Sansar News- Nepal's Fast Khabar Online News Portal

‘एउटा अबोध बालकको रुवाइ जस्तै हो साहित्य लेखन’

संसार न्यूज़
२ महिना पहिले
‘एउटा अबोध बालकको रुवाइ जस्तै हो साहित्य लेखन’

२०३१ मा कास्कीमा जन्मेका कवि तथा निबन्धकार बिष्णु पादुका पछिल्ला केही समय देखि कोहलपुर बाँकेमा स्थायी बसोबास गर्दै आएका छन् तर उनको कर्मथलो भने डोल्पा हो । २२ बर्षदेखि शिक्षण पेसामा संलग्न पादुका पछिल्लो १६ बर्षदेखि नियमित रुपमा तेन्जिङ नोर्गे आधारभूत विद्यालय ,छार्का ताङ्गसोङ्ग-४, डोल्पा माविमा शिक्षक छन् । विभिन्न साहित्यिक संस्थाहरुबाट सम्मानित पादुका पछिल्लो समय साहित्यको कान्छो विधा ‘साइनो’को बिकास प्रबर्द्धनका लागि अभियन्ताका रुपमा सक्रिय रहेका छन् । उनको पहिलो साइनो कृति पनि प्रकाशित भइसकेको छ । उनै साइनो अभियन्ता बिष्णु पादुका सँग संसारन्युजको लागि बालकुमार क्षेत्रीले गरेको कुराकानी

लामो समयदेखि अध्यापन पेशामा संलग्न हुनुहुन्छ र अहिले बिकट स्थानमा सेवारत हुनुहुन्छ । यो समयलाई के कसरी उपभोग गर्दै हुनुहुन्छ ?

हजुर ! म बिगत २२ वर्षदेखि यतै कार्यरत छु । चैत्रदेखि विद्यालय सुचारु (सञ्चालन) हुनुपर्ने हो । कोरोनाको कारण लकडाउन भएपछि न त घरमा पुग्न सकियो न त विद्यालय खोल्न नै । आफुले ल्याएका र विद्यालयको पुस्तकालयमा उपलब्ध पुस्तक पढ्दै ,विद्यालय हातामा रहेको बारी, फूलबारी गोड्मेल गर्दै र केही फुटकर कविता, केही लेख र थप साइनो लेख्दै बिताएको छु । समय कटाउन बेलाबेला अन्लाईन आइदिनाले थोरै सूचना पनि मिलेको छ ।

सर ! आफ्नो पेशासँगै साहित्यको सेवा अझ भनौ सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ, कोरोनाको प्रभाव बढेको बेला के कस्ता साबधानी अपनाउनु भएको छ ?

अन्य अभियन्ता झैँ पूर्णरूपमा नलागे पनि पेशागत र लेखकिय हिसावले यी दुबै सामाजिक कर्म नै हुन् । चिसो हावापानीको भूगोल भए पनि नियमित हात धुने र सामाजिक दूरी कायम गर्ने गराउने गरिएको छ । बाहिरबाट गाउँमा प्रवेश गर्ने सबैलाई यहीँ विद्यालयमा स्थापित क्वारेन्टाइनमा बस्नका लागि आवस्यक सरसहयोग गरिएको छ । स्थानीय निकायमा बारम्बार अनुरोध गरेर स्वास्थ्यकर्मीको बसाई नियमित बनाइएको छ । सबैभन्दा ठूलो स्वास्थ्य हो भन्ने जानकारी दिन लागि परेका छौँ ।

सहरका बिधालय तथा कलेजमा त अन्लाईन मार्फत पनि पढाई संचालन गरिएको छ, त्यहाँका बिद्यार्थीहरुको अध्यापन कसरी चलिरहेको छ ?

विगत एक वर्षदेखि वल्ड लिंकको ग्रामीण सञ्चार अन्तरगतको वाइफाइ र नेपाल टेलिकमको नमस्तेको टावर स्थापना भएपछि धेरै राहत भएको छ । पलपल आउने जाने नेटवर्क भएपनि सूचना पाइएको छ । कमजोर नेटवर्कका कारण अन्लाईन कक्षा संचालन गर्न सकिएको छैन । घरमा स्वअध्ययन बाहेक अन्य विकल्प नभए पनि विद्यार्थीहरुकै पहुँचमा हुनाले केही सोधपुछ र निर्देशन नियमित जस्तै छ । दूरी कायम गर्दै औपचारिक कक्षा संचालन गर्ने कि भन्ने विषयमा छलफल चलिरहेको छ ।

अहिले बिश्व तथा हाम्रो देश कोरोनाको चपेटामा परेको छ । विभिन्न संघसँस्थाहरु र सरकारले देशैभरी राहत बाँडिरहेको अवस्था छ । त्यस ठाँउमा सरकार लगायत दातृ सँस्थाहरुको उपस्थिति कस्तो छ ?

