Sansar News- Nepal's Fast Khabar Online News Portal

साना किसानको जीवनस्तर उकास्न गाँजा फुकुवा आवश्यक

संसार न्यूज़
१ महिना पहिले
साना किसानको जीवनस्तर उकास्न गाँजा फुकुवा आवश्यक

गाँजाको फाईदाको आधारमा विश्वका करिब ७० देशहरूले यसलाई खुला गरिसकेको अवस्थामा नेपालले पनि विना स्वार्थ जतिसक्दो चाँडो संसदमा पेश भएको विधेयकमा तल सिफारिस बुँदाहरू समेटि पारित गर्नु नै नेपाली र नेपालको हितमा हुनेछ ।

“लागू औषधी (नियन्त्रण) ऐन, २०३३” परिच्छेद १ को (ख) मा उल्लेख भए अनुसार“गाँजा”भन्नाले भाँग र सिद्धसमेत गाँजा मूलको जुनसुकै बोटको पात र फूल; चरेस तथा गाँजाको बोटबाट प्राप्त गरिएको प्राकृतिक खोटो, लिस्सा र चोब, र माथि उल्लेख गरिएको मध्ये कुनै पदार्थ भएको सार, निस्सार, निष्कर्ष, मिश्रण तथा पेय पदार्थहरू सम्झनु पर्छ।

नेपालमा यो ऐन बन्नुभन्दा अगाडि गाँजाखुला रुपमा खेतिगर्दै कारोबार गर्नसक्ने व्यवस्था थियो । त्यसैले नेपालमा त्यतिखेर विदेशी हिप्पीहरू र नेपाली युवाहरूलाई नेपाली गाँजाले निकै नै मनोरञ्जन दिएको थियो । त्यसैले, यो व्यवसायमा संलग्न ईजाजत प्राप्त व्यवसायी (डिलर) तथा साना किसानहरूको आयआर्जन पनि राम्रै थियो । तत्कालिन कृषि मन्त्रालयले पनि विज्ञप्ति निकालेर नै गाँजाको खेति गर्न किसानहरूलाई आव्हान गर्ने गर्दथ्यो । त्यतिखेर, नेपालमा उत्पादन भएको गाँजाको गुणस्तर अन्तर्राष्ट्रिय बजारमै उच्चकोटिको मानिन्थ्यो ।

जब यो ऐन बन्यो, गाँजा हाम्रो तराई, पहाड र उच्च पहाडको आगन, करेसाबारी, बनपाखा जताततै आफैँ उम्रिने भएता पनि नेपालमा वैधानिक रुपमा यसको खेति गरिएको छैन । यसले गर्दा नेपालले प्रत्येक वर्ष लाखौँ डलर आम्दानी गुमाउँदै आउनु परेको छ । कतिपय किसानले अवैध रुपमा यसको खेतिगर्दै आएता पनि नेपाल प्रहरीको सक्रियतामा यसको फँडानि हुँर्दै आएको छ । वि.सं. २०७६ मा काठमाडौँ र मकवानपुरमा नष्ट गरिएको क्षेत्रफल मात्रै हेर्दा पनि करिव ३३० हेक्टर देखिन्छ । सन् २०१३ देखि २०१८ सम्ममा नेपालमा करिव ५० मे.टन गाँजा बरामद गरिएको देखिन्छ । जसका कारण सयौँ गरिव नेपालीहरू जेलको छिँडिमा जीवन बिताइरहेका छन् । त्यसैले, नेपालमा गाँजालाई औषधीय गुणको आधारमा खुला गरी किसानहरूको आयआर्जनको दरिलो माध्यम बनाउनको लागि बहस तथा पैरवी हुँदैआएको छ । यसको लागि यस बारेमा चलेका केही भ्रमहरू पनि चिर्न जरुरी छ । त्यसैले, यो लेखमा गाँजाका फाइदा तथा बेफाईदा, नेपालमा यसको कानुनी व्यवस्था, गाँजा खुला गर्न नेपालमा के कस्ता प्रयासहरू भए र यो फुकुवा गर्न उचित छ/छैन भन्ने बारेमा छोँटो चर्चा गरी सम्बन्धित सरोकारवालाहरूले विशेष ध्यान दिनुपर्ने कुराहरू पनि समेटिएको छ ।

