रमाकान्त पेशाले पण्डित । एकमात्र छोरो रविलाई अमेरिका पढ्न पठाएका थिए । नेपाल आउने बेला बाउ–आमाको इच्छा विपरित उतैबाट बुहारी पनि लिएर आयो ।
रविले आफ्नो बाउ–आमालाई देखाउँदै भन्यो, ‘दे आर माई प्यारेन्टस् ।’
बुहारीले ‘ओ… आई सी ! आई लभ यू भेरी मच ।’ भन्दै सासु र ससुरा दुबैलाई पालैपालो गम्लङ्ग अंगालो हाल्दै गालैमा चुमी ।
ससुरा त लाजले राता पीरा भए । बुहारीको अंगालोबाट छुटे पछि खुइय लामो सुस्केरा हाल्दै भने, ‘बर्वादै पारी नि । ले ले बुढी, सुनपानीले चोख्याई ।’
बुढीले औंठी पानीमा चोपलेर सुनपानी छर्किदिइन् ।
बुहारी बोलेको सासु ससुराले नबुझ्ने र सासु ससुरा बोलेको बुहारीले नबुझ्ने अवस्था थियो । रविले नै दोभाषेको काम गरिरहेको थियो ।
‘न जात मिल्ने, न भाषा मिल्ने, न त संस्कार नै मिल्ने, यो कस्ति बुहारी ल्यायो हाम्रो छोरोले ।’ बुढाबुढी बिच यस्तै खासखुस कुरा हुन्थ्यो ।
उनिहरूले छोरोसंग बुहारीलाई संस्कार सिकाउन अह्राउँथे । ऊ भने, ‘अब हामी बस्ने धेरै दिन छैन्, किन सिकाउनु पर्यो ?’ भन्दै उल्टै प्रश्न गर्थ्यो ।
सासुले दाल खानको लागि एक पोका सिस्नुको मुन्टा ल्याएर फ्रिजमा राखेकी थिइन् । बुहारीले चिसो पानी निकाल्न फ्रिज खोल्दै थिई ।
ऊ एक्कासी, ‘ओ माई गड ! आई फेल्ट अ ग्रेट इलेक्ट्रिक सक ! करेन्ट, करेन्ट !’ भन्दै चिच्याई । सबै जना आत्तिदैं ऊ तिर दौडिए ।
उसले ‘ड्याट इज अ करेन्ट प्लान्ट’ भन्दै औंलाले सिस्नोलाई देखाउँदै थिई ।
रवि फिस्स हाँस्यो । सासु ससुराले लख काटे, ‘बुहारीले सिस्नु छोई छे क्यारे !’