सान्दर्भिक प्रश्न सोध्नुभयो, अरु सामान्य अवस्थामा विभिन्न कार्यक्रम लिएर आउने संघसंस्थाको अहिले नाकमुख नै देखिएको छैन । स्थानीय निकायले समेत राहतका कार्यक्रम ल्याएको छैन । क्वारेन्टाइनमा बस्नेको लागि खान बस्न सम्म सुविधा दिएको छ । लकडाउन अवधी लम्बिदै जानाले यहाँको आर्थिक उपार्जनको मुख्यश्रोत यार्चागुम्बु संकलन समेत रोकिएकोले कोरोना भन्दा भोकमरीले ज्यान गुमाउन बाध्य हुने छन् दुर्गमका जनता ।

केही समय यता नेपाली साहित्यको कान्छो विधा साईनोको बिकास तथा प्रबर्द्धनमा सक्रिय देखिनु भएको छ साइनो बारे आफ्नो धारणा राखिदिनु होस् न !

अधिक समय सञ्चारविहिन क्षेत्रमा छु थिएँ । ढिलोगरी साइनो बारेमा सुनेँ । मिना डाँगीमार्फत् छाया सर ,केशव सर अनि तपाईसँग जोडिए पछि साइनोसँग आकर्षित भएँ । गएको चार महिनामा पाँच सयको हाराहारीमा साइनो लेखेँ । निरन्तर लेख्दै छु ।
‘साइनो सात आठ नौ गरि चौबीस अक्षरिय ( वर्ण) को संक्षिप्त कविता हो । जसको तिनवटा पद हुन्छ । सबै पदको आफ्नो आफ्नो अर्थ हुन्छ तर समुच्चयमा एउटा गहन अर्थ बोकेर आएको हुन्छ । भावको प्रमुखता कविताको मुटु हो । यसले बोक्ने विम्ब प्रतीक र व्यङ्ग्य यसको शरीर हो ।’

साइनोको थालनी र यसको गतिविधि बारे के भन्नुहुन्छ ?
थालनीको हिसाबले चर्चा, पाठक र सर्जकको वृद्धि दिनानुदिन बढेको छ । लेखन विषयको दायरा पनि फराकिलो भएको छ । यसमा ठूलो भूमिका आधुनिक सञ्चार फेसबुक, म्यासेन्जर, रेडियो, टिभी ,अन्लाईन पत्रीका र छापा पत्रिका समेतको उल्लेखनीय योगदान छ । साइनोका लागि परेर लाग्ने बालकुमार क्षेत्रीको योगदान साइनोले कहिल्यै भुल्ने छैन । कोहलपुरमा महानन्द ढकाल र कैलालीमा आर्त अकुलीनको योगदान पनि विशेष छ । साइनो लेख्ने सम्पूर्ण साइनो सर्जकको नाम अब एउटा लामो सूचि बनिसक्यो । यो नै गर्वको विषय हो ।