गाँजाखेतिको फाईदा
गाँजा उत्पादन गर्न छिटो र सजिलोको साथै उत्पादन लागत कम लाग्नाले मुनाफा बढी हुन्छ । गाँजामा पाइने ११३ क्यानाविन्वाईड्स रासायनिक पदार्थहरू मध्ये Delta-9-Tetrahydrocannabinil: Delta-9-THC नामक रसायनिक पदार्थ क्यान्सर, एड्स्, सिथिलता (डिप्रेशन), मानसिक रोग (माइग्रेन), मोतिविन्दु (ग्लाउकोमा), नशा र बिरामी लठ्याउन वा दुखाई कम गर्न (एनेस्थेसिक वाएनाल्जेसिक) को उपचारको लागि उपयोगी मानिन्छ ।

त्यस्तै गरेर, वान्ता हुने, चिन्ता लाग्ने, छालासम्बन्धी रोग, मांसपेशी बाउँडिने, शरीर सुन्निने, अनिन्द्रा, नाकबाट पानी बग्ने, शीघ्र स्खलन हुने, झाडापखाला लाग्ने, स्वासप्रस्वास (दम, लहरे खोकी), ग्याष्ट्रिक, रिँगटा लाग्ने जस्ता विभिन्न किसिमका रोगहरू उपचारमा पनि प्रयोग गरिन्छ ।
गाँजाको बीउ मलेरिया, दम र पानीदेखि डराउने रोगको लागि पनि प्रयोग गरिन्छ । त्यस्तै गरेर, गाँजाको पात स्तन क्यान्सर, पिसाब सम्बन्धी रोग, कपाल झर्ने र चायाँको लागि पनि प्रयोग गरिन्छ ।

गाँजामा ओमेगा ३, ६ र ९ प्याट्टि एसिड पाइने हुनाले स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ । अझ मुटुको बिरामीहरूलाई पनि यसले फाईदा पुग्न जान्छ ।

अमेरिकीहरूले गरेको अध्ययनले दुखाई कम गर्ने अन्य औषधी (पेन किलर) को तुलनामा गाँजाको गुणस्तर सबल देखिएको छ, जस्मा अन्य औषधीको अत्यधिक सेवनगर्दा बिरामीको मृत्युको सम्भावना ४० प्रतिशतभन्दा बढी पाइएको थियो भने गाँजा सेवनले मृत्यु दरमा २५ प्रतिशतले कम भएको उल्लेख छ ।

गाँजाको प्रयोगले रक्सीको लत छुटाउन प्रभावकारी हुनाले अमेरिकाको कोलोराडो राज्यमा रक्सी बिक्री घटेको र क्यालिफोर्नियामा अपराधमा समेत कमीआएको देखिन्छ ।

गाँजालाई लुगा, कागज, तेल, वायोफ्युल, प्लाईउड, स्याम्फु, चिया, कफी, क्रिम, क्याण्डी, वियर, मिठाई, थाल, कचौरा, तरवार तथा खुकुरीको खोल र घर निर्माण सामग्री उत्पादन गरी औद्योगिक रुपमा प्रयोग गर्न सकिने हुँदा राष्ट्र समृद्धिको दरिलो आधार बन्दछ ।

यसबाट निर्मित वस्तुहरू माटोमा सजिलै कुहिने भएकोले हाम्रो पर्यावरण र वातावरणमा असर नगर्ने ।

बाँझो तथा सानो क्षेत्रफल जमीनको उचित किसिमले प्रयोग गर्दै स्वदेशमै रोजगारी सृजना गरी खरबौँ रुपियाँ आय आर्जन गर्न सकिने ।

