Sansar News- Nepal's Fast Khabar Online News Portal

देश पस्न मनाही छ

 हरि कट्टेल,मोरङ
२ महिना पहिले
देश पस्न मनाही छ

(नेपाल पस्न नपाएको सुदुर पश्चिमको कुनै नेपालीले सीमाबाट गरेको आक्रोशित लाइभ सुनेपुछे मैले यो कविता कोरेँ । यो कविता जो सीमामा अड्किनु भएको छ, अन्य देशबाट देश आउन पाउनु भएको थिएन/ छैन, उहाँहरूलाई समर्पण गर्छु ।) 

म परदेशिएको वर्षौँ भयो
मेरा बा पनि परदेसिन्थे यसै गरी
कालेबुङ् भोटाङ्
कोईला खानी
र पन्जाब
उनको मृत्युपछि
टेकेर उनकै पदचाप
परदेशिएँ म पनि
छोडेर बूढी आमा
र गर्भिणी स्वास्नी ।
पठाएँ पैसा र तिरेँ रिन
पठाएँ पैसा र किने पाखो बारी
पठाएँ पैसा र तिरेँ तिरो, मालपोत र धुरीकर
जो मेरै नाममा थियो ।
बुझाएँ दस्तुर
र गराएँ आज सम्म मैले अनुहार हेर्न नपाएको
छोराको जन्म दर्ता ।
अह्राएँ पत्नीलाई हालि दिन दस बीस हजार
रकम सरकारले खडा गरेको
कोरोनाको आपत् कालीन कोषमा ।

भनिएँ भतुवा र बनिएँ नोकर अर्काको
दुखि रह्यो देश साँझ विहान
अपमानित भईरह्यो मन सँगै मेरो देश मालिकबाट ।
सहन सकिदो रहेछ कोर्रा
बरु आफुमाथि बजारेको
तर गाह्रो हुँदो रहेछ सहन
देश र जाति माथि छोडिएका अपशब्द
नसकेर सहन कति पटक गरेँ बिद्रोह
र खाएँ कोर्रा ।

लाग्थ्यो कुनैबेला छोएर नेपाल आमाको काख
गर्नेछु लुटुपुटु
र रुनेछु अघाउञ्जेल
बिसाउनेछु पीडाहरू।
मेरो प्यारो सरकार समक्ष ।
राखेर नागरिकताको कार्ड छातीमा
गर्थेँ गर्व सम्झेर मेरो देश
बिहानै उठेर जब गर्थेँ सन्ध्या
गर्थेँ साष्टाङ्ग दण्डवत जननी र जन्मभूमिलाई ।

जब आउँथ्यो दशैँको टीका
समर्पण गर्थेँ पहिले
मेरो देशको राष्ट्रपतिका नाममा
दूवो र राता अक्षता
टाँसेर गोवर म भाडा बसेको रुमको दैलाको शिरमा
जसरी गर्थिन मेरी आमा म सानो छँदा ।

आज अनायास लखेटिएँ परदेशबाट
उता विरामी छिन् बूढीआमा
अत्तालिएकी छिन् पत्नी
म आतुर छु घर पुग्न
र आएँ चढेर रेल
सिमाना सम्म
सुनेँ मेरो ज्ञानी सरकार
गरिरहेछ समाजिक दूरी कायम
सिंह दरवारमा
म खचाखचको भीड नाघेर लम्किरहेछु
सिमाना तर्फ क्रस गरेर प्लेट फर्म
मन छ हतारमा पुगेर घर
हेरूँ छोराको अनुहार
र देखाउँ आफ्नो मुख
तर सीमामै बसेर भन्यो मेरो देशको पुलिसले
तिमीलाई देश पस्न मनाही छ ।
अहिले च्यातेर यो नागरिकताको खोस्टो
भन्दैछु ,
हे छोरा  ! काटेछौ भने यो महामारी
आउनु स्वस्थानीको नवराजझै खोज्दै मलाई सीमामा
र गर्नू काज किरीया बटुलेर दस गजामा छरपस्ट
मेरा यी अस्थिपन्जरहरू ।

 

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…