तीन पद,चौबिस अक्षरमा पूरै भाव त्यसमाथि गुच्छाहरु स्वतन्त्र हुनुपर्ने यस्तो विधाले सिर्जनाको संरचनालाई झन् जटिल बनाएको भन्नेकुरा सर्जकहरुबाट आएका छन् । यसको सहजीकरण के होला ?
लेखिनु मात्रै काव्य हुँदैन । कुनैपनी विधाका आफ्ना नियम हुन्छन् । त्यसमाथी संक्षिप्त विधाहरु भनेका बिजुलीका झट्का हुन् । विद्यूतीय तरङ्ग झै झिलिक्क हुने र त्यसलाई छोप्ने काम सफल साइनोकारको हो । सरल वाक्यमा तीन पद सात आठ नौ अक्षर गन्नु मात्रै साइनो सिर्जना होइन । निपात र संयोजक थपेर कनेर लेखिने साइनोले संख्यामा त बल देला गुणात्मकता दिदैन । मलाई लाग्छ साइनो लेख्नु जटिल कर्म नै हो । आफ्नै रचना एक दुई बर्ष पछि आफैलाई फिक्का लाग्छ भने त्यो रचना परिपक्व मानिदैन । एउटा मात्रै साइनो किन नलेखियोस्, कालजयी होस् भन्ने मान्यता राखियो भने तीन गुच्छा, फरक अर्थ र समुच्चयको मुल भाव आफैं झल्किन्छ । म त भन्छु पर्मको प्रशंसाको भोक नपालौं । नेपाली मन मुटुको नयाँ बिधालाई जति सकिन्छ खँदिलो पारौं । अभ्यास गर्दा असहज पनि सहज हुन्छ । लेख्नु भन्दा पढ्नु धेरै नै यसको अचुक उपचार हो ।

नेपाली साहित्यको नयाँ विधा साइनोमाधेरै सष्टाहरु जोडिएका छन्, यो राम्रो पक्ष हो तर यसको साख उचाल्न संख्या प्रयाप्त हुन्छ कि अरु केही चाहिन्छ ?

निसन्देह शाख उठ्न गुणस्तर चाहिन्छ । तर जति धेरै सर्जक उति धेरै गुणस्तरको नियम पनि भुल्नु हुन्न । हरेक कवि आफ्नै प्रतिद्वन्दी हो । एउटा अब्बल रचना आएपछी दोश्रो तेस्रो कमजोर आउँदा उ स्वयं हारिरहेको हुन्छ । लेखिने क्रममा धेरै संख्यामा लेखिन सक्छ । त्यसको पुनर्लेखन र सम्पादन गर्न पनि छुटाउनु हुँदैन । अर्को कुरा प्रदर्शन मात्रै पनि सबैकुरा होइन । आफुसँग हुँदा कुनै रचना जति सुरक्षित र मजबुत हुन्छ प्रकाशनमा आएपछि रचनाको आन्तरिक शक्ति क्षीण हुन्छ तसर्थ आफ्नो रचनाको शक्ति क्षीण हुन दिने नदिने त्यो सर्जकको निजि धारणा र अधिकारको कुरा हो ।

कविताको उपविधा साइनो र साहित्यका अरु विधामा के अन्तर पाउनु भयो ?

म विशेषगरि गद्य कविताको विद्यार्थी भएको हुँदा म साइनोमा रमाएँ । यो स्वछन्द बिधा हो, संक्षिप्त विधा हो । यसको भाव विम्ब व्यंग्य अलंकार इत्यादीको बारेमा मैले केही लेखहरु पनि प्रकाशन गरेँ । एउटा साइनोको भाव र वृत्तमा रहेर एउटा महाकाव्य, उपन्यास, निबन्ध संग्रह नै लेख्न सकिन्छ । त्यसैगरी एउटा पुस्तकलाई एउटा साइनोमा अटाउन पनि सकिन्छ । सार खिचेर ल्याउँदा ।
अन्य विधा भन्दा नितान्त नौलो र पूर्णरूपमा नेपाली बिधा हो यो । साइनो ढिलो चाँडो नेपाली साहित्यमा स्थापित हुने कुरामा म दुइमत राख्दिन । अहिले नै यो भएन ,मुल्य मानकस्तर भएन भनेर आलोचना मात्रै बर्षाउनु अलिक हतार हुनेछ । तपाईं हामी सबै साइनोका स्वतन्त्र खेताला हौं । रोप्दै जाउँ ।

साइनो ‘भूत न भविष्य’, भनेर ख्यालठट्टा गर्नेहरु पनि हुनुहुन्छ । उहाँहरूलाई के भन्न चाहनुहुन्छ ?

साइनो भनेको के भनेर सोध्ने सर्जक पनि हुनुहुन्छ । भविष्य कस्को छ भन्ने कसको छैन भन्ने यो धर्ती र ब्राह्मणकै भविष्य हाम्रो आयुको तुलनामा पो धेरै झैँ लागेको हो । मानविय चलखेल धर्तीमा हुँदा सम्म साइनोको अर्थ छ । साइनो भनेको मानविय सम्बन्ध मात्रै होइन, सम्पूर्ण चराचर एक अर्कोसँग सम्बन्धित छ । त्यो साइनो हो । साइनो बिधालाई प्रचार प्रसार नपुगेकै हो । गोष्ठी सेमिनार भेलाको आवश्यकता छ । कोरोना कहर सकिएपछि साइनोले एउटा स्पस्ट गोरेटो लिन्छ भन्नेमा म विश्वस्त छु ।

हजुरको साइनो कृति प्रकाशित भैसकेको छ । सुन्दर साइनो लेखनका लागि मुलभुत कुराहरु के के होलान् ?