बेफाईदाहरू :
जुनसुकै बस्तु पनि ‘थोरै खाए रम्छ आँत, धेरै खाए गर्छ घात’ । त्यसैले, गाँजा (मरिजुआना र ह्यासिस। चरेस) अत्यधिक प्रयोगले आछ्युँ आउने, थकान लाग्ने, बान्ताहुने, भ्रमात्मक अवस्था सृजना हुने, शिथिलता आउने, उत्साह तथा प्रेरणामा कमी, भोक लाग्ने, सम्झना शक्ति घट्ने, चेतनाको स्तरमा गडबढी जस्ता समस्याहरू देखिएको पाइन्छ ।

यसको अलावा गर्भवति महिला र उसबाट जन्मने नयाँ शिशुको तौल कम हुने हुँदा उनीहरूलाई निकै नै हानिकारक देखिन्छ ।

नेपालमा गाँजा सम्बन्धी हालको कानुनी व्यवस्था :
विगतमा गाँजाको बढ्दो बजारको नियमन गर्ने प्रयासस्वरुप, नेपाल सरकारले मादक पदार्थसम्बन्धी ऐन नियम बनाई कार्यान्वयनमा ल्यायो । यसले व्यवसायिक रुपमा गाँजा खेति गर्ने व्यक्तिले ईजाजत लिएर अगाडि बढ्ने व्यवस्था गरेको थियो । तर नेपालले आफ्नै परिस्थितिको साथै संयुक्त राष्ट्रसंघ र अमेरिकाको प्रभाव वा दबाबमा यो जनहितकारी ऐन तथा नियमावलीलाई बन्देज लगाउन वाध्य बन्यो र “लागू औषधी (नियन्त्रण) ऐन, २०३३” कार्यान्ययनमा ल्यायो ।

“लागू औषधी (नियन्त्रण) ऐन, २०३३” को परिच्छेद–२ को दफा ४ (क) मा गाँजाको खेती गर्न, उत्पादन गर्न, तैयारी गर्न, खरीद गर्न, बिक्रीवितरण गर्न, निकासीवा पैठारी गर्न, ओसार पसार गर्न, संचय गर्न वा सेवन गर्न यसको लागि निषेध र नियन्त्रणको व्यवस्था पनि गरेको छ।
तर नेपाल राज्यको पश्चिमी पहाडी भेगमा प्राकृतिक रुपमा आफै उम्रने जङ्गली गाँजाको बोटबाट तोकिएको समयसम्मको लागि चरेस उत्पादन गर्न, त्यस्तो चरेस संग्रह गर्न, राख्ने र खरीदबिक्री गर्ने सम्बन्धमा नेपाल सरकारले नियमबनाई व्यवस्था गर्न सक्नेछ र सो अनुसार अनुमतिपत्र प्राप्त गरी कसैले कुनै कामगर्दा यस दफा अन्तर्गत अपराध गरेको मानिने छैन भनिएको छ। यसले के बुझिन्छ भने नेपालमा पनि प्राकृतिक रुपमै उम्रने जंगली गाँजालाई भने क्षेत्र विशेषको आधारमा नेपाल सरकारको स्वीकृति लिएर कारोबार गर्न सक्ने स्पष्ठ व्यवस्था गरेको छ ।
त्यस्तै गरेर, सन् १९६१ मार्च (२०१७ साल चैत्र) मा संयुक्त राष्ट्रसंघीय मुख्यालयमा सम्पन्न सम्मेलनले सिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग्स १९६१ पारित ग¥यो, जस्ले गाँजालाई पनि हिरोइन, कोकिन र अफिम सरहको कडा खालको लागू औषध मान्दै यसको उत्पादन तथा आपूर्तिमा प्रतिबन्ध लगायो र नेपाल पनि यसको चपेटामा प¥यो ।

नेपालमा गाँजा फुकुवाको लागि गरिएका प्रयासहरू :
विगत वि.सं. २०३३ भन्दा अगाडि नेपालमा गाँजा व्यवसायबाट राम्रै आय आर्जन थियो । गाँजाको तलतल मेटाउन विदेशी पर्यटक तथा हिप्पीहरू नेपालमा निकै नै आउँथे । तर पश्चिमाहरूको दबाबमा परी नेपालमा गाँजा खेतिलाई वि.सं. २०३३ सालदेखि बन्देज लगाएको कारण कृषिको हिरा ‘गाँजा’ बाट नेपाली किसानको आम्दानीमा पनि बार लाग्न पुग्यो ।

