दिउँसोको समयमा म घुम्दै एक ठाउँमा पुगेको थिएँ । मेरो खल्ती भने रित्तो थियो । तर मलाई हिँड्दा हिँड्दै भोकले खपिनसक्नु भयो । केही खानेकुरा किनेर भोक शान्त पार्नुपर्यो भनी खल्ती छामेको त रित्तै पो रहेछ । यताउती हेर्दा एउटा गर्जिला होटलभित्र साहुनीलाई हसिलो अनुहारमा देखे । साहुनीसंग रमाइलोसंग वात मार्नु पर्ला, भोक पनि हटाउनु पर्ला भनेर म सिधैँ होटलभित्र पसिहाले ।
साहुनीले के चाहियो दाई तपाईलाई ? भनिन् । मैले मलाई साह्रै भोक लागेको छ । तरकारी चिउरा दिनुस् न भने । साहुनीले तरकारी र चिउरा प्लेटमा हालेर दिइन् । साहुनीसंग दुःख सुखका कुराहरु गर्दैै निकै स्वादिष्ट मानी खान थाले । चिउरा चपाउन समय लाग्ने हुँदा करीव आधा घण्टा लाग्यो मलाई खाजा खाइसक्नलाई ।
उठेर हिड्नै लाग्दा साहुनीले पैसा दिन संकेत गरिन् । तर मैले भारी मन र अनुरोधको शैलीमा आज मेरो खल्ती रित्तो रहेछ त्यसैले तपाईलाई पैसा दिन सकिनँ ।
तपाइले मलाई दाइ भनी साइनो लगाई हाल्नुभयो । म पनि तपाइलाई वहिनी मानी पैसाभन्दा ठूलो कुरा माया नै दिएर जान्छु भने । शुरुमा त साहुनीले तपाईले दिएको मायाले पेट भरिन्न अनि के गर्नु भनिन् । प्रत्युत्तरमा मैले पैसा भन्दा माया पाउन निकै गाह्रो छ साहुनी, यो त मुटुसंँग सम्वन्धित छ । कहिलेकाही आफ्नै बाबुआमावाट पनि माया पाउन सकिदैन । तर पैसा तपाईले बाटोमा माग्न बसे पनि धेर थोर पाउन सक्नुहुन्छ र जसले माग्नेलाई पैसा दिन्छ उसले माया गरेर दिएको हुदैन त्यसमा केवल दया मात्र हुन्छ ।
मेरो जवाफले साहुनी एकछिन त किंकर्तव्यविमुढ भइन् । पछि विस्तारै ठिकै छ त दाइ मेरो पनि आफ्नै दाइ छैनन् यसैले भाइटिकाको दिन टिका लगाउन अवश्य आउनु होला भनिन् ।
सामाखुसी मार्ग, ९३५-५४, काठमाडौं
वि.सं.२०७७ असार २७ शनिवार ०९:२२ मा प्रकाशित