म आफ्नो कृतीका बारेमा धेरै कुरा भन्दिन । त्यो सार्है कम पाठकको हातमा छ । अहिलेको महामारी र जागिरे जीवनको कारण पाठक सम्म र्पुयाउन सकिन । समय आउला ।
साइनो सुन्दर हुन प्रमुख कुरा मानसिक झट्का नै हो जसले पहिला आफू या सर्जकलाई हल्लाओस् । अक्षर संख्या र तीन पद यसका आधार हुन् जग हुन् जस्लाई हल्लाउन पाईदैन ,त्यो झट्का दिने विषय के हो ? गंभिर या हलुका ? ‘नौलो या सामयिक ?,’क्षणिक या कालजयी ? यो कुरामा साइनो सर्जक स्पष्ट हुनुपर्छ । अनि बल्ल शब्द चयनमा लाग्नु पर्छ । यसरी केही चरण पार गरेर त्यसलाई कम्तिमा तीनवटा कोणबाट परिभाषित गर्न सकिन्छ भन्ने लागेमा बल्ल एउटा स्तरीय साइनो लेखिन सक्छ ।
किन चौबीस वर्ण वा अक्षर ?, किन तीन पद ? किन फरक र समुच्चय अर्थ इत्यादि विषयको उत्तरमा अन्य लेखहरु त आएकै छन् ।

साइनो संसार पेजमा पोस्ट भएका रचनाहरु अक्षरिय मानक पूरा भएपनी स्तरीय साइनो छैनन् भन्ने गुनासो सर्जकहरुबाटै आएको छ । यस्तो आशंका कम गर्न हामी अभियन्ताहरुको भूमिका के कस्तो हुनुपर्ला ?

सिर्जनाको मामिलामा म कुनै सिर्जनाको आलोचना गर्दिन किन भने त्यो अन्तरहृदयबाट आउने कुरा हो । हो पाठकलाई हलुका लाग्नु स्वभाविक हो । अथवा क्लिष्ठ लागेको हुन सक्छ । एउटा अबोध बालकको रुवाइ जस्तै हो साहित्य लेखन, अरुको रचना कपिपेस्ट गर्नु रचना होइन । अतः त्यो रुवाइको माग के हो त्यो आमा बाहेक अरुले पनि बुझ्न सक्नु साहित्य हो । यहाँको सन्दर्भमा साइनो हो ।

सर्जक आमा भएर हेर्नुपर्छ कि मेरो सन्तानको रुवाइले कति मान्छेलाई आल्हादित बनाउन सक्छ । कहिलेकाही सन्तान रोएको आमाले नसुनेको पनि देखिन्छ । त्यसैले आफ्नो रचना कसिलो रसिलो र जहिले जस्ले पढ्दा पनि सोचनिय बनोस् भन्ने संकल्प सहित लेखिएका साइनो अवस्य स्तरिय हुन्छन् । उसो त अहिले नै यो स्तरिय र यो फितलो भनेर मूल्यांकन गर्न पनि हतार हुन सक्छ । स्तरीय आउने दिन कसैले रोक्न सक्दैन ।

साइनो सर्जकका लागि दिनुपर्ने अन्य केही सुझावहरु छन् कि ?
एउटा विकट भूगोलको साथिलाई सम्झेर केही प्रश्न राखेर मेरो अवधारणा सार्वजनिक गर्ने मौका दिनु भयो खुशी छु । यो बिपत र महामारीमा सबै दाजुभाइ दिदिबहिनीमा स्वस्थताको कामना गर्दछु । रोगबाट आफू बचौं अरुलाई पनि बचाऔं । कोविड १९ पोजेटिभ नै देखिएका आफन्त र साथिहरुप्रति पनि मानविय व्यवहार गरौं । यो अवसरका लागि यहाँलाई हार्दिक धन्यवाद ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो १ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…