गाँजा’लाई प्रतिबन्ध लगाएपछि पश्चिमाहरूले गाँजाको अध्ययन तथा अनुसन्धान गर्दै गए । जब प्रतिबन्धित लागू औषधमा सूचीकृत गाँजाको औषधी तथा अन्य औद्योगिकरुपमा प्रयोग गर्न सकिने फाईदाजनक कुराहरू वैज्ञानिक अनुसन्धानबाट पुष्टि भयो र सन् २०१३ देखि गाँजाको फुकुवा हुन थाल्यो । सर्वप्रथम उरुग्वेले यसलाई फुकुवा गरेर पछि क्यानाडा लगायत करिब ७० देशहरूले फुकुवा गरिसेकेका छन् । यी देशहरू मध्ये जमैका, टर्की, नेपाल, नेदरल्याण्ड्स, पाकिस्तान, भारत, स्पेन, लेवनान, अफगानिस्तान र मोरक्कोले विश्वमा उत्पादन हुने परिमाणको करिब ७० प्रतिशत हिस्सा ओगटेको पाइन्छ । संयुक्त राज्य अमेरिकाका २३ वटा राज्यमा औषधीय र ८ वटा राज्यमा औषधी र मनोरञ्जन दुवै प्रयोजनको लागि गाँजालाई खुला गरिएको छ भने अन्य केही देशहरूमा फुकुवाको क्रममा छन् । उरुग्वे, क्यानाडा, नेदरल्याण्ड्स र अष्ट्रेलियाले भने गाँजाबाट निर्मित औषधीनिर्यात गर्ने घोषणा नै गरिसकेका छन् ।

नेपालमा गाँजा तथा स्थानीयस्तरमै निर्माण हुने उच्च गुणस्तरीय तीनपाने रक्सीलाई बन्देज लगाएर विदेशी ब्राण्डको चुरोट तथा रक्सी हुलिन थाल्यो । यो कारणले पनि हाम्रो अर्थतन्त्रमा असर पुग्न गएको छ । त्यसैले, नेपालमै उत्पादन हुने निर्यातयोग्य औषधीय गुण भएको गाँजालाई निषेध र नियन्त्रण नगरी गाँजालाई पुनःअन्य देशहरूमा झैँ फुकुवा गर्नको लागि केही प्रयासहरू भइरहेका छन् । विगतमा हल्काफुल्का केही बहस तथा पैरवी गर्नको लागि पनि मानिसहरू हच्कन्थे । तर हाल अमेरिका लगायत ७० जति देशहरूले यसलाई खुला गरिसकेकोले नेपालमा पनि गाँजा खेति फुकुवा गर्ने बहस र पैरवी गर्ने कार्य भएको छ ।

त्यसैको फलस्वरुप, कर्णाली प्रदेश सरकारले यसलाई खुला गरी त्यहाँको बासिन्दाको जीवनस्तरमा गाँजाबाट फेरबदल ल्याउन परीक्षणको रुपमा नीति तथा कार्यक्रममा भाङ्गोको तेल उत्पादन गर्ने बुँदा राखिएकोमा यो बुँदाले प्रदेश सभामै हलचल मच्चिएकोले अन्ततः नीति तथा कार्यक्रम पारित हुँदा भाङ्गो शव्द नै हटाइएको छ भनेर रामेश्वर बोहोराले मिति २०७६ फाल्गुण २४ मा हिमाल खवरमा उल्लेख गरेका छन् । दाहाल (२०१९) ले यदि गाँजालाई खुला गरिएको खण्डमा अहिले हालको बजारलाई मध्यनजर लगाउँदा, नेपालले वि.सं. २०८२ भित्र करिब रु. १०.७४ लाख करोड वा १ नील ७४ खरब (१४६.४ विलियन डलर) नाफा गर्नसक्ने बताएकी छिन् ।

