासका १८ घर रहेको बस्ती सिल गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

सङ्क्रमित महिलाले शुरुमा अस्पताल नगई घरमै बस्छु भने पनि पछि नगरपालिकाका अन्य जनप्रतिनिधि र प्रहरीको आग्रहमा उनलाई राति पाटन अस्पतालको आइसोलोशनमा लगिएको बताइएको छ । टेकु अस्पताल लैजाने तयारी गरिए पनि सङ्क्रमित महिला मुटु रोगको समेत बिरामी भएकाले पाटन अस्पताल लगिएको हो ।

विगतमा स्वास्थ्य स्वयंसेविका समेत रहनुभएकी सङ्क्रमित महिला नगरपालिकाको बैठक, पार्टीको गतिविधि, राहत वितरणदेखि कोरोना सङ्क्रमणबाट कसरी बच्ने र बचाउने भन्नेबारेमा स्थानीय टोल टोलमा जनचेतनासमेत फैलाउँदै हिँड्ने गरे पनि आफैँ कोरोना सङ्क्रमित भएको स्थानीयवासीको भनाइ छ ।

यसअघि मुटुको शल्यक्रिया गरिसकेको उनी स्वास्थ्य परीक्षणका लागि पटक पटक अस्पताल जाने गरेको र अस्पतालबाट वा समुदायमा विभिन्न गतिविधिमा हिँड्ने भएकाले समुदायबाटै पनि सङ्क्रमण भएको हुनसक्ने अनुमान गरिएको छ ।

सङ्क्रमित महिलाको परिवारको अन्य सदस्यलाई निगरानीमा राखेर आजै स्वाब सङ्कलन गर्ने तयारी गरिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए। वडा अध्यक्षलगायत अन्य जनप्रतिनिधिलाई भने आफ्नै घरमा क्वारेन्टाइनमा बसेका छन् ।

जनप्रतिनिधिमा नै कोरोना भाइरस सङ्क्रमण पाइएपछि भक्तपुर नगरपालिका क्षेत्र जोखिम क्षेत्रमा परेको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भक्तपुर नगरपालिकाको समुदायस्तरमै कोरोना भाइरस जोखिम बढेकाले जतिसक्दो छिटो परीक्षण बढाउनुपर्ने आवश्यकता रहेकाले नगरपालिकासग यसबारेमा छलफल भइरहेको उनको भनाइ थियो ।

प्रजिअ पाण्डेले भने, “भक्तपुर नगरपालिका क्षेत्रभित्र कोरोना सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्का गरेका छौँ, त्यसैले लकडाउनलाई कडाइ गर्दै प्रत्येक घरको कम्तीमा एकजनाको स्वाब सङ्कलन गरी परीक्षण गर्नेबारेमा नगरपालिकासँग छलफल भइरहेको छ ।” लकडाउन कडाइ गर्दै घरबाट बाहिर निस्कन नदिने अवस्थामा पानी तथा खाद्यान्नलगायतका अत्यावश्यक सामग्री भने टोल टोलमा पु¥याएर केही समय कडाइ गरी परीक्षणको दायरा फराकिलो पार्न सकिने उनको भनाइ थियो ।

सङ्क्रमित महिला जनप्रतिनिधिकै वडा कार्यालयमा काम गर्ने सचिवको आरडिटी पोजेटिभ देखिए पनि पिसिआर भने नेगेटिभ आएको छ । महिला जनप्रतिनिधिसँगै भक्तपुरको स्थानीय समुदायमा दुई र बाहिरी जिल्लाबाट आएर बस्ने दुई गरी चारजनामा सङ्क्रमणको पुष्टि भएको छ । यद्यपि भक्तपुरमा पहिलोपटक कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका दुवाकोटका सशस्त्र प्रहरी जवान र मध्यपुरथिमि साथीकोमा बस्ने महिला स्वास्थ्य कर्मचारी भने आइसोलेशनमा उपचारपछि डिस्चार्ज हुनुभएको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाको फोहर सङ्कलन गर्ने सवारी चालक भक्तपुर–५ योसिंखेलका सङ्क्रमित हुन् । योसिंखेलमा ३५ घरमा गरिएको सिल खुलेको छैन । सङ्क्रमितको घरपरिवारका १२ जनाको कोरोना भाइरस परीक्षण गरिए पनि रिपोर्ट आएको छैन ।

नगरपालिकाको दुईवटा टोलमा कोरोना सङ्क्रमण पुष्टि भए पनि नगरपालिकाभित्रका नागरिक भने अझै पनि लकडाउन उल्लङ्घन गर्ने गरेको, बजारमा बिहान दैनिक भीड लाग्ने गरेको छ । यसलाई नगरपालिका र प्रहरीले रोक्न नसकेको गुनासो बढेको छ । रासस

सर्बाधिक पढिएको

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’

‘संक्रमित व्यक्तिले छुदैमा वा कुरा गर्दैमा कोरोना भाइरस सर्दैन’ २ हप्ता पहिले | संसार न्यूज़

कोरोना संक्रमण कसरी सर्छ ? कति खतरनाक छ ? मृत्युदर…

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध

भारतबाट नेपाली फर्काउन प्रवासी नेपाली संघ भारतको अनुरोध ४ हप्ता पहिले | संसार न्यूज़

२० वैशाख । प्रवासी नेपाली संघ भारत केन्द्रीय समितिले भारतमा…

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ?

मन्त्री पदमा अर्याललाई एक शिक्षिकाको पत्र, नक्शा बारे के भनेर पढाऊँ ? ३ हप्ता पहिले | संसार न्यूज़

विद्यार्थीले 'लिपु, लिम्पियासहितको नेपालको नक्शा आईसक्यो, अहिलेको नक्शा त गलत…

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए

कोरोनालाई जित्दै नेपाल, आजपनि संक्रमणबाट मुक्त भएर २१ जना घर फर्किए १ हप्ता पहिले | संसार न्यूज़

९ जेठ, काठमाण्डौं । नेपालमा पछिल्लोपटक कोरोना संक्रमणबाट निको हुनेको…