सन् फेब्रुअरी १, २०१९ मा विश्व स्वास्थ्य संगठनले पनि औषधीय गुणको आधारमा यसलाई लागू औषधको दर्जाबाट घटाउन सिफारिस गरेको दुई हप्तापछि नै नेपालका सभासद विरोध खतिवडाले यसलाई खुला गर्नको लागि प्रतिनिधि सभाको वैठकमै आवाज उठाए । यसको साथै पूर्व कानुनमन्त्री तथा सभासद शेरबहादुर तामाङ लगायत दर्जनौँ व्यक्तिहरूले यसलाई खुला गर्नेबारे आवाज बुलन्द पार्दै आएका छन् भने अन्य केही चर्चित व्यक्तित्वहरूको पत्रिका, रेडियो टी.भी. तथा युटुवमा पनि अन्तर्वार्ताको लहर चलेको छ । पछिल्लो चरणमा नेपालमा गाँजासम्बन्धी एक विधेयक तयार गरी पारितको लागि सांसद सचिवालयमा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङको अगुवाईमा दर्ता भइसकेको छ भने काठमाडौँ प्रदेशमा पनि दर्ता भएको जानकारी प्राप्त भएको छ ।

उपसंहार तथा सिफारिसहरू :
गाँजाको फाईदाको आधारमा विश्वका करिब ७० देशहरूले यसलाई खुला गरिसकेको अवस्थामा नेपालले पनि विना स्वार्थ जतिसक्दो चाँडो संसदमा पेश भएको विधेयकमा तल सिफारिस बुँदाहरू समेटि पारित गर्नु नै नेपाली र नेपालको हितमा हुनेछ ।

सिफारिसहरू :
– प्रदेश तथा संघीय संसद सचिवालयमा पेश गरिएको विधेयक ग्रामीण क्षेत्रका विपन्न तथा साना किसानको हितमा बनाउने र अन्य प्रदेशहरूले पनि यसलाई वैधानिकता दिने ।
– स्पष्ट योजनासहित, निर्देशिका तथा कार्यविधि बनाएर भ्रष्टाचारविहिन भएर कार्यान्वयन गर्ने । यसको अलावा विचौलियातन्त्रको प्रवेश नगराई राज्यले केन्द्रियस्तरमा एक कंपनि स्थापना गरी किसानले उत्पादन गरेको बस्तु संकलन तथा मूल्य भूक्तानिको लागि स्थानीयस्तरमा व्यवस्था गर्ने ।
– गाँजा अध्ययन अनुसन्धानको लागि कृषि अनुसन्धानअन्तर्गत एक छुट्टै सशक्त निकायको स्थापन गर्ने, र कृषि ज्ञान प्रचारप्रसार तथा प्राविधिक सहयोगको लागि कृषि ज्ञान केन्द्र वा पालिकालाई जिम्मा दिने ।
– नेपालमा स्थापना भएका आयुर्वेद अध्ययन संस्थान वा कम्पनिहरूको क्षमता अभिवृद्धि गरी नेपालमा उत्पादित कच्चा पदार्थहरू निर्यात गर्नभन्दा पनि तयारी वस्तु निर्यात गर्ने ।
– पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रमा गाँजामा आधारित सस्तो, सुलभ र गुणस्तरीय सेवा उपलव्ध गराउने उपचार केन्द्र (मेडिकल हव) बनाउने ।
– भोली धेरै देशले गाँजालाई खुला गर्दा विश्वबजार प्रतिस्पर्धि भई चुनौतिपूर्ण हुनेछ । यसको लागि नेपालले बस्तुको बिक्रीवितरण तथा सेवा प्रवाह गर्दा गुणस्तरीय, सस्तो, नियमित र समयमै उपलव्ध गराउन सक्ने परिस्थितिको ग्यारेण्टि गर्ने ।
– गाँजामा संलग्न किसानदेखि विज्ञसम्मको नियमित रुपमा क्षमता अभिवृद्धि गर्ने ।
– नेपालका गाँजासँग सम्बन्धित विभिन्न सरोकारवालाहरू एकीकृत रुपमा अगाडि बढ्ने र नेपाललाई विश्वगाँजा सञ्जालमा संलग्न गराउने ।

सन्दर्भ सामग्रीहरु :
श्रेष्ठ,दिपक र डंगोल, राममान (बैशाख २२, २०७६) । काठमाडौँभित्रै खुलेयामागाँजा खेति १७ सय रोपनिमा फैलिएको गाँजा फडानि । ईमेजखबर डक कम ।
कालिका (पुष२१, २०७६) । ठूलो मात्रामालगाएको गाँजा र अफिमखेति नष्ट । कालिकान्युज,https://kalikanews.com/archives/211834 गुरागाई, चेतना (फाल्गुण २३, २०७६) । गाँजाखुला गर्नुपर्नेविषयपहिलोपटक संसदमा खतिवडाले भने–अमेरिकाले खोल्यो हामीपनिखोलौँ ।
दो, इरिक पी. बारोन (मे २०१५) । कम्प्रिह्यान्सिभ रिभिउअफ मेडिसिनल मरिजुआना, क्यान्नाविन्वाईड्स तथा थेराप्टिक ईम्ल्किेशन ईन मेडिसिन तथा हेड्याक : ह्वाट अ लङ् स्ट्याञ्ज ट्रिप ईट्स विन …। द जर्नल अफ हेड एण्ड फेस ।
ढकाल लीना (जुन७, २०१९) । फ्रममेल्लो टु हाई : हाउ द मोभमेण्ट टु लेगलाइज मरिजुआना ईज लाइटिङ् अप नेपाल । काठमाण्डौ पोष्ट, नेपाल ।
बोहोरा, रामेश्वर ( फाल्गुण २४, २०७६) । प्रतिबन्धितगाँजा : मास्ने कि जोगाउने (रिपोर्ट) । हिमालखबर डट कम ।
नेकव्यु (पुष २१, २०७६) । प्रेस रिलिज७२ ।नेक्रोटिक्स् कन्ट्रोल व्युरो (नेकव्यु), नेपालप्रहरी, काठमाडौँ ।
नेकव्यु (असार ३, २०७६) । प्रेस रिलिज २५८ ।नेक्रोटिक्स् कन्ट्रोल व्युरो (नेकव्यु), नेपालप्रहरी, काठमाडौँ ।
नेस (२०३३) । लागू औषध (नियन्त्रण) ऐन, २०३३, नेपाल सरकार (नेस), काठमाडाँै ।
युएन(१९६१) । सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स्, १९६१ । युनाईटेड नेशन्स् ।
लिउङ्, लाउरेन्स् (२०११) । क्यानाविस एण्ड ईट्स डेरिभेटिभ्सः रिभ्यु अफ मेडिकल युज । जेएवीएफएम, २४(४) ।
वल्र्ड एटलास (मार्च ११, २०२०) । कन्ट्रिज प्रोड्युसिङ् द मस्ट मारिजुआना रेजिन, https://www.worldatlas.com/articles/countries-producing-the-most-marijuana-resin.html .
विकीपेडिया (मार्च ११, २०२०) । लेगालिटी अफक्यान्नाविस, https://en.wikipedia.org/wiki/Legality_of_cannabis.
विलियमइएम एण्ड इभानस्एफजे (२०००) । क्यान्नाविन्वाईड्स ईन क्लिनिकल प्राक्टिस । ड्रग्स, ६०(६)ः१३०३–१४ ।

सर्बाधिक पढिएको

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो

पार्टीभित्रको विवाद ओलीलाई कसरी हटाउने अनि प्रधानमन्त्री र पार्टी अध्यक्ष को–को बन्ने भन्नेमा मात्रै केन्द्रित देखियो ५ दिन पहिले | संसार न्यूज़

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक विवादमा फस्दै…

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) ३ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ४ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